You are here
Home > कला > म्यान्मारका राजदुतले खेले नेपाली चलचित्र ‘नीरफूल’

म्यान्मारका राजदुतले खेले नेपाली चलचित्र ‘नीरफूल’

११ आश्विन २०७४, बुधबार ०३:४१

काठमाण्डौ |

दोस्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध लड्न बर्मामा गोर्खा सैनिकले निभाएको भुमिकाको अहिले पनि प्रशंसा हुन्छ र लाखौंको संख्यामा नेपालीहरु म्यान्मारमा बस्दै आएका छन् । दुई देशका सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन यतिबेला म्यान्मारका राजदुत ऊ लिउन ऊ नेपाली फिल्ममा खेलेका छन् ।

सञ्चारकर्मी फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा उनी देखिन लागेका हुन् । भूकम्पले तितरबितर पारेको एक परिवारका सदस्यहरुले पुनर्मिलनको लागि गरेको संघर्षमा आधारित फिल्ममा म्यान्मारका राजदूत दम्पतीले विशेष भूमिकामा अभिनय गरेका हुन् ।  आइतबार नगरकोटमा राजदूत दम्पतीको भूमिका रहेको दृष्य छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

पूर्वपाइलट राजदूत ऊले यसअघि म्यान्मारकै एउटा फिल्ममा पाइलटकै भूमिका गरेको र ‘नीरफूल’को कथावस्तु मन परेकोले राजदूत ऊ अभिनयका लागि राजी भएको सेलो प्रोडक्शनको विज्ञप्तिमा उल्लेख छ । राजदूत ऊ दम्पतीले फिल्ममा गरेको चरित्र भने गोप्य राखिएको छ ।

‘दुई समाजलाई जोड्न यो फिल्मले योगदान गर्नेछ भन्ने मलाई लागेको छ’, फिल्म छायांकनपछि राजदूत ऊले भने, ‘नेपालमा यस्तो अवसर मिलेकोमा म खुसी छु ।’

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडालगायतको अभिनय रहेको फिल्म अहिले धमाधम सुटिङ भइरहेको छ । धादिङको रुबी भ्याली र काठमाडौं लोकेशन रहेको फिल्मको ८० प्रतिशत छायांकन सकिएको र दसैंलगत्तै रुबी भ्यालीमा छायांकन थालिने जनाइएको छ ।

अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्ट र नेपाल–म्यान्मार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन् । सचिन घिमिरे र निर्देशक वलकै पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरिरहेका छन् भने संगीत अर्जुन पोखरेलको रहने बताइएको छ ।

  • 4
    Shares