You are here
Home > बिचार/अन्तरबार्ता > असली तपस्वी

असली तपस्वी

३ आश्विन २०७४, मंगलवार ०३:३५

व्यक्ति

‘रंगमञ्च सधैं प्रतिपक्ष हो, हुनुपर्छ । संरचनाभन्दा परतिरको काम गर्ने हुनाले आधारभूत रूपमा म अलिकति लेफ्टिस्ट हुँ । तर, मरिगए पनि म कम्युनिस्ट होइन । र, नेपालमा कोही कम्युनिस्ट छैन पनि,’ रंगकर्मी सुनील पोखरेलले यो दाबी गरिरहँदा मभित्रका शब्दले आफ्नो सहज आकार गुमाउँदै थिए । तर, बोल्नु त थियो नै । बोल्नु के थियो, सुन्नु थियो । सुनिरहेँ उनलाई ।

Gurung-sushanta

-सुसान्त गुरुङ

मण्डला थिएटरमा नाटक ‘जयमाया आफूमात्रै लेखापानी आइपुगी’ हेरिसकेपछि मलाई नौलो सन्नाटाले छोपेको थियो । थिएटरबाहिर निस्केको निकैबेरसम्म साथमै रहेको साथीसँग समेत बोल्नै सकिनँ । अमूर्त भावले लठ्याइरह्यो । स्तब्धजस्तै केही भएँ । साथी पनि साँझको क्षितिजतिर कतै हराइरहेजस्तो लाग्थ्यो । इन्द्रबहादुर राईको कथालाई नवीन ध्वनि र बिम्बमा छोएपछि नाटकको समीक्षातिर लहसिने मन भएन । तर, सुनील पोखरेलसँग गफ्फिने रहरचाहिँ दोब्बर भएर आयो । यही रहरको गोरटो हुँदै पोखरेलको कार्यालय ‘ज्ञ’सम्म पुगेँ । कार्यालयको न्वारान कुमार नगरकोटीले गरेका हुन् । शब्द-खेलका चामत्कारिक खेलाडी नगरकोटीलाई लाग्यो, ‘पाठपरक नाटकको विरक्तलाग्दो परम्परागत दृश्यमाझ सुनील पोखरेलले अभिव्यक्तिको नवीन गजुर ठड्याएका छन् । नाट्ययात्राको वर्णमालामा यतिखेर सुनील ज्ञानको ज्ञतिर छन् ।’ योजना, कक्षादेखि भेटघाटसम्म पनि ‘ज्ञ’मा चलाउँछन् पोखरेल ।

आलोकाँचो रहर र परिचयको आदिम भोकको बुइँ चढेर नै रंगमञ्चको आँगनमा टेकेका हुन्- सुनील पोखरेल । साढे पाँच दशक लामो उमेरको डाँडा उक्लिसकेका उनका लागि नाटक अब जीवनको हिस्सा नै भइसकेको छ । उनको नाट्य-स्वादले लठ्ठिने थुप्रै दर्शक छन्, फ्यानको रूपमा । निर्मल बर्माले कतै लेखेका छन्, ‘जब हामी कुनै जिउँदो फड्फडाउँदो पक्षीलाई क्षणभर पक्रेर छोडिदिन्छौं, उसको शरीर हामीबाट अलग हुन्छ । तर, धेरै बेरसम्म हत्केलामा उसको धड्कन महसुस भइरहन्छ ।’ बर्माको यो काव्यिक अनुभूतिलाई पोखरेलीय नाट्यकर्मसँग नजिक राखेर हेर्न मन लाग्छ मलाई । पोखरेलले दर्जनौं-दर्जन नाटक खेले, खेलाए । रंगमञ्चको स्वभाव पनि जीवनकै जस्तो हुन्छ, समयको कुनै बिन्दुमा भत्किजाने । रंगमञ्चहरू भत्किए । फेरि बने । फेरि भत्किनेछन् । तर, पोखरेलको पसिनामा जन्मेका जीवन्त ती नाटकहरूको स्पन्दन दर्शकले अनुभूति गरिरहेका छन् । सुनील आफैं पनि पुराना पाइलाको आलो सम्झनामा नोस्ताल्जिक हुँदा हुन् ।

नाटकलाई जीवनसँग र जगतलाई रंगमञ्चसँग जोडेर कविहरूले जन्माएका अनेक काव्यिक दर्शन र व्याख्या पुरानो भइसक्यो । भनिन्छ, नाटक जीवनको सादृश्यमा आएजस्तै नाटकीयता हर कला-साहित्यको ‘आत्मा’मा रहेको हुन्छ । ‘कलाको रहस्य’बारे प्रश्न सोध्दा प्रख्यात उपन्यासकार हेनरी जेम्सले दुई शब्दमा उत्तर दिएछन्, ‘वन्ली ड्रामाटाइज’ । नाटकीयताको नाता जीवन-यथार्थसँग मात्र जोडिएको हुँदैन, यथार्थको अतिक्रमणसँग पनि उत्तिकै घनिष्ट हुन्छ नाटकीयता । सुनील पोखरेल रंगमञ्चबाट इन्द्रियजन्य यथार्थ मात्र नभई ‘नाटकीय यथार्थ’को पनि अन्वेषण गरिरहेका छन् ।

पोखरेललाई जीवनमा खुसीमात्र दिएन नाटकले, ‘डिप्रेसन’को डिलसम्म पनि धकल्यो । जीवनको रंगमञ्चमा अनेक अप्ठ्यारा र असफलताले पटकपटक लखेटिरहे उनलाई । आर्थिक अभावको सनासोले कुनै समय उनको सहज-यात्राको घाँटी अँचेट्न खोज्यो पनि । नाटकको ‘केन्द्र’ बनिसकेको गुरुकुल भत्किने भएपछि उनी विक्षिप्तजस्तै भए । गुरुकुलका नाट्यसामग्री टुँडिखेलमा लगेर जलाउने धम्कीपूर्ण उद्घोष पनि गरेका थिए उनले । अमेरिकारूपी ड्र्यागनको मुखमा छिर्ने सोचको भ्रूण पनि उनको दिमागमा चल्मलाइसकेको थियो । तर, त्यो भ्रूण हुर्कन सकेन । र, नै आज सुनील पोखरेल रंगकर्ममै छन् ।

कुनै जमानामा लेखक-पत्रकार किशोर नेपालले सुनीललाई भनेछन्, ‘यो ब्रह्माण्डमा हामी महासागरको पानी-थोपा हौं । थोपा महासागरको हिस्सा हो । तर, त्यो बिलायो भने कसैलाई थाहा हुँदैन ।’ यो भनाइले उनलाई अप्ठेरो परिस्थितिमा सहज बन्न सघायो । नजिकै आइसकेको डिप्रेसनलाई त सुनीलले आशा र अथक मेहनतको हत्केलाले पर धकेले । तर, मदिरा-मात्रा अचाक्ली बढ्यो उनको । आफू मदिराको मामिलामा बदनाम रहेको कुराको बोध छ उनलाई ।
उतिबेलाका सुनील पोखरेल उग्र थिए । सामाजिक न्यायको आन्दोलनमा एउटा संस्कृतिकर्मीको भूमिकामा सक्रिय थिए । तर, यतिबेला शान्त तपस्वी-मुद्रामा रहन्छन् उनी । तर, प्रश्नहरू सकिएका छैनन् ।

बच्चाबेला पोखरेलसँग एउटा सुकुमार सपना थियो, शिक्षक बन्ने । अहिले उनी शिक्षककै भूमिकामा नाटक सिकाउँछन् । विद्यार्थीमाझ जीवन-जगत्बारे पढाउँछन् । र, पहिलो कक्षामा प्रश्न गर्छन् चेलाहरूलाई, ‘तिम्रो नाम, जात, क्षेत्र, धर्म सब हटाइदिन्छु । भोलि आउँदा लेखेर ल्याऊ कि तिमी को हौ ? तिमी किन छौ ? ‘ सायद उनी विद्यार्थीहरूतिर फर्केर आफैंलाई प्रश्न गरिरहेका छन् ।

गुरुकुल भत्किने भएपछि सुनील विक्षिप्त भए । गुरुकुलका नाट्यसामग्री टुँडिखेलमा लगेर जलाउने धम्कीपूर्ण उद्घोष पनि गरे । अमेरिकारूपी ड्र्यागनको मुखमा छिर्ने सोचको भ्रूण पनि उनको दिमागमा चल्मलाइसकेको थियो । तर, त्यो भ्रूण हुर्कन सकेन । र, नै आज सुनील पोखरेल रंगकर्ममै छन् ।

प्रिय फिल्म ‘इन द सिटी अफ सिल्भिया’को अग्घोर प्रेममा परेपछि न्यून संवादयुक्त फिल्म र नाटकहरूको खोजीमा छु अचेल । संयोग यस्तो छ, सुनील पोखरेल पनि आजकल कम संवादयुक्त नाटक गर्ने मुडमा रहेछन् । ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’मा अन्य नाटकमा भन्दा कम संवाद प्रयोग गरेका छन् । उनलाई लाग्न थालेको छ, ‘हामी झुटको लागि धेरै बोल्छौं । मनबाट बोल्दैनौं ।’ आजकल बोल्न जरुरी छैन कि भन्ने भानले छोप्न थालेको छ उनलाई । संवादबाट भागुँजस्तो पनि लाग्छ ।

त्रिशूली पढ्दा मैले पहिलोपटक सुनील पोखरेललाई फिल्मको पर्दामा देखेको थिएँ, ‘बलिदान’मा । जेलभित्रको छोटो दृश्यमा आउने दुब्लो पात्र देखाउँदै घनिष्ठ दाइ दीपक बस्नेतले भने, ‘हेर, यो मान्छे सुनील पोखरेल हो । थिएटरको मान्छे । राम्रो याक्टिङ गर्छ ।’ पनौतीबाट आएका दीपक दाइले वीरेन्द्र हमाल, मिथिला शर्माको पनि खुब प्रशंसा गर्थे । हिन्दी फिल्मको चर्चा गरिबस्ने ती दाइले थिएटरको संगत÷स्वाद कसरी पाए होलान् ? सम्झिँदा अनौठो लाग्छ । सुनील पोखरेलले खेलेका फिल्म हेर्ने हुटहुटी थियो मनमा । तर, त्यस्तो अवसर नै जुटेन ।

 

सुनील पोखरेलले केही फिल्ममा अभिनय पनि गरे । तर, फिल्म आदतको रूपमा बस्न सकेन उनमा । उनी नाटकलाई नै असली अम्मल बनाएर बाँचे । आदतको पनि आ-आफ्नै आकर्षण हुन्छन् । पोखरेल नाटकका स-साना ‘मुभमेन्ट’ भोग्छन् – कहिले कलाकारको रूपमा, कहिले निर्देशकको अवतारमा, त कहिले दर्शकको हृदयबाट । उनलाई लाग्छ, ‘नाटक जिन्दगीजस्तै हुन्छ, पर्दा खसेपछि सकियो । त्यसको अभिलेख पनि रहँदैन । हामी मरेपछि स्मृतिमा मात्र रहन्छौं, त्यसरी नै दर्शकको स्मृतिमा मात्र नाटक र पात्रहरू बाँच्छन् ।’ उनलाई जीवनजत्तिकै नजिक लाग्छ नाटक । फिल्ममा चाहिँ पोखरेलको रस नै बसेन । फिल्ममा सबै चिज सुनियोजित हुने भएकाले एउटा कलाकारको रूपमा उनले ‘इन्ज्वोय’ गर्नै सकेनन् । स्तानिस्लाब्स्कीले ‘बिल्डिङ अ क्यारेक्टर’ किताबमा लेखेका छन्, ‘अभिनेता र अभिनेत्रीले आफ्नो रचनाशीलतालाई सहज रूपमा सक्रिय राख्न समर्थ हुनैपर्छ ।’ फिल्मको अभिनय बढी प्राविधिक हुने तर नाटकको भावचाहिँ जीवनजस्तै सहज बहावमा बढ्ने भएकाले पोखरेल अनवरत रंगमञ्चमा छन् । आफ्नो कुण्ठा, नीचता, क्षुद्रता, स्वार्थ सब कुरा थिएटरमा छोडेर जान्छन् उनी । र, घर पुग्दा शून्यमा टेक्छन् । के यो मेडिटेसन होइन ? सुनील पोखरेलको लागि रंगमञ्च आदतभन्दा बढी ध्यान बनिसकेछ । उनी पात्रताको दहमा डुब्ने ध्यानमा छन् सायद ।

थिएटरमा अभिनयको अभ्यास गर्ने धेरै कलाकार फिल्मको डिजिटल रंगशालामा कुदिरहेका छन् पछिल्लो समय । यो दृश्यले सुनील पोखरेललाई रमरम खुसी दिएकै छ । फिल्ममा हामफालेका धेरै नाट्य-कलाकारहरूले राम्रो गरेको बुझाइ छ उनको । उनी गर्वसाथ भन्छन्, ‘पछिल्लो समय नाटककै कलाकारले धानेका छन् नेपाली फिल्मलाई ।’ निर्देशक तथा समीक्षक नवीन सुब्बाको टिप्पणी छ, ‘थिएटरका कलाकारले फिल्म बिगारिरहेका छन् ।’ सुब्बासँग पोखरेल असहमत छन् । भन्छन्, ‘नवीनलाई अभिनय आउँदैन । थिएटरको फ्लप एक्टर हुन् उनी । मैले बुझेको छैन, नवीनले खोजेको कलाकार कस्तो हो ? तर यत्ति चाहिँ भनुँ- नवीनले एक्टिङ बुझेका छैनन् ।’ घगडान रंगकर्मीबीचको यो मतभिन्नतालाई पृथक् अध्ययन-स्कुलिङ मानिदिए हुन्छ । ‘वाद-प्रतिवाद-संवाद’को प्राज्ञिक प्रक्रियाको रूपमा लिनु अझ श्रेयष्कर होला । सुनील पोखरेल संवाद-डबलीमा देखा परून् या भागून्, नाटकमा चाहिँ निरन्तर छन् । यत्ति नै काफी छ ।

विदेशमा समेत नाटकहरू देखाइसकेका सुनील पोखरेल ठान्छन्, नाटक स्थानीय हुनुपर्छ । उनको धारणा छ, ‘नाटक आफ्नो मातृभाषा र संस्कृतिमा हुनुपर्छ । भूमण्डलीकरणको विरोधमा काउन्टर हो नाटक, जसरी कविता हो ।’ वैश्वीकरण र बजारीकरणको ठूला-ठूला पाङ्ग्राहरू हाम्रो अभावको छातीमाथि कुदिरहेका छन् । यो पेलाइविरुद्ध संस्कृतिकर्मीले विभिन्न आयाम र आवाजमा बोल्नु राम्रो हो । तर, रंगमञ्चको आवाज राज्यको कानसम्म पुगेको छ त ? पोखरेल भन्छन्, ‘यो राज्यको सुन्ने क्षमता छैन ।’तर, निरन्तर प्रतिरोध र टक्करको विकल्प छैन रंगकर्मीसँग ।

सुनील पोखरेललाई लाग्छ, हाम्रो सामुदायिक संस्कृतिमा रहेका प्रदर्शनकारी कलालाई रंगमञ्चले लिन सकेको छैन । यी सांस्कृतिक मनोविज्ञानलाई बुझ्न नसक्दा नाटकले ‘रियल इस्यु’ उठाउन नसकेको ठान्छन् उनी । अध्ययनको कमी, रंगमञ्चमा बाहुनक्षेत्री-बाहुल्य र रंगमञ्चको आफ्नै भौतिक सीमाका कारण नेपाली समाजको खास ईष्र्या पाखा लागेको स्वीकार्छन् उनी ।

हिजो नाटक कुनै दरबारको चार पर्खालभित्र कैद थियो, जहाँ मनोरञ्जनदेखि मनोरञ्जनका क्षणिक साधनजस्ता थिए कलाकार । आज रंगमञ्च रूपान्तरणको सशक्त माध्यम भइसकेको छ । प्रख्यात कवि÷नाटककार बर्टोल्ट बे्रख्तले रंगमञ्चका सन्दर्भमा ‘द सर्ट ओर्गानम’मा भनेका छन्, ‘अब हामी सम्पूर्ण अवरोधका बाबजुद पनि अगाडि बढ्नुपर्छ । जब हामी युद्धमैदानमा और्लिन्छौं, हामी लड्नै पर्छ । अविश्वासले हिमालहरू नै चलायमान भएको हामीले देखेका छैनौं र ? हामीबाट केही कुरा लुकाइएको छ भन्ने कुरा स्पष्टै छैन र ? एकपछि अर्को वस्तु पर्दाले छोपिएको छ, अब हामी पर्दा खोलौं ।’ अब साँच्चै ‘पर्दा खोल्ने’ जुझारु नयाँ पुस्ता निर्माण गर्ने जिम्मेवारी सुनील पोखरेलहरूकै काँधमा छ । के भोलि उदाउने कलिलो घामको जवानीप्रति पोखरेल विश्वस्त छन् ? उनका विद्यार्थीको रंगमञ्चीय ‘प्यासन’ देखेर एक झुल्को आशा झुल्किन्छ पोखरेलको आँखामा । तर, नाटकलाई काव्यिक र वैचारिक स्वाद दिन गम्भीर नहुने नयाँ पुस्ताप्रति दिक्क पनि छन् उनी । अध्ययनको साँघुरो घेरामा खुम्चिरहेका कलिला रंगकर्मीलाई पुस्तक दिन्छन् उनी, गाली गर्छन् र सुझाव दिन्छन् । उनी चाहन्छन्- नयाँ पुस्ताले खुब पढून् ।

सुनाकोटीबाट नाट्यशाला ‘ज्ञ’ छिरेपछि सुनील पोखरेलको अराजक लय सुरु हुन्छ । तर, उनको लयको केन्द्रीय सुर नाटक, नाटक र नाटकमात्रै हो । पेन्टिङहरूको बीचमा बसेर उनी विविध भूमिकाको कार्य सम्पादन गर्छन् । लामो रंगयात्रा गरिसकेका पोखरेललाई हेर्दा भन्न मन लाग्छ, रंगमञ्चका असली तपस्वी हुन् उनी । पोखरेललाई भेट्न ‘ज्ञ’ पुग्दा उनी कुनै युवा फिल्म-निर्देशकसँग झन्डै-झन्डै बाझिरहेका थिए । आफ्ना कुरा सादा कागजमा लेखेर ती युवालाई दिँदै उनले भने, ‘यो तिमी छाप्न पनि सक्छौ ।’ तर, युवा पनि आफ्नो विमति स-सम्मान राख्दै भन्थे, ‘सर, यो पेपर छोड्नुस् । तर, कुरा क्लियर नभएसम्म म मरे पनि जान्नँ ।’ विवादको छेउकुना नबुझेपछि कोठाको मनोविज्ञानले एक कुनामा गएर खुम्चिन बाध्य बनायो मलाई । असहजजस्तो देखिने दृश्यपछि मेरो मानसमा सकसका साङ्ला सल्बलाउन थाले । लाग्यो, गलत घडीको सुइमा टेकेर आइपुगेछु । सोचेँ, मुडको मुलायम धागो खुस्किसक्यो ।

सायद आज कुराकानीको मखमली रुमाल बुनिँदैन । तर, एकाध मिनेटपछि नै पोखरेल फ्रेस-मुडमा गफ्फिन तयार भए । युवा निर्देशकले पनि मलाई भने, ‘दाइ माइन्ड नगर्नुस् है । पर्सनल कुरा हो । सर र मेरो यस्तो चलिरहन्छ ।’ मेरो मनमा चाहिँ सन्देह जिउँदो थियो- विवाद शृंखला फेरि ब्युँतिन्छ होला भन्ने । तर, मेरो सन्देहलाई टाउको उठाउन दिएनन् निर्देशक-द्वयले । र, सुनील पोखरेलका वजनदार नाट्य-अनुभव÷अनुभूतिलाई सुन्ने परिवेश पाइरहेँ ।
कुराकानीबीच उनका चेलाचेली, पत्रकार, नवआगन्तुक उनलाई भेट्न आउँथे । फोन बजिरहन्थ्यो । यसै बीचमा उनलाई बिसन्चो बुबाको फोन आयो । र, सुनीलले भने- ‘आमासँग सल्लाह गरेर यतै आउनुस् ।’ बाबु-छोराबीचको छोटो फोनवार्तामा सन्चोबिसन्चोको मात्र कुरा भएन । ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’को पनि कुरा हुन भ्यायो । कलासाहित्यको बोधयुक्त पारिवारिक माहोल देखेर मभित्र मुरीमरी ईष्र्या भरिएर आयो ।

सुनील पोखरेल मादक-प्रवाहमा बोल्दै थिए, अचानक एक युवक देखा परे कोठामा । सायद उनले पोखरेलसँग पहिले नै समय लिएका थिए । कुरो बुझ्दा थाहा लाग्यो, उनी नयाँ भर्नाका लागि अन्तर्वार्ता दिन आएका रहेछन् । छोटो वार्ताको सुरुमै पोखरेलले घर-ठेगाना सोधे । युवकले आफ्नो घर इटहरी रहेको बताउनासाथ पोखरेलले सोधिहाले, ‘मनु मन्जिल थाह छ ? ‘ युवकले नकार-भावमा टाउको हल्लाए । पोखरेलले फेरि थपे, ‘तिमी नाटक किन पढ्न चाहन्छौं ? ‘ यसपछि पनि एकाध प्रश्न खेर गए । अपेक्षाकृत उत्तर नआएपछि पोखरेलीय अनुहारको भूगोलको रोगन धमिलिइसकेको थियो । जब फुर्तिलो युवकले आमाको मात्र अभिभावकत्वमा आफू हुर्किएको यथार्थ खोले, तब पोखरेलले भावुक हुँदै ती युवकको नाम सोधे । युवक दलित भएको थाहा पाएपछि पोखरेल बोले, ‘धेरै मेहनत गर्नुपर्छ । तिमीलाई म पढाउँछु ।’ यो सुनेर युवकको अनुहारमा खुसीका हजारौं घाम उदाए । यो दृश्यलाई म मौन-मौन हेरिरहेको थिएँ । हुन सक्छ, रंगकर्मी सुनील पोखरेलभित्रको अर्को ‘सुनील पोखरेल’ देखिरहेको थिएँ म ।

सुनील पोखरेल लामो समय ‘गुरुकुल’ यात्राको मुख्य चालक रहे । पागलपनको ऊर्जा लगाएर उनले गुरुकुललाई आकर्षक र गम्भीर डिस्कोर्सको मियो बनाए । ‘गुरुकुल’ पूर्वीय शिक्षा प्रणालीको प्रतीक-शब्द पनि हो । गुरुकुलीय छहारीमा दीक्षित हुन चाहने चेलाले प्रश्न उठाउनेभन्दा विश्वास गर्नुपर्ने बाध्यता हुन्थ्यो । गुरुकुलको प्रणालीप्रति आकर्षण थियो पोखरेलमा पनि । रूखमुनि बस्ने, निश्चित पाठ्यक्रमको ढाँचामा नबग्ने तरिकाले उनको रुचिलाई तानेको थियो । पोखरेल भन्छन्, ‘मेरो गुरुकुलमा चाहिँ अनगिन्ती प्रश्न खडा गर्न पाइन्थ्यो । मेरो व्यक्तित्वमै प्रश्न गर्न मिल्थ्यो । अहिले पनि मिल्छ । अराजक गुरुकुल हो हाम्रो ।’ केही नयाँ काम गरुँ भन्ने हेतुले सुनीलले आफ्ना गुरु÷अग्रजहरूको छहारीबाट छुट्टिएर आफ्नै बाटो तय गरी यहाँसम्म आइपुगे । उनले नाट्ययात्राको मोड-घुम्तीमा केही कोसेढुंगा उभ्याइछाडेका छन् । सफलता र असफलताको तराजुलाई पन्छाएर उनले तन-मन लगाएर रंगकर्म गरिरहे । र, आफूलाई बलियो धरातलमा स्थापित गराए ।

सुनीलले नेपालीजत्तिकै विदेशी नाटक पनि खेले, खेलाए । नेपालीमा उनले केही पाठको गुणस्तरमा विश्वास गरेका छन् । तर, नयाँ पुस्ताले गतिलो नाटक नलेखेको तीतो दृश्यले उनलाई पोल्छ । उनी नयाँ पुस्ताका धेरै लेखकलाई नाटक लेखिदिन अनुरोध गर्छन् । तर, उनको अनुरोध हात लागी शून्य भनेझैं भइरहेको छ । भन्छन्, ‘लेखिदिए त हामी किन विदेशी नाटक खेल्थ्यौं नि ? तर फेरि सर्त त्यही हो, मन छुनुपर्छ । मन छोएन भने किन गर्छौं र ? मन नछुने नाटक खेल्न कसैको ऋण खाइदिएका छौं ? ‘ वरिष्ठ लेखकले लेखेका तर मन नपरेका केही नाटकका पाण्डुलिपि पोखरेलको दराजमा सुरक्षित छन् । बजारिया प्रभावमा लेखकहरूले आफ्नो कलमको मसी पातलो बनाएको कुरासँग उनको बलियो विमति छ ।

पोखरेललाई लागेको छ- हामीले गर्न धेरै बाँकी छ नाटकमा । भरतको नाट्यशास्त्र र ग्रिसेली त्रासदी सिद्धान्तहरूको बीचबाट पनि हाम्रै मौलिक नाट्य-कला विकास गर्न सकिन्छ ? यो कोणबाट प्रश्न र बहस गर्नुपर्ने बेला भइसकेको छ । पोखरेल पछिल्लो समय मुन्धुमको अध्ययनमा लागेका छन् । र, चेलाहरूलाई पनि मुन्धुम पढ्न उत्प्रेरित गरिरहेका छन् । प्राकृतिक दर्शनको पृथक स्वरूपबाट नाटकले केही सिक्न सक्छ भन्ने विश्वास पलाएको छ उनमा । थाङ्काजस्ता कलाबाट सिक्नपर्ने धारणा राख्दै भन्छन्, ‘हामी हेर्छौं मात्रै देख्दैनौं । कहिलेकाहीँ जातीय कलाको दर्शन बुझ्दैनौं । तर मूल नबुझिकन ‘टेलिङ’मा गरिने प्रयोग ‘युज’ मात्र हुन्छ ।’ अबको नाटक हाम्रै सांस्कृतिक विम्बमा पसेमा मौलिक नाट्यशास्त्र निर्माण हुने विश्वास गर्छन् उनी । नयाँ पुस्तासँग उनी नौलो ढाँचामा सहकार्य र विमर्श गर्न चाहन्छन् ।

तर, राज्यसंरक्षित नाट्य-प्रतिष्ठानको बेमौसमी निद्राप्रति सुनीलमा पोखरेलमा निरासा र आक्रोश छ । सिंगो राज्यले नगरेको काम पोखरेलको एकल नेतृत्वमा भइरहेको छ । विराटनगरमा गुरुकुलको भव्य थिएटर निर्माण गरेका छन् उनले । एकल प्रयासमै नयाँ पुस्तालाई नाट्यखेतमा दाइरहेका छन् । उनी ठान्छन्, ‘जहाँ जसरी भए पनि रंगकर्मीहरू प्रतिपक्षमा बसेर प्रतिरोध गर्ने हो । नत्र राज्य साँढे हुन्छ, मातिन्छ ।’

संवेगको पाइलाका अविराम यात्री सुनील व्यंग्य गर्छन्, ‘नेपालमा नाट्य एकेडेमी भन्ने संस्था छ भन्ने थाहा छैन मलाई ।’ नाट्य संस्थानहरू प्राज्ञिक थलोभन्दा जागिरखानामा रूपान्तरण भइरहेको विद्रुप चित्रमा नेपाली नाटकको डरलाग्दो भविष्य पनि प्रतिबिम्बित हुँदो छ । कहिलेकाहीँ नाटकबाट ‘रिटायर्ड’ हुने अप्रिय विचार पाल्छन् पोखरेल । के उनको दिमागमा ‘नाट्य-एकेडेमी’मा जाने सोच पनि पलाउँछ ? उनीसँग तयारी प्राश्निक-जवाफ छ, ‘मेरो दिमाग खराब भएको छ ? ‘ कुनै दिन राज्यको आँखा ठीक हुने र सुनील पोखरेलको ‘दिमाग खराब’ हुने घटना एकसाथ भएमा के होला ?

-अन्नपूर्ण पोष्ट बाट साभार