You are here
Home > प्रवास > म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

११ आश्विन २०७४, बुधबार ०२:०७
न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और राष्ट्रिय अस्मिता (१९९९)  र औपनिवेशिक मानसिकता से मुक्ति (१९९९) शीर्षकमा उनका दुईओटा पुस्तक हिन्दीमा प्रकाशित छन र  उनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएर प्रकाशित भएका छन् । युसी इरविनमा  तुलनात्मक साहित्यका  विशिष्ट प्रोफेसर न्गुगी थुप्रै पुरस्कार र  ११ मानार्थ  विद्यावारिधिबाट सम्मानित छन् । न्गुगी आफूलाई “भाषा योद्धा” का रूपमा प्रस्तुत गर्छन् । आफ्नो मातृभाषा गियुकुलगायत  अन्य मातृ भाषाहरूको  अधिकार र मान्यताका लागि उनले लामो लड़ाइँ लडेका छन् । भर्खरै उनले ‘एलएआरबी र एसिआर क्रिएटिव राइटिङ लाइफटाइम एचिव्मेन्ट अवार्ड’ नामको प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । सोही अवसरमा हङ्गेरीकी लेखक तथा सम्पादक नन्दा दिस्सौले ‘लस एन्जेल्स रिभ्यू अफ बुक्स’ का लागि लिएको लामो अन्तर्वार्ता हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
…………………………………………………………………………………………………………………………… 

 न्गुगी वा थ्योङ्गोसित नन्दा दिस्सौले गरेको कुराकानी
 

नन्दा दिस्सौ :  सानै छँदा आफू अन्तर्राष्ट्रिय स्तरमै  प्रसिद्ध लेखक हौँला र आफ्ना कथाहरू ६० ओटा  भाषामा अनुवाद होलान् भनेर तपाईंले  सोच्नुभएको थियो ?न्गुगी वा थ्योङ्गो

: अहँ, कहिल्यै पनि यसरी सोचिन । यतिसम्म कि आफू लेखक बनौँला भनेर पनि सोचिन । शिक्षा क्षेत्रमा एकपल्ट हातमा आएको अवसरलाई सुनिश्चित गर्ने कुरा नै कठिन थियो । उपलब्ध केही  स्कुल तथा कलेजमा ठाउँका लागि गरिने प्रतिस्पर्धा  डरलाग्दो थियो । प्राथमिक स्कुलदेखि कलेजसम्म, हरेक दुई वर्षमा टर्मिनल परीक्षा हुन्थ्यो । यो मौका गुम्यो भने गयो, फेरि अर्को मौकाको टुङ्गो थिएन । कारण जेसुकै होस्, तपाईँ एकपल्ट ट्रेनबाट बाहिर निस्कनुभयो भने फेरि त्यो ट्रेन समात्ने कुरै छैन । मैले मेरो संस्मरण द इन्टरप्रिटर हाउसमा भनेझैँ म पढाइलाई निरन्तरता दिन चाहन्थेँ । जीवनमा पहिलोपल्ट पुस्तकालयमा प्रवेश गर्दा एक दिन संसारभरिका सबै किताब पढेर सक्छु भन्ने मेरो आकाङ्क्षा थियो । मेरो यथार्थले त्यो आकाङ्क्षारूपी पखेटालाई बाँधेर राखेको भए पनि पढ्ने इच्छा अझै मरेको छैन  ।

नन्दा दिस्सौ : अहिले आएर लेखकहरूको बीचमा तपाईँ आफ्नो लेखन-भूमिकालाई कसरी हेर्नुहुन्छ ?
न्गुगी वा थ्योङ्गो  : म भाषायोद्धा भएको छु, म  ती  सबै मान्छेहरूमाझ सामेल हुन चाहन्छु, जो हेपिएका भाषाका लागि लडिरहेका छन् । आफूले निर्माण गरेको कुनै पनि भाषा त्यस समुदायका लागि सिमान्त हुँदैन । भाषा सङ्गीतवाद्ययन्त्रहरूका झैं हुन्छ, विश्वमा एकथरी मात्रै वाद्ययन्त्रहरू हुन्छन् ,अथवा कुनै विशेष आवाजमा सबै गायकले गाउन सक्छन् भनेर तपाईं भन्न सक्नुहुन्न ।

नन्दा दिस्सौ :  तपाईँलाई आफ्नो  जीवनको आरम्भमै प्रकाशनको  सफलता प्राप्त भयो । तपाईँको  पहिलो नाटक, द ब्ल्याक हेर्मिट, १९६२ मा लेखिएको थियो र १९६३ मा प्रकाशित भएको थियो । तपाईँले आफ्ना पहिलेका दुईओटा उपन्यास तपाईँ कलेजमा दोस्रो वर्षको विद्यार्थी भएको बेला विप नट चाइल्ड (१९६४ )  र  द रिभर बिट्विन (१९६५ ) आलोचनात्मक उद्घोषका साथ लेख्नुभएको थियो । २० वर्षको सेरोफेरोमै प्राप्त सफलतालाई पछिका दिनमा दोहोर्याउन नसकेकोमा तपाईंलाई चिन्ता लाग्दैन ?

न्गुगी वा थ्योङ्गो : वास्तवमा धेरै वर्षसम्म प्रारम्भिक समयका मेरा कृतिहरूलाई  मैले सिकारू लेखनका रूपमा लिएँ ।  त्यसैले तपाईँले उल्लेख गर्नुभएको उपन्यासहरू, नाटक र आठओटा कथा  अन्य लघु कथाहरू र पत्रकारिततासित सम्बद्ध ६० ओटा लेखका अतिरिक्त  पनि  आफूलाई लेखक ठान्न मलाई गारो परेको थियो । मैले अझै उपन्यास लेख्नु आवश्यक छ भनेर मलाई लागेको थियो,  म आफूलाई सही लेखकको हकदार बनाउने किसिमले  लेख्न चाहन्थेँ । ए ग्रेन अफ ह्विट (१९६७) र पेटल्स अफ ब्लड (१९७५) लाई उपन्यास  बनाउने मेरो प्रयास हो । तर जब मेले यी दुइटा उपन्यास लेखिसकेँ, त्यतिबेर मैले मेरा सिर्जनाहरूको पहिलो लेखन अङ्ग्रेजीमा हुनु हुँदैन भन्ने मानसिकता बनाएँ र यसका लागि गिकुयु भाषाको प्रयोग गर्नुपर्छ भन्ने निधो गरेँ । मैले लेख्छु भनेर प्रयास गरेको गिकुयुमा  पनि उपन्यास लेख्न प्रयास गरेँ, तर अहिलेसम्म लेख्न सकेको छैन । चेतानी मुथरबैनी (१९८० डेभिल अन दि क्रस का रूपमा अनुवाद)  र मुरोगी वा कागोगो (२००६ विजार्ड अफ दि क्रो को नाममा अनुवाद) मेरो नयाँ प्रतिबद्धताका परिणाम थिए । अहिले म के अनुभव गरिरहेको छु भने लेख्नका लागि खास साइत हुँदैन —अथवा भनौँ साइत भनेको त नयाँ यात्राका लागि नयाँ चरणको आरम्भ हो । यो चुनौतीको निरन्तरता हो ।

नन्दा दिस्सौ : तपाईँको आरम्भको नाटक दि अउन्ड इन दि हार्ट ब्रिटिस अफिसरले माउमाउ जातिको सिपाहीकी श्रीमतीलाई बलात्कार गरेको घटनामा आधारित भएकाले प्रकाशन रोकिएको थियो । संस्मरण बर्थ अफ  ए ड्रिम विभर : ए राइटर्स अवेकेनिङ (२०१६) मा तपाईँले प्रयोग गर्नुभएको पदावलीहरूलाई प्रमाण मानेर गरिएको सेन्सरसिपका विरुद्ध तपाईँले सङ्घर्ष गर्नु परेन र ?

न्गुगी वा थ्योङ्गो  :  कम्पाला नेस्नल थियटरमा यसलाई प्रतिबन्धित गर्न अगाडि सारिएको भयङ्कर झूठले मलाई स्तब्ध गरायो र  ब्रिटिस उपनिवेशवादी राज्यद्वारा केन्याका विरुद्ध गरिएको हत्याको विषयलाई लिएर गम्भीर हुनुपर्ने स्थितिमा पुर्यायो । उपनिवेश बनाउने हरेक मुलुकले भन्ने गरेका  झूठहरूमध्ये एउटा झूठ अन्य उपनिवेशवादी मुलुकभन्दा आफूहरू उदार र  दयावान देखाउने खालको हुन्थ्यो   । तर्क यस्तो हुन्थ्यो : उनीहरू हामीभन्दा खराब थिए,त्यसैले हाम्रो त्यो भन्दा राम्रो थियो, झन् राम्रोको अर्थ राम्रोभन्दा माथिल्लो कोटीको भन्ने भएकाले हामी अरूभन्दा राम्रा थियौँ । यो घटना मेरो जीवनको महत्वपूर्ण घटना थियो, किन भने, यसले आश्चर्यजनक  किसिमले मलाई लेख्न अभिप्रेरित गर्यो। त्यसैले मैले मेरो स्मरणलाई त्यो घटनाबाट आरम्भ गरेँ । तर पछाडि फर्केर हेर्दा मेरो जीवनको पछिल्ला दिनहरूमा के हुँदैछ भन्ने कुराको सङ्केत  थियो त्यो घटना, त्यही नाटकका कारण म केन्याको अत्यधिक सुरक्षा प्रवन्धको जेलमा सन् १९७७-७८ सम्म बिताउन बाध्य भएको थिएँ ।

नन्दा दिस्सौ :  तपाईँका सफल रचनाहरूमा अधिकांश सफल रचनाहरू आफ्नो मातृभूमि केन्याबाहिर तीन दशकभन्दा बढी निर्वासित हुनुपर्दा लेखिएका रचनाहरू छन् । निर्वासित हुनुको पीडाबाट उब्जिएको यथार्थको अभिव्यक्ति भएकाले त्यसो भएको हो ?

न्गुगी वा थ्योङ्गो :  होइन, पटक्कै होइन । बरु, निर्वासनले इतिहासलाई आश्चर्यजनक र अझ आकर्षक किसिमले प्रभावित पारेको कुरा बोध गर्दै मैले यसको प्रतिवाद गर्ने प्रयास गरेको  छु । इजिप्टमा मोसा र यिसुले, मोहमद र उनका अनुयायीहरूले इसाई इथियोपियामा, मार्क्सले फ्रान्स र लन्डनमा  शरण मागेको कुरालाई सोचौँ त  । निर्वासनको अनुभवले  विचारको प्रस्फुटन गराएको छ र  यसले पछि गएर आफ्नो भूमिलाई प्रभावित पारेको छ । अफ्रो-क्यारेबियन लेखक जर्ज ल्यामिङले आफ्नो प्रशिद्ध रचना ‘दि प्लिजर अफ  एक्जाइल’  (१९६०) मा के भन्न खोजेका होलान् भन्ने कुराको म अनुमान गर्छु । साथै मैले यसलाई लिएर मेरो पुस्तक ग्लोबालेटिक्स :  थ्योरी एन्ड पोलिटिक्स एन नोइङ (२०१२) मा “ग्लोबालेटिकल इमाजिनेसन” भनेर नयाँ धारणाको पनि विकास गर्न खोजेको छु ।

नन्दा दिस्सौ :  भौतिक रूपमा केन्याबाट टाढा हुनु तपाईँका लागि एउटा मुद्दा भएन र ? अथवा के तपाईँ यी सबै आफ्नो संस्मरणमा ताजा बनाउन आवश्यक ठान्नु  हुन्न र ? त्यति टाढा बसेर लेख्दा तपाईँले अनुभूत गर्नुभएको विशिष्ट कठिनाइहरूका बारेमा बताइदिनुहुन्छ कि ?

न्गुगी वा थ्योङ्गो  : केन्या सधैँ मेरो मनमस्तिष्कमा छ । म हरेक दिन केन्यायी जीवनबाट आफू टाढा भएको अनुभूत गर्छु । गिकुयु केन्यामा सबैभन्दा बढी बोलिने भाषा हो । यो अरू अफ्रिकी भाषाजस्तै एउटा भाषा हो । केन्या भाषाहरूको सिङ्गमरमर हो । जब म गिकुयुमा लेख्न थाल्छु, म यो परिवर्तनमा भाषिक भुदृश्यको एउटा अंश हुन चाहन्छु ।

नन्दा दिस्सौ  : मैले एउटा कुरा बुझ्न सकेकी छैन,  विश्वका थुप्रै मान्छेले कम मात्र जानकारी राखेको मुलुकका जनता र त्यसको इतिहासबारे सबैलाई जानकारी दिलाउन तपाईँ बढीभन्दा बढी लागिरहनु भएको देखिन्छ । सार्वभौव समस्यातर्फ चाहिँ तपाईँको चासो नभएको हो ?

न्गुगी वा थ्योङ्गो : सार्वभौम पनि विशिष्टकै अंश हो ।  बालुवाको एउटा कणलाई सम्झिनुस् त ? त्यसमा विश्व अटाएको छ । विश्वको मानचित्र आफूभित्र निर्माण गर्नका लागि लेखक त्यो कणप्रति इमानदार हुनु आवश्यक छ ।

नन्दा दिस्सौ : पश्चिमा पाठकहरू तपाईँका पुस्तकहरू समग्ररूपमा बुझ्न सक्छन् भन्ने तपाईँलाई लाग्छ ? आफ्ना रचनाका केही अंशहरू आफ्ना खास पाठकका लागि मात्र हुन् —खासगरेर केन्यायीका लागि मात्र —भन्ने तपाईँलाई लाग्दैन ?

न्गुगी वा थ्योङ्गो :  मेरा रचनाहरू खास समुदायले मात्र बुझ्ने खालका छन् भन्ने मलाई लाग्दैन । अथवा, यदि त्यस्तो छ भने, यो खराब लेखनकला हो । तर हरेक पाठकले कुनै कृतिको अध्ययन गर्दा इतिहास र समाजबाट प्राप्त अनुभवद्वारा निर्मित आफ्नो विश्वदृष्टिकोणलाई अगाडि राख्छ । उदाहरणका रूपमा, उपनिवेशवादको अनुभव बोकेको कुनै समालोचकले साम्राज्यज्यवादी केन्द्रका दृष्टिले रचनामा केही अपुग र मौनता देख्न सक्छ ।

नन्दा दिस्सौ :  १९७७ मा तपाईँको विवादास्पद नाटक न्गाहिका न्दिन्दा (आइ विल म्यारी ह्वेन आइ वान्ट) को प्रकाशनपछि  तपाईँ पक्राउ पर्नुभयो र मुद्दा नचलाई एक वर्षसम्म तपाईँलाई जेलमा राखियो ।  जनतामा चेतना जगाउने उद्देश्यले मातृ भाषामा नाटक प्रदर्शन गरेवापत तपाईँलाई जेलमा राखिएको थियो । त्यतिबेला  अङ्ग्रेजीमा लेख्नुको प्रभावलाई बोध गर्नुभएको थियो, तर पनि तपाईँले मातृ भाषा गिकुयुमै लेख्नुभयो । तपाईँले बहुचर्चित कृति  डेभिल अन दि क्रस एकदमै सुरक्षित जेल कामितीमा रहँदा ट्वाइलेट पेपरमा लेख्नुभएको थियो । त्यति बेलादेखि नै अफ्रिकी लेखकलाई मातृ भाषामा लेख्न प्रोत्साहित गर्ने कार्यमा तपाईँ अग्र पङ्क्तिमा उभिँदै आउँनुभएको छ । त्यो लडाइँ अहिले कसरी चलिरहेको छ र पछाडि फर्केर हेर्दा गिकुयुमा लेख्ने आफ्नो यात्राप्रति तपाईँ कस्तो अनुभूत गर्नुहुन्छ ?

न्गुगी वा थ्योङ्गो : सङ्घर्ष जारी छ । हामी राज्य, प्रकाशक र लेखकबीच अपनत्व चाहन्छौँ, जसबाट लेखकले अफ्रिकी भाषाहरूमा आवश्यक स्थान निर्माण गर्न सकोस् । यस मामिलामा राज्यले आफ्नो कर्तव्य बिर्सेको छ । राज्यको नीति युरोपेली भाषाप्रति आकर्षण जगाउने र  अफ्रिकी भाषाहरूलाई निरुत्साहित गर्ने खालको छ । कहिलेकाहीँ पूर्वऔपनिवेशिक मुलुक अफ्रिकी भाषाहरूप्रति ठाडो आक्रमकता प्रदर्शित गर्ने गर्छ  ।

नन्दा दिस्सौ :  तपाईँ केन्या फर्केपछि तपाईँ र तपाईँकी जहान न्जिरी वा न्गुगीमाथि नृशंस आक्रमण भयो । यो घटनाले आफनो मुलुक र मुलुकका मान्छेहरूप्रति  तपाईँको विश्वास त डगमगाएन ? तपाईँलाई कहिलेकाहीँ उतै फकौँ जस्तो लागेन ?

न्गुगी वा थ्योङ्गो :  यो त सत्ताको चरित्र नै हो । १९७७ मा गिकुयु भाषामा मैले र न्गुगी वा मिरीले संयुक्त रूपमा लेखेको र किसान र मजदुरले अभिनय गरेको मेरो पहिलो नाटकमाथि प्रतिबन्ध लगाइएको कुरा हामीले माथि चर्चा गरिसकेका छौँ । सन् १९८२ मा गिकुयु भाषामा लेखिएको मेरो पहिलो उपन्यास चितानी मुथरबाइनी प्रकाशित हुनै लागेको बेला केन्याली प्रकाशक हेनरी चकवामाथि नेरोबीमा उनको घरैअगाडि आक्रमण गरिएको थियो । उनको एउटा औँला छुरीले छिनालिएको थियो, पछि अस्पतालमा लगेर  जोड्नुपर्यो। अपरिचित मान्छेले धम्की दिएको हप्ता दिनपछि सो घटना भएको थियो । १९८७ मा तानाशाह मोइले गिकुयु भाषामा लेखिएको मेरो उपन्यास मातिगरीको अमुक पात्र अरू कोही नभएर अमुक हो भनेर एक जना नागरिक विरुद्ध वारन्ट जारी गरियो  । २००३ मा गिकुयु भाषामा लेखिएको मेरो तेस्रो उपन्यास मुरोगी वा कागोगोको प्रकाशनअघि एउटा मान्छेले म र मेरी श्रमितीमाथि गोली प्रहार गर्यो । तर केन्या भनेको जनता पनि हो । केन्याली जनता मलाई समर्थन गर्छन् । म केन्याली जनतालाई कहिल्यै छोड्न सक्तिन । त्यसैले म बारम्वार केन्या फर्किएँ, र केन्या र यहाँका महान् जनताका बारेमा लेखिरहेँ, लेखिरहेँ ।  केन्याका जनताका बारेमा बोल्दा म विश्वका बारेमा बोलिरहेको हुन्छु ।

नन्दा दिस्सौ  : यस्ता सबै कुराहरू भएर पनि विचलित नभई तपाईँले निरन्तर लेखिरहनुभयो । किन र कसरी ?

न्गुगी वा थ्योङ्गो : म लेख्नका लागि अभिप्रेरित छु । लेखकहरू साँच्चिकै भविष्यद्रष्टा परम्पराका अंशियार हुन् ।  कोर्नेलमा अङ्ग्रेजी विषयको प्राध्यापक तथा लेखक मेरो छोरा मुकोमा वा न्गुगीले आफ्नो कविता ‘हन्टिङ वर्डस् विथ माइ फादर’ मा शब्दविरुद्ध सिकार खेल्ने कुरा खतरनाक छ भनेर व्यक्त गरेको छ । जेलमा राखिएका, अन्य मुलकमा निर्वासित मूलतः हत्या गरिएका सबै भविष्यद्रष्टाहरूलाई हेर्नोस् त । तिनीहरूले गरेको भनेको शब्दको प्रदर्शन नै हो । म लेख्छु, किनभने म जीवित छु ।

नन्दा दिस्सौ :  बर्थ अफ ड्रिम विभरमा तपाईँले संस्मरण लेखनमार्फत ऐतिहासिक विरासतको चर्चा गर्नुभयो : “केन्यामा गोराहरूको उपनिवेशवादी सत्ताले हत्या गरेका थुप्रै मृतकहरूका अनुहारहरूले मलाई चुनौती दिइरहेका हुन्छन् ।” जेल हाल्ने, आतङ्कित पार्ने, कालो सूचीमा राख्ने र हत्याको प्रयासको समेत आफू सिकार भएको कुरा तपाईँले उल्लेख गर्नुभएको छ । यो सबै आतङ्को सम्झना र अनुभवले तपाईँको लेखनलाई कत्तिको प्रभावित पारेको छ ?

न्गुगी वा थ्योङ्गो : उपनिवेशवादी कालको सम्झनाले अझै पनि मलाई लखेट्ने गर्छ ।  मेरो परिवारको सन्दर्भमा पनि यही कुरा हो । जब म मध्यपूर्वमा भएका नरसंहारहरू अथवा काला जातिका मान्छेमाथि अमेरिकाका सडकमा भएका प्रहरीका मनपरि आक्रमण देख्छु, विगतको प्रतिबिम्ब मेरा सामु उभिन्छ । त्यसपछि म झन् कडा मेहनतका साथ लेख्न थाल्छु । म जेल र यातनागृहविहीन विश्व चाहन्छु । म कोही पनि भोको र घरवारविहीन नभएको विश्व चाहन्छु । म एकथरीको सम्पन्नताका लागि अर्का थरी सधैँ तन्नम हुने आधुनिक विकासमा निहित कुतर्कहरूको अन्त्य भएको हेर्न चाहन्छु । केही मान्छेलाई अरबपति–खरबपति बनाउन अरबौँहरू गरिब बन्नुपर्ने मान्यताको अन्त्य भएको देख्न चाहन्छु । मुलुकमा केही हजार मान्छेहरू अरबपति हुनु नै मुलुक सम्पन्न हुनुको मानदण्ड हो भन्ने बहुलट्ठीपूर्ण सोचाइको म अन्त्य भएको हेर्न चाहन्छु । यी खरबपतिहरूले खरबौँ गरिबहरूका लागि के गरेका छन् र ?

नन्दा दिस्सौ :  कुनै खास विषयमा लेख्दा आफूलाई एकदमै पीडाबोध भएको अनुभूत गर्नुभएको छ ?

न्गुगी वा थ्योङ्गो : पीडाग्रस्तहरूलाई सघाउ पुर्याउन र यसको अन्त्य हुने विश्वासका साथ हामी पीडाका बारेमा लेख्छौँ । मानव घाउहरूमा मलहमपट्टी लगाउनका लागि हामी  मान्छेले गरेका सङ्रर्षहरूलाई साथ दिन चाहन्छौँ । एकपल्ट ब्रेख्तले सोधेका थिए :  “अँध्यारो समयमा पनि गीत/ गाउन सकिएला / हजुर, गीत गाउन सकिन्छ/अँध्यारो समयका बारेमा ।” यो कविता मेरो संस्मरण ड्रिम्स इन ए टाइम अफ वार (२०१०) को परिचय खण्डको आमुखका रूपमा रहेको छ ।

नन्दा दिस्सौ :   तपाईँको जीवनको समग्र लेखनमा सबैभन्दा उच्च प्राप्ति कुन कृतिलाई मान्नुहुन्छ ? तपाईँले सबैभन्दा बढी गर्व गर्ने कृति कुन हो ?

न्गुगी वा थ्योङ्गो :  हरेक कृतिसित मेरा अलगअलग सम्झनाहरू छन् । त्यसकारण ती सबै मेरालागि समान रूपले प्रिय छन् । असाध्यै अप्ठ्यारो परिस्थितिमा लेखिएको हुनाले नाम लिनुपर्दा डेभिल अन दि क्रस को नाम लिन सक्छु । यो मैले गिकुयुमा लेखेको पहिलो उपन्यास थियो, जुन गिकुयुमा लेखिएको पहिलो आधुनिक उपन्यासका रूपमा परिचित छ ।  निर्वासित वर्षहरूमा मैले गिकुयु भाषामा लेखेको अर्को उपन्यास विजार्ड अफ दि क्रोप्रति पनि म सन्तुष्ट छु । यसले सन् २००६मा क्यालिफोर्निया गोल्ड मेडल पाएको थियो र यो पुरस्कार एक कालखण्डमा जोन स्टेनबेकले पाएका थिए । म सदैव ठट्टा गर्ने गर्छु, इतिहासमा विजार्ड अफ दि क्रो एक मात्र यस्तो उपन्यास हो, जुन “दुईटा सुन्तलाहरू” को बीचमा लेखिएको छ । मैले यो न्यु जर्सीमा हुँदा लेख्न आरम्भ गरेँ । अनि अरेन्ज काउन्टी क्यालिफोर्नियामा यसलाई टुङ्ग्याएँ ।

नन्दा दिस्सौ : आफ्नो खास पुस्तकको सफलतालाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

न्गुगी वा थ्योङ्गो : यो गारो कुरा हो । विश्वका कतिपय पाठकले मेरो कुनै  किताबले उनीहरूको जीवनलाई पारेको प्रभावका बारेमा व्यक्त उनीहरूका भनाइले मलाई विशेष आनन्दित तुल्याउँछ । भारतको हैदरावादमा मेले भेटेको एकजना भारतीय राजनीतिक कर्मीले डेभिल अन दि क्रसलाई लिएर मलाई धन्यवाद दिए । उनले आफू जीवनबाट निराश भएर मर्न सोचिरहेको बेला एउटा पुस्तक पसलमा पुगेर मेरो पुस्तक किनेर पढेछन् र यसले उनलाई नयाँ उद्देश्यका लागि मार्ग निर्देश गरेछ ।  यस्तो बेला म केही भावविभोर पनि हुन्छु, यसबाट मलाई मैले लेखेको कुरा खेर गएनछ भन्दै त्यो भन्दा राम्रो लेख्न उत्साह प्राप्त हुन्छ । विजार्ड अफ दि क्रोले निकै हँसायो भनेर पाठकहरूले सुनाउँदा मलाई खुसी लाग्छ ।  एकपल्ट ड्युक युनिभर्सिटीको जमघटमा एकजना कानुनका र अर्का साहित्यका प्राध्यापकसित मेरो भेट भयो, कानुनका प्राध्यापकले पेटल्स अफ ब्लडमा प्रगतिशील वकिल पात्रले निकै प्रभावित पारेको कुरा गरे । साहित्यिको प्राध्यापकको व्यक्तिगत रूचि पनि कानुन थियो, तर जब उपन्यासले केही गर्न सक्छ भन्ने लाग्यो, उनले आफ्नो जागिरलाई साहित्यतर्फ मोडे, अनि कानुनको प्राध्यापकको रूचि चाहिँ साहित्य थियो । तर उपन्यासको वकिलका सामु परेपछि उनको रूचि वकिलतर्फ सर्यो ।

नन्दा दिस्सौ : नयाँ पाठकहरूले तपाईँको  कुन पुस्तकबाट आफ्नो अध्ययन आरम्भ गर्नु आवश्यक छ भन्ने ठान्नुहुन्छ ?

न्गुगी वा थ्योङ्गो : किन ड्रिम्स इन ए टाइम अफ वार र  वार एन्ड विप नट चाइल्ड (१९६४) बाट सुरु नगर्ने र ? यी पुस्तकहरूले मेरो बालककाललाई अगाडि ल्याउँछन्,  र यी पुस्तकहरूबाट कसरी यथार्थप्रतिको बुझाइमा आख्यान र संस्मरणमा भिन्नता हुँदो रहेछ भन्ने चाखलाग्दो अनुभूति हुनेछ । यति तपाईँ रुन होइन, हाँस्न चाहनुहुन्छ भने विजार्ड अफ दि क्रो किन नपढ्ने ? मेरा उपन्यासहरूले अवश्य पनि तपाईँहरूलाई दिशाबोध गराउँनेछन् ।

नन्दा दिस्सौ :  यी वर्षहरूमा तपाईँको गद्य शैली तथा आख्यानको संरचनामा केकस्तो परिवर्तन आएको अनुभव हुन्छ  ?

न्गुगी वा थ्योङ्गो : मेरा पहिला दुई उपन्यासहरू विप नट चाइल्ड र दि रिभर बिट्विन (१९६५) छोटा वाक्यहरू र   कालक्रमिक आख्यानात्मक  संरचनाका आधारमा लेखिएका छन् । पछि ए ग्रेन अफ ह्विट र  पेटल्र्स अफ ब्लडमा क्रमबद्धता  समय र परिवेशसित सम्बद्ध प्रचलित  लेखनशैलीलाई मैले त्यति ध्यान दिइन । यी उपन्यासहरूमा स्थान, काल र चरित्रचित्रण तथा तिनको विकासमा विविधता छ, यसो भएकाले यी उपन्यान्सहरूको वाक्यगठनमा पनि विविधता छ । कतै लामा वाक्यहरू र कतै छोटा वाक्यहरू छन् ।

नन्दा दिस्सौ : तपाईँका रचनाहरूको कालक्रमिक अध्ययन गर्दा तपाईँको लेखनशैलीको विकासमा सामाजिक–राजनीतिक परिस्थितिप्रतिको तपाईँको वैचारिक पक्षको प्रभावलाई देख्न सकिन्छ होइन र ? 

न्गुगी वा थ्योङ्गो : समाजमा शक्तिको प्रयोग कसरी भइरहेको छ भन्ने कुराप्रति मेरो अभिरुचि छ । समाजमा कुन सामाजिक  वर्ग र कसले शक्तिको अभ्यास गरिरहेको छ  भन्ने कुराबाट जीवनको कुनै पनि भाग असम्पृक्त छैन । वास्तवमा म यसमा समाहित पनि छु । तर,  हामीहरूमध्येकै बीचबाट एउटा बिन्दुमा उभिएर म निरन्तर वर्तमान विश्वलाई नियालिरहेको छु । ग्लोबलेक्टिक्स अहिलेको मेरो विश्वदृष्टिकोणको निचोड हो : जीवन यी तत्वहरूसित गाँसिएको छ– पृथ्वी, पानी, आकास, माटो सबै सिर्जना हुन् र यी सबैले सिर्जनालाई स्थायित्व दिन्छन् र सघाउ प¥याउँछन् । हाम्रा पूर्वजहरूले किन सूर्यलाई पूजा गरेका होलान्, पानी, आगो, माटो र जीवजन्तुको महिमा किन गाएका होलान् भन्ने कुरा अब आएर मैले बुझेको छु । उपनिवेशअघिको गिकुयुमा कसैले कुनै रूख काट्यो अथवा उखेल्यो भने त्यसको ठाउँमा नयाँ रूख रोप्नैपर्ने भनेर लेखिएको पाइन्छ । पृथ्वी हाम्री साझा आमा हुन्, यो तेरो होइन, मेरो हो भनेर हकदाबी गर्ने अधिकार कसैलाई छैन । मलाई के पनि लाग्छ भने वातावरण विनाश भनेको मानवजीवन विरुद्धको विनाश हो । पानी  र हावामा जताततै देखिने प्रदूषणले सबै सिर्जनालाई असर पार्छ ।

नन्दा दिस्सौ :  संस्मरण विधातिर तपाईँलाई केले घच्घच्यायो ?

न्गुगी वा थ्योङ्गो :  संस्मरणले मलाई आफूलाई व्यक्त गर्न सघाउँछ । मैले यसलाई भन्ने गर्छु, “ओइ, म अझै बाँचेको छु” । अफ्रिकी भाषाहरूप्रतिको मेरो विश्वास यथावत छ, जुनसुकै साहित्यिक माध्यमबाट मैले सक्दो प्रत्याक्रमण गर्नुछ । कहिलेकाहिँ म आशै नगरेको सफलता प्राप्त गर्छु । मैले गिकुयु भाषामा लोकशैलीमा लेखेको एउटा कथा  ४० ओटा अफ्रिकी भाषालगायत  ६१ भाषामा अनुवाद भएको छ । यसलाई “इटुइका रिया मुरुङ्गार” (दि अपराइट रिभोलुसन : अर ह्वाइ हुमन्स वाक  अपराइट) भनिएको छ । म निकै उत्साहित भएको छु, किन भने यस किसिमको परियोजनाका पछाडि ‘जलादा प्रकाशन परियोजना’ सित आबद्ध युवाहरूको पान-अफ्रिकी समूह छ । उनीहरू प्रधान सम्पादक मोसेज किलोलोमातहत काम गरिरहेका छन् ।

नन्दा दिस्सौ : तपाईँले तीनओटा संस्मरणहरू : ड्रिम्स इन ए टाइम अफ वार, इन दि हाउस अफ दि इन्टरप्रेटर र बर्थ अफ ए ड्रिम विभर । बर्थ अफ ए ड्रिम विभरको टुङ्ग्याउँनीपछिको बाँकी संस्मरण पनि लेख्ने विचार छ कि ?

न्गुगी वा थ्योङ्गो : यी तीनओटा संस्मरणहरू सन् १९६४ सम्मका मात्र हुन् । म अरू पनि लेख्न चाहन्छु, तर, म पहिले नयाँ उपन्यास लेख्न चाहन्छु । उपन्यासले मलाई खास  भूगोल र यथार्थसम्म लिएर जान्छ, जुन अरू विधाले गर्न सक्तैनन् । तर, विडम्बनाको विषय के छ भने आख्यानकलामा उपन्यासले भन्दा मलाई नाटकले बढी प्रभावित पारेको छ । आखिर मलाई कामिती जेलमा पठाउने त नाटक नै त थियो, जहाँ मैले समग्र रूपमा भाषाको प्रश्नमा पुनर्विचार गर्न सकेँ र त्यसले मलाई  गोकियु भाषाको मेरो पहिलो उपन्यासका रूपमा कदम टेक्न सहयोग पुर्यायो।

नन्दा दिस्सौ :  तपाईँको लेखन समाजका विकृतिहरूको निवारणसँगै तपाईँका व्यक्तिगत नायकहरूप्रति पनि त्यत्तिकै मात्रामा आलोचनात्मक छन् । उपन्यास लेख्न आरम्भ गर्दा कुनचाहिँ पक्षले तपाईँको दिमागलाई बढी प्रभावित पार्छ ?

न्गुगी वा थ्योङ्गो : उपन्यासपिच्छे फरफरक अनुभूति छ, तर धेरजस्तो उपन्यास बिम्बका साथ आरम्भ भएका छन्, जटिल विचारका साथ । सिर्जनात्मक लेखन कुनै अपरिचित वस्तुको खोज जस्तै हो । कुनै चरित्र आफूले सोचेभन्दा फरक किसिमले देखापरेर विकसित हुँदा, कहिलेकाहीँ म आफैँ छक्क पर्छु । त्यसैले अघिल्लो उपन्यासभन्दा पछिल्लो उपन्यास सदैव भिन्न हुनेगर्छ । मैले चासो राख्न छाडेको कुनै फूल अरू कुनै खोजकर्ताका लागि आकर्षक पनि हुनसक्छ ।

नन्दा दिस्सौ : आफूले लेख्न चाहेको तर लेख्न नसकेको कुनै खास विषय अथवा भाव छ कि तपाईँसित ?

न्गुगी वा थ्योङ्गो : अहँ, आगामी उपन्यासका लागि कुनै त्यस्तो समस्या छैन । सुन्नोस्, मेरो सबैभन्दा उत्तम उपन्यास त्यो हो, जुन अझै  लेखिन बाँकी छ ।

नन्दा दिस्सौ : रोचक ! तपाईँको दराजमा अप्रकाशित कुनै पाण्डुलिपि छ त ?

न्गुगी वा थ्योङ्गो : अँ धेरै, सम्भवतः सबै मिलाएर सातओटा । सबै गोकियुमा छन्, यीमध्ये तीनओटा गोकियुमा अनुवाद गरिएका मुलर र गोगोलका रचनाहरू पनि छन् ।

नन्दा दिस्सौ : डेभिल इन दि क्रसमा तपाईँले लेख्नुभयो,
“हाम्रो जीवन युद्धको मैदान हो, जसमा हाम्रो मानव जीनवनलाई सुनिश्चित गर्न लागेका  र यसलाई ध्वस्त पार्न लागेका, मानवजीवनको रक्षाका लागि बलियो पर्खालको जग हाल्न चाहने र यसलाई पुर्न चाहने, पर्खाल ठड्याउन लागेका र यसलाई भत्काउन लागेका, तपाईँहाम्रा आँखा खोलेर आज र भोलिको बाटोका लागि उज्यालो दिन खोज्ने र तपाईँहामीलाई सदैव अँध्यारोमै राख्न खोज्नेहरूबीच निरन्तर लडाइँ चलिरहेको छ ।”
ठीक यतिबेर यो कुरा तपाईँले रोजेको संयुक्त राज्य अमेरिकामा देखिन्छ । वर्तमान अमेरिकी राजनीतिक परिदृश्यमा एउटा कलाकार, बुद्धिजीवी र प्राज्ञको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई  ?

न्गुगी वा थ्योङ्गो : लेखक आवाजविहीनहरूको आवाज हुनुपर्छ भनेर सिनेगलका लेखक र फिल्मनिर्माता ओस्मान सेम्बेनले भनेका थिए भन्ने मलाई लाग्छ । यो भनाइ समाजका लागि आजपर्यन्त सही छ । कलाले एउटा सुन्दर विश्वका लागि हाम्रा सपनाहरूलाई ऊर्जा प्रदान गर्नुपर्छ ।
नन्दा दिस्सौ :  यो प्रश्न अलि व्यापक खालको छ, आफनो लेखनबाट केकस्ता उपलब्धिहरूको आशा गर्नुहुन्छ तपाईँ ?

न्गुगी वा थ्योङ्गो : सबै अफ्रिकी भाषाहरू तथा विश्वका सबै किनारीकृत भाषाहरूको समृद्धि । म भाषाको योद्धा भएको छु । हो, म यसलाई पीडाग्रस्त मनका साथ माया गर्छु, तर सङ्घर्षभावका साथ यसलाई अङ्कमाल गर्छु ।

नन्दा दिस्सौ : तपाईँले प्रतिरोधी कार्यका रूपमा गिकुयुमा लेख्न आरम्भ गर्नुभयो । बितेका ४० वर्षदेखि तपाईँले अफ्रिकी लेखकहरूलाई यसैका लागि ऊर्जा प्रदान गरिरहनुभएको छ । साहित्यिक भूदृश्य पुग्दोगरी फेरिएको स्थिति छ त ?

न्गुगी वा थ्योङ्गो : अफ्रिकी भाषाहरूमा लेखेर र प्रकाशित गरेको भरमा मात्रै धेरै परिवर्तन हुन सकेको छ भन्ने लाग्दैन । तर प्रवृत्तिहरू फेरिएका छन् । सन् १९८६मा पहिलोचोटि मैले मेरो पुस्तक डिकोलोनाइजिङ दि माइन्ड प्रकाशित गरेँ । मैले निकै आक्रोस, असहिँष्णुता, उपेक्षा र उपहासको सामना गर्नुप¥यो । मैले त्यसलाई वास्ता गरिन । तर इमानदारीसाथ भन्नुपर्ने हुन्छ, अफ्रिकीहरूको लेखन भनेको अफ्रिकी भाषाहरूमा लेखिएको लेखन हो ।  सन् २०००मा इरिट्रियाको आसमारामा भएको सम्मेलनमा महादेशका कुनाकुनाबाट आएका अफ्रिकी भाषाहरूका सयौँ लेखकहरूको सहभागिता थियो । सम्मेलनपछि उनीहरूले ‘आसमारा घोषणापत्र’ भनेर  अफ्रिकी भाषामा घोषणापत्र नै जारी गरेका छन् ।

नन्दा दिस्सौ : केन्यामा ६ लाख गिकुयु भाषा बोल्नेहरूको बसोबास छ  र अङ्ग्रेजीमा लेखिएका किताबहरूको सफलता सरह नै तपाईँका गिकुयु भाषाका पुस्तकहरू सफल छन् । यो तपाईँको क्षतमाको प्रमाण होइन र ?

न्गुगी वा थ्योङ्गो
: त्यो मेरा लागि पनि सुखद आश्चर्य थियो । गिकुयु भाषाका रचनाले पाठकको रुचिको त्यो स्तरलाई धान्न सक्षम होलान् भन्ने कुरामा भने म अझै निश्चिन्त  छैन  ।  स्कुल र समग्र शैक्षिक पद्धति अफ्रिकी भाषाहरूलाई सहयोग पु¥याउने खालको छैन । उदाहरणका रूपमा, मेरा अङ्ग्रेजी भाषाका पुस्तकहरू स्कुल र कलेजका पाठ्यक्रममा  राखिएका छन्, ती पुस्तकहरू सामान्य पाठकहरूमा मात्र सीमित छैनन् । तर गिकुयु भाषाका पुस्तकहरू अझै स्कुल र कलेजका पाठ्क्रमका अंशका रूपमा छैनन् ।

नन्दा दिस्सौ : लेखकले पहिले आफ्नो मातृभाषामा लेखेर अनि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्छ भन्ने लाग्छ तपाईँलाई ?

न्गुगी वा थ्योङ्गो : पहिलो कुरा लेखकले आफ्नो रचना अङ्ग्रेजीमा अनुवाद गर्नु नै पर्छ भनेर सोच्नु आवश्यक छैन । म यसो गर्छु,  किन भने म ती मान्छेहरूसित बहसमा छु जो अफ्रिकी भाषामा लेख्नु भनेको आफ्नो कृतिको अध्ययनबाट अन्य अफ्रिकी र अन्य पाठकलाई वञ्चित गराउनु हो भन्ने ठान्दछन् । ध्यान दिनुस्,  यही कुरा युरोपेली लेखकहरूका सन्दर्भमा भनिदैन, जसका रचना व्यापकरूपमा अनुवाद गरिन्छन् । समस्या के छ भने, दुर्भाग्यवस, अफ्रिकी भाषामा लेख्ने ती लेखकहरू ओझेलमा परेका छन्, उनीहरूका कृतिहरूको एकदमै कम समीक्षा र अनुवाद हुन्छ । प्रकाशनका माध्यमहरू पनि कम छन् । वास्तवमा, वाधाव्यवधान भए तापनि केही महत्वपूर्ण कामहरू भएका छन्, उदाहरणका रूपमा किस्वाहिली भाषालाई लिन सकिन्छ । किस्वाहिली पूर्वी र मध्य अफ्रिकामा बोलिने भाषा हो । यसको समृद्ध साहित्यिक परम्परा छ, यसले साबान रबर्टदेखि अब्दिलातिफ अब्दालासम्मका महत्वपूर्ण कृतिहरू सिर्जना गर्यो र गरिरहेको छ ।

नन्दा दिस्सौ : अन्तरसांस्कृतिक सम्प्रेषणका लागि अनुवादले महत्वपूर्ण काम गर्न सक्छ भनेर तपाईँले भन्नुभएको छ । यसैले होला तपाईँ आफैँले आफ्ना पुस्तक अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । तर, यसले गिकुयु लेख्नुको अर्थका सम्बन्धमा तपाईँको आफ्नै भनाइको खण्डन गर्छ भनेर पनि कतिपयले भनेका छन् नि त ?

न्गुगी वा थ्योङ्गो :  मैले अनुवादलाई भाषाहरूको साझा भाषाका रूपमा चर्चा गरेको हुँ । यसकारण म अङ्ग्रेजी र अन्य भाषाका विरुद्धमा छैन । मैले विरोध गरेको मूल कुरा भाषाहरूबीच विद्यमान असमानता अधिकारप्रतिको विभेदका सम्बन्धमा मात्र हो । अङ्ग्रेजी अन्य भाषाहरूभन्दा विशेष भाषा होइन । सानो र ठूलो सबै भाषाका सम्बन्धमा यही नै सही कुरा हो । म युरोपेली, एसियाली र ल्याटिन अमेरिकी साहित्यहरू अफ्रिकी भाषालगायत अन्य भाषाहरूमा पनि अनुवाद होऊन् भन्ने चाहन्छु । वाङ्गुइ वा गोरोले मेरा कतिपय कृतिहरू अङ्ग्रेजीमा अनुवाद गरेका छन् । तर, अरूले जर्मन, स्वेडिस र जापानी भाषामा पनि अनुवाद गरेका छन् ।

नन्दा दिस्सौ :  डिकोलोनाइजिङ दि माइन्ड मा तपाईँले भन्नुभयो, “भाषा सांस्कृतिक उत्पीडनको माध्यम हो ।” तपाईँले उपनिवेशवादी भाषालाई,  यसले उपनिवेश बनाइएको मुलुकमा बौद्धिक उत्पादनको काम गर्दै “उपनिवेशवादले असामान्यलाई सामान्य बनाउँछ”  भनेर पनि लेख्नुभयो । अनि तपाईँले राजनीतिक रचनाहरूको अनुवादका लागि आह्वान  पनि गर्नुभएको छ । यसलाई व्याख्या गरिदिनुहुन्छ कि ?

न्गुगी वा थ्योङ्गो : सामान्य संज्ञानात्मक प्रक्रिया भनेको जो जहाँ छ, जसलाई जेका बारेमा थाहा छ र जेका बारेमा ज्ञान छ, त्यहीँबाट आरम्भ गर्ने हो । भाषाहरूको सन्दर्भमा यो झन् स्वाभाविक छ । आफ्नो भाषालाई अरू भाषासित जोड : यो नै शक्तिशाली उपाय हुन्छ ।

नन्दा दिस्सौ :  तपाईँले बारम्बार भन्ने गर्नुभएको छ, “अङ्ग्रेजी अफ्रिकी भाषा होइन”, र अफ्रिकी लेखकहरूलाई दिइएको धेरजसो साहित्यिक पुरस्कार अङ्ग्रेजीका कृतिहरूलाई मात्र दिइएको छ भनेर अशन्तुष्टि जनाउनुभएको छ ।

न्गुगी वा थ्योङ्गो
: यदि ब्रिटिस व्यक्तिले जापानीमा लेख्यो भने, यसले जापानीलाई अङ्ग्रेजको भाषा बनाउँछ र ?  कुन हदसम्म साहित्यिक परिचय चोरिँदो रहेछ भनेर म केही मात्रामा आक्रोसित पनि भएको पनि छु, किन भने अफ्रिकीहरूद्वारा युरोपेली भाषामा लेखिएको कृतिले चाहिँ अफ्रिकी साहित्यको परिचय पाउँछ । अनि हामीले अफ्रिकी भाषामा अफ्रिकी लेखन भनेर  किन भन्नुपर्ने ?

नन्दा दिस्सौ :  धेरै लेखकहरूले पहिले आफ्नो मातृ भाषामा लेख्ने गरेका छन् र पछि आफ्ना कृतिहरू अङ्ग्रेजीमा अनुवाद गर्ने गरेका छन्,  तर अङ्ग्रेजीबाट अफ्रिकी भाषामा गरिएको अनुवादको चाहिँ अभाव छ  । “अङ्ग्रेजीबाट के अनुवाद गरिएको छ र अङ्ग्रेजीमा खास भाषाबाट के र कति मात्रामा अनुवाद गरिएको छ— भन्ने कुरा प्रभुत्वको प्रश्न हो”, भनेर तपाईँले भन्नुभएको थियो । यो नगरिनहुने काम कसले गर्नुपर्छ भन्ने ठान्नुहुन्छ तपाईँ ?

न्गुगी वा थ्योङ्गो : मलाई लाग्छ, राज्य, प्रकाशक र अनुवाद तीनै थरीले अन्य भाषाबाट अफ्रिकी भाषामा ज्ञानको प्रशारणलाई व्यापक मात्रामा सुनिश्चित गर्नुपर्छ । अहिले हामीसित अफ्रिकी साहित्यका लागि मबाती–कर्नेल किस्वाहिली पुरुस्कार छ । संस्थापकहरूमध्ये एक जना मेरो छोरो मुकोमा वा न्गुगी पनि थियो, अनि यो स्थापना भएको तीन वर्षमै यसले किस्वाहिलीमा राम्रा उपन्यास र कविता जन्माइसकेको छ ।

नन्दा दिस्सौँ  : तपाईँ उपनिवेशवादपछिको अफ्रिकामा समाजको क्रान्तिकारी रूपान्तरणको प्रबल प्रवक्ता हुनुहुन्छ । तपाईँले देख्न चाहेजस्तो  परिवर्तनको अनुभूत गरिरहनु भएको छ अथवा आज महादेशको जुन स्थिति छ त्यसबाट तपाईँ कतै निराश त हुनुहुन्न ?

न्गुगी वा थ्योङ्गो :  शारिरीक दासत्व, उपनिवेशवादी दासत्व र आजको ऋण दासत्वका बाबजुद पनि अफ्रिका र अफ्रिकी जनताका प्राप्तिहरूप्रति म गर्वित छु । एउटा हात र एउटा खुट्टा पश्चिमसित बाँधिए पनि अफ्रिका अघि बढ्छ । दुर्भाग्यवस, पुँजीवादी विकाससित जोडिएको उही तर्क केही व्यक्तिको समृद्धि नै प्रगतिको मानदण्ड हो भन्ने भनाइद्वारा अफ्रिका अझै चलिरहेको छ । हामी अझै समाजको रूपान्तरण चहन्छौँ, तर यस महादेशको स्रोतसाधनको रक्षाका लागि सङ्घर्ष यसको पहिलो कदम हुनुपर्छ । अफ्रिका पश्चिमाका लागि उपहार हुँदै आइरहेको छ । समय आएको छ, अफ्रिकाले आफ्नो स्रोतसाधनलाई सुरक्षित राखोस्, त्यसबाट वस्तुहरू उत्पादन गरोस् र बाँकी विश्वसितको आदानप्रदानमा सन्तुलन कायम राखोस् । मैले मेरो पुस्तक सेक्योर दि बेसः मेकिङ अफ्रिका भिजिवल इन दि ग्लोब (२०१६) मा यसबारे  विचार राख्ने प्रयास गरेको छु ।

नन्दा दिस्सौ : मुलुकले लिर्नुपर्ने  जिम्मेवारी र नेताहरूले गर्नुपर्ने कामप्रति तपाईँमा विश्वास रहेको देखिन्छ । तपाईँले  ब्रिटिसहरूले हिजो अधीनमा लिएर उपनिवेश बनाएका मुलुक तथा त्यतिबेला त्यहाँका जनतालाई दिइको यातना र पीडाको जिम्मा लिनुपर्छ भनेर पनि बोल्नुभएको छ ।  ढिलो र थोरै मात्रामा भए पनि यसको क्षतिपूर्ति एक दिन हुनेछ भन्ने कुरामा तपाईँ आशावादी हुनुहुन्छ ?

न्गुगी वा थ्योङ्गो : आफूले उपनिवेश बनाएको मुलुकका जनतामाथि गरेका अपराधहरूका विरुद्ध जिम्मेवारी लिन पश्चिमले अस्वीकार गर्दैआएको छ । आज पनि संयुक्त राज्य अमेरिकाले लाखौँलाई दास बनाएको कुराको क्षमायाचना गर्न अस्वीकार गरिरहेको छ । यसका प्रामाणिक आधारहरूमा म संयुक्त राज्य अमेरिका, ब्रिटेन र फ्रान्स तीनओटा मुलुकहरूमा आम नरसंहारका हतियार थुप्रिएको कुरा भन्न चाहन्छु— यिनीहरू नै दासव्यापार र  दासअधिपति मुलुकहरू हुन् । अनि गोगोलले  मृतात्मामा भनेझैँ रूसमा उसका आफ्नै आन्तरिक दासहरू छन् ।

नन्दा दिस्सौ : तपाईँ मौखिक कथा वाचनको लामो र समृद्ध परम्परा भएको केन्याली परिवारसित सम्बद्ध हुनुहुन्छ । साथसाथै उपनिवेशकालीन शिक्षापद्धति र त्यो भन्दा उता विश्वविद्यालयका वर्षहरूमा पनि आफ्नो मातृभाषा गोकियु पढ्न र बोल्न मनाही थियो र युरोपेली तथा अमेरिकी साहित्य पढ्न बाध्य हुनुहुन्थ्यो । तपाईँले संस्मरणमा आफ्नो पीडाको अनुभवलाई यसरी व्यक्त गर्नुभएको छ : “उपनिवेशवादी मुलुकमा जन्मेर शिक्षा प्राप्त गर्दा त्यसले घाउको दाग त छाड्छ नि” । मैले अझै नबुझेको कुरा के छ भने आफ्नो भाषा, इतिहास र  संस्कृतिको पहिचानका लागि नलडेको भए पनि लेखक र समालोचकका रूपमा तपार्इँको प्रगति त्यति नै मात्रामा हुन्थ्यो भन्ने तपाईँलाई अनुभूत हुँदैन र ?

न्गुगी वा थ्योङ्गो :  हरेक लेखक उसको वरिपरिको वातावरण, केटाकेटी अवस्थादेखि उसले गरेको जीवन सङ्घर्षको स्थितिद्वारा निर्मित हुन्छ । कथा भन्ने र सुन्ने परम्पराले मलाई साहित्यतर्फ प्रवृत्त गरायो । मैले ड्रिम्स इन ए टाइम अफ वारमा भनेझैँ हामीहरूलाई केटाकेटीमा थुप्रै कथाहरू सुन्यौँ र पछि त्यो मेरा  लागि साहित्यिक आधार बन्यो । भाग्यवस, त्यतिबेला स्कुलमा हामीले चार वर्षसम्म गोकियुमा पढ्न पायौँ, हाम्रो पहिलो पुस्तक गिकुयुमा अनुवाद गरिएको ओल्ड टेस्टामेन्ट नामको पुस्तक थियो । गिकुयुमा अनुवाद गरिएको बाइबलबाहेक प्राथमिक कक्षाहरूमा अरू पुस्तक पढ्न पाइँदैनथ्यो । अङ्ग्रेजीले नै मेरालागि किताबको विशाल संसार खुला गरेको थियो ।

म के कुरा प्रस्ट पार्न चाहन्छु भने, अङ्ग्रेजी लेखकहरू : सेक्सपियर, जन अस्टिन, जर्ज इलियट, डिकेन्स,  जोसेफ कनराड, डि. यच. लरेन्स, इ.एम. फोस्टर आदिको अध्ययनले मलाई निकै लाभान्वित गरायो । अनि  मैले अङ्ग्रेजीमा अनुवाद गरिएको रूसी साहित्य, दस्तोवस्की, चेखब, तुर्गनेव, तोल्सतोय, गोर्की र सोलोखोवबाट पनि धेरै ज्ञान प्राप्त गरेँ । फ्रान्सेली लेखकहरूमा बाल्जाक साँच्चिकै चाखलाग्दा थिए । पछि म क्यारेबियन साहित्यकारहरू : जर्ज ल्यामिङ, भि.यस. नैपाल, रोजर माइस, कामाउ बार्थेवेटको अध्ययनमा लागेँ ।  साथसाथै अफ्रिकी–अमेरिकी लेखकहरू : ल्याङ्स्टोन ह्युज, क्लाउड म्याकइ, रिचार्ड राइट, जेम्स बाल्डिविन, अमिरी बारका, सोनिया साँचे पनि मेरो अध्ययनका विषय बने । सोझै अङ्ग्रेजीमा लेख्ने अफ्रिकी लेखकहरू तथा अङ्ग्रेजीमा अनुवाद  गरिएका अफ्रिकी लेखकहरू पिटर अब्राहम्स, एस्किया एम्फालेले, अलेक्सा ला गुमा र अरूहरू पनि मेरा अध्ययनका विषय थिए ।

तर यी सबै अङ्ग्रेजीमा थिए । यो साहित्यिक मानचित्रमा छुटेको मूल कुरा अफ्रिकी भाषाको साहित्य, अझ यसमा मेरो आफ्नै भाषा गिकुयुको साहित्य थियो । केही किस्वाहिलीमा थिए, अन्य सबै अङ्ग्रेजीमा मात्र थिए । त्यसपछि मैले लेख्न थालेँ । मैले यसलाई अगाडि बढाउने निधो गरेँ, त्यतिबेर अङ्ग्रेजी मेरा समकालीन लेखकहरू सबैको साहित्यिक अभिव्यक्तिको साझा माध्यम थियो । पछि अफ्रिकी र युरोपेली भाषाहरूबीच रहेको असमानता र असन्तुलनलाई लिएर एउटा प्रश्न मभित्र उब्जियो । यसको कारण उपनिवेशवादी शिक्षा नै थियो, जसले अङ्ग्रेजी र युरोपेली भाषाहरूको तुलनामा अफ्रिकी भाषाहरूलाई ओझेलमा पारिदियो । भाषाका लागि गरेको सङ्घर्षले जेल मात्र नभएर मुलुकबाहिर ने निर्वासित गरायो, तर, यस सत्यतथ्यप्रति म साँच्चिकै गौरव गर्छु, यो सङ्घर्षले नै मलाई गिकुयुमा लेख्ने साहस जुटायो ।

नन्दा दिस्सौ : धेरै अफ्रिकीहरूले तपाईँको जस्तै अनुभव छ : उनीहरूको भाषालाई उनीहरूबाट खोसिएको छ, र शिक्षामार्फत उवनिवेशवादीहरूको भाषालाई एकपछि अर्को गर्दै दिमागमा घुसाउन खोजिएको छ । अफ्रिकी भाषालाई दोस्रो भाषाका रूपमा पढ्न तपाईँलाई भनिएको छ । यस क्षेत्रमा केही प्रगति भएको अनुभूत गर्नुभएको छ ?

न्गुगी वा थ्योङ्गो : भाषाको अधिकार मानवअधिकार हो, यो कसैमाथि दया र निगाहको कुरा होइन, हरेक मान्छेको आफ्नो भाषामाथि अघिकार हुनुपर्छ र आफ्नो भाषामा बौद्धिक उत्पादन गर्ने अधिकार हुनुपर्छ । तर यहाँ त मातृ भाषामाथि पनि निगाहाको कुरा छ । मार्टिनिकका एमे सिजरले आफ्नो पुस्तक डिस्कोर्स अफ कोलोनियलिज्म  (१९५०) मा सांस्कृतिक सम्बन्धलाई सभ्यताको अक्सिजनका रूपमा व्याख्या गरका थिए । तर सांस्कृतिक सम्बन्ध भनेको घोडचढी र घोडाको सम्बन्धजस्तो होइन । मलाई लाग्छ अहिले भाषाहरूका सम्बन्धमा यस्तै भएको छ : भाषासम्बन्धले हाम्रो मानवजीवनमा अक्सिजन सञ्चालन गर्छ, तर कसैमाथि अनुवांशिक रूपमा यसलाई लादेर होइन, एकअर्काबीच आदानप्रदानको सहज सञ्जाल निर्माण गरेर । यो कुरा सत्य हो, उपनिवेशवादपछिका सरकारहरूले पनि अफ्रिकी भाषाहरूलाई किनारा लगाउने र युरोपेली भाषाहरूलाई विस्तार गर्ने काम गरे । सहज संज्ञानात्मक प्रक्रिया भनेको तपाईँले जानेको कुरामा अभिवृद्धि हो, उसले पहिले जानेको कुरालाई निर्मूल पारेर अर्को भाषामार्फत नयाँ कुरा थोपर्नु होइन । तपाईँ विश्वका सबै भाषा जान्नुहुन्छ, तर आफ्नो मातृ भाषा, बोली र संस्कृति जान्नु हुन्न भने त्यो त दासत्व हो । यदि तपाईँ आफ्नो मातृ भाषा र संस्कृति जान्नुहुन्छ र यसलाई विश्वका अन्य भाषासित जोड्नुहुन्छ भने त्यो समृद्धि हो । एकलभाषावाद सभ्यताको कार्बन डाइअक्साइड हो । भाषाप्रतिको अधिकार कानुनी किसिमले जबर्जस्ती खोसिएका समुदायहरू पनि छन्,  उदाहरणका रूपमा दास बनाइएका अफ्रिकीहरूलाई लिन सकिन्छ । ती भाषाहरू तिनीहरूका आफ्नै भाषा हुन्, अफ्रिकी भाषाहरूका झैँ ती अङ्ग्रेजी स्वर्गको भर्यांङका तल्लो खुट्किला होइनन् ।

नन्दा दिस्सौ :  तपाईँको  पहिलो रचना कलेजको अङ्ग्रेजी विभागको पत्रिका पेनप्वाइन्ट मा प्रकाशित  रचना थियो । सन् ९० को दशकको आरम्भमा तपाईँले गिकुयु भाषाको पत्रिका  पनि आरम्भ गर्नुभयो । लेखनयात्रामा साहित्यिक पत्रिकाको भूमिकाबारे आफ्नो भनाइ राखिदिनुस् न ?

न्गुगी वा थ्योङ्गो : म पत्रिकाप्रतिएकदमै भरोसा गर्ने व्यक्ति हुँ, खासगरेर कलेजका विद्यार्थीहरूका पत्रपत्रिकाहरूप्रति । तिनीहरूले मलाई एउटा अवसर प्रदान गरे  । संस्कृतिका अन्य रूपहरूझैँ पत्रिकाले अफ्रिकी लेखनलाई हुर्काउन ठूलो भूमिका खेल्दैआएका छन् । मलाई केहीको चर्चा गर्न दिनोस् : पेनप्वाइन्ट, दि हर्न आदि । अहिले त्यहाँ ट्रान्जिसन, क्वानी, अफ्रिकन लिटिरेचर टुडे, ब्ल्याक अफेयर्स आदिआदि पत्रिका छन् ।  मुतिरिरीले गिकुयु भाषामा लेख्नेहरूका लागि एउटा मञ्च प्रदान गरेको थियो ।

नन्दा दिस्सौ :  अझै पनि अफ्रिकी  भाषामा पर्याप्त पुस्तकहरू नभएकाले  मान्छेहरू अङ्ग्रेजी र अन्य युरोपेली भाषाका पुस्तकहरू पढ्नेगर्छन्, प्रकाशकहरूले आफ्नो मातृ भाषामा लेख्ने लेखकहरूप्रति कमै रुचि राख्ने गरेको पाइन्छ । यो एउटा  निर्मम चक्रब्यूहजस्तो लाग्छ

न्गुगी वा थ्योङ्गो : अफ्रिकी भाषाहरूमा लेखेर प्रकाशित गर्ने काम निकै ठूलो चुनौती हो । अफ्रिकी भाषाहरूका पुस्तकहरू प्रकाशनमा समर्पित प्रकाशन संस्थाहरू सारै थोरै छन् । त्यसैले अफ्रिकी भाषाहरूका लेखकहरू ठूल्ठूला अवसरहरूबाट वञ्चित भएर लेखिरहेका छन् : प्रकाशन संस्थाहरू छैनन्  राज्यको सहयोग छैन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको पनि उनीहरूका विरुद्ध गठजोड छ । अफ्रिकी साहित्यलाई सम्बद्र्धन गर्ने नाममा पछिका दिनमा अफ्रिकी भाषाहरूमा नलेख्ने सर्तमा पुरुस्कार दिइनेछ ।

नन्दा दिस्सौ : तपाईँलाई के लाग्छ सायदआफैँले प्रकाशन गर्ने कार्य र  डिजिटल बजारस्थलद्वारा यसको समाधान गर्न सकिन्छ ?

न्गुगी वा थ्योङ्गो : आफैँले प्रकाशन गर्ने कुरा आजको विश्वमा भरपर्दो सामथ्र्य हो । म यसलाई नयाँ भूगोल भन्छु, पत्ता नलागेको अपरिचित भूमि । इन्टरनेटले अनलाइन प्रकाशनलाई सम्भव बनाउँछ । यसले प्रकाशन स्वतन्त्रतालाई प्रजातान्त्रीकरण गरेको छ । ‘यु ट्युब’ पनि मौखिक तथा श्रव्यदृश्य अभिव्यक्तिका लागि बृहत् भूगोल हो ।

नन्दा दिस्सौ :  तपाईँले सोचेजस्तै भविष्यको लेखनपठन त्यतैतिर जान लागेको हो ?

न्गुगी वा थ्योङ्गो  : नयाँ प्रविधि, विद्युतीय माध्यमहरूका नयाँ र व्यापक सम्भावनाहरू छन् । ग्लोबलेटिक्समा  मैले कथ्यभाषाको समय फेरि आउँदैछ भनेर चर्चा पनि गरेको छु । म यसलाई ‘साइबरोरालिटी’ भन्छु । इन्टरर्नेटको भाषा हेर्नुहोस् : कुराकानी कोठा, फेसबुक साथीहरू, समुदायहरू आदिआदि । सामाजिक माध्यमहरू पुराना उखान टुक्का सम्झाउने माध्यम भएका छन् । यसलाई हामी “विद्युतीय हल्ला”  भन्न सक्छौँ । तर पनि अफ्रिकाका लागि साँच्चिकै सङ्घर्षको भूमि अफ्रिकी भाषामा लेख्नु र प्रकाशित गर्नु नै हो ।

नन्दा दिस्सौ :  भाषाको प्रयोग गर्दा केन्याली युवा लेखकहरू उपनिवेशवादी विरासतप्रति पर्याप्त  मात्रामा सचेत छन् भन्ने लाग्छ तपाईँलाई ?

न्गुगी वा थ्योङ्गो :  समाजको आमूल परिवर्तनबिना, स्वतन्त्रताको उपलब्धिलाई अगाडि बढाउन तथा उपनिवेशवादका अवशेषहरू न्यूनीकरण गर्ने कुरामा निकै समस्या छन् । उदाहरणका रूपमा उवनिवेशवाद विरोधी राष्ट्रवादी शक्तिका विरुद्ध प्रयोग गरिएको शक्ति नै राष्ट्रिय सेना र प्रहरी फोर्सका रूपमा विद्यमान छ । उपनिवेशवादी व्यवस्थासित सम्बद्ध असमानताहरूको सहजीकरण  नै अफ्रिकाको स्थिरता र समृद्धिका लागि साँचो चुनौती बनेको छ । उदाहरणका रूपमा आर्थिक पक्षमाथि कर्पोरेट पश्चिमाको निरन्तर आधिपत्य र हुने र नहुनेबीचको बढ्दो विभाजनलाई लिन सकिन्छ । रङ्गगत पिरामिड हेर्दा गोराहरू टाउकामा छन्, एसियालीहरू माझमा र अफ्रिकीहरू तल पुछारमा छन्, त्यसै गरी सामाजिक पिरामिडमा पनि औँलामा गन्न सकिने थोरै सम्पन्नहरू टाउकामा छन्, मध्यम वर्ग माझमा छ र ठूलो सङ्ख्यामा रहेका गरिबहरू तलका तलै छन् ।  युवाहरू, जोसित उपनिवेशवादको अनुभव  छैन, उनीहरूको अनुभवको बिन्दु भनेको असमानताको न्यूनीकरण मात्र हो । तर यस्ता विसङ्गतिले उनीहरूलाई प्रश्न उठाउन बाध्य पारेको छ र यसको कारण खोज्न उनीहरूलाई उपनिवेशकालसम्म पुर्याउँछ । उदाहरणका रूपमा जालदा पान–अफ्रिकन समूह लाई लिन सकिन्छ । यसका सबै सदस्यहरू स्वतन्त्रताको धेरैपछि जन्मेका थिए । तर उनीहरूले ९० प्रतिशत अफ्रिकी भाषा बोल्ने जनसङ्ख्या भएको महादेशमा युरोपेली भाषामा विचार निर्माण गर्ने अफ्रिकी सम्भ्रान्तहरूद्वारा उत्पन्न विसङ्गतिलाई उनीहरूले देखे । जालदा पान–अफ्रिकन समूहले यसका बारेमा केही गर्ने निर्णय गरेको छ । उनीहरूले अफ्रिकी भाषाहरूबीच अनुवाद गर्ने कार्यक्रमलाई आफ्नो कार्यक्रम बनाएका छन् । उनीहरू अफ्रिकाका ६० ओटा भाषालाई अनुवादका माध्यमबाट विश्वव्यापी बनाउने क्रान्तिकारी अगुवा शक्ति हुन् ।

नन्दा दिस्सौ : तपाईँका पुस्तकहरूबाहेक उपनिवेशवादले पारेको प्रभावलाई लिएर अफ्रिकी लेखकहरूले लेखेका महत्वपूर्ण केही पुस्तकहरूबारे बताइदिनुहुन्छ कि ?

न्गुगी वा थ्योङ्गो : यसमा अफ्रिकाबाट प्रकाशित धेरजसो पुस्तकहरूलाई लिन सकिन्छ । चिमामानन्दा न्गुगी र टिस्ट्सी दानगारेम्बगा जस्ता युवा लेखकहरूले अहिलेको उपनिवेशवादपछिको समयमा हिजोको उपनिवेशकाललाई लिएर जोडदार कृतिहरू लेखेका छन् । पिटर अब्राहम्स, क्युसमाने सेम्बेने, फर्डिनान्ड ओयोनो, मोङ्गो बेटी, चिनुवा एचेवे, वोले सियन्का, यी सबै लेखकहरूले हिजोको उपनिवेशवादलाई केन्द्रमा राखेर महत्वपूर्ण कृतिहरू लेखेका छन् ।

नन्दा दिस्सौ : तपाईँ आफ्नो कुन रचनालाई सम्बादात्मक लेखन भनेर मान्नुहुन्छ ?

न्गुगी वा थ्योङ्गो :  भर्खरै मैले एक किसिमले, इर्भिनस्थित मेरी श्रीमतीको बघैँचाको प्रशंसा गर्दै एउटा ‘मुगुन्दा उरिया उन्गी’ ( दि अदर गार्डेन) शीर्षकको कविता लेखेँ । यो गिकुयु भाषामा छ, तर यो न्युजील्यान्डस्थित आफ्नी श्रीमतीको बघैँचालाई लिएर कविता लेख्ने सामोअन उपन्यासकार अल्बर्ट वेन्ड्टसित सम्बादका रूपमा संरचित छ । हवाईमा भएको साहित्यिक जमघटमा हाम्रो कवितात्मक आदानप्रदान भएको थियो । पछि यी दुवै कविता हवाई रिभ्यु मा “प्रतिक्रियाका लागि आह्वान” नाम दिएर  छापिएका थिए । मेरो केही लामो त्यो कविताले मलाई इर्भिनदेखि हवाईसम्म, हवाईदेखि केन्या र अन्य अमेरिकी बासिन्दाहरूसम्म पु¥यायो । ती भूदृश्यहरू र इतिहाससित जोड्ने गिकुयु भाषाको कविता मलाई मन परेको कविता हो ।

नन्दा दिस्सौ : तपाईँको शिक्षादीक्षामा तपाईँकी आमाको भूमिकाको तपाईँले निके प्रशंसा गर्नुभएको छ । तपाईँ सानै छँदा उहाँले प्राय गरेर सोध्नुहुन्थ्यो भनेर लेख्नुभएको छ : “तैँले सबैभन्दा राम्रो गरेको भनेको यही हो ?” यसले तपाईँलाई  सदैव अझ राम्रो गर्न अभिप्रेरित गर्यो ।  तपाईँ पनि त्यस्तै बाबु हुनुभएको हो ? त्यसैले  तपाईँका केटाकेटीहरू टि न्गुगी, वान्जिकु वा न्गुगी, मुकोमा वा न्गुगी र न्दुसु वा न्गुगीले तपाईँकै पदचिन्ह पछ्याएका हुन् ?

न्गुगी वा थ्योङ्गो : तिनीहरूले आफ्नो आवाजलाई ठम्याउन सकेकोमा म निकै  खुसी छु । मैले उनीहरूलाई लेखक हुन कहिल्यै जोड गरिन । पाठकका लागि चाहिँ हो, तर लेखकका लागि होइन । उनीहरूको रुचि जेजस्तो भए पनि उनीहरूले आफूले सक्तो गरून् भन्ने मेरो चाहना थियो । जे होस्, उनीहरू लेखक बनेका छन्, यो उनीहरूको कुरा हो, यो मेरा लागि पनि खुसीको कुरा हो, जमैका फ्लोरिडा, लस एन्जेल्स र लन्डनको जस्तै जहाँसुकै पनि सम्भव भएसम्म सबै ठाउँमा हामी सँगै कार्यक्रममा सहभागी भएका छौँ ।

तर पारिवारिक सबै कामको जस अवश्य पनि आमालाई दिनुपर्छ । म त धेरजसो बाहिबाहिरै बसेँ,  उनीहरूलाई शिक्षादीक्षाको अवसर पनि मिलाउन सकिन, म जेलमा परेँ र आफ्नो भूमिबाट  निर्वासित भएँ, मैले आफ्नै जीवनका लागि सङ्घर्ष गर्नुपर्यो । मेरो साहित्यिक गतिविधिका कारण उनीहरूले दुःख पाउनुपर्यो । विदेशको निर्वासनबाट म घर फर्किएको छु र म घरमै लुकेर बसेको छु भन्ने हल्ला फिँजाएर मेरो घर धेरैपल्ट खानतलासी गरियो र मेरो जहानलाई पनि अनेक दुःख दिइयो । तानाशाह मोइको निर्देशनमा मेरो पुत्ला जलाएर समुन्द्रमा फ्यालेको दृश्य टेलिभिजनमा देखाउँदा मेरा केटाकेटीहरू कति सारो डराएका थिए भन्ने कुरा उनीहरूले मलाई सुनाएका छन् । उनीहरूकी आमा न्याम्बुराले उनीहरूलाई सदैव हाँसीखुसी राखेकी थिइन् । उनी बितेर गइन, तर उनको उत्साहले अवश्य पनि उनीहरूलाई जीवन्त बनाइरहेको हुनुपर्छ र मेरी आमाजस्तै उनले उनीहरूलाई सोधिरहेकी होलिन् :  “तिमीहरूले सबैभन्दा राम्रो गरेको भनेको यही हो ?” र उनीहरू आमालाई भन्दा होलान् ,“थुप्रै बाधाव्यवधानका बीच पनि हामीले सक्तो गरेका छौँ र अझ राम्रो गर्ने प्रयास गरिरहनेछौँ ।”

(गरिमा, असार २०७४ )

अनु :  डा. ऋषिराज बराल