You are here
Home > प्रवास > नेपाल ओबिओआरमा प्रतिबद्ध छः सभामुख घर्ती

नेपाल ओबिओआरमा प्रतिबद्ध छः सभामुख घर्ती

६ आश्विन २०७४, शुक्रबार १६:४२

चीन |

चीन भ्रमणमा रहेकी सभामुख ओनसरी घर्तीले नेपाल ओबिओआरमा प्रतिबद्ध रहेको बताएकी छन्। चीनको पल्लो शान्सी प्रान्तमा बिहीबारदेखि चलेको तीनदिने सातौं युरो–एसिया इकोनोमिक फोरममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँगको भेटमा सभामुख घर्तीले सो कुरा बताएकी हुन्।

सो अवसरमा उपप्रधानमन्त्री वाङले ओबिओआर परियोजनाले अन्तरदेशीय लिंक गर्ने मात्र नभइ यस परियोजनामा सामेल भएका देशहरूको आर्थिक विकासका लागि बल पुग्नेमा चीन आशावादी रहेको बताए। उनले एक पेटी एक मार्ग अभियानले यसमा संलग्न सबै साझेदारहरूको आर्थिक स्तर उकास्न सघाउने बताए।

भेटमा सभामुख घर्तीले बेल्ट एण्ड रोड इनिसियटिभ्समा सामेल हुनका लागि नेपालले एमओयुमा हस्ताक्षर गरेको सुनाउँदै एक पेटी एक मार्गको अभियानमा नेपाल प्रतिबद्ध रहेको बताइन्। नेपालको भ्रमण वर्ष २०१७ लाई चीनको समर्थन प्राप्त भएकोमा धन्यवाद दिँदै उनले धेरै चिनियाँ पर्यटकलाई नेपाल पठाउने पहल गर्न पनि चीनसँग आग्रह पनि गरिन्।

बिहीबार पल्लो शान्सी प्रान्तका गभर्नर तोङ च्युन पनि सहभागी रहेको वाङ याङसँगको सो भेटवार्तामा सभामुख घर्तीले नेपालमा चिनियाँ लगानी भित्र्याउने, अवरूद्ध तातोपानी नाका खुलाउने लगायत आपसी हितका विषयमा कुरा राखेको संसद सचिवालयका उपसचिव मदनप्रसाद पोखरेलले जानकारी दिए।

त्यसैगरी शुक्रबार सभामुख घर्तीले पल्लो शान्सी प्रान्तीय संसदका उपप्रमुख, प्रान्तीय कृषि विभागका प्रमुख लगायतसँग पनि भेटवार्ता गरेकी छन्। ती भेटहरूमा सिआनसँगको भगिनी सम्बन्ध रहेजस्तै नेपाल पनि अब संघीय प्रणालीमा गएकाले प्रान्तीय सम्बन्ध विकासका साथै नेपालमा चिनियाँ कृषि प्रविधि भित्र्याउने र पल्लो शान्सीबाट पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा कुराकानी भएको उपसचिव पोखरेलले बताए।

भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकर्ता कम्पनीका पदाधिकारीसँग सभामुख घर्तीले कम्पनीले गरिरहेको निर्माण गतिविधिबारे पनि छलफल गरेकी छन्।

शान्सी प्रान्तका उपगभर्नर वेइ चङच्युनका अनुसार बेल्ट एण्ड रोड इनिसियटिभ्सको प्रारूपमा मञ्च, प्रदर्शनी, लगानी सम्मेलनहरू संचालन गरिँदा राष्ट्रिय रणनीति तथा विदेशी लगानीका विषयमा टेवा पुग्ने अपेक्षा छ। सम्मेलनका अवधिमा वाणिज्य, सँस्कृति तथा जैविकता लगायतका ४० वटा बैठकहरू आयोजना गरिएको छ। सभामुख घर्तीले युरो एसिया इकोनोमिक फोरम र महिला फोरमको उद्घाटन सत्रमा आफ्नो सम्बोधन गरेकी थिइन्।

-नेपाल खबर बाट साभार