You are here
Home > कला > अभिनेत्री लक्ष्मी रानाको निधन

अभिनेत्री लक्ष्मी रानाको निधन

१० आश्विन २०७४, मंगलवार १३:४८

काठमाडौं |

अभिनेत्री लक्ष्मी रानाको निधन भएको छ। लामो समयदेखि दुबै मृगौलाले काम गर्न छाडेको कारण अस्पतालमा भर्ना भएकी उनको म‌ंगलबार निधन भएको हो।

कुनै समय नृत्याङ्गिनीको रुपमा परिचय स्थापित गरेकी उनी ११ वर्षदेखि मृगौलाको समस्याले पीडित थिइन्। उनको एक मृगौला सुकिसकेको र अर्कोले पनि ४० प्रतिशत मात्र काम गर्ने अवस्थामा पुगेको थियो। लामो समयदेखि मृगौलाको ‌औषधी सेवन गर्दै आएकी उनको उपचारका लागि विभिन्न संघ संस्थाले आर्थिक सहयोग पुर्याउँदै आएको थियो। तर आर्थिक अभावमा उनले मृगौला प्रत्यारोपण भने गरेकी थिइनन्।

पर्सा जिल्लाको वीरगञ्जबाट उति बेलाको चर्चित पञ्चम क्लबसँग आवद्ध भएर कला यात्रा शुरु गरेकी रानाले टेलिसिरियलको पकड राम्रो भएको बेला बाचा विर्सेको छैन,निमित्त नायक,एक साँझ लगायत थुप्रै टेलिशृङ्खलामा अभिनय गर्नु भएको छ। उहाँ नृत्यमा यति पारङ्गत हुनुहुन्थ्यो कि उहाँले नृत्यबाटै धेरैको मन जित्नु भएको थियो।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको सिफारिसमा उहाँ पहिलो पटक फ्रान्समा कार्यक्रम गर्न जानुभएको थियो।उहाँले भारत,स्पेन,जापान,स्वीजरल्याण्ड,फ्रान्स लगायत सय भन्दा बढी देशहरुमा आफ्नो कला प्रस्तुत गर्नु भएको थियो।

लक्ष्मी राना एक समयको निकै व्यस्त नृत्यांगना हुन । स्टेज प्रोग्रामका लागि देश तथा विदेशका धेरै ठाउँहरुमा पुग्नुहुन्थ्यो। उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि काम गर्नुभएको हो। उहाँको मुख्य विशेषता भनेको नेपाली सांस्कृतिक नृत्य थियो। राना मगरले मारुनी, टप्पा, झ्याउरे, स्याब्रु, मैथली सबै प्रकारका लोक नाचमा अब्बल पनि हुनुहुन्थ्यो।

फिल्म ‘मनकामना’ मार्फत सह-अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले एक साँझ, बाचा बिर्सेको छैन लगायतमा पनि अभिनय गरेकी थिइन्।