You are here
Home > अर्थ/बजार > दुबै खुट्टा बिहिन रमनसिं थापालाई मगर लाफा ग्रुपले आर्थिक सहयोग

दुबै खुट्टा बिहिन रमनसिं थापालाई मगर लाफा ग्रुपले आर्थिक सहयोग

८ आश्विन २०७४, आईतवार १३:०७

पोखरा |

रेल चढ्ने क्रममा हात फुत्केर रेलको लिगमा परी दुबै खुट्टा गुमाएका रमनसिं थापा मगरलाई “मगर लाफा” ग्रुपले विभिन्न देशमा रहेका सहयोगी मनहरुबाट संकलन गरेको सहयोग रकम रु. २,०७,०९५ (दुई लाख सात हजार पन्चानब्बे रुपैयाँ) सहित स्वाबलम्बन नेपालले प्रदान गरेको ह्वीलचियर हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि खेम राना मगरले यो अकल्पनीय दुर्घटना भएको र निजको पारिवारिक आर्थिक स्थिति नाजुक रहेकोले सबैलाई सहयोग गर्न अपिल गर्नु भयो । तेस्तै तनहुँ सम्पर्क समाज यु.के का सदस्य तथा समाजसेवी मित्र माकिम ज्युले यस्तो किसिमको दु:ख जोकोहीलाई पर्न सक्ने र यति बेला रमनसिं लाई सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

न्यू संगम युवा क्लबको व्यवस्थापनमा शुक्रबार एक कार्यक्रम गरि ऋषिङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खेम राना मगरको प्रमुख आतिथ्यमा सोही गाउँको विभिन्न संघसंस्थाका व्यक्तित्व तथा भद्रभलादमीहरुको रोहवरमा “मगर लाफा” ले विभिन्न देशबाट संकलन गरेको रकम रु. ६७,३७० (सडसठ्ठी हजार तीन सय सत्तरी रुपैयाँ) सोही ग्रुपका सदस्य तथा सञ्चारकर्मी पदम थापा मगरले प्रदान गरेको थियो भने यु.के. बाट संकलन भएको रकम रु. १,३९,७२५ (एक लाख उनन्चालिस हजार सात सय पच्चीस रुपैयाँ) तनहुँ सम्पर्क समाज यु.के का सदस्य समाजसेवी मित्र माकिम ज्युले प्रदान गरेको थियो ।

खुट्टा अपांग भए पनि हात सकुशल रहेकोले यदि यहाँहरुले साथ दिनुभयो भने अस्थायी खुट्टा हालेर बैशाखीको सहाराले हिन्नेछु र मोबाइल मर्मत सम्बन्धि तालिम लिएर भोलिका दिनमा मोबाइल पसल खोलेर आफ्नो लागि आफै कमाउन सक्ने हुनेछु यहाँहरुले मलाई सक्दो सहयोग गरिदिनु होला गहभरी आँसु बनाउँदै रमनसिंले भने । 

साविक काहुँशिवपुर गा.वि.स. वडा नं. ४ चारघरे, तनहुँ र हाल तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडा नं. २, काहुँ चारघरे निवासी रमनसिं थापा मगर २०६९ सालमा वैदेशिक रोजगारको लागि छिमेकी देश भारत जाने शिलशिलामा गोरखपुरमा रेल चढ्ने क्रममा दुर्घटना भई दुबै खुट्टा घुँडा भन्दा माथी बाट गुमाएको थियो । घरको आर्थिक स्थिति कमजोरका कारण अहिले सम्म अस्थायी खुट्टा सम्म हाल्न नसकेको र सरकार बाट पाउने थोरै मात्र सामाजिक सुरक्षा भट्ट बाहेक अरु कुनै व्याक्ती वा संघसंस्थाले सहयोग नगरेको अवस्थामा “मगर लाफा” ग्रुपले सहयोग अभियान नै चलाएर यत्रो रकम सहित ह्वीलचियर प्रदान गरेकोमा मगर लाफा ग्रुप र ह्वीलचियर प्रदान गर्ने संस्था स्वाबलम्बन नेपाल प्रति हार्दिक आभार प्रकट गरे ।

न्यू संगम युवा क्लबका अध्यक्ष पदम थापा मगरको अध्यक्षतामा भएको सो सहयोग हस्तान्तरण कार्यकम संचालन मगर सांस्कृतिक संघ तनहुँका अध्यक्ष अनुराग थापा मगरले सञ्चालन गरेको थियो ।