You are here
Home > कला > रंगमञ्चका सूत्रधार

रंगमञ्चका सूत्रधार

८ आश्विन २०७४, आईतवार १३:४३

६ कक्षा पढ्दै गरेकी ११ वर्षीया शर्मा त्यतिवेला स्कुल बिदा भएर केशरमहलस्थित आफ्नै घरमा आइपुगेकी मात्र के थिइन्, दिदी चन्द्रकला, सुनिल पोखरेल र बद्री अधिकारीले बोलाए । पोखरेल भन्छन्, ‘हामीले त्यतिवेला नाटक अभिनयका लागि उनलाई प्रस्ताव राख्यौँ ।’ आफूलाई नाटक खेल्ने प्रस्ताव नगरेर ‘अर्डर’ गरिएको बताउँछिन्, शर्मा । पोखरेल र अधिकारी मिलेर त्यतिवेला ‘प्रतिभा आकाश माग्छे’ नाटक मञ्चनको तयारी गर्दै थिए । यसैका लागि प्रतिभाको बहिनी भएर अभिनय गर्न सानी केटीको खोजी चलिरहेको थियो । शर्मा भन्छिन्, ‘मञ्चमा खेलेको यो नै मेरो पहिलो नाटक थियो ।’ त्यतिवेला यो नाटक निकै चर्चित भएको थियो । धेरैले ‘ब्ल्याक’मा टिकट काटेर नाटक हेरेको सम्झिन्छिन्, शर्मा । यसभन्दा पहिले शर्माले नाटक नखेलेको भने होइन । पाँच वर्षकै उमेरमा स्कुलमा भएको विजय मल्लको ‘कंकाल’ नाटकमार्फत उनले आफ्नो अभिनय शुरुवात गरेकी थिइन् ।

पोखरेललाई शर्माको अभिनय पटक्कै मन नपर्ने । त्यतिवेला आफूले गम्भीर भएर ‘रिहर्सल’मा ध्यान नदिएको सम्झिन्छिन्, शर्मा । उनको झारो टार्ने काम देखेर पोखरेलले धेरैपटक गाली गरे । कतिपटक त उनले आँशु झारिन् । पोखरेल उनलाई नाटकका हरेक संवाद बुझाउँथे र सरल भाषामा बोल्न लगाउँथे । कहिलेकाहीँ उदाहरण दिएरै बुझाउनुपथ्र्याे । निर्देशक भन्दैमा आफ्ना कुरा नथोपर्ने पोखरेलको बानीले शर्मालाई खुबै प्रभाव पारेको थियो । त्यसवेला पोखरेलले गाली गर्दै सिकाएको हुनाले नै आफूले अभिनय गर्न जानेको बताउँछिन्, उनी । ‘आफ्नै कुरा मात्र भन्नुपर्छ भन्ने मान्यता राख्दिनँ म । केही कुरा पात्रलाई छाडिदिनुपर्छ,’ पोखरेलले शर्मासँग बिताएका पुराना दिनहरू सम्झे, ‘ऊ एकदमै केयरलेस थिई, म उसलाई गाली गरेर अभ्यास गराउँथे । एकपटक त स्क्रिप्टसमेत फालाफाल भयो ।’

निर्देशक भन्दैमा आफ्ना कुरा नथोपर्ने सुनिल पोखरेलको बानीले निशा शर्मालाई खुबै प्रभाव पारेको छ।

कुनैवेलाकी ‘केयरलेस’ पात्र शर्मा अहिले नाट्यक्षेत्रमा सफल कलाकारको रूपमा चिनिन्छिन् । ‘कठपुतलीको घर’मा गरेको अभिनयले उनले निकै प्रशंसा बटुलिन् । एकदिन त साहित्यकार कमलमणि दीक्षितले हाकाहाकी भनिदिए, ‘सुनिल भाइ तपार्इं नाटक नखेल्नुस्, अभिनयमा निशा बहिनीको अगाडि तपाईं दबिनुभयो ।’पत्नीको रूपमा पोखरेलसँग उनले तीन दशक बिताइन् । तीन दशकको अनुभव एकमुष्ठ सुनाउँदै उनी भन्छिन्, ‘उनी ‘अघोरी बाबा’ हुन् ।’ आफ्नै काममा मस्त हुने र पुस्तक पढ्नेबाहेक पोखरेललाई अरू दुनियाँको मतलब छैन । यो कुरा शर्मालाई विवाहअघि नै थाहा थियो । त्यसैले विवाहअघि नै उनीहरूबीच एक किसिमको शर्त थियो । ‘म व्यावहारिक छैन । घरको सम्पूर्ण जिम्मेवारी तिमीले लिनुपर्छ भन्नुभएको थियो,’ शर्माले विवाहपूर्व आफूहरूबीच भएको कुराकानी सम्झिइन्, ‘मलाई तिमीले मेरो काम गर्न स्वतन्त्र छाडिदिनुपर्छ भन्ने उहाँको आग्रह थियो । मैले पनि सहमति नै जनाएँ ।’ अहिलेसम्म शर्माले उनलाई घरव्यवहारबाट अलग्गै राखेर स्वतन्त्र छाडिदिएकी छन् । बरु, घरका सम्पूर्ण काम उनी आफैं गर्छिन् । पोखरेललाई त खाना बनाउन पनि आउँदैन । भन्छन्, ‘यो सबै समयको बर्बादी हो ।

खाना बनाउन्जेल दुई वटा किताब पढी भ्याउँछु ।’ पोखरेलले काममा सघाउलान् र आफूलाई सजिलो होला भन्ने आशा पनि छैन, उनलाई । तर, अरूवेला घरको काम छुँदा पनि नछुने पोखरेलले छोरा जन्मिँदा भने खुबै सेवा गरे । एक साता अघिदेखि शर्मालाई रेखदेख, काममा सघाए । भर्खरै जन्मिएको छोरा समाउन भने उनलाई डर लाग्थ्यो । शर्मा भन्छिन्, ‘आफ्ना छोराछोरीलाई बोक्नेदेखि लुगा फेराइदिनेसम्म गर्छन् अरू । तर, उहाँले त्यस्तो केही गर्नुभएन ।’ शर्माको कुरा काट्दै पोखरेल भन्छन्, ‘मैले बोक्दा छोरा लड्ला कि भन्ने ठूलो डर थियो । त्यसैले बोकेर नहिँडेको ।’पोखरेलको पिउने बानीले कहिलेकाहीँ आफूलाई गाह्रो हुने बताउँछिन्, शर्मा । कहिलेकाहीँ सम्झाउँछिन् । १–२ महिनाका लागि पोखरेल पिउन छाडिदिन्छन्, तर फेरि उस्तै । कहिलेकाहीँ बिहानैदेखि पिइदिन्छन् । शर्मा भन्छिन्, ‘बिहानैदेखि पिउन थाल्नुभयो भने अलि अप्ठ्यारो पर्छ । केही भन्यो कि आक्रामक बन्नुहुन्छ ।’ तर, पोखरेलको बानीबाट आफू दिक्क मानेर नबस्ने बताउँछिन्, । भन्छिन्, ‘मैले त मेरो काम गर्नुपर्छ । दिक्क मान्नेभन्दा व्यवस्थापन गर्नतिर लाग्छु ।’

साभार-अन्नपूर्ण टुडे