You are here
Home > खेलकुद > १६ वर्षे प्रतिभाको भलिबल यात्रा

१६ वर्षे प्रतिभाको भलिबल यात्रा

५ आश्विन २०७४, बिहीबार १६:२४

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल खेलाडीले युरोपमा प्रशिक्षणको मौका पाएको यो पहिलो अवसर हो। युरोप प्रस्थानअघि प्रतिभाले नेदरल्याण्ड भलिबलमा प्रभाव छाडेर फर्कने विश्वास व्यक्त गरिन्।

गत भदौ दोस्रो साता नेदरल्यान्ड भलिबल सङ्घले प्रतिभालाई तीन साताको विशेष प्रशिक्षणका लागि निमन्त्रणा पठाएको थियो।

त्यसअघि गत महिना नेपाल भ्रमणमा आएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भान तरेलले प्रतिभाको प्रतिभाबाट प्रभावित हुँदै उनको नेदरल्याण्ड भम्रणको प्रबन्ध गरेका थिए। तीन साता प्रशिक्षणका क्रममा नेदरल्याण्ड रहँदा उनको सम्पूर्ण खर्च नेदरल्याण्ड भलिबल सङ्घले व्यहोर्ने छ।

साहस स्पोर्टसकी ब्राण्ड एम्बासडर समेत रहेकी प्रतिभाले विदाइ कार्यक्रममा आफूले नयाँ सीप सिक्नुका साथै र नयाँ अनुभव हासिल गरेर फर्कने बताइन्।

भम्रणले व्यक्तिगत क्षमता मात्रै विकास हुने नभइ समग्र नेपालको भलिबल स्तर उकास्न समेत मदत पुग्ने उनले बताइन्।

प्रतिभाको विदाइ गर्दै भलिबल प्रशिक्षक कुमार राईले प्रतिभाले नेदरल्याण्डमा नेपाली भलिबलको स्तर मजबुत रहेको सन्देश दिन सकून् भन्ने आशा व्यक्त गरे।

साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले माल्दिभ्समा समेत व्यवसायिक भलिबलको अनुभव बटुलिसकेकी प्रतिभाले आफ्नो स्तर अझै माथि उकास्ने विश्वास व्यक्त गरे। साथै उनले प्रतिभालाई नेदरल्याण्डमा आवश्यक पर्ने सम्पूर्ण खेल पोसाकहरु साहस स्पोर्टसले उपलब्ध गराउने जनाए।

१३ वर्षको उमेरदेखि नै राष्ट्रिय टोलीबाट भलिबलमा डेब्यु गरेकी माली त्यसयता निरन्तर टोलीमा छिन्। उनी राष्ट्रिय टोलीकी सबैभन्दा कान्छी खेलाडी समेत हुन्। न्यु डायमण्ड एकेडेमीकी उत्पादन मालीले नेदरल्यान्डमा व्यवसायिक प्रशिक्षण लिनेछिन् ।

अविश्वसनीय भलिबल यात्रा

नैकापमा अवस्थित न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईले स्कुलमा महिला भलिबलको टिम बनाउने सोचका साथ ०६२ सालमा स्कुलका छात्राहरूलाई भलिबल सिकाउन सुरु गरेका थिए। सुनकेशरी माली स्कुलकी एकाउन्टेन थिइन्। उनले उनकी ७ वर्षीया भतिजी प्रतिभाको कद उनका सहपाठीभन्दा ठूलो भएकाले प्रतिभा भलिबलका लागि उपयुक्त खेलाडी बन्न सक्ने प्रशिक्षक राईलाई बताइन्।

‘प्रतिभालाई पहिला पटक देख्दा उनको उचाइ र शरीरले उनी भलिबल खेलका लागि फिट हुने खेलाडी हुन् भन्ने लागिसकेको थियो।’ यतिबेलाको क्षण सम्झिँदै राई भन्छन,‘उनका हातका औंला लामा, पञ्जा लामो र सर्लक्क परेको ज्यान भलिबलकै लागि बनेको थियो।’

 

प्रतिभालाई भलिबल खेलाडी बनाउने उद्देश्यसहित उनलाई न्यू डाइमण्ड स्कुलमा कक्षा दुईमा भर्ना गरियो र त्यहीँबाट प्रतिभाको जीवनमा भलिबलले प्रवेश पायो।

दुई कक्षामा पढ्दै गरेकी बालिकालाई भलिबलप्रति आकर्षित गराउनु चुनौतीपूर्ण काम थियो। त्यो चुनौती चिर्न कुमारले उनकी सानिमा सुनकेशरीको सहयोग लिए। सुनकेशरीले भातिजीलाई फकाउँदै कुमार सरकोमा भलिबल सिक्न पठाउँथिन्। सोही क्रममा कुमारले उनमा भलिबलप्रतिको मोह बढाउँदै लगे।

प्रतिभालाई सुरुका दिन त्यति याद छैनन्। तर स्कुलमा पढाइसँगसँगै कुमार सरले भलिबललाई पनि निकै महत्व दिएको उनी बताउँछिन्।

स्कुलमा दिनदिनै हुने अभ्यासले प्रतिभालाई परिपक्व बनाउँदै लग्यो। उनी ९ वर्षमा टेक्दै गर्दा न्यू डाइमन्डले पोखरामा हुने एक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भयो। त्यस प्रतियोगितामा विपक्षी ठूल्ठूला खेलाडीहरु सामू प्रतिस्पर्धा गरेको उनी अझै सम्झन्छन्।

विपक्षी खेलाडीहरु नेटमाथिबाट सट प्रहार गर्ने र न्यू डाइमण्डका खेलाडीहरु नेटमूनीबाट सट प्रहार गर्न पनि नसक्ने अवस्था देखेपछि आयोजकले न्यू डाइमन्ड टिमलाई प्रतियोगितामा बच्चाहरु लिएर नआउन भनेको त्यसबेलाको तीतो अनुभव उनीसँग छ।

प्रतिभा नेपाली महिला भलिबलको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गर्ने खेलाडी हुन्। काठमाडौंमा तीन वर्षअघि भएको दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो। सोही प्रतियोगितामा १३ वर्षे उमेरमा राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा एकाएक चुलिएको हो।

भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपाली महिला भलिबल टिमले कास्य पदक जित्दा प्रतिभाको उत्कृष्ट प्रदर्शन रह्यो।

भर्खरै १६ वर्ष मात्रै टेकेकी प्रतिभा मदन–पासाङ स्मृति कप तथा प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी, शेरबहादुर खड्का स्मृति र ढोरपाटन डबल लिगमा बेस्ट स्पाइकर, ढोरपाटन डबल लिगमा उपविजेता लगायत गरी उनले ८० भन्दा बढी पदक र सम्मान थापिसकेकी छिन्।

पल्सर स्पोर्ट्स अवार्ड–२०७२ को पिपुल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल प्रतिभा पल्सर स्पोर्टस् २०७३ मा उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमा समेत परेकी थिइन्।

-अनलाइन खबर देखि साभार