You are here
Home > कला > सउल ओलम्पिक पार्क तताउँदै नेपथ्य

सउल ओलम्पिक पार्क तताउँदै नेपथ्य

८ आश्विन २०७४, आईतवार १६:३१
काठमाडौँ |
लोकप्रिय लोक–रक ब्याण्ड नेपथ्यको आगामी सांगीतिक कार्यक्रम दक्षिण कोरियाली राजधानी सउलमा हुने भएको छ। ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा नेपथ्यले असोज १८ गते आफूलाई प्रस्तुत गर्ने जनाएको छ।
सउलस्थित ओलम्पिक पार्क ‘ओलपार्क’का रूपमा पनि प्रसिद्ध ठाउँ हो । सन् १९८८ को ओलम्पिक आयोजनाका निम्ति यसको निर्माण भएको थियो। उतिबेला खेलकुदका हिसाबले तयार पारिएको हललाई कोरियाली सरकारले सन् २०११ मा कन्सर्ट हलका रूपमा पुनर्निर्माण गर्‍यो। यसरी विश्वस्तरीय कन्सर्ट हलको रूपमा विकास भएपछि त्यहाँ डिप पर्पल, जुदास प्रिस्ट, मराया क्यारे र एयर सप्लाई जस्ता विश्वप्रसिद्ध सांगीतिक टोलीहरूले आफूलाई प्रस्तुत गरिसकेका छन्। त्यहाँ नेपथ्यले यसअघि पनि चार पटक कोरियाली राजधानीमा आफ्नो उपस्थिति जनाइसकेको छ ।
‘सन् २००५ मा पहिलो पटक आफ्ना गीतहरू यहाँ सुनाए यता सउलले निरन्तर नेपथ्यलाई निम्त्याउँदै आएको छ’, ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘पछिल्लो पटक केबीएस एरेनामा आफूलाई प्रस्तुत गरेको नेपथ्यले यसपटक ओलम्पिक हलमा उभिने मौका पाएको छ।’ ‘नेपालभित्र र बाहिर रहेर हामीलाई अगाध माया दिँदै आउनुभएका सम्पूर्ण श्रोताप्रति आभार ब्यक्त गर्न चाहन्छु’, ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘नेपथ्य स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेका बेला सउलमा पाँचौँ प्रदर्शनको निम्ति जान पाउँदा असाध्यै खुसी लागिरहेको छ।’ नेपाली संगीतमा समर्पित भएको रजत उत्सवका अवसरमा नेपथ्यले यो वर्षभरि निरन्तर म्युजिक भिडियो रिलिज गर्दै आएको छ। त्यसबाहेक श्रोताहरूको बढ्दो मागलाई स्वागत गर्दै ब्याण्डले भर्खरै अष्ट्रेलिया र न्यूजिल्याण्डको शृंखलावद्ध सांगीतिक भ्रमण पनि सम्पन्न गरिसकेको छ।
दक्षिण कोरियाको यो पछिल्लो भ्रमणमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।