You are here
Home > प्रवास > उत्तर कोरियाले आफूलाई नरोके पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की

उत्तर कोरियाले आफूलाई नरोके पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की

३ आश्विन २०७४, मंगलवार १७:४९

उत्तर कोरिया |

उत्तर कोरियाले आफूलाई नरोके ध्वस्त गर्नुभन्दा अर्को विकल्प आफूसँग नरहेको ट्रम्पले बताएका हुन्। उनले उत्तर कोरियाका कारण पूरै विश्व खतरामा परेको बताए। संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले ‘रकेट म्यान’ किम जोङ उन आफू र आफ्नो देशका लागि आत्महत्याको अभियानमा रहेको बताएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्प बोल्दै उत्तर कोरिया र इरानलाई ‘दुष्ट राष्ट्र’ को संज्ञा दिए । इरानलाई ‘भ्रष्ट तानाशाही’ को संज्ञा दिँदै इरानसँगको आणविक सम्झौता एकपक्षीय भएको आरोप लगाए। उनले भेनेजुएलाको वामपन्थी सरकारको भर्त्सना गर्दै त्यहाँको अवस्था अस्वीकार्य भएको समेत बताए। ट्रम्पले त्यसले संसारमा ‘पीडा, विनाश र असफलता मात्रै ल्याएको’ बताए।

उनले अमेरिकाले अरुमाथि आफ्नो जीवनशैली नलाद्ने पनि बताए। ‘संसारको ठूलो हिस्सा द्वन्द्वमा छ,’ उनले भने, ‘वास्तवमा केही हिस्सा नर्कमै गइरहेको छ।’

महासभालाई ४१ मिनेट सम्बोधन गरेका ट्रम्पले आफूले जहिल्यै अमेरिकालाई पहिलो स्थानमा राख्ने दोहोर्‍याए। सो क्रममा उनले आतंकवाद, आप्रवासन, अमेरिकी मध्यमवर्ग, शरणार्थी समस्या, आदिबारे बोलेका थिए।