You are here
Home > खेलकुद > मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

३१ भाद्र २०७४, शनिबार १६:१८

मलेसिया |

नेपाल एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

१ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति जित हासिल गरेको हो । ओपनरद्वय अर्धशतक पुरा गरेपछि नेपालले सहज जित हासिल गरेको थियो । आसिफ शेखले ५० र सन्दीप सुनार ५१ रनमा अविजित रहे । ६५ बल खेलेका आसिफले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्दीपले ७७ बलमा ८ चौका प्रहार गरे । त्यसअघि नेपालले टस जितेर मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरेपछि मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । नेपालका लागि सबैभन्दा सफल बलर दीपेन्द्र रहे । उनले ८ ओभरमा २९ रन खर्चदै ५ विकेट लिएका थिए । पवन सर्राफले २ तथा रोहित कुमार पौडेल, सहाब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिएका थिए ।

मलेसियाका लागि ओपनर ब्याट्सम्यान नलिन डी सिल्भाले सर्वाधिक ३९ रन जोडे । बिरानदिप जगजित सिंहले २५, मोहम्मद शारियल अइजतले १६, अमर हजालनले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।