You are here
Home > कला > द्धन्द्धकालीन बिषयमा चलचित्र ‘तान्द्रो’

द्धन्द्धकालीन बिषयमा चलचित्र ‘तान्द्रो’

८ आश्विन २०७४, आईतवार १८:४२

काठमाडौं ।

आइतबार राजधानीको एक कार्यक्रमका बिच चलचित्र ‘तान्द्रो’को ट्रेलर सार्वजनिक गरिएको हो । तत्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाएर निर्माण गरेको ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ ।

विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागीता जनाइसकेको नेपाली चलचित्र ‘तान्द्रो’को मुख्य कथा वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तत्कालीन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।

चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । ‘तान्द्रो’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङले जानकारी दिए । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतीस कुमार गौतम हुन् ।

चलचित्रमा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् ।