You are here
Home > बिचार/अन्तरबार्ता > बलात्कारबाट जन्मेको बच्चालाई ‘तिम्रो बा को हो’ भनेर सोध्न मिल्छ महामहिमज्यू ?

बलात्कारबाट जन्मेको बच्चालाई ‘तिम्रो बा को हो’ भनेर सोध्न मिल्छ महामहिमज्यू ?

४ आश्विन २०७४, बुधबार १५:४५

महामहिम राजदूत अलाइना बी टेप्लिज,

तपाईँ नेपालीभाषाका धेरै शब्द बुझ्नुहुन्छ र केही शब्दहरू कन्फिडेन्सका साथ बोल्नु पनि हुन्छ। तपाईँ/मेरो देश अमेरिकाका पहिलो डिप्लोम्याट जोन एडम्सले ‘२१ ‌औं शताब्दीको अमेरिकन डिप्लोमेसी’ का जति सुत्रहरु बताएका थिए तीँ भन्दा धेरै बिषयमा तपाईँको दख्खल छ।

तर यो आलेख अलिकति लामो छ। त्यसैले म चाहन्छु कुनै माध्यम मार्फत तपाईँको टेवलसम्म यो अंग्रेजी भाषामा पुगोस्।

सन् २०१५ को जुन २३ मा तपाईँले प्रस्तुत गरेको ७ सय ७७ शब्दको ‘टेस्टोमोनी’ बाट म ज्यादै प्रभावित भएँ।  र, त्यो भन्दा बढी प्रभावित त्यतिवेला भए जतिवेला तपाईँ नेपाल पुग्नुभयो र  छोरा बराबर छोरीको लागि समान शिक्षा र महिला अधिकारका कुरा तपाईँका हरेक कृयाकलापसँग जोडिएर आउन थाले।

महिलालाई हाम्रो समाजको कुन स्थानमा राख्न पर्ने थियो र कहाँ राखिएको छ भन्ने कुरा तपाईँ महिला भएर जति बुझ्नु हुन्छ म पुरूष हुनुको नाताले त्यो हदसम्म कहिल्यै बुझ्न सक्ने छैन।

जन्मदै ‘महिलाहरुको काम चुलोचौको त हो नी’ भन्ने मात्र बुझेका छन् नेपालमा अधिकाँश गाउँठाउँका महिलाहरुले। ‘यो साँचो कुरा होइन’ भन्न तपाईँ जनकपुरदेखि उदयपुर र नवलपरासीसम्ममा उद्धमको सपना देख्ने र आत्मनिर्भर हुन इच्छा राख्ने महिलाहरुलाइ भेट्नु भयो आँट, आड र भरोसा बाँढ्नु भयो।

बा/आमाको परिचय नभेटिएर माइती नेपालमा जम्मा गरिएका साना नानीहरु भेटन जानुभयो। अंगालो हालेर खुसी बाँढ्नु भयो। ‘बा/आमा नहुनु ती साना नानीहरुको गल्ती होइन’ भन्ने कुरा माइती नेपाललाई मात्र होइन सरकारलाई समेत सिकाउनुपर्छ भन्नु भयो। ‘यी नानीहरुको भविश्य बा/आमा नहुनुसँग जोडिनु हुँदैन’ भन्ने तपाईँको ‘मुभमेन्ट’ मलाई मन पर्ने मन्त्र हो।

महिला हुनुको अस्तित्वलाई जिवन्त राख्न संघर्षगरिरहेका बादी महिलाहरु, टुहुरा बालवालिकाहरु, दलित महिलाहरुको बारेमा बढी चिन्ता गर्ने संवेदनशील डिप्लोम्याट्स अमेरिकावाट सन १९६० यता कोहि नेपालमा पुगेको छ भने त्यो तपाईँ हो।

रोल्पा, मनाङ, कैलाली, उदयपुर, गोरखा, जनकपुर तपाईँ जहाँ पुग्नु भयो त्यहाँ महिला शशक्तिकरण र शिक्षाको आवश्यकतामाथि नै जोड दिनुभयो। ‘डिप्लोम्याट्स’ले राजनीतिबाहेक अरु बुझ्नुपर्ने विषयहरू पनि छन् भन्ने कुरालाई तपाईँले प्रमाणित गर्नुभयो।

महिला र बालवालिकाका विषयमा तपाईँ कति संवेदनशील हुनुहुन्छ भन्ने कुरा यी उदाहरणले प्रमाणित गर्दैनन र?

अब लागौँ अपागंहरुप्रति तपाईँको संवेदनशीलता।

महिला र बालबालबालिकाका बारेमा तपाईँ जति संवेदनशिल देखिनुभयो मैले त्यो भन्दा बढी संवेदनशील अपांगका बारेमा भएको देखेँ। समाजमा कसैलाई सबैभन्दा बढी प्रेम, सद्‌भाव र सहयोगको आवश्यकता छ भने त्यो अपाङगहरू नै हुन्। शिक्षा र आत्मनिर्भरता उनीहरूलाई बाँच्न हौसला दिने महत्वपूर्ण ‘ट्याब्लेट’ हुन्। राष्ट्रिय अपांग कोषका कर्मचारीहरुसँगै उभिएर जब तपाईँले अपांगलाई उपहार दिनुभयो, त्यो बेला मेरी लाटी दिदि तपाईँकै छेउमा उभिएको महशुश भयो।

सन् २०१६ मा युएसए आइडी मार्फत अमेरिकाले १६ सय अपांगलाई सहयोग गरेको तपाईले घोषणा गर्नुभयो। त्यो बेला हो न हो, मेरी दिदीले पनि एउटा खुट्टा पाएको महशुष गरे। खुसीले श्वास फुल्यो। अपांगलाई दिएको सहयोगको खुसी अपांङ्ग र उनका परिवारसम्म मात्रै पुग्दैन। तपाईँले सहयोग दिन नसकेका अपांङ्ग र परिवारहरुसम्म पनि पुग्छ। त्यो खुसी मैले पनि पाँए। महशुस गरे।

तपाईँले महिलाहरुमाथि हुने बलात्कारको बिरोधमा बोलेका ‘स्पिच’ हरू मैले सुन्न छुटाएको छु। तर यसमा तपाईँको के मत होला भन्ने कुरा मलाई बुझ्न कठिनाइ छैन। पूर्ण अपाङ्ग महिलामाथि हुने बलात्कारको विषयले त सामान्य मान्छेको जिउ समेत सिरिङ्ग हुन्छ। तपाईँको यसमा के प्रतिकृया होला भनेर सोधिरहन पर्ने विषय नै परेन।

र पनि, मुल विषयमा जानुभन्दा अगाडि तपाईँलाई एउटा प्रश्न छोडेर जान चाहन्छु।

पूर्ण अपाङ्ग (बोल्न, हिँडन र सुन्न नसक्ने) महिलालाई गरिएको बलात्कारबाट जन्मेको १५ वर्षको बच्चालाई तपाईँको अगाडि उभ्याइयो भने ‘तिम्रो बा को हो?’ अथवा तिम्रो आमालाई कसले बलात्कार गरेको हो भन्ने प्रश्न सोध्न सक्नुहुन्छ कि हुन्न?

महिला, त्यसमाथि अपांङ्ग अझ त्यसमाथि जुम्लाको जंगलमा आफैं बच्चो जन्माउनु। यो कष्ठलाई तपाईँ आमा भएर जति महसुस गर्नुहुन्छ यसको एक अंश पनि शायदै म अनुभव गर्न सक्छु। सन २००२ मा यसैगरी मेरी पूर्ण अपाङ्ग दिदीको बच्चा जन्म्यो जंगलमा।

यसरी जन्मेने बच्चोलाई बाँच्ने अधिकारसमेत नभएको ठान्छ हाम्रो समाज। समाजको दोहोरो चरित्रमाथि प्रश्न उठाउन कहिल्यै शंकोच नमान्ने पत्रकार युवराज घिमिरेको सहयोगले जन्मेको महिनादिन भित्रै, तपाईँले माइती नेपालमा सराहना गरेर फर्केकी अनुराधा कोइरालाले मासुको डल्लोमात्र रहेको यही बालक काठमाडौं ल्याइन्। शरीरमा स्वास भरिन र भनिन् ‘यसको नाम देव देवकोटा राखौँ।’ उनले यो बच्चोको बा को हो भनेर कहिल्यै सोधिनन्।

‘रेप’ केसबाट जन्मेको बच्चोलाई ‘तिम्रो बा को हो?’ भनेर सोध्न सक्ने मान्छे सामान्य हुँदै होइन। तर नेपालमा कागजात बनाउँदा भने बच्चोको हरेक परिचय बाँसँग जोडिन्छ। आमासँग कहिल्यै जोडिन्न। बच्चाहरुको हरेक पाइलाहरूमा आएर यही ‘बा’ भन्ने शब्दले ब्रेक लगाउँछ। मैले कागजात बनाउँदा बच्चोको बा को हो भनेर आइपर्ने दर्जनौ प्रश्नहरुको प्रतिवाद गरेको छु।

अनुराधा कोइरालाले श्वास भरेको यो बच्चो माइती नेपालमा हुर्कदै गयो।

एक दिन माइती नेपालबाटै अफर आयो। ‘बच्चो ठूलो हुँदै जाँदा झन गाह्रो हुन्छ। जर्मनीबाट एउटा दम्पतिले ‘एडप्ट’ गर्छु भनेका छन्। के गर्नु हुन्छ?’

पूर्ण अपाङ्ग महिलालाई गरिएको बलात्कारबाट जन्मेको बच्चोको लागि यो भन्दा ठूलो कर्म माइती नेपालले अरू केहि गर्नै सक्ने थिएन। ‘बाबुको परिचय दिँदा दिँदै हैरान हुनुपर्ने समाजमा बसेर बच्चोले सय हण्डर खानुभन्दा बाहिरै जाओस्।’ भन्ने लाग्यो मलाई। सोचेर जवाफ दिनुहोला भन्ने अफर थियो। कमसेकम नेपालमा जस्तो, विदेशमा ‘बा’को परिचय दिइरहन पर्दैन भन्ने बुझ्थ्ये म। अमेरिका त यो मामलामा अझ बिशेष मुलुक हो भन्ने ठान्छु म अहिले पनि।

‘हुन्छ, म जर्मनी पठाउन तयार छु।’

मेरो यो जवाफसँगै माइती नेपाललाई फेरि अन्य कागजात उपलब्ध गराउनुपर्ने भयो। जिल्ला प्रशासन कार्यालय जुम्ला पुगेँ। प्रमुख जिल्ला अधिकारी बलहादुर मल्ल थिए। उनले बा वेगरको कागज बनाउन मिल्दैन भने। अपाङ्गलाई गरेको बलात्कारबाट जन्मेको बालकको बालाई मैले सिडियो साप अगाडि खोजेर ल्याउन सकिनँ। कागज बनेन। म काठमाडौ फर्केँ।

कागजबिना ‘एडब्सन’को कामै अगाडि बढ्न सक्दैन थियो। हरेक ठाउँमा बाको परिचय खोज्ने चक्रबाट म हैरान भएँ। थाकेँ। र, माइती नेपालमा आग्रह गरे ‘दिदी अब बच्चोलाई म आफैं राख्छु।’

र, त्यसपछि  बच्चोको बा/आमा बने म। बच्चा जन्मिँदा कुपोषण थियो। मासुको डल्लो मात्रै। माइती नेपालले शरीरमा मासु भरेर पठायो। माइती नेपालमै हुँदा ‘मामा’ भनेर चिन्ने भयो। बा/आमा भनेको नै मामा हो भन्ने बाहेक अन्य कुरा बुझेन बालकले। ‘आमा छिन्, जुम्लामा १२ कक्षा सकेपछि भेट्न जाने।’ भन्ने कुरा बाहेक अन्य केही कुराको जानकारी मैले पनि गराउन जरूरी ठानिनँ। अहिले यो बालक ९ कक्षा पुग्यो। उसलाई १२ कक्षा सकाउन ठूलो आतुरी छ।

दशैँमा नेपाल नआउने? बच्चाले गएको महिना सोध्यो। ‘मिल्दैन यसपाली’ भन्ने जवाफसँगै खिन्न भएको बच्चाले फेरि प्रश्न गर्यो ‘मामा, त्यसो भए म अमेरिका घुम्न आउने।’ यो बच्चोलाई अहिले मैले अमेरिका घुमाउन सक्छु। म अमेरिका नभएर अर्कै मुलुकमा भएको भए यो हैषियत छ भन्न सक्ने थिइनँ।

बच्चाको लागि भिसा फारम भरेँ। मैले फारम भरेदेखि भिसा अन्तर्वार्ता हुने दिनसम्म कुनै पनि दिन भिसा पाइन्छ भनिनँ बच्चोलाई। अमेरिकन भिसा पाउनु लक्की ड्र हो भन्छु म। मेरा बा, जसले जीवनका ७० वर्ष नेपालमै बिताएँ उनलाई एकचोटी अमेरिका घुमाउन ल्याउने निर्णय गर्दा दूतावासले ‘अमेरिका गएपछि नेपाल फर्कने आधार नरहेको’ भनेर पठाइदियो।

त्यसमाथि बच्चोलाई त भिसा दिने कुरै भएन। ‘भिसा दिदैनन्।’ भनीरहँदा मात्रै बच्चालाई पुगेन। ‘अप्लाइ गरे पो थाहा हुन्छ।’ भनिरह्यो। मैले जित्न सकिनँ। त्यसैले फारम भरेँ। अमेरिकन दूतावासको फारममा बा/आमाको बारेमा प्रष्ट लेख्न पर्छ।

बा?

‘अनआइडेन्टीफाइट। अर्थात पत्ता नलागेको।

यो फारम भरिरहँदा फेरि बाको परिचयले फेरि बच्चोको खुट्टामा ठेस लाग्ला भन्ने लाग्यो। ‘अमेरिकनले यो कुरा कमसेकम सोध्दैनन् भन्ने ‘कन्फिडेण्ट’ मनभित्र हुँदाहुँदै पनि फारम भरेपछि दूतावासमा इमेल गरेँ। ‘बरू भिसा नहोस्, बच्चोलाई बाको बारेमा नसोधिदिनु होला। कागज सबैसँगै छन् हेर्नुहोला।’ इमेलको आसय थियो -बच्चालाई बाबुको बारेमा भनेका छैनौँ। र अहिले थाहाँ दिन पनि चाहँदैनौँ। तपाईँलाई चाहिने कागजातहरु सबै तयार छन्। तर बच्चालाई तिम्रो बा को हो भनेर नसोधिदिनु होला।

बच्चोलाई भिसा पाउँदैन भन्ने थाहाँ थियो। मलाई भिसा दिदैनन् भन्ने थाहाँ थियो। भिसा दिने नदिने तजबिजको कुरा हो। सबैलाई दिनैपर्छ भन्ने छैन। यसमा मेरो कुनै आपत्ती पनि छैन। तर जुन कुरा नसोधिदिन आग्रह गरियो त्यही कुरा सोधियो।

बालकलाई भिसा नदिएको कुराले भन्दा बढ्ता ‘टर्चर’ ‘बा को हो?’ भन्ने प्रश्नले दिएर गयो। भिसा अन्तर्वाता सकिनासाथ बाहिर निस्केको बालकले पहिलो प्रश्न यही सोध्यो मामा, ‘मेरो बाबा को हो भनेर सोध्यो किन?’ ११ बजेको परीक्षा समेत दिन जान मन गरेन उसले।

महामहिम अलाइना बी टेप्लिज,

बलात्कारबाट जन्मेको बच्चोलाई पहिलो पटक अमेरिकन कर्मचारीले नै ‘तिम्रो बा को हो?’ भनेर सोधे। बच्चोले जवाफ दिन सकेन र फेरि तपाईँका कर्मचारीले ‘अमेरिका गएपछि नेपाल फर्कने आधार नरहेको’  रेडिमेड कागज हातमा थमाए र बच्चो अवाक भयो र अमेरिकन दूतावासबाट बाहिरियो।

तपाईँको नेतृत्वमा रहेको मेरो दूतावासका कर्मचारीले बलात्कारबाट जन्मेको बच्चालाई ‘तिम्रो बा को हो?’ भनेर सोधेको प्रश्नले मलाई उद्देलित बनायो। आसा छ तपाईँलाई पनि बनाउँने छ। बलात्कारबाट जन्मेको बच्चालाई  ‘तिम्रो बा को हो?’ भनेर सोध्ने यत्तिबिधि साहस त नेपालमै पनि गरेका थिएनन् महामहिमज्यू!

धन्यवाद।

-सेतोपाटी ग्लोबल