You are here
Home > बिचार/अन्तरबार्ता > मदन राई को हो ?

मदन राई को हो ?

११ आश्विन २०७४, बुधबार ०७:३५

१ जन्म र न्वारान
मेरो नाम मदनकुमार राई भनेर बुबा बडीकर्ण र आमा स्वस्तीमायाले राख्नु भएछ । त्यसबखत पहिलो नामसँगै कुमार, बहादुर, प्रसाद लेख्ने चलन रहेछ । बुबाको जन्मनाम बाजे श्रीमर्द र बजु जहानशोभाले बडीकर्ण राख्नुभएको थियो रे पछि उहाँले कर्मकुमार बनाउनु भएछ । म २००६ साल साउन ४ गते रतन्छाको गैरी टोलको एउटा छाप्रो घरमा भालेको डाकमा जन्मेको भनेर आमाले भन्नुहुन्थ्यो । शैक्षिक प्रमाणपत्रका कारण साउन ४ लाई नागरिकतामा ३ बनाउन बाध्य भइयो । गाउँमा म जन्मेहुर्केको छाप्रो (पाली) अझ पनि कान्छा काका र उहाँको सन्तानहरूले जतन गरिराख्नु भएको छ ।

२ बाल्यकाल
म ९ वर्षको हुँदासम्म केही नपढी घाँस, दाउरा, गाईभैँसी, भेडाबाख्रा गोठाला गर्न र हलो–कोदालो, ढिकी–जाँतो, पानी–पँधेरो गर्न सिकेछु, गरेछु । रतन्छाकै वन, पाखाभित्ता, भिरपहरा, खोलाखोल्सीमा चराचरुङगी, जंगली जनावर, पाहा, माछा मार्ने काम गर्दै रमाउँदै बिताएछु । मखुवा र साप्सु खोलामा पौडी खेल्न सिक्दा लङ्गौटी फुस्केर रमिता भएको र भेलले बगाएर झन्डै ज्यान गएको आज पनि झलझली सम्झिन्छु । सुठुनी बारीमा मेरो दौंतरी भक्ते कामी (हाल स्वर्गीय) सँग लाप्पा खेल्न, धान खेतमा साथीहरूसँग फाल हान्न, छेलो, हरेगुटु, धक्कारेस, गट्टा, बाघचाल, डन्डीबियो, निबुवाको फुटबल खेल सिकेँ, रमाएँ । खोप्पी र कौडा खेल्न अनि बिँडी (भोर्ला र कटुसका पातमा) तान्ने, जाँड, रक्सी पिउने जस्ता कुलत पनि त्यसै बेला सिकेँ, जाने र बुझेँ । ९ वर्ष उमेर पुगेपछि आमाको संघर्षले गाउँकै साकेला मिडिल स्कुल पढ्न पाएँ ।
स्कुल जान पाउने कथा निकै लामो छ । पढाइमा अलिक टाठै भएर होला ५ वर्षमै मिडिल स्कुल पास गरियो । १४ वर्ष उमेर लागेपछि खोटाङमा हाइस्कुल नभएकाले भोजपुरको विद्योदय हाइस्कुल जानु पर्ने भयो । बाजेबजु र आमाको खटनमा चल्नुपर्ने । बाजेबजु र आमाको सर्त थियो मैँले बिहा गरेर मात्र पढ्न जान पाउने । त्यस बेला शिक्षा निःशुल्क थिएन । पढाइका लागि म बालबिहा गर्न मञ्जुर भएँ । बाजेले बिहा र पढाइ खर्चको लागि युँसाधुङ भन्ने एउटा खेत बेच्नु भयो । मेरो बुवा म २ वर्षको हुँदै ७ सालको जनमुक्ति सेना भएर काठमाडौँ लाग्नु भएको रहेछ । मँैले बुवालाइ एस.एल.सी दिएर मात्र भेटँे । मेरो बिहाको कथाको किताबै बन्न सक्छ ।
रतन्छाबाट डेढ दिनको पैदल बाटो पिठो, च्याँख्ला, चामल बोकेर ३ वर्ष भोजपुर धाएँ र एस.एल.सी. पास गरेँ । भोजपुरमा ३ वर्षको बसाईको कथा पनि लामो छ । मेरो सहपाठी रतन्छा पिनालाखाका कविराज राई सरको कोदोको पिठो पनि नभएको भए खोले खाने स्थिति पनि हुन्नथ्यो त्यस बेला । खोले खाँदै जाँच दिएर सात दिन बाँचेको समय मेरो लागि अभाव के हो ? भन्ने कुरा सबैभन्दा ठूलो शिक्षा थियो । खोलेको खान्कीले नपुगेर भोकले मर्न लागेको बेला देउरालीकी देसिनी बजु रत्नकुमारी राईले उहाँकै चिया पसलमा दिनुभएको एक गिलास दुध र दुई मुठी चिउरा मेरो लागि जीवनको सर्वश्रेष्ठ भोजन थियो । अमृतभन्दा श्रेष्ठ थियो । यसै दिनबाट दान दिनुकोे अर्थ र मर्म मैँले बुझेको हुँ ।

 

३. बाबु र अवसरको खोजी यात्रा
२०२३ सालमा एस.एल.सी. पास गरेपछि इन्जीनियर बन्ने सपना बोकेर आइ.एस्सी. पढ्नलाई ढाकरमा ४ माना चामल, ४ मुठी सिन्की, १ मुठी नुन, एउटा पकाउने भाँडो, ओढ्ने खास्टो र आमाको आधा तोलाको एउटा सुनको माडवारी बोकेर रतन्छादेखि खाली खुट्टा काठमाडौँको यात्रामा लागेँ । धरान, जनकपुर हुँदै काठमाडौँको यात्रा महिना दिन लागेको थियो । बुबा जनकपुरमा प्रहरी इनिस्पेक्टर हुनुहुन्छ भनेर थाहा थियो । धरानमा आधा तोला सुन बेचेर जनकपुर जाने साथीको खोजीमा अञ्चल प्रहरी कार्यालय धरानमा सम्पर्क गरेँ । सौभाग्यले पूर्व एस्पी चेम्जोङ सर नै जानुहुँदै रहेछ । सजिलै भयो । उहाँसँग जनकपुर पुगेँ । बुबासँग भेट भयो । बाबुको माया पाइयो । खाली खुट्टामा जुत्ता लाउन पाइयो । एक जोर मैलो पुरानो भइसकेको जिउको कपडा फेरियो । दुई कान्छी आमा र उहाँहरूबाट जन्मेका दुई भाई र एक बहिनीसँग पनि भेट भो । ढाकर बोकेर नाङ्गो खुट्टा जनकपुर पुगेको केटो जुत्ता लाएर हवाईजहाजमा बाबुसँग काठमाडौँ पुग्यो । कति ठूलो चेन्ज । बुबाकै सहयोगमा त्रिचन्द्र कलेज भर्ना भइयो । तर सौभाग्य वा संयोगवश आइ.एस्सी. पढ्दापढ्दै भारतमा बि.एस्सी. कृषि अध्ययनको छात्रवृत्ति मिलेकाले राजस्थानको उदयपुरमा ५ वर्ष बिताइयो । वनपाखा, खोेलानालामा पशुपंछी, माछासँग खेल्दै हलोकोदालो घाँस–दाउरा गर्दै हुर्केको ठिटो म कृषि विज्ञानमा स्नातक हुन पुगेछु । सपनामै छु कि जस्तो लागेको थियो बि.एस्सी. गरेको त्यो दिन । राजस्थान मरुभूमिको सुन्दर नगर उदयपुरमा ५ वर्ष बिताउँदाको क्षण रतन्छा र भोजपुरभन्दा फरक र रोचक थियो । उमेर पनि तन्नेरीे, अवसर पनि फुक्दै गएको त्यो बेला मेरो जीवनले रतन्छा र भोजपुर भन्दा बेग्लै दुःखै–दुःख भन्दा विपरीत निकै सुख भोग्न पाएको थियो । पढाइमा डिग्री त भयो नै, त्यहाँ म उत्कृष्ट खेलाडी पनि भएँ । फिल्मी हिरो धर्मेन्द्रको सोले फिल्म सुटिङमा हामी नेपाली विद्यार्थीहरूसँग झगडा भएर नेपालमा उनको फिल्म नै धेरै वर्ष चल्न पाएन । एक छाकमा ३५ वटा चपाती र ३ खण्डेथाल भात खाएर बाजी जितेको, पानीको कमीले पिसाब पोल्ने रोगले १५ दिनमा १५ किलो घटेको, नेपाली साथीहरूले पहिलो पटक काठमाडौँबाट पढ्न जाँदा दिल्लीको एक होटलको कमोड चर्पी बाहिर हगेर हङ्गामा भएको कुराहरू आज पनि सम्झना आउँछन् ।

४ सरकारी जागिर
२०२८ सालको अन्तमा बि.एस्सी. गरेर नेपाल फर्केपछि जागिर सजिलै मिलेन । यसै बिचमा दिनको ५ रुपियाँमा ज्यालाको काम पनि गरियो । केही महिना कुरेपछि २०२९ सालमा कृषि खरिदबिक्री संस्थानमा कृषि अधिकृतको जागिर मिल्यो । ढाकर, डोको बोकी हिँड्ने रतन्छाली ठिटो अधिकृत भयो । फेरि पनि सपना जस्तै लाग्यो । नेपालको पहिलो उन्नत बिउबिजन र कृषि सामग्रीको उत्पादन र बिक्री वितरणको जिम्मा लिने अधिकारी । यो काम मलाई विराटनगरको अड्डाबाट पूर्वाञ्चलभरि सञ्चालन गर्न जिम्मा थियो । नेपालमा किसान तहमा गहुँ, धानको उन्नत बिउ यहीँबाट सुरु भएको थियो । उन्नत जातको बिउ, रासायनिक मल, आधुनिक कृषि उपकरण र रोग किरा मार्ने औषधिको व्यापक प्रयोग गरेर आधुनिक खेती गर्न यहीँबाट थालिएको थियो । मेरो थप काममा चामल निर्यात गर्ने व्यापारीहरूसँग लेभि उठाई भारत र बंगलादेशमा निर्यात गर्नु पनि रहेको थियो । त्यस बखत नेपालले लाखौँ टन चामल निर्यात गर्दथ्यो विदेशमा । आज ठिक उल्टो भएको छ ।
पूर्वाञ्चल बस्दाको ४ ओटा अविस्मरणीय कुरा छन् । पहिलो कुरा, आजको इटहरी सहरको चोकमा जम्मा एउटा मात्र काठको घर थियो । चोकको जग्गा ४ हजार रुपियाँ बिघामा पाइन्थ्यो । मेरो तलब ५५० थियो मैनाको । ६ महिनाको पेस्की पाइन्थ्यो । तर ज्ञान र होस आएन । बिउको मूल्य हेरफेर गरेर घुसै खाएको भए लाखौँ हुन्थ्यो र सैयौँ बिघा जग्गा पनि किनिन्थ्यो होला । तर त्यसो नगरेकोमा नै खुसी छु आज । दोस्रो कुरा, २०२९ सालमा पहाडी जिल्लाहरू विशेष गरी रामेछापमा भोकमरी चलेको थियो । त्यति बेला दिनको २३ घन्टासम्म खटेर जहाजबाट अनिकाल लागेको क्षेत्रमा चामल खसाइएको थियो । तेस्रो कुरा, जुटको खेती त्यतिबेला धेरै हुन्थ्यो । जुटको किरा मार्न फलिडल भन्ने किरा मार्ने औषधि निकै प्रभावकारी थियो । त्यो औषधि छर्दा एकदिनमा ९ जनासम्म छर्ने मानिस मरेका थिए । आज सम्झेर मन दुख्छ । चौथो कुरा, उमेर २३ को खेलकुद गर्ने स्वस्थ्य शरीर थियो मेरो त्यो बेला । विराटनगर बाजेको होटलमा एक छाकमा ५ थाल मासुभात रुच्थ्यो । धेरै खायो भनेर बाजेले थाहा पाएपछि डबल पैसा तिरेर पनि खान दिएनन् । आज रमाइलो लाग्छ म कति खन्चुवा थिएँ भनेर ।

५. हिमालपारिको नेपाल मुस्ताङको जागिर
खाइरहेको जागिर अस्थायी र संस्थानतर्फको मात्र भएकोले, पेन्सन हुने स्थायी जागिरको खोजीमा लाग्दा मेरो भागमा मुस्ताङ परेछ । २०३० को अन्तमा मुस्ताङ जाने कागज तयार भएछ । त्यति बेला तिब्बती लडाकु शरणार्थीहरूलाई निःशस्त्र गर्न नेपाली सेना खटाइएको रहेछ । खम्पाको बारेमा अनेक गलत हल्ला नेपालभरि फैलिएको थियो त्यसताका । खम्पाले समातेर तातो झिरले आँखा रोप्छ, जिउँदै कलेजो निकालेर खान्छ, नजाऊ मुस्ताङ भन्ने पनि निस्के । मरे मरिन्छ भनेर म पोखराबाट घोरेपानी हुँदै कालीगण्डकीको खोँचको बाटो ५ दिन हिँडेर मेरो तालुक अड्डा कृषि फार्म मार्फा पुगँे । कालीगण्डकी खोँच संसारकै सबैभन्दा गहिरो खोँच मानिन्छ । यो खाँेंचमा हिँड्दा दुवैतिरको पहाडबाट पहिरो खस्ने हो कि भनेर डराउँदै पुगियो मार्फा । नयाँ सबैलाइ यस्तै डर हुँदो रहेछ ।
मेरो काम मुस्ताङ जिल्लाको खेतीलाई आधुनिक बनाउन चाहिने प्रविधि र सामग्रीको विकास गर्नुपर्ने रहेछ । त्यसैको लागि एउटा अनुसन्धान र उत्पादन फार्म स्थापना गरिएको रहेछ । यसै फार्मको हाकिमको काम गर्ने रहेछ मँैले । हाकिम हुन पाएकोमा फेरि मख्ख पर्दै काम थालियो । नयाँ खेतीमा फलफूल र तरकारीलाई बिस्तार गर्ने नीति रहेछ । फलफूलमा स्याउ, खुर्पानी, दाँते ओखर, कागजी बदाम रहेछन । यी फलका बारेमा मलाई केही पनि थाहा थिएन । बिस्तारै पुराना कर्मचारी र पुस्तकहरूको सहायताले यी बालीका बारेमा जानकारी लिएर काम थालंँे । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ काम चाँडै सिकियो । लगातार एक दिन पनि बिदा नलिई दिनको १६ घन्टा इमान्दारीसाथ ५ वर्ष काम गरेँ । यही ५ वर्षको कामकै कारण बेलायतमा एम.एस्सी डिग्री पढ्ने मौका पाएँ । बेलायत बस्दाको कथा पनि लामो छ । त्यत्रो धनी देशमा म भात,े भात खान नपाएर महिना दिनमा ३ किलो घटेको र आँफै भात पकाएर खान पाएको दिन एक किलो चामलको भात सिनित्तै पारेकोमा बेलायती साथीहरू मुर्छा परिन्जेल हाँसेको कुरा आज पनि सम्झनामा नै छ । बेलायतबाट फर्केर आई अर्को ७ वर्ष मार्फा बसी काम गरेँ ।
मुस्ताङ जिल्लाको जनसंख्या थोरै र मेरो घुमिरहने बानी भएकाले सबै किसानसँग व्यक्तिगत सम्बन्ध विकसित भयो । यसले कृषि विकासको कामलाई सहज बनायो । खेतीमा अनेक थरी समस्या आए पनि सरकार र किसानको असल सम्बन्ध भएकाले सबै कुरा सहजसाथ अघि बढे । मुस्ताङ जिल्ला पर्यटनको हिसाबले प्रख्यात भएकाले हामीले कृषि विकासलाई पर्यटनसँग जोडेर लग्न सफल भयौँ । किसानकै बगैंचामा खानेबस्ने सुविधाको होटल बनाउँदा किसान र पर्यटक दुवैलाई फाइदा पुग्न गएर किसानको आर्थिक स्तर निकै राम्रो भयो । पर्यटकको भ्रमण पनि सफल भयो । यहाँ अभ्यास गरेको यो नमुनालाई खोटाङ जिल्लामा पनि उतिकै सफतासाथ लागु गर्न सकिन्छ भन्ने मलाई लाग्छ । धर्मको त्रिवेणी हलेसीका कारणले खोटाङमा पर्यटकको आगमन ठूलो हुनेछ । हलेसीमा प्रार्थना सकेर किसानकै खेतबारीमा बनाइएको होटल रिसोर्टहरूमा बासका लागि लग्न सकियो भने सबैलाई हितैहित हुनेछ ।
मुस्ताङको १२ वर्षको बसाइमा अनेक घतलाग्दा कुरा देखियो, सिकियो र भोगियो । मलाई लागेको सबैभन्दा घत लाग्ने कुरा भनेको त्यहाँको सामाजिक नियम कानुन । सामाजिक कानुन यति व्यावहारिक र बन्धिलो छ कि यसको उलङ्घन आज पनि कसैले गर्दैनन । यसैकारण यहाँको समाजमा शान्ति र विकास राम्रो भइआएको हो । दोश्रो राम्रो कुरा यहाँको समाज अति नै मेहनती छन्, सोची छन्, र व्यावसायिक छन् । यसैले यो जिल्लामा गरिबको संख्या धेरै कम छ । तेश्रो, समाजको कुनै पनि सदस्यलाई आर्थिक कमजोरी भएमा सबै मिलेर ढिकुरीबाट सहयोग गर्ने । आज सहरमा केही विकृत ढिकुरी प्रथा मुस्ताङको थकाली समाजबाट आएको हो ।
मुस्ताङको बसाइको स्मरण गर्दा राजा वीरेन्द्रबाट ८ वर्षमा मलाई ४ वटा तक्मा र पुरस्कार प्राप्त भएको थियो । नेपालमा एक सरकारी कर्मचारीलाई यतिछोटो अवधिमा यतिधेरै तक्मा पुरस्कार सायदै अरु कसैले पाएको होला । राजासँग कुनै नाता नभए पनि स्याबासी त पाएकै हो । काम राम्रो गरेरै होला ।

६. राजनीतिमा चासो
बेलायतबाट २०३७ सालमा एम.एस्सी. गरेर फर्केपछि देश विकासमा गहिरो चासो बढ्दै गयो । राजासँग हिँडेका औंठाछाप मन्त्रीहरूको बेढङ्ग देखेर भित्रभित्रै प्रश्न उठ्थ्यो, के नेपालमा पढेका मानिस छैनन् र, जनताको समय अनुकूल सेवा गर्ने ? । यसैबाट मेरो मनमा उम्रेका भावनाहरुलाई समेट्दै मँैले ढिलोचाँडो राजनीतिमा भाग लिनु पर्छ भन्ने अठोट गरेँ । २०३८ सालमा रतन्छाको लामीदुवालीमा ५ दिने जिल्लाव्यापी कृषि मेला र विभिन्न फिल्म प्रदर्शनी गरेर समाजसेवाको प्रत्यक्ष थालनी गरेको हुँ । यो काम गर्न त्यसबखत सजिलो थिएन । खोटाङ जिल्लाको लामीडाँडा, दिक्तेल, दोर्पा, रतन्छाका सर्वसाधारणहरुलाई फिल्म देखाउने पहिलो व्यक्ति मै थिएँ होला त्यस बखत । म त्यस बखत मुस्ताङकै जागिरमा थिएँ । २०४३ को राष्ट्रिय पञ्चायतको चुनावको लागि मँैले २०४१ साल चैत्रदेखि नै जागिर माया मारेर भोट माग्न आएँ खोटाङ । सोलुको फाप्लुमा हवाईजहाजबाट उत्रेर खोटाङको उत्तरी भेगको जलेश्वरीको डेम्लीटारको माटो ढोगेर मैले खोटाङमा भोट माग्न थालेको हुँ । ३ महिना नबिसाई ७६ गाउँमा भोट मागेको पनि ३३ वर्ष भएछ । त्यसताका लिएको शैक्षिक र विविध श्रोतको तथ्यांक निकै रोचक हुन्छ आजको सँग तुलना गर्दा । २०४३ सालको चुनाव लड्नलाई त्यस बेलाको सरकारले मेरो राजीनामा स्वीकृत गरेन । चुनाव लड्न पाइनँ । त्यति बेला खोटाङको उत्तरी भेगका केही गाउँमा मुला, काउली, बन्दा, रायो आदिको बिउ पनि बाँडेको थिएँ । पछिल्लो पटक जाँदा बाँडेको बिउबाट तरकारी राम्रो फलेको र किसानहरू खुसी भएको सुनेँ । खानेकुरा बाँड्नुभन्दा खानेकुरा उब्जाउन सहयोग गर्नु बढी लाभकारी हुने उखानलाई आत्मासात् गरी धेरै पटक विभिन्न किसिमले खोटाङका घरघरमा विभिन्न खाले बिउ वितरण गरेर सन्तुष्टि लिएँ ।

७. नेपाल र संसार आफ्नै आँखाले हेर्ने रहर
मेरी आमाले भनिरहनु हुन्थ्यो कि म उहाँको गर्भमा रहँदा सधँै सेतो घोडामा उडेको सपना देख्नुहुन्थ्यो रे । सायद यसै भएर हो कि मलाई घुम्न धेरै रहर हुने । जागिरकै समयमा विभिन्न सरकारी काम लिएर मैले २०२९ देखि २०४१ सालसम्ममा नेपालको सबै जिल्ला पैदल पुग्न सकें । त्यसताका तराईमधेसमा समेत मोटर बाटो थिएन । पहाडको त कुरै छाडौं । प्रायः सरकारी अधिकारीहरू अप्ठारो ठाउँमा जान नचाहने हुनाले त्यस्तो ठाउँमा धेरैजसो मलाई खटाइन्थ्यो । मलाई यसमा खुसी लाग्थ्यो । यसरी मँैले आफ्नै खुट्टाले हिँडेर आफ्नै आँखाले मेरो प्यारो देश नेपाल हेर्न पाएँ । मँैले मेरो खोटाङको त करिब घरघर जस्तै धुमी सकेको छु । २०४१ मै ७६ गाउँ नबिसाइ घुमेको । पछि विकास र राजनीतिक कामले सबै जसो वार्ड घमिसकेको हुँ ।
मेरो संसार हेर्ने रहर पनि छँदै थियो । सौभाग्यले भारतको पढाइबाट सुरु भएको विश्व यात्रामा आजसम्म ७२ देश हेर्ने अवसर मिलेको छ । आमाले देख्नु भएको सेतो घोडाको सपना साँचिकै सही थियो कि जस्तो लाग्छ । संसारका देशहरू आआफ्नै किसिमले सुन्दर छन् । तर नेपाल सुन्दर त त्यसै सुन्दर छंदैछ हरेक हिसाबले, नेपाल धेरै धनी पनि छ । मानव प्राणीको लागि साँचिकै धन भनेको पानी र वनस्पति रहेछन् । यी दुवै कुरामा नेपाल संसारको सबैभन्दा धनी छ । यही देखेर म नेपाल धनी बन्न सक्छ भनेर ढुक्क भएको हुँ । यसमा मलाई ढुक्क भन्न सक्ने आँट स्विजरल्यान्ड, इजरायल र सिँगापुर हेरेपछि आएको हो । स्विजरल्यान्ड सानो हिमाली देश हो जहाँ उब्जाउनको लागि हावापानी अनुकूल छैन । इजरायल मरुभूमिको देश हो माटो र पानी अनुकूल छैन । सिँगापुर सानो सहरको देश हो जहाँ उब्जाउने जमिन पुग्दैन, पिउने पानी छैन, चारैतिर नुनिलो पानी भन्दा अरु केही छैन । तर यीनै देश आज आर्थिक र सामरिक रूपमा संसारकै धनी र तहल्का मच्चाउने देश हुन् । संसार घुम्दा मानव पुर्खा जन्मेको अफ्रिकाको तान्जानिया भन्ने देशमा ६ वर्ष बसेर धेरै कुरा सिकियो । हाम्रा मानव पुर्खा जन्मेर कसरी संसार फैलिए छन । एउटैको सन्तान किन बोली फरक फरक भएछन्, किन संस्कृति फरक फरक भएछन्, छालाको रंग किन फरक भएछन् भन्ने कुरा सबैतिर घुमेपछि थाहा भयो । समग्रमा घामको कारणले शरीरको रंग र आँखाको बनावटमा फरक भएको र विभिन्न हावापानीको भूगोलमा बसोबास गर्दा विभिन्न खाले खाने र पिउने वस्तु तथा सुत्ने बस्ने चिजको उपभोगको तरिका फरक भएकोले अलग अलग संस्कृतिको विकास भएको रहेछ । लिपिको अभाव र भूगोलको विषमताको कारण भाषा पनि धेरै भएको रहेछ । अब प्रविधिको विकासका कारण भाषा र संस्कृति क्रमैसँग बदलिँदै समान हुँदै गैरहेको छ । कुनै दिन एक भाषा एक संस्कृति हुन के बेर ?

८ संयुक्त राष्टसंघको जागिरः
सरकारी जागिर १५ वर्ष भैसकेको थियो । सक्ने जति काम गरेर देखाइ सकेकै थिएँ । शासनको बेथिति, राजनीति गर्ने अठोट, दुई सन्तानको असल शिक्षाको आवश्यकता बोधले मलाई सरकारी जागिरको विकल्प सोच्दै गरेको बेला संयुक्त राष्टसंघ (युएन) को खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.) इटाली रोमले अन्तर्रााष्ट्रय स्तरको जागिरमा बोलायो । यो पटक पनि मैँले पत्याउनै सकिन कि मैले यति धेरै तलब र सुविधा पाउने जागिर कसरी पाएँ भनेर । म आफुलाई त्यै रतन्छाली ढाक्रे ठिटो नै सम्झँदो रहेछु त्यतिबेलासम्म । बेलायती एम.एस्सी. डिग्रीले यो पटक काम गरेछ । कल्पना नै नगरेको ठूलो जागिर पाएपछि सरकारी जागिर माया मारेर हिडें विदेशको जागिर खान । मैँले पूर्वी र पश्चिम अफ्रिका, मध्यपूर्व र एसियाका १२ वटा देशहरूमा पटक पटक गरी १२ वर्षजति नै सेवा गर्ने मौका पाएँ । म सिकाउन गएको मान्छेले आफँै धेरै सिकेर आएँ । यो १२ वर्षको सेवाले मलाई धेरै ज्ञान, बुद्धि, विवेक र सिप सिकायो । खान पुग्ने पेन्सन दियो । दुई छोराहरूलाई असल शिक्षा दियो । समाजसेवाको लागि तलबको बचत र लगानी गर्ने मौका दियो । धेरै देशहरू घुम्ने मौका दियो ।

९ शासन प्रणालीको भोगाइ
नेपालमा राजाको सम्पूर्ण अधिकार भएको निरङ्कुश पञ्चायती शासनमा जिम्मेवार अधिकृत भएर काम गरेको मान्छ्रे थिएँ । सौभाग्यले मैँले अरु पनि धेरै देशहरूको किसिम किसिमको शासनप्रणाली देख्न भोग्न पाएँ । अफ्रिकाको तान्जानियामा ६ वर्ष कामगर्दा माक्र्सवादी शासनको बारेमा बुझ्न पाएँ । इराकमा ४ वर्ष काम गर्दा सद्दाम हुसैनको एक दलीय राष्टपति शासन भोग्न पाएँ । फिलिपिन्समा काम गर्दा मार्काेसको शासन पनि बुझ्न पाएँ । इटाली बस्दा त्यहाँको अस्थिर संसदीय सरकारको अनुभव पनि भयो । भारत, बेलायत, अमेरिका, फ्रान्स, स्विजरल्यान्ड, जापान, इजरायलमा पढ्दा त्यी देशहरूको लोकतन्त्रका विभिन्न रूप पनि देख्न भोग्न पाएँ । सबै शासनहरूको तुलना गर्दा गणतान्त्रिक लोकतन्त्र नै सबैभन्दा उत्तम शासन प्रणाली हुने लाग्यो । लोकतन्त्र (भोटको शासन) स्थापित हुन अलिक समय त लाग्ने नै रहेछ तर यसै शासन प्रणालीमा मात्र लोभी स्वार्थी मानिसको धेरै समस्याहरू हल हुने र जनसहभागिताबाट देशको दिगो विकास हुने लाग्यो मलाई । यो शासनको सबैभन्दा राम्रो पक्ष पारदर्शिता र गल्तीलाई सच्याउन आवधिक निर्वाचन नै रहेछ ।

१० राजनीतिको रन्को
२०४६ सालमा म युएनकै जागिरमा विदेशमा नै थिएँ । जनआन्दोलन सफल भएको सुनेर धेरै खुसी लाग्यो । यसपछि दलहरू बन्ने क्रम तीब्र थियो । कुन दलमा लाग्ने भन्ने छलफल हुन्थ्यो । डेमोक््रयाट कि कम्युनिस्ट कि जातीय अधिकारवादी भन्ने तिन धारको निकै ठूलो चर्चा र प्रतिस्पर्धा हुन्थ्यो । मँैले तान्जानियाको माक्र्सवादी शासनको खराबी नदेखेको भए अवश्य कम्युनिस्ट नै भएर एमाले भइसक्थेँ । हाइस्कुल पढ्दा माओको रातो किताब बोकेर हिंडेको ठिटो कम्युनिस्ट विचारधारामा प्रभावित थिएँ । तर संसारभरिका कम्युनिस्ट शासनको खराबीहरू सुनिँदै देखिँदै गएपछि यसको मोह भङ्ग भयो । लोकतान्त्रिक देशमा आर्थिक विकास भएको देखेपछि लोकतन्त्र नै सबैभन्दा उत्तम शासन प्रणाली लाग्यो । म सबैखाले अधिकार समृद्धिबाट प्राप्त हुनसक्छ र समृद्धि लोकतन्त्रमा बढी सम्भव हुन्छ भन्ने मान्छे भएकाले मैँले काग्रेस पार्टीमै सामेल हुने निश्चय गरेँ । मेरो बुबा पनि ७ सालको कांग्रेसको जनमुक्ति सेना हुनु भएकाले पनि अलिक हक लाग्ने र सहज सम्भेंm कांग्रेसमा सामेल हुन ।
२०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभएको बेला म बिदामा आएँ र नेपालको कृषि विकास र बिउ नीतिको बारेमा एउटा लामो दस्तावेज बुझाएँ । म एफ.ए.ओ.को अन्तर्राष्टिय बिउ विशेषज्ञ भएको नाताले संसारको बिउ राजनीति खतरनाक भइरहेको बुझेर नेपालले बिउमा आत्मनिर्भर हुनलाई आन्तरिक लगानीमा जोड दिनका साथै चनाखो हुनलाई आफ्नो सल्लाह पेस गरेको थिएँ । त्यसताकाको सुझावहरूको भेलमा मेरो सुझाव कतै बगेर, पुरिएर गयो, कसैलाई थाहा भएन । आज नेपाल बिउमा पराधीन भइसक्न लागेको छ । दिनदिन छिनछिन रोप्नु पर्ने बिउमा नाकाबन्दी लाग्यो भने के हालत होला हामी नेपालीको कुनै दिन । आङ सिरिङ्ग भएर आउँछ यसो सम्झदा । २०५१ को चुनावमा अलिक हतारो हुने भएकोले चुनावमा सहभागी भइनँ । २०५४ सालको चुनावदेखि कांग्रेस पार्टीको तर्पmबाट रतन्छा गाउँको वार्ड नं ६ को सदस्यमा जनताको अभिमत पाएर एमालेको बहुमत भएको रतन्छा गाउँलाई ५ वर्षमा एउटा नमुनाकै रूपमा विकास गर्न सहयोग गर्न सकेकोमा खुसी छु । यो समयमा हामीले विकासका लागि राजनीतिक दलहरूमा समान धारणा र मेलमिलाप आवश्यक छ भनेर मिलेर काम पनि देखाउन सक्यौं । यसको असर केही हदसम्म जिल्ला तहमा पनि पुग्न सक्यो र खोटाङ जिल्लामा विभिन्न दलहरू मिलेर विकासका धेरै कामहरू गर्न सफ भयौं ।

११ पैसा कमाउने रहर
सबै मानिसलाई जस्तै मलाई पनि पैसा कमाउने रहर जाग्यो । सन्तानको शिक्षा, बुढेसकालको सुरक्षा, आरामदायी बासको जस्तो आवश्यकता पुरा गर्नै थियो । समाजसेवा र राजनीति गर्ने रहरले थप धन चाहिने भयो । भारतमा पढ्दा “आम्दनी आठानी खर्च रुपियाँ” भन्ने उखान सुनि राखेको । जसको अर्थ हुन्थ्यो आम्दानीभन्दा खर्च बढि भयोभने मानिस धनी हुन सक्दैन । अर्को अर्थमा बचत नगरी धन जम्मा हुँन सक्दैन भन्ने रहेछ । पछि मलाई बुद्धि आयो कि बचाएर मात्र नहुने रहेछ । बचाएको धनलाई नाफा हुने व्यवसायमा लगानी गर्नु पर्ने रहेछ ।
संयोगबस मलाई बृटिस काउन्सिलको आर्थिक सहयोगमा एम.एस्सी. पढ्न बेलायत जाने मौका मिल्यो । बेलायतमा रहँदा बृटिस काउन्सिलले मलाई एकहप्ता एक बेलायती परिवारकोमा साँस्कृतिक आदानप्रदान र सिकाइको लागि बस्ने व्यवस्था गरेको थियो । संयोगले त्यो परिवारको मूली घरजग्गाको व्यापारी रहेछन् । कुरैकुरामा उनले भने संसारका सबैजसो मानिस सुविधा खोज्दै सहरमा बस्न चाहन्छन् । सहरमा जमीन सिमित हुन्छ र जग्गाको माग अधिक हुन्छ । अर्थशास्त्रको नियम अनुसार जुन चिजको माग बढि र आपुर्ति कम हुन्छ त्यो चिजको मूल्य बढ्ने गर्दछ । मेरो एम. एस्सी. को पढाइमा पनि यो सिद्धान्तको बारेमा निकै छलफल गर्दै थियौं म पढ्ने बाथ विश्वद्यिालयमा । मलाई घत लाग्यो । बेलायतमा बस्दै मँैले बचाएको छात्रवृति रकमले काठमाडौंको सस्तो र हिमाल देखिने ठाउँमा जग्गा किन्छु भनेर निधो गरें । ललितपुरको खुमलटार, सुनाकोठी, ठेचो, चापागाउँ क्षेत्रबाट हिमाल देखिने कुरा म केही समय खुमलटारमा कामगर्दा नै थाहा पाएको थिएँ । म बेलायत हुँदै यहाँ मेरो श्रीमति शुभद्रा लामालाई खबर गरें जग्गा खोज्नलाई । इन्जिनियर चन्द्र दाईले खोज्न सहयोग गर्नु भएछ । २०३६ सालमा रोपनीको ८ हजारमा सुनाकोठीको ढोलाहिटीमा चन्द्र दाईको सहयोगमा जमीन किनिछिन शुभद्राले । बेलायतबाट फर्केपछि जग्गाको ऋण तिर्ने काम गरें । आज यो जग्गाको मूल्य रोपनीको कम्तीमा ४ करोड पर्छ ।
मुस्ताङमा कामगर्दा स्याउ लगाउने किसानको चासो भनेजस्तो नभएकोले मैँले जग्गा लिएर आफँै स्याउ बगैंचा लगाउने निधो गरें । २०३२ सालमा रोपनीको ५ सयको दरले ८ रोपनी जमीन किनेर बगैंचा लगाएँ । यो रकम मैँले २ वर्ष ढिकुरी खेलेर बचाएको थिएँ । यसले सबै किसानहरुलाई हौसला दियो । मलाई पनि फाइदै भयो । अहिले जिल्ला बाहिरको कसैले पनि जग्गा किन्न नपाउने चलन छ त्यता । मँैले किनेको जमीन र बगैंचा करोडमा पनि पाउन मुस्किल हुन्छ आज ।
२०४५ सालमा मलाई संयुक्त राष्ट्र संघको एफ.ए.ओ.मा जागीर मिलेपछि मेरो तलब र भत्ताको रकम मेरो कल्पना भन्दा बाहिर लाग्थ्यो । सुरु जागीरमै महिनामा कम्तीमा २ लाख रुपियाँ बच्थ्यो । पछिल्लो समय इराकमा काम गर्दा त महिनामा झन्डै १० लाख सम्म बच्थ्यो । यहाँ भत्ता धेरै पाइन्थ्यो । त्यसबेला काठमाडौँमा रोपनीको ५० हजार देखि एकलाख सम्ममा प्रशस्त जग्गा पाइन्थ्यो । मैँले मेरो आम्दानीले हजारौं नभएपनि सैयौं रोपनी जमीन काठमाडौमा किन्न सक्थें । तर जमीनको हदबन्दी र कम्युनिस्ट पार्टीको सरकार आयोभने जग्गा सरकारी हुन्छ भन्ने अन्योलले करीब २५ रोपनी जतिमात्र काठमाडाँैमा किनेँ । जमीन जफत भए होस देशैभरी जमीन किनेर कृषि सिकाउनु पर्यो भनेर धेरै जिल्लाहरुमा थोरथोरै भएपनि जग्गा किनँे । त्यसताका जग्गा सस्तो भएकोले सजिलो भयो । तर पछि व्यवस्थापन गर्नै नसक्ने भएपछि धेरैजसो बेचि दिएँ । कुनै बेला मलाई देशैभरी जमीन हुने खोटाङे पनि भनियो । सबै जिल्लामा त थिएन । तर धेरै जिल्लामा थियो । अहिले पनि १० जिल्लामा त छ्रंदैछ । मलाई गर्व छ मेरो नेपालको हिमाल, पहाड, चुरे र तराईमदेसको हावापानीको भूगोलमा खेती गर्ने जमीन छ । आधुनिक खेती अभ्यास गरी रहेछु धेरैजसोमा । सबैजसो जग्गा सदर मुकाम भित्रै भएकोले सस्तोमा किनेको जमीनको भाउ बढेर मूल्य धेरै भएकोछ । गोजीमा नगद नभएपनि जमीनमा म धनि भएकोछु । जग्गालाई अहिलेसम्म खेतीमै प्रयोग गरी आएकोछु । जमीनमा उब्जेको बालीको अंशपनि मैँले प्राय लिने गरेको छैन । २०२९ सालमा इटहरी चोकमा मलाई बिघाको ४ हजारमा दिएको जमीन मैँले किन्न सकिन ज्ञान नभएर । अहिले त्यो चोकको जमीन बिघाको २ अर्बमा पनि पाइन्न होला । काठमाडाँै उपत्यकाको ढोलाहिटी क्षेत्रमै ५ सय रोपनी जमीन किन्न सक्ने क्षमता हुँदा किनेको भए आज रोपनीको २ करोडकै हिसाबले पनि १० अर्बको सम्पति हुन्थ्यो होला । तर जे भयो मलाई गुनासो छैन । मैँले अवलम्बन गरी आएको सिद्धान्त “काम सिक्ने, कामगर्ने, कामबाट कमाउने, कमाएकोबाट बचाउने र बचाएको रकम नाफाहुने व्यावसायमा लगानी गर्ने” ले मज्जाले काम ग¥यो । जमीन पछि मँैले आफ्नो लगानीलाई विविधिकरण गर्न केही रकम बैंक तथा वितिय क्षेत्रको सेयरमा लगानी गरेँ । केही बहुमूल्य धातुमा पनि लगानी गरेकोछु । म जस्तो जागीरदार र समाज सेवा गर्नेले उद्योग र व्यापारमा समय दिन नसक्ने भएकोले त्यी दुई क्षेत्रमा धेरै लगानी गरिन मैँले ।
म १७ बर्षको हुँदा सम्म मेरो वार्षिक नगद आम्दानी भनेको नै मेरो ३ मामाहरुले दशैंको बेला दिने ५ पैसाको ३ वटा दक्षिणाको ढ्याक हुन्थ्यो । त्यो ३ ढ्याक पनि तिहारमा फुलटिका लाउँदै सकिन्थ्यो । त्यसैमा म औधी खुसी हुन्थें ।
संसारमा धन कमाउने मानिस गाउँदेखि शहरसम्म नेपाल देखि विदेशसम्म धेरै देखें । युरोप, अमेरिका, जापानमा छाराछोरीलाई अनिवार्य अंश दिने चलन छैन । त्यसैले त्यहाँका मानिस गरीखान योग्य छन । आमाबाबुले कमाएको सम्पत्ति समाजको भलाइको लागि वा आफूले मन पराएको मानिसलाई दिन पाउने चलन छ । समाजबाटै कमाएको प्रायः जसो धनीहरुको पैसा घुम्दै फिर्दै समाजभित्रै पुग्नेगर्छ त्यी देशहरुमा । तर नेपालमा त ७ पूस्ता सम्मलाई आफूले नखाई–नखाई अंश कमाई दिने चलन आज सम्म छ । यो चलनले नेपालमा तिन ठूला बिकृति ल्याएको छ । पहिलो भ्रष्ट्राचारले देशलाई डुवायो र दोश्रो अनुत्पादक, अल्छी र अहंकारी नागरिकको बिगबिगी बढेर गयो । तेश्रो अंशमा अति ठूलो भाई कलह । यसैलाई देखेर मैँले मेरा दुईछोराहरुलाई राम्ररी शिक्षा लेउ । खेलेर खाएर पनि तिमीहरुको शिक्षामा लगानी गर्छु । तर अंश भन्ने कुरा दिदँै दिन्न भनेर सानै देखि सुनाउँदै आएँ । आज त्यसले काम गरेको छ । दुवै छोरा बकाइदा गरी खाने भएकाछन् । मँैले पनि बाउको केही लिइँन । बरु बाउलाई गर्नुपर्ने कर्तव्य राम्रै गर्न सके जस्तो लाग्छ । अंश नलिई पनि म गरीब भइँन । भोकै मरीन । न मेरा छोराहरु नै भोकै परे ।
म र मेरी श्रीमतिले दुःख गरेर कमाएको धनलाई हाम्रै जीवनकालमा हामीले रहर गरेको शिक्षा र आर्थिक विकासमा लगानी गर्ने सल्लाह गरेर हामी दुई र छोराबुहारीहरु र सुर्य राईको सल्लाहले शुभद्रा–मदन फाउण्डेशन भन्ने नाफा नबाड्ने कम्पनी खोलेका छौं । हामी बाँचिन्जेल हामीले र हाम्रो शेषपछि सुर्यजीको टीम र हाम्रो छोरा बुहारीले संचालन गर्ने छन । धेरै जसो कृयाकलाप खोटाङ जिल्लामै हुनेछ । यसका साथै हामीले कमाएको सम्पतिलाई विभिन्न संघसंस्थालाइ थुप्रै दान गरी सकेका छौं । एकलाखमाथि रकमका विभिन्न विषयमा अक्षय कोष बनाई दिएका छौं । जग्गा दान थुप्रै गरेका छौं ।

१२ पढाइको ईख
राजनीति गर्न थालियो । गरेर पनि देखाई सकिएकै हो । पढाइको त के कुरा । भारत जस्तो संसारकै ठूलो देशबाट बि.एस्सी., बेलायत जस्तो सामाज्य चलाएको देशबाट एम.एस्सी. देखि युरोप, अमेरिका, जापानसम्म विभिन्न विषयमा विश्वविद्यालय धाएको मान्छे म । मेरो नाती सरहको ८ पास नभएको फुच्चाफुच्चीहरुले तपाईलाइ राजनीति आउँदैन । तपाईले राजनीति शास्त्रै पढेको छैन के राजनीति गर्नु हुन्छ? किर्सी (कृषि भन्न पनि नजान्ने) पढेकोले राजनीति जान्दछन र भनेर जहिले पनि हेपी रहने । सारै भएपछि ए, यो राजनीति शास्त्र के रै छौ भनेर मेरै भाईछोराहरुलाई एम. ए. को पाठ्यक्रम र पाठ्य पुस्तक त्रिभुवन विश्वविद्यालयबाट ल्याइमागें । ३ दिन लगाएर पहिलो र दोश्रो वर्षको पाठ्यक्रम हेरेको त खासै केही जस्तो लागेन । एक वियाषलाई बढिमा ५ दिन पढेंभने पास गर्छु जस्तो लाग्यो । टि.यु.मा भर्ना गरी दिए भाईसाथीले । २ वटा कक्षापनि लिन गएँ । आफुभन्दा कान्छाहरु र आफुलाई चित्तै नबुझ्नेगरी पढाएको देखेपछि र समयपनि नभएकोले क्लासै गइन । जाँच आउने बेलामा भाईछोराहरुले नै अंकल जाँच आउन लाग्यो भनेर भनेपछि एउटा विषयलाई ढुक्क साढे तिनदिन जति पढेर जाँच दिएँ । राम्ररी नै पास भएँ । राजनीति शास्त्रमा जम्मा ३३ दिन पढेर पास गरेपछि बल्ल त्यी ८ फेलहरुलाई भन्न सजिलो भयो । उनीहरु बोल्नै छोडे त्यो थाहा पाएपछि । अब अर्थशास्त्र, समाज शास्त्र र ग्रामिण विकासमा पनि एम. ए. गर्नु प¥यो भनेर पाठ्यक्रम र पुस्तकहरु किनेर ल्याउनु लगाएँ । पढेंपनि । तर यी तिनै कुरा त मैँले जमानामा बि.एस्सी. र एम.एस्सी. गर्दै पढि सकेको रहेछु। ग्रामिण विकासमा त सफतासाथ देशको कामै गरेको । अर्थशास्त्रले धन कमाउन सिकाउने कुरा आफँै धनी भएर देखाई सकेको भनेर केही विषय जाँच दिएर छाडी दिएँ । प्रमाण पत्र नै थुपार्न चाहेको र नियमले मिल्ने भए वर्षदिनमा म ५ विषयमा एम. ए. पास गर्छु भन्ने लाग्छ मलाई नेपाली पढाई हेर्दा । त्यसैपनि अनेक विषय अध्ययन गरेको प्रमाण पत्रहरु नै ३ किलो छन् मसंग । अरु किन र के का लागि । ८ फेलका लागि त एस. एल. सी. नै काफी छ भनेर मँैले थप प्रमाण पत्र लिएर समय खेर नफाल्ने निधो गरें ।

१३ वैकल्पिक राजनीतिक शक्तिको खोजी
२०४६ साल पछि बनेका विभिन्न दलहरुको कृयाकलाप हेरेपछि नेपालमा साँचिकै लोकतन्त्र मान्ने दलहरु नबनिसकेको जस्तो लाग्यो । राणा परिवार र शाह वंशले सिकाएको सामन्ती राजनीतिक संस्कार दलहरुमा सरेको जस्तो लाग्यो । भन्ने लोकतन्त्र, गर्ने चाकरी र चाप्लुसी तन्त्र । २०५६ सालको सुरुसम्म नेपाली कांग्रेसलाई गहिरीएर अनुभवगर्दै अनुशासित सदस्यको नाताले काम गरीरहेँ । नेताहरु गिरीजाबाबु र किसुनजीसँग नजिक बसेर कामगर्न कोशिस गरियो । माया नपाएको पनि होइन नेताहरुको राजाको पालामा जस्तै । गाउँदेखि केन्द्रसम्म, साधारण सदस्य देखि सभापतिसम्म धेरै नजिकबाट नियालेर हेरेपछि नेपाली कांग्रेसमा देश बनाउने सदिक्षा र सीप भएको मानिस अतिनै कम पाएँ । प्रचण्ड बहुमत कार्यकर्ताहरु पदको लागि जेपनि गर्ने देखियो । म त नेपालको विकास गर्ने भनेर विदेशबाट कस्सिएर नेपाल आएको । झन्डै एक दशक कामगर्दा कांग्रेसभित्र विकासको ‘व’ सम्म गम्भीर भएर उठाउने कोही देख्न नसक्दा मलाई असजिलो लागेको थियो । राजा बीरेन्द्रसँग १६ बर्ष पञ्चायत शासनमा कामगर्दा चाकरी र चाप्लुसीको पराकाष्ठ देखेको मानिस नेपाली कांग्रेसमा त पञ्चायतको बाजे पो देख्न प¥र्यो चाकरी र चाप्लुसीको । किन यस्तो हुन्छ त भनेर भित्री कुरा खोतल्दा त दलभित्र नै लोकतन्त्र देखिदैन रहेछ । भन्ने लोकतन्त्र, खोज्ने चाकरीतन्त्र रहेछ । राणा र राजाले जस्तै दलका नेताले टिका लगाएर पदको पंजनी गर्ने दलको विधानले सबै कार्यकर्ता पद पाउनका लागि नेताको वरिपरि घुमिझुमी रहने । राजाको पालामा राजाको अगाडी जिउ छाडेर “सरकार म सेवक सरकारको भक्त हुँ मलाई मन्त्री, अञ्चलाधिस बनाइ बक्सियोस भने झैं कांग्रेसमा पनि गिरीजाबाबु, किसुनजी मँैले ७ साल, ३६ साल र ४६ मा आन्दोलन गरें, हतियार उठाएँ, जेलनेल परें मलाई अब पद चाहियो, सांसद मन्त्री चाहियो” भनेर भीड गर्नेहरुले रातदिन घेरि राखेका हुन्थें । म त युरोप अमेरिकाको लोकतन्त्र भोगेको मान्छे । राजाको निरङ्कुश शासन भोगेको मान्छे र लोकतन्त्र ठिक छ भन्ने र विकास गर्नुपर्छ भन्ने मान्छेको लागि त नेपाली कांग्रेसको छदम लोकतन्त्र त पटक्कै ठिक लागेन । नेकपा एमाले लगायत कम्युनिस्ट पार्टीहरुको त के कुरा । त्यी पार्टीमा काम गर्ने नेताहरु नै सैयाँै वर्ष अघिको माक्र्स र लेनिनको मिति गुज्रेका कुरा घोकेर आफै भ्रममा बाँचीरहेका र जनतालाई पनि भ्रम छरीरहेका हुन्थे । सबैदलहरुको कार्यशैली र विधान हेरेपछि लाग्यो कि नेपालका कुनैपनि दलको विधान पूर्ण लोकतान्त्रिक छैन् । त्यसैले चाकरी, चाप्लुसी, भ्रष्टाचार र गूट–उपगूटले बढावा पाइरहेको छ । कार्यकर्ता नेताको नोकर र मतदाता कार्यकर्ताको दासजस्तो लोकतान्त्रिक अभ्यास भइराखेको महशुस हुन्थ्यो । चाकरीले सीपालु र इमानदार व्यक्तिले काम नपाउने । सिपालु र इमानदार मानिस चाकरी नगर्ने । नेताले असल मानिस नखोज्ने । भ्रष्ट, अयोग्य, गुण्डा प्रवृत्तिको मानिसहरुको बाहुल्य हुने गरेकोले देशको विकास र शुशासन खाल्डोमा पर्दै गएको देखेर धेरै चिन्ता लाग्थ्यो । लोकतान्त्रिक व्यवस्थामा दलहरु मासबेस्ड हुन्छन । तर नेपालमा त नेपाली कांग्रेस जस्तो दल नै मासबेसबाट कम्युनिस्ट र पञ्चायतको सिको गरेर क्याडर बेस्ड भयो । क्याडर बेस्ड प्राणालीमै हो भ्रष्टाचार र चाकरीले देशलाई समाप्त गर्ने । नेपालमा नेपाली कांग्रेसले कम्युनिस्टबाट क्याडर चलाउन सिके भने कम्युनिस्टहरुले कांग्रेसबाट विलासी जीवन बिताउन सिके । दुवैले राणा र राजाबाट सामन्ती हुन सिके । यसरी सबैले नेपाल डुबाउन मात्र सिके जस्तो लाग्छ मलाई । कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझैं । नेपालमा दलभित्रै पूर्ण लोकतन्त्र भएको र प्रत्यक्ष निर्वाचित सरकारको व्यवस्था नभएसम्म देशको विकास नहुने निक्र्योल गरेर मैले नेपाली कांग्रेस २०५६ सालमा परित्याग गरेर संसदको चुनावमा स्वतन्त्र उमेदवार भएर भाग लिएँ । खोटाङे जनताले दिनुभएको सम्मानजनक मतले मलाई धेरै उत्साही बनायो ।
२०५६ को निर्वाचन परिणामपछि नेपालको समृद्धिको लागि नयाँ सोच भएको र प्रत्यक्ष लोकतन्त्रमा विश्वास राख्ने दलको आवश्यकता महशुस गरेर नयाँ दलखोल्न प्रयासमा लागें । आर्थिक सम्पन्नता भयो भने अधिकार र पहिचान कसैकोपनि कसैले खोस्न सक्दैन भन्ने विश्वास राख्ने मान्छे म । नयाँ दल खोल्ने प्रयासमा मँैले देशका नाम चलेका सबैजसो नेता, विद्वान, विज्ञ, उद्योगपति, व्यापारी, पूर्व कर्मचारीहरुसंग भेट्ने काम गरें । त्यतिबेला जनयुद्धको मध्ये अवस्था भएतापनि डा.बाबुराम भट्टराईलाई पनि उनको विचार र कर्मको महानता देखेर म सम्झना गर्थें । राजसंस्था खेदेपछि यिनले पनि नेतृत्व गरीदिए हुन्थ्यो जस्तो लाग्थ्यो । मँैले राजासंग काम गर्दापनि राजा मानिसको रुपमा ठिक भएपनि शासनप्रणालीको रुपमा राजसंस्था ठिक नभएको ठहर गरेको हुँ । बाबुरामजी जतिको विद्वानले ज्यान मायामारेर राजसंस्थाको समाप्तिमा लाग्नु नै ठूलो विचार र कर्म हो भन्ने लाग्छ मलाई । मैँले शिक्षाकै शिलशिलामा जापानमा हुँदा जापान कसरी यति चाँडो विकास भयो भनेर जिज्ञासा राख्दा त्यहाँको लिबरल डेमोक्रेटिक पार्टी ९ीभदबचब िम्झयअचबतष्अ एबचतथ(ीम्ए० को परिकल्पना, स्थापना र नेतृत्वको कारण हो भन्ने बुझेको थिएँ । सन १९४५ देखि १९५५ सम्म जापानमा पनि राजनीतिक अस्थिरताले निकै पिरोलेको रहेछ । दोश्रो विश्वयुद्धको पराजयको कारण अर्थतन्त्र ध्वस्त भएको र राजनीतिक अस्थिरताले जापानी जनता आजित भएको बेला १९५५ मा जापानका विभिन्न दलका मनमिल्ने नेता, उद्योगी व्यवसायीहरु, अर्थशास्त्री लगायत विषय विज्ञहरु र पूर्व कर्मचारी प्रशासकगरी ४ समूहका मन मिल्ने जापानीहरु मिलेर लिबरल डेमोक्रेटिक पार्टी ९ीम्ए० खोलेर निरन्तर ३० वर्ष सरकार चलाएर जापानलाई संसारकै धनी देश बनाई दिएको रहेछ । के यस्तो नेपालमा हुन सक्दैन र ? भनेर म रातदिन आजपनि सोची रहन्छु । २०५६ सालदेखि २०७२ साल सम्म प्रत्यक्ष लोकतन्त्रमा विश्वास राख्ने र समृद्धिलाई मूल एजेन्डा बनाउने दलखोल्न चारवटा प्रयास गरें । सफल हुन सकिँन । कसैले राजा ज्ञानेन्द्रलाई बुझाएर मन्त्री भए कसैले माक्र्सवादको धङ्धङीमै अल्झेर बस्ने, कसैले समृद्धि होइन संकिर्ण विचारमै सिमित भए । मैँले कसैसंग लाग्न सकिन विचारको कारणले । यतिकैमा डा.बाबुराम भट्टराइले नयाँ शक्तिको आवश्यकता बारे लेख प्रस्तुत गरे । नयाँ खाले वैकल्पित राजनीति कसरी र किन गर्ने भनेर एउटा पुस्तिका नै प्रकाशन गरे । नयाँ शक्ति निर्माणगर्न दलमात्र छाडेनन् खाइपाई आएको सुविधा र सम्मानयुक्त सांसद पदै त्यागे । पद त्यागीसकेपछि धेरै सभाहरु गरे । हामी जस्तो सीपयुक्त र इमानदार विज्ञहरुलाई खोजे । बोलाएर छलफल गरे । मँैले पनि धेरै पटक छलफल गरें । मेरो सपना र विचार सुनाएँ । मँैले दशकौं देखि कल्पना गरेको र अभ्यासमा लागेको कुरा उनकोसंग ठ्याक्कै मिलेपछि उनले मलाई छाड्ने भएनन् । म पनि प्रभावित भइसके तापनि उनको पुरानो माओवादी दलबाट आउने सहयात्री र परिवारको बारेमा शंका मेटाउन धेरै छलफल गर्नु पर्यो । नेपालको अर्थतन्त्रको बारेमा सबैभन्दा धेरै जान्ने रामेश्वर खनालजी पनि संगै हुनुपर्छ भन्ने म । खनालजीको पनि बाबुरामजी प्रति शंका होइन तर उनको पुरानो माओवादी सहकर्मी र परिवारकै बारेमा थियो ठूलो शंका । हामी दुवैसंगको छलफलमा बाबुरामजीले पुरानो सहकर्मी र परिवारको समस्यालाई हामीले प्रस्ताव गरे अनुसार म्यानेज गर्ने सर्तमा हामी नयाँ शक्ति दल बनाउने कुरामा सहमत भयौं । २०७२ साल माघको १० गते ३५ जनाको केन्द्रीय परिषद घोषणा गरियो । जापानको ीम्ए जस्तै नयाँ शक्तिमा सामेल हुने ३५ जनामा राजनीतिक दल, उद्योगी व्यवसायी, अर्थशास्त्री लगायत विभिन्न विषय विज्ञहरु र पूर्व प्रशासकहरु समावेश भएको मैँले कल्पना गरेजस्तै दल बन्यो । २०७३ जेठको ३० गते रंगशालामा भएको उद्घाटनमा ५० हजारभन्दा बढि सर्वसाधारणको उपस्थिति थियो । एकहप्तामा ४० हजार सदस्यले अनलाइन फारम भरे । ७५ जिल्लामा संगठन विस्तार सजिलै भयो । म धेरै खुसी भएँ । आजपनि खुसी छु ।
दल बनाउने भनेजस्तो मानिस त जम्मा भयौं । तर विधि–विधान सोचे अनुसार हुन्छ हुँदैन भनेर सबै चिन्तित थियौं । १८ महिना लगाएर ६ किसिमको दस्तावेजहरु बने । लगभग भनेजस्तै बने । पहिलो आचार संहिता, दोश्रो आर्थिक कार्यविधि, तेश्रो विधान, चौथो राजनीतिक विचारधारा, पाँचौ आर्थिक नीति र छैटौं विभिन्न विभागहरुको कार्यक्षेत्र, नीति र कार्यक्रम समावेश भएको दस्तावेजहरु बने । थालनीमा रामेश्वरजी र मैले शंका गरेको कुरा विचविचमा निक्लदै गयो । पुरानो शैली नै हुनुपर्छ नत्र पार्टी बन्दैन भन्ने केही माओवादी लगायत पुराना दलबाट आउनेहरुले निकाले । उहाँहरुलाई शक्तिको हतारो थियो । धेरै जसो हामी जो अहिले पनि सँगै छौं, हामीले चाँही नयाँ बन्न समय लाग्छ तर नयाँ ढंगले नै जानु पर्छ भन्नेमा रह्यौं । शक्ति खोज्ने पुराना दलकाहरु केही पुरानै दलमा फर्के । विचार र कर्मका धनी तथा नयाँ शक्तिका नेतृत्व डा.बाबुराम भने नयाँ हुनुपर्छ कै पक्षमा अडिग रहे । अब नयाँ शक्ति दल मार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कारको विकास हुन्छ र हाल भैरहेको राजनीतिक वेथितिलाई सहीमार्गमा डोर्याउन सक्छ भन्ने मलाई विश्वास छ । आधुनिक नेपालको इतिहाससंग जोडेर ल्याउने हो भने पृथ्वीनारायण शाहले नेपालका धेरै घरहरु तोडेर एक नयाँ ठूलो घर बनाए । जंगबहादुर राणाले शाहबंशको घर तोडेर राणाको नयाँ घर बनाए । नेपाली कांग्रेसका विश्वेश्वर प्रसाद कोइरालाको विचारले राणाको घर तोडेर जनता र राजाको नयाँ घर बन्यो । नेकपा माओवादीका डा.बाबुराम भट्टराईको विचारले राजतन्त्रको घर तोडेर जनताको गणतान्त्रिक नयाँ घर बन्यो । यि माथिका सबै शासन व्यवस्था बदल्ने काम थियो । र भौतिक युद्ध थियो । तर अब जनताको नयाँ घरको आवश्यकता भनेको जनताको आर्थिक अवस्था बदल्नु हो । व्यबस्था बदल्ने कुरा घर भत्काउने जस्तै हो जसले पनि सक्छ । तर अवस्था बदल्न भनेको नयाँ घर बनाउने जस्तै हो जसमा डिजाइन गर्ने इन्जिनियर, विभिन्न सीप भएको कर्मीहरुको आवश्यक हुन्छ । धेरै अप्ठ्यारो हुन्छ । जो कोहीले गर्न सक्दैन । डा.बाबुराम भट्टराई लगायत हामीले कल्पना गरेको र चाहेको अनि नेपाली जनता र समयले खोजेको ठिक यही अप्ठ्यारो तर अनिवार्य कुरा हो । नयाँ घर बनाउन सजिलो छैन र चाँडो हुन पनि सक्दैन । तर हाल नयाँ शक्रि दलमा जोडिएका हामी विभिन्न सीप हासिल गरेका अभियान्ताहरुको पर्याप्त संख्या र आधुनिक प्रविधिको उपलब्धताको कारण लामो समय नलाग्न पनि सक्छ । नयाँ शक्तिसँग बिचार र सीप छ । केवल नेपाली जनताको साथ सहयोग मात्र हो चाहिने । यो दललाई नेपाली जनताले काम गर्नदिएमा हामी २० वर्ष मै नेपाललाई विकसित देशहरुको लहरमा उभ्याउन सक्नेछौं । डा.बाबुराम भट्टराई जस्तो बिचार र प्रविधिले सम्पन्न नेपाली पाउन हामी नेपालीहरुको सौभाग्य हो । उहाँको विचार वरीपरी हामी नेपालका धेरैजना देश निमार्ण गर्न क्षमता भएका नेपालीहरु नयाँ शक्तिमा जोडिएका छौं । हाम्रो क्षमता प्रदर्शन गर्न केवल नेपाली जनताको आशिर्वाद चाहिन्छ । डा. भट्टराईले राजतन्त्रिक व्यवस्था समाप्तगर्न ज्यान छोडेर लडे । व्यबस्था बदले । यिनले नेपालीको आर्थिक अबस्था बदल्ने बाचा गरेर आफ्नो मातृ दल र पद त्यागे । खाइपाइ आएको सम्मानजनक सांसद पद त्यागे । यति धेरै जोखिम हर कोहीले उठाउन सम्भव छैन । मेरै हकमा पनि २०५६ को निर्वाचनपछि मैँले सांसदहुने, मन्त्री हुने वा धन कमाउने कुनै लोभ नगरी उत्पादनमुखी शिक्षा र अर्गानिक खेतीको अध्ययन परिक्षणमै आफ्नो निजी लगानीमा १७ बर्ष योगदान गरें । र सफल पनि भएँ । यो दुई परिक्षणलाई देशव्यापीकरण गर्नसके नेपालको आर्थिक अवस्था अवश्य फेरिनेछ । म यसैको लागि फेरि राजनीतिमा कृयाशील भएको हुँ ।

१४. खोटाङको विकासमा संलग्नता
विदेशमा पढ्दा वा काम गर्दा होस् नेपालीको पहिचान नै गरिब देशको गरिब मानव भनेर संसारले हेप्थे म लगायत सबैजसो नेपालीलाई । स्वाभिमानमा चोट पुगेपछि साह्रै रिस उठ्दो रहेछ, चित्त दुख्दो रहेछ । अति नै चित्त दुख्थ्यो सबैतिर हेपिँदा । नेपाल किन बनेन ? भनेर आवेशमा कहिले काहीं एक्लै चिच्याउँथें । क्रमैसँग सबै व्यक्तिगत र पारिवारिक आवश्यक्ताहरू पुरा भइसकेपछि सम्पूर्ण रूपमा सकेको केही गरेर देखाउनलाइ मेरो समय र श्रोत खोटाङमै लगानी गर्ने अठोट गरें । संसारको डुलाइ र पढाइबाट मलाई के ज्ञान आयो भने जान्नुको अन्त्य रहेनछ । धेरै जान्नुभन्दा जति जानेको छ त्यति गर्नु ठुलो कुरा रहेछ भन्ने लाग्यो मलाई । जान्नेले आफुलाई मात्र गरे पनि अरुलाई काम लाग्ने रहेछ । त्यसैले मैँले जे जानेको छ त्यसलाई मेरै जीवन कालमा खोटाङमा गरेर देखाउने रहर जाग्यो मलाई । मेरो सहयात्री नेपालकै एक होनाहार युवा छितापोखरी सेम्मा निवासी मेरो मावली सूर्यबहादुर राईले मेरो यात्रामा साथ दिए र आजसम्म साथ दिइरहेका छन् । म, सूर्यजी र हाम्रो टिमले खोटाङको सानोठुलो, व्यक्तिगत, संस्थागत थुप्रै कामहरूमा सहभागी भइआएका छौं । करिब ३५ वर्ष गरेको कामको सूची लामो हुन्छ तापनि केही प्रमुख कामहरूको सूची तल उल्लेख गरेको छु ।

(१) रतन्छाको विकासको चासो
म एक मानिस हुँ जसलाई समय र श्रोत अति नै सीमित बनाइ दिएको छ प्रकृतिले । यसरी तर प्रकृतिले नै मानिसको संसार सानो बनाइ दिएको छ भन्ने ज्ञानलाई बुझेर मँैले आफुले जानेको, समय र श्रोतले पुग्नेजति काम गर्न आपूm जन्मेको गाउँ रतन्छालाई नै छाने । २०३० सालदेखि नै रतन्छाका युवाहरूलाइ असल शिक्षा लिनुपर्छ भनेर जुक्तिहरू सिकाउने केही आर्थिक सहयोग गरेर प्रोत्साहन गर्न थालेको हुँ । शिक्षा नै विकासको आधार हो भन्ने ज्ञान भएकाले रतन्छाको स्कुलको शिक्षण र पूर्वाधार विकासमा सकेको सहयोग गरें । हाइस्कुल र प्लस टु तथा कलेज बनाउने र तिनलाई चाहिने भवनलगायत विभिन्न भौतिक सुविधा र योग्य शिक्षकको व्यवस्थामा सक्दो सहयोग गरेको छु । सानो कक्षादेखि कलेजसम्म सैयौंलाइ छात्रवृत्ति प्रदान गरेको र आज पनि निरन्तर जारी राखेको छु । शिक्षाको गुणस्तर बढाउन विशेष छात्रवृत्ति, आपत–विपत र विकासमा सहयोग गर्न २०४२ सालमा सकेला ट्रस्ट भन्ने कोष स्थापना गरियो । सो कोषले आजसम्म काम गरी आएकै छ । यो ट्रस्ट खडा गर्दा धेरैजसो आर्थिक सहयोग त्यसताका हङकङमा कार्यरत बेलायती सेनाका रतन्छालीहरूबाट म हङकङमा हुँदा प्राप्त भएको थियो । हाइस्कुललाई प्लस टु र कलेज बनाउँदा रतन्छाको होनाहार समाजसेवी पूर्व बेलायती सेनाका भाई केशबराम राईको योगदान हामी सबैको भन्दा धेरै छ । आजभन्दा करिब २० वर्षअघि १६ लाख नगद चन्दा उठाउन चानचुने कुरै थिएन । उहाँ नभएको भए कसैको पिताम चल्ने थिएन ।
स्वास्थ्य नै धनहो भन्ने उखानलाई ख्याल गरेर रतन्छामा गाउँस्तरका लागि सुविधासम्मपन्न भवन, औजार र फर्निचरको व्यवस्थाका साथै ४ वटा स्वास्थ्य शिविरहरूको आयोजना गर्न सघाएको छु । घरघरमा सुरक्षित चर्पीको लागि चाहिने सामग्री र ४०० सेट सोलार टुकी वितरणगरी जनस्वास्थ्य र जनजीवन सुधारमा सहयोग गर्न पाएकोमा खुसी छु ।
खेलमैदान र सार्वजानिक स्थलहरू समाजको गहना मानेर १९ रोपनी क्षेत्रको खेलमैदान र अन्य सार्वजनिक जमिन खरिद र संरक्षण गर्न सहयोग गर्दै कृषि विकासमा सिचाईको महत्वलाई बुझेर गाउँभरि भएका १९ वटा परम्परागत कुलोहरूको मर्मत सुधार र उन्नत बिउबिजनको वितरणमा समयानुकूल सहयोग गरेको छु । विद्युत सप्लाई र मोटर सडकमा सकेको पहल र सहयोग गरिँदै आए पनि भनेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । रतन्छा गाउँलाई सुन्दर सहर बनाउने कल्पना पनि विभिन्न कारणले सफल हुन सकेन । रतन्छा गाउँको प्रयास २०६८ भन्ने पुस्तक रतन्छाको समकालीन इतिहास लेखन र प्रकाशनमा विशेष सहयोग गर्न सकेकोमा धेरै खुसी छु । यस पुस्तकमा रतन्छाको भूगोल र संसारभरि छरिएर रहेका रतन्छालीहरूको अभिलेख समावेश गरिएको छ ।
गाउँ गाउँबासीले, सहर सहरबासीले, देश देशबासीले मिलेर बनाउन सकेमात्र बन्न सक्छ भन्ने मान्यता राख्ने मान्छे म । रतन्छामा जाँडरक्सी लगायत विभिन्न कारणले हुने झैझगडा नहोस् र भए पनि चाँडै मिलिहालोस् भनेर मैँले मेरो समाजसेवाको पहिलो लक्ष्य बनाएको थिएँ । खुबै प्रयास पनि गरें । २०५४ सालको स्थानीय निर्वाचनमा म नेपाली काँग्रेसबाट ६ नम्बर वार्ड सदस्य र गाउँ विकास समितिको अध्यक्षमा एमाले दलबाट सनबहादुर राई चुनिएका थियौं । चुनाउमा जेजे दल भए पनि गाउँको विकासमा एक भएर लाग्नुपर्छ भनेर हामी दुवै दलका प्रतिनिधिहरू धेरै छलफलपछि मिलेर काम गर्ने सहमत गर्यौं । यसले धेरै काम गर्यो । ५ वर्षमा सरकारको ढिकुटीबाट जम्मा १९ लाख आयो । तर हामीले करिब ३ करोड बराबरको काम विभिन्न श्रोत जुटाएर गर्न सफल भयौं । रतन्छाले पुल भन्ने कुरा कहिले पनि नदेखेकोमा हामीले ७ वटा पुल बनाउन सफल भयौं । अरु थुप्रै कुरा भए । रतन्छाको विकासमा रतन्छा गाउँ विकासका निर्वाचित नेता सनबहादुर राईको अतुलनीय भूमिका रहेकोछ । यति धेरै खट्ने र जान्ने युवा समाजमा बिरलै पाइन्छन् ।

(२) कृषि मेला र डकुमेन्टरी फिल्म प्रदर्शन
२०३८ सालमा रतन्छाको लामीदुवालीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी र विभिन्न स्थानमा डकुमेन्टरी फिल्म प्रदर्शनगर्ने मेरो नौलो काम थियो । यसको मुख्य उद्देश्य उन्नत कृषिलाई बढावा दिने र संचारमा फिल्मको महत्व बारे जनतालाइ चेतना जगाउनु थियो । त्यसताका फिचर फिल्म पाउन धेरै मुस्किल थियो । सजिलै पाइने सरकारी फिल्म परिवर्तन भन्ने लगिएको थियो । आर्थिक रूपमा संकटमा परेको साकेला मावि लाई आर्थिक सहयोग जुटाउनु पनि यसको उद्देश्य थियो । यो मेला ५ दिन ५ रात भिडभाडकासाथ लगातार चल्दाको दोहोरी लोकगीतको गुन्जन आज पनि मेरो कानमा ताजै जस्तो गुन्जी रहन्छ ।

(३) विभिन्न कृषि बालीको बिउ वितरण
२०४३ को आम चुनावमा सहभागी हुने निधो गरेर २०४१ देखि नै खोटाङको गाउँघर घुम्न निस्किएँ । मानिसलाई एकछाक भात ख्वाएर एक दिनको पेट भर्न सहयोग गर्नुभन्दा खानेकुरा फलाउन सिकायो भने जीवनभर पेट भर्न सक्ने बनाउन सकिन्छ भन्ने उखानलाई मनन गरेर मँैले कृषि बालीको विभिन्न खाले बिउ किसानहरूलाई बाँड्दै भोट मागें । बाँडेको बिउले घरघरमा खुसी छाएको सुनेर ज्यादै खुसी हुँदै त्यस पछि आजका दिनसम्म विभिन्न बालीका उन्नत बिउ बाँडी आएको छु । मँैले २०४१ सालमा ३ महिना लगातार भोट मागेर ७६ गा.वि.स.हरु घुम्दा जम्मा ४ छाकमात्र फापरको हरियो साग खान पाएको थिएँ । आजको दिनमा खोटाङका हरेक घरमा बाहै्रमास हरियो तरकारी खान पाइन्छ । यो अवस्था ल्याउनमा किसान, सरकार, संस्थाहरू सबैको भूमिका छ तापनि हाम्रो र विशेष गरेर नाहिमा कृषि श्रोत केन्द्रको पनि प्रमुख भूमिका रहेको जस्तो लाग्छ हामीलाई । यो पटक पनि तपाईहरूको घरघरमा यो मौसममा रोप्ने मुला, मिनोअर्ली, रायो खुमल र मनकामना, केराउ सिक्किमे बिउ पठाउँदैछु । भोट दिन असहज भए पनि बिउ लगाई केही फाइदा अवश्य लिइ दिनुहोला ।

(४) स्वास्थ्य शिविरहरू र आँखा केन्द्र
३०, ४० र ५० को दशकमा अप्ठेरो भूगोलको कारण खोटाङको स्वास्थ्य क्षेत्र धेरै नै नाजुक थियो । यो कुरा मैँले भोटमाग्न गाउँगाउँ हिंड्दा थाहा पाएँ । टाउको दुखेको सिटामोल, घाउचोटको झाडापखालाको औषधिसम्म नै नपाई मानिसहरू दुःख पाइ बाँचेको देखें । यसैलाइँ मध्ये नजर गरेर मैँले सानोठुलो गरी १० वटा स्वास्थ्य शिविरहरू सञ्चालन गरेर उपचार र स्वास्थ्य चेतना फैलाउन सहयोग गर्न सकेकोमा खुसी छु । खोटाङको दिक्तेलमा आँखा उपचार केन्द्र खोल्न करिब ३ वर्ष लाहान लगायत विभिन्न आँखा सम्बन्धी अस्पताल र आयोजना धाइयो । अन्तमा सगरमाथा आँखा अस्पताल लाहानकै सहयोगमा दिक्तेलमा आँखा अस्पताल खुल्न सकेकोमा निकै खुसी छु । जिल्ला अस्पताल खोटाङको लागि डाक्टर, औषधि र औजारको व्यबस्था गर्न पटक पटक विभिन्न संघसस्था मार्फत सघाउन पाएकोमा हर्षित छु ।

(५) विभिन्न आयोजनाहरू खोटाङमा ल्याउन गरेको पहल
(क) माथिल्लो सगरमाथा कृषि विकास आयोजना
खोटाङ जिल्लाको विकासमा सबैभन्दा ठुलो विकासी आयोजना एसियाली विकास बैंक (एडिबि) को ऋण सहयोगमा संचालित माथिल्लो सगरमाथा कृषि विकास आयोजना थियो । यो आयोजना बि.स. २०४८ देखि थालनी भएर करिब ९ वर्ष चल्यो । यो आयोजना मेरै तालुक कृषि मन्त्रालयकै नेतृत्वमा बन्न लागेकोले मैँले त्यतिबेलै भनेको थिएँ मोटर सडकबिना यत्रो लगानी काम लाग्दैन है भनेर । कृषि उत्पादन बढाउने भनेर गरिएको लगानी करिब बालुवामा पानी सरह भयो भनेर मलाई यसै संस्थाका त्यसताकाका एडिबि नेपाल प्रमुख मेरा मित्रले गुनासो गरे । मँैले गलत काममा गलत लगानी गर्दा प्रतिफल यस्तै हुन्छ भनेको थिएँ । सही काम त मोटर सडक बनाइदेऊ न । खेती त किसान आफँैले जेनतेन गर्न सक्नेछन् । यति भनेपछि आयोजनाको समीक्षा भयो र घोेडेटोबाटो र कृषि उत्पादनको साटो मोटर सडकमा पैसा हाल्ने निर्णय भयो । जयरामघाटदेखि दिक्तेल सम्म ७२ किमि र बिजुलेदेखि लामीडाँडासम्म १० किमि गरी जम्मा ८२ किलोमिटर वातावरण मैत्री सडक खन्न प्रयास भयो । तर जनयुद्धको समय भएकोले यो सडक पुरा नभए पनि मोटर सडकको खाका त बनेकै हो । २५ वर्ष अघि यो आयोजनामा खोटाङमा मात्र ३० करोड जति खर्च भयो होला । सडक र केही झोलुङे पुलबाहेक अरु लगानीले जिल्लाको खासै हित हुन सकेन । आम्दानी आठ आना खर्च रुपियाँ भएकै हो । ऋणको भार भने थपिएर गयो ।
(ख) ग्रामिण पहँुच कार्यक्रम
यो आयोजनाको कथा रोचक छ । २०५४ सालमा निर्वाचित पूर्व सभापति पर्शुराम कार्की आज बिरामी हुनुहुन्छ । उहाँजस्तो सक्षम खोटाङे नेताको शीघ्र स्वास्थ्य लाभको कामना छ । पर्शुजीले मलाई फोन गर्नुभयो । दाई च्ब्ए प्रोजेक्ट खोटाङमा लानलाई जोड गर्न प्रोजेक्ट अफिस र म्ँक्ष्म् को अफिसमा कुरा गर्न तपाई र म जानु पर्यो भन्नु भयो । पर्शुरामजी पनि अङग्रेजी राम्रै बोल्नु हुने भए तापनि मेरो युएनको अनुभवको अङग्रेजीले थप मद्दत गर्ला भनेर उहाँले मलाई गुहार गर्नु भएको थियो । यो एक असल नेतृत्वको राम्रो गुण हो । सब कोहीले गर्दैनन् यसो । म उहाँको दलको सदस्य नभइ अर्कै दलको सदस्य थिएँ । हामी दुई पटक च्ब्ए को अफिस र एकपटक म्ँक्ष्म् को अफिस गयौं आयोजनाको थालनी अगाडि सबैकुरा बुझ्नलाई । दुवै अफिसमा मेरो चिनजानको साथीसँगी पनि भेटिए । म बेलायत पढ्दाको कुराले पनि अलिक काम गर्यो । यु.एन.को संलग्नताले त झनै काम दियो । जनताको तर्फबाट जिल्ला सभापति पर्शुरामजी र विकासको विज्ञको तर्फबाट म कुरा गर्न उभिँदा बोल्न अति सजिलो भयो । आयोजना छनौटमा ७ जिल्ला परेका रहेछन् । छान्नुपर्ने जम्मा ४ जिल्लामात्र । सदरमुकामसम्म मोटरबाटो जोडी नसकेकोले खोटाङको नाम करिब नपर्ने निश्चित हुँदै रहेछ । नाम छान्न एक घन्टा अघिमात्र हामी पुगेछौं । कुरा चल्यो । तपाईको त मापदण्ड पुगेन नि महाशयहरू भनेर बेलायती इन्जिनियर महिलाले भनिन् । के मापदण्ड ? भन्दा मोटर सडकले सदरमुकाम जोडिएको छैन भनिन् ।
साँचिकै माथिल्लो सगरमाथा कृषि विकास आयोजनाले खनेको बाटो त पुरा भैसकेको थिएन नै । मैँले फ्याट्ट जुक्ति निकालें । बाटो बनि सकेको छ पुरा गर्न थोरै मात्र काम बाँकी छ । हामी केही महिनामै पुरा गर्ने छौं । यसको जिम्मा जिल्ला सभापति र म लिन्छौं भनेर मँैले भन्दा सभापति पर्शुरामजीले पनि हजुर हजुर हामी अवश्य त्यो काम गर्ने छौं भनेपछि एकछिन घोरिएर म्ँक्ष्म् इन्जिनियरले साँचिकै हो त भनिन् । हामी दुवैले एकस्वरमा हो भन्यौं । जे कागज गर्न पनि हामी तयार छौं भनेपछि लौ त ठिकै छ तपाईहरू ग्यारेन्टी लिने हो भने हामी राख्छौं । यतिकुरा सुन्दा हामी कति खुसी भयौं होला । मेरो जीवनको खुसीको क्षणहरूमा यो क्षण एक विशिष्ट किसिमको क्षण थियो । आयोजना थालियो पुरानो बाटो पनि यसैले पुरा गरी दिने भयो । दिक्तेल चखेवासम्म ४६ किमी र दिक्तेल खोटाङबजारसम्म ७० किमि गरी जम्मा ११६ किलोमिटर थप ग्रामीण सडकको ट्रयाक खन्ने काम भयो यस आयोजनाबाट खोटाङ जिल्लामा । साथै सदरमुकाम दिक्तेलभित्र र दिक्तेलबाट मनमाया राई खानीडाँडा विमानस्थल सम्मको सडक स्तरीकरणमा समेत सहयोग गरेकोछ । यस आयोजनाले समूह निर्माण, कृषि उत्पादन, गरिबी निवारणमा थप काम गरीदिएको छ खोटाङमा ।
(ग) स्वीस विकास सहयोग नियोग
स्वीस विकास सहयोग नियोगले दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लामा सडक यातायात र अन्य क्षेत्रमा गरेको विकासको लोभलाग्दो प्रगतिप्रति मँैले नजिकबाट नियालेर हेर्दै आएको थिएँ । म आफै पनि यो संस्थाको परामर्शदाता थिएँ केही समय । धेरै पटक यहाँका साथीहरूसँग कुरा गर्दा यो संस्था खोटाङमा पनि लानुपर्यो भन्ने कुरा गरी रहन्थें । यतिकैमा यो संस्था दोलाखा जिल्लाबाट अन्य जिल्लामा सर्दैछ भन्ने कुरा थाहा लाग्यो । कुन जिल्लामा जाने त्यसको मूल्याङ्कन गरेर हेर्ने कुरा भयो । ३, ४ वटा जिल्लाहरूको नाम आयो । तिनमा खोटाङ पनि परेको रहेछ । सौभाग्यवस यो मूल्याङ्कन गर्ने काम मलाई नै दिइयो । मैँले इमानदारीसाथ मूल्याङ्कन गरेर प्रतिवेदन पेस गरिदिएँ । प्रतिवेदनको आधारमा धेरै पटक स्थलगत निरीक्षणमा केन्द्रबाट टोलीहरू खटिए । सौभाग्यवस अन्तिम छनौटमा खोटाङ जिल्ला परेछ । यो पटक हो मेरो जीवनमा सबैभन्दा धेरै खुसी भएको छिन र दिन । खुसी यसमानेमा लाग्यो कि स्वीस सरकार दिगो र निरपेक्ष दाता भएकोले धेरै वर्ष अघिदेखि खोटाङ लाने रहर र पहल गर्दै आएको थिएँ । यो आयोजनाले कृषि, सिचाइ, सशक्तिकरण, सेफर माइग्रेसन र ग्रामीण सडक आदिमा काम गर्दै आएको छ । यो आयोजनाले ऐलेसम्म खोटाङलाई दिएको सबैभन्दा ठुलो योगदान नै मौहुरे–फोक्सिङटार ३९ किमि सडकमा करीब ८० करोड रुपिया खर्चेर मोटरेबल ट्रयाक निर्माण हो । साथै हुर्लुङदेखि ऐसेलुखर्कसम्मको केही अंशको सडक सुधार पनि अर्को ज्यादै राम्रो काम हो । यो आयोजना अरु केही वर्षसम्म खोटाङमा रहनेछ भन्ने आशा छ । ग्क्ब्म्ए, च्ब्ए र क्म्ऋ आयोजनाहरूबिच खोटाङमा मोटर सडक, रोजगारी र कृषि क्षेत्रको विकासमा महत्वपूर्ण र गहिरो सम्बन्ध रहेकोछ ।
(घ) स्थानीय स्वशासन आयोजना
स्थानीय तहमा असल शासनको लागि सहयोग गर्ने आयोजना थियो यो । यु.एन.बाट संचालित र मेरै मित्रको नेतृत्वमा सञ्चालन भैरहेको आयोजना भएकोले मलाई यो आयोजना खोटाङसम्म लैजानलाई समस्या परेन । श्रोत साधनको कमीले यसले धेरै ठोस काम गर्न नसके पनि जिल्ला विकास र केही गाउँहरूमा यसले राम्रो सहयोग गरेको छ ।
(ङ) विश्व बैंकको लौन अब त केही गरौं लगायत अन्य सहयोग
संसारको गरीबी र पछौटेपन हटाउन स्थानीय तहको सिर्जनशीलतालाई नै बढावा दिने उद्देश्यले विश्व बैंकले लौन अब त केही गरौं भन्ने नाराका साथ केही नयाँ गरौं भन्ने व्यक्ति वा संस्थाहरूलाई रकम पुरस्कार पनि उपलब्ध गराएको थियो । सन २००५ जम्मा ४० वटा पुरस्कारको लागि हजारौंले प्रस्ताव पेस गरेकोमा खोटाङ विकास मञ्चको तर्फबाट कृषि र सिप विकास विषयमा मैँले तयार गरेको दुई प्रस्ताबलाई २५ लाख बराबरको पुरस्कार रकम र सन २००८ मा मौरी पालनको लागि १० लाख बराबरको पुरस्कार रकम प्राप्त भएको थियो । प्राप्त रकमले नाहिमा कृषि श्रोत केन्द्रमा जैविक विविधता स्थापना गर्न र खोटाङ विकास मञ्चको सिप प्रदान गर्ने र मौरी सेवा केन्द्र स्थापना गर्ने कामलाई केही सहयोग पुगेको थियो । यसैगरी कृषि अनुसन्धान तथा विकास कोषले आह्वान गरेरको प्रतिस्पर्धात्मक प्रस्तावमा घरको फोहोरपानीबाट करेसाबारी र बंगुर अनुसन्धान र विकास भन्ने दुई प्रस्ताबको लागि रु ४५ लाख पनि प्राप्त भएको थियो । यिनै दुई आयोजनाले खोटाङमा प्लास्टिक पोखरी र टनेलमा खेती अनि उन्नत बंगुरमा केही काम थाल्न सफल भएको थियो । उन्नत मकैको बिउ उत्पादन र वितरणमा पहाडी मकै अनुसन्धान कार्यक्रमले लगातार ५ वर्ष सहयोग पुर्यायो । यसै आयोजना मार्फत खोटाङका ५ हजार बढी घरमा उन्नत मकैको बिउ वितरण गर्न सफल भएको थियो ।

(६) खोटाङ विकास मञ्च
खोटाङको समग्र विकासको लागि एउटा संस्थाको आवश्यकता बोध २०५५ सालमै भएको हो । तर तयारी लगायत विभिन्न कारणले यो काम केवल २०६१ सालमा मात्र पुरा हुन सक्यो । यो संस्थाको मुख्य उद्देश्य खोटाङको अर्थतन्त्रमा कृषि र प्रविधिको महत्व र युवाहरूको सिप विकासको आवश्यकतालाई केन्द्रबिन्दु बनाइएको थियो । यो संस्था स्थापना र सञ्चालनमा सूर्यबहादुर राई, शुभचन्द्र राई, टंक थापा, नरबहादुर नेपाली, बम बानियाँ, भोजराज अधिकारी, बाबुराम कार्की, जीतकुमारी परियार, नैनकला राई, राजबहादुर राई, बलराम राई, अमर तामाङ देखि अरु धेरै खोटाङेको अहम भूमिका रहि आएको छ । कम्प्युटर शिक्षा अभियानको माध्यमबाट विगत १६ वर्षमा खोटाङका करिब ७ हजार युवाहरूलाई कम्प्युटर तथा इलेक्टोनिक सिप तालिम सुलभ रूपमा प्रदान गरियो र यो काम निरन्तर जारी रहेकोछ । यो कामको नेतृत्व दोर्पा बुवालुङ निबासी श्री हरिकाजी बुढाथोकीले २०५८ सालदेखिनै धेरै मेहनतकासाथ गर्दै आउनुभएको छ ।
कृषिको नेतृत्व सूर्यबहादुर राई र बाबुराम कार्कीले गर्दै आउनु भएको छ । यो काम विशेषगरी नाहिमा कृषि श्रोत केन्द्र, खाल्ले मार्फत आजसम्म ७ हजारभन्दा बढि किसानहरूलाई विभिन्न किसिमको तालिम तथा सेवा सुविधा प्रदान गरिएकोछ र यो कार्य आजसम्म जारी रहेकोछ ।
निर्माणका लागि चाहिने डकर्मी, सिकर्मी, हाउस वाइरिङ, वेल्डिङ, स्टील फिक्सर, पेन्टिङ, आदि काम करिब २ हजार युवाहरूलाइ राजबहादुर राई र बलराम राइको नेतृत्वमा प्रदान गरिसकिएको छ र तालिम जारी रहेको छ । यस्तै लाउने लुगा क्षेत्रमा पनि धागो बनाउने, कपडा बुन्ने र डिजाइन तथा सिलाइमा पनि करिब एक हजार विशेषगरी महिलाहरूलाई सुलभ तालिम प्रदान गरिएको र यो काम निरन्तर जारी रहेको छ । यस कामको लागि जीतकुमारी परियार (सानीमिस), नैनकला राई र विष्णुमाया राई दिदीको ठुलो योगदान रहि आएकोछ ।

(७) नाहिमा कृषि श्रोत केन्द्र
कृषि नै अर्थतन्त्रको मूल आधार भएकोे र म आफुपनि जन्मले, शिक्षाले र कामव्यवसायले पनि कृषि नै बाँच्ने आधार भएकोले खोटाङमा समग्र विकासको थालनी गर्नुअघि कृषिलाइ नै प्राथमिकतामा राख्ने निधो गरें । दिगो कृषि विकासका लागि उन्नत बिउ, बिरुवा र पशुपंछी आदिको नश्ल र तिनको उपयोगको उचित प्रविधि र प्राविधिक सेवाको निरन्तर उपलब्धता धेरै महत्वपूर्ण हुन्छ भन्ने कुरालाई मनन गरेर म र सूर्यबहादुर राईले एउटा कृषि श्रोत केन्द्र स्थापना गर्ने सोच बनायौं । जसको लागि जमिन धेरै महत्वपूर्ण कुरा थियो सो पनि खरिद गरी नेपालभरीबाट विभिन्न किसिमको अन्न, तरकारी, फलफूल, चिया, कफी, अलैंची लगायत विभिन्न मसला, जडीबुटि आदि बोटबिरुवाको जात र गाई, भैंसी, बंगुर, बाख्रा, खरायो, कुखुरा, मौरी, माछा, च्याउका विभिन्न जातहरू देशबिदेशबाट ल्याउँदै परीक्षण थाल्यौं । पछि सूर्यजीले यो श्रोत केन्द्रको नाम नाहिमा कृषि श्रोत केन्द्र राख्नु भयो । किसानको सुविधाको लागि यो केन्द्रलाई २४ घन्टा सेवा दिने ब्यबस्था गर्यौं । उन्नत बीउ, बेर्ना, बिरुवा, पाठापाठी, साँढे, राँगा, बीर को सेवा १२ महिना २४ घन्टा खुला राख्यौं । यो काम थालिएको आज १७ वर्ष भएछ । केन्द्रको जमिन करिब ४०० रोपनी पुग्यो । हजारौंलाई सेवा पुग्यो र निरन्तर जारी रहेकोछ । यो केन्द्रमा आज आएर नेपालभरीका विभिन्न बोटबिरुवा तथा पशुपंछी देखि माछासम्मका जातहरू सर्बसाधरणको लागि उपलब्ध रहेकोछ । यो कुरा बुझ्नसके धेरै ठुलो जस्तो लाग्छ मलाई । सूर्यजी र हाम्रो टिमको धेरै पसिना र श्रोत लागेको छ यसमा । नेपालमा मँैले सरकारी जागिरे हुँदा यो केन्द्रभन्दा आधा जमिन बराबरको ४ वटा कृषि फार्म स्थापना गरेको छु । आजको मूल्यमा हाम्रो जस्तो केन्द्र स्थापना गर्न १० करोडले पुग्दैन र लगातार सञ्चालन गर्न वर्षको कम्तीमा ३ करोड खर्च चाहिन्छ । हामीलाई गौरब लाग्छ कि हामीले हाम्रो खोटाङमा हाम्रै निजी खर्चले एउटा महत्वपूर्ण जैविक विविधता श्रोतकेन्द्र स्थापना गरेका छौं । अब उन्नत जातको कुनै पनि बोटबिरुवा र नश्लकोलागि धेरै टाढा जानु पर्ने छैन खोटाङका जनताले ।

(८) वैदेशिक रोजगार कोष
संसारको धेरै देशहरुको अवलोकन र खाडी क्षेत्रमा गएका नेपाली युवाहरुको दुःख देखेपछि सीपको महत्व भित्रैबाट थाहाभयो । मलाई धेरै भन्दा धेरै नेपाली युवाहरुलाई विभिन्न विधामा सीप सिकाउने रन्को चल्यो । खोटाङ विकास मञ्च र नाहिमा कृषि श्रोत केन्द्र यसै कामकोलागि स्थापना गरेका हौं । सबैखाले सीप सिकाउने काम पनि भयो । तर वैदेशिक रोजगारदाताले महंगो शुल्क लिने र सो शुल्क तिर्न साहुमहाजनसंग ऋण लिंदा ब्याज पनि चर्को तिर्नुपर्ने देखेर मँैले बचत गरेको करीब ५० लाख रकमलाई कोष बनाएर सहुलियत दरमा उपलब्ध गराउने निधो गरें । ५० लाखले बर्षमा २ सय र ५ बर्षमा १२ सय गर्दै पुँजी बढाएर १० बर्षमा १० हजार खोटाङे युवालाई सीपयूक्त रोजगार दिने लक्ष राखियो । १० हजार युवाले महिनावारी १ हजार बचत गराएर बर्षमा कम्तीमा १० करोड रकमलाई बिद्युत, घरजग्गा, बैंक, उद्योग, ब्यापार, सेवाक्षेत्रमा लगानीगरी राम्रो नाफादिने सपना थियो । राम्रो सपना बोकेर काम थालियो । करीब २० जनाजतिलाई सहुलियत ऋण दिएर विदेश पठाइयो । विदेश गइसकेपछि करीब २० प्रतिशतले मात्र समयमा ब्याजसहित फिर्ता गरे । अरु केहीले आलटाल गरेर किस्ता किस्तामा ढिलोगरी साउँमात्र तिरे । कसैकसैले त साउँब्याज नतिरी बोलचालै बन्द गरे । सपना सपनानै रह्यो । कसलाई दोष दिने र ? यो एउटा राम्रो पाठ सिकियो नेपाली समाजबाट ।

(९) मनमाया खानीडाँडा विमानस्थल
अध्यक्ष दुर्गाप्रसाद घिमिरे र बिमानस्थल निर्माण समितिलाई सघाउँदा मेरो मारुती कार थोत्रिएको, लाखौं नगद सकिएको र ५ वर्ष समय पनि सकिएकामा मलाई कुनै पछुतो छैन । मँैले १० हजार भन्दा बढि यही बिमानस्थलको कामको फोटो र भिडियो खिचेको छु । १० किलो जति अभिलेख राखेको छु । कसैलाई चाहिए म सेयर गर्न तयार छु । समय र कालले साँचे कुनैदिन एउटा संस्मरण पुस्तक पनि लेख्ने सोचमा छु । जनताको सहभागिता र सर्वसाधरण जनता मनमाया राईकै नाममा बनेको नेपालको ५३ वटा विमानस्थल मध्ये यो पहिलो हो । यसमा मलाई गर्व छ कि खोटाङ जिल्ला यस्तो नौलो काममा अरुको लागि नमुना र प्रेरणाको श्रोत बन्न सक्यो । यो निर्माणलाई सहयोगगर्दा के के मात्र भोगिएन होला राम्रो नराम्रो कुरा । १५ जना मन्त्रीका खुट्टा ढोगियो । सैयौं कर्मचारीका पाउमा परियो । हजारौं खोटाङेसँग सम्बाद गरियो । सिंहदरवारका सिंहहरूसँग लडियो । योजना आयोगका उपाध्यक्षको कक्षमा फुट्नेगरी टेबल ठटाइयो । धम्की खाइए आफुले पनि दिइयो । के मात्र भएन होला । पैसा खाने षडयन्त्र कस्ता कस्ता हुँदा रहेछन् देखियो । मपाइंँ हुनेको संख्या पनि कति हो कति देखियो । यो बन्दैन र बन्न हुँदैन भन्ने नेताहरूको संख्या पनि थुप्रै भेटियो । यसलाई असफल बनाउन गाडी नै उपहार दिएर लाग्ने खोटाङबाटै मन्त्रीसम्म भएका नेताहरू पनि देखियो । तैपनि यो विमानस्थल बनि नै छोड्यो । पिच पनि भएरै छाड्यो । यो बन्नमा अधकिांश खोटाङे र धेरै नेपालीको शुभेच्छा र सहयोग रहेको छ । यो बन्नमा माओवादी जनयुद्धको बेला भएपनि माओवादीका कसैलेपनि यसमा त्यति हस्तछेप गरेनन् । नेता रामकुमार राई पासाङले त बेलाबेलामा हौशला दिन्थे ।
विर्सनै नहुने कुरा मनमाया राई खानीडाँडा विमानस्थल बन्ने नाममा सुरुका दिनदेखि अन्तसम्म जिउज्यान छाडेर, खाजा सामल बोकेर लाग्ने दुर्गाप्रसाद घिमिरे नै हुन् । यिनले नखटेको भए यो विमानस्थल यो अवस्थामा पुग्ने सम्भावना नै थिएन न म आफँै त्यति खट्न सक्थें होला ? अरु छुटाउनै नहुने नाममा समितिका सदस्य र निर्माण संयोजक मोहन खत्री जसले ठुलो जोखिम मोलेर काम थाले । धेरै गरे । तर पछि पैसामा लोभिएर धेरै नराम्रो पनि गरे । स्थानीय विकास अधिकारी प्रल्हाद पोखरेल, मन्त्रीहरू बलबहादुर केसी, प्रदीप ज्ञवाली, लोकेन्द्र बिष्ट मगर, क्यानका महानिर्देशक त्रिरत्न मानन्धर, इन्जिनियर रत्नबहादुर श्रेष्ठ, जग्गादाता रुद्र राईको नाम छुट्दा अन्याय हुन्छ । दिक्तेल निवासी सनमान खड्काले ५० हजार सुरुमै नदिनु भएको भए जनताबाट त्यति रकम उठ्न मुस्किल हुन्थ्थो । बेलायती सेनामा कार्यरत भूमिराज राई र उहाँको टिमले काठमाडौँमा ठुलो कन्सर्ट गर्नुभो । भने जति रकम नउठे पनि उहाँको टिमले गरेको मिहेनत र प्रचार प्रशंसनीय थियो । जिल्लाका अभिभावक स्व बीरेन्द्र केशरी पोखरेलले हामी सबैलाई सधँै डोर्याउनु भयो ।
दुर्गाजी दिक्तेल निवासी हुन् जसलाई समाजको केही न केही नगरी भातै रुच्दैन जस्तो । जनयुद्धले सबै थकित भएको बेला न हिँडेर आउजाउ गर्न पाइने न हेलिकप्टर चढ्न नै सबैको हैसियत हुने । लामीडाँडा र थामखर्क अलि टाढै परे । सदरमुकाम र जिल्लाको धेरथोर सरकारी विकासको गतिविधिहरू पनि यातायातको अभावले ठप्प जस्तो भएको बेला दिक्तेल बजारदेखि केवल ५ किलोमिटरको दुरीमा विमानस्थल बनाउने कुराले मलाई आकर्षित गर्यो । जे सकियो त्यो गरियो । यो एयरपोर्टलाई अझ बिस्तार गर्न बाँकी नै छ, टु वे ल्यान्डिङको लागि । खोटाङको कृषि पर्यटन अर्थतन्त्रको लागि यो विमानस्थल अतिनै महत्वपूर्ण रहेको छ । आजको १० वर्षभित्र यसलाई २४ घन्टै चल्न सक्ने बनाउनु पर्ने हुन सक्छ । असम्भव नै के छ र ?

(१०) सगरमाथा तथा मध्येपहाडी लोकमार्ग
सगरमाथा लोकमार्गको कल्पना र लागत स्टीमेट पञ्चायत कालमै करीब सकिएको थियो । मोटर सडकबिना केही हुन्न भन्ने मान्छे म । यो लोकमार्ग बन्नेभयो भनेर धेरै खुसी हुँदै यसको रुट र लागतको बारेमा बुझ्न म ३ पटक सडक विभाग पुगें । सबै कुरा जानकारी पाएँ । मलाई धेरै खोटाङ क्षेत्रको मात्र चासो थियो त्यसबेला । गाइघाट बोक्सेदेखि फोक्सिङटारसम्म ५१ किलोमिटर क्षेत्र उदयपुर जिल्लाभित्र पर्ने । फोक्सिङटार देखि मौरेसम्म ४९ किलोमिटर र मौरेदेखि दिक्तेलबजारसम्म २३ किलोमिटर गरी जम्मा १२३ किमिको इस्टमेट तयार भएको रहेछ । हुनत यो लोकमार्गको थालनी बिन्दु सप्तरी जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्गको कदमाहदेखि नै सुरुहुने हो । कदमाहदेखि गाइघाटसम्म २७ किलोमिटर पर्दछ । यो लोकमार्ग खोटाङ, ओखलढुङगा हुँदै सगरमाथाको नजिक पुर्र्याउने उद्धेश्य रहेकोले यसको नाम सगरमाथा लोकमार्ग राखिएको रहेछ । सुरुको लागत इस्टीमेट नै ६ अर्बको थियो । २०४८ सालको निर्वाचन परिणामले नेपाली कांग्रेसलाई ढिकुटीको जिम्मा दियो । जसको कारण यो लोकमार्गको प्राथकिता करीब सकिएको थियो । यसको सट्टा कटारी ओखलढुङगाले प्राथमिकता पाएको थियो । तर सौभाग्यले २०५१ सालको आम चुनावको नतिजाले नेकपा एमालेलाई केही समय ढिकुटी जिम्मा दियो । एमालेले खोटाङ जिल्लाले जिताएर पठाएकै सांसदलाई सडक बनाउने यातायात मन्त्री बनायोे । यो थाहा पाएर मोटर सडकको भोकले बेहाल र तिर्खाले काकाकुल भएका खोटाङे हामी हर्ष बिभोर भएका थियौं । जनताको माग सहित हामी धेरैजना धेरै पटक यातायात मन्त्रीको निवास र मन्त्रालयमा कम्तीमा २५ करोड बजेट राखिदिन बिन्ती गर्यौं । यो सडकको लागत ६ अर्ब थियो र त्यो बर्षको यातायात मन्त्रालयको बजेट ५ अर्ब थियो । हाम्रो जिकर थियो नेपालको गौरब संसारको चुचुरो सगरमाथा पुग्ने र सगारमाथा अञ्चलका ७ जिल्लाको भागमा पर्ने लोकमार्गको लागि बार्षिक बजेटको ५ प्रतिसत ठूलो कुरा होइन । जसरी पनि राखिदिन पर्यो भनेर जिद्दी गर्यौं हामीले । तर मन्त्रीले बजेट पुग्दैन भनेर केवल ८० लाखमात्र छुट्याइदिनु भयो । नेतृत्वको दुरदृष्टिको कमी र निर्णयले हामी छाँगाबाट खसेजस्तो भयौं । मैँले गम्भीर भएर भने यदि ८० लाखले लोकमार्ग बन्न थाल्छभने म एक्लै ८० लाख राखिदिन्छु सरकारी रकम चाहिन्न समेत भने । मसंग त्यतिबेला त्यति रकम थियो पनि । ६ अर्बको बजेटले बन्ने सडकलाई यसरीनै बजेट राख्ने होभने त निर्माण पुराहुन ६०० बर्ष लाग्ने कुरा पनि भयो । तर कसैले वास्ता गरेनन । बरु एक पैसा बजेट नरहेकोभए पछिल्लो बर्षहरुमा सरकारसंग जोडदार मागगर्न मिल्ने थियो । ८० लाखले सबैकुरा सानो बनाइदियो । योजना आयोगले बर्पैपिछे बजेट थप्दा क्रमागत योजना भनेर गतबर्ष कति थियो त्यै आधारमा केही प्रतिसत थपेर बजेट राख्ने चलन छ । सुरुमा ८० लाखको बजेटलाई अर्कोसाल एक करोड, अर्कोसाल २ करोड गर्दै २० बर्षमा ५ किलोमिटर पनि लोकमार्ग जस्तो सडक बन्न सकेन । नेतृत्वको आँटगर्ने र निर्णय क्षमता कमजोर भएपछि समाजको असल काम हुन नसक्ने वा ढिलाहुने यो एउटा नमुना उदाहरण हो । बरु स्वीस आयोजनाले एकैचोटी ८० करोड खर्चेर ३९ किमि फोक्सिङटार मौहुरे मोटर चल्ने त बनाइयिो । गाइघाटदेखि दिक्तेल बाटो त जोडियो । तर फोक्सिङटारमा अजंगको सुनकोशी नदीमा मोटर तर्ने पुल त बनेको छैन । ४ बर्षको म्यादमा ठेक्का त लाग्यो पुल बन्ने सुरसार भएन । खोटाङ छोरुम्बु सापातेल निवासी सनतकुमार बस्नेत शसस्त्र प्रहरीको ए.आइ.जी. पदबाट पेन्सन पकाएर निस्कनु भएको थियो । सामाजिक काममा उहाँको बिशेष चासो, सम्पर्क संजाल र व्यक्तित्व देखेर सुनेर हामी खोटाङे जनताले उहाँसंग सहयोग माग्यौं । विकासको मामलामा खोटाङका हामी सबै एक थियौ र आजपनि छौं । यसमा सनतजीको आगमनले त कति उर्जा थप्यो हामीलाई । माननीय तिन साँसदहरु र सनत बस्नेतलाई अघि लगाएर हामीले मध्ये पहाडी लोकमार्ग र सगरमाथा लोकमार्गको बजेट छुट्याउन र निर्माण काममा धेरै काम गर्यौं । एआइजी सनतजीको चिनजान र व्यक्तित्वले धेरै नै महत्वपूर्ण काम गरेको हो । उहाँले त्यति जुझारु र नम्र दुवै भएर नलाग्नु भएकोभए जयरामघाट र फोक्सिङटारमा आजपनि बेलीब्रिज लाग्दैनथ्यो जस्तो लाग्छ मलाई । बेलीब्रिज नलागेको भए हाल बन्दै गरेको पुलको काम र मध्येपहाडी लोकमार्गको काम पनि यति धेरै हुन सक्दैन थियो । बेलीब्रिजको कारण बर्षको ५ देखि ६ महिना काठमाडाँै र तराइमदेसदेखि सिधै खोटाङ पुग्न पाउँदा कुन खोटाङे खुसी भएनन होला र? ढुवानी भाडा किलोको १५ बाट ५ मा झर्दा लाखाँैलाई कति फाइदा भयो होला । यस्तै सुनकोशीको घुर्मी हर्कपुरको पुलको कथा त कति लामो छ । ४ बर्षे अवधि लिएर निर्माण थालेको ठेकेदारले ११ बर्षसम्म २० प्रतिसतपनि काम नगरेको देखेर हामी खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासी आगो भएका थियौं सास्तीले । कहिले माननीयहरुसंगै कहिले सनतजी र ममात्रै धेरै पटक सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय, घुर्मी, हर्कपुर, जयरामघाट र फोक्सिङटार निर्माण स्थल, ठेकेदार कम्पनीको कार्यालय, ठेकेदारहरुसंग एकल भेट गरियो । कहिले धम्की कहिले बिन्ती त कति गरियो–गरियो । निर्माणस्थलमा जनतासंग पत्रकारहरु सहित आम सभा गरियो । टेलिभिजन, पत्रपत्रिका र रेडियोमा प्रचार प्रसार र दबाव सिर्जना गरियो । अन्तमा घुर्मी हर्कपुरको पुल बन्यो । जयरामघाटको पनि अब २०७४ को कार्तिकभित्र बनि सक्ने देखिन्छ । फोक्सिङटारको पुलको म्याद एक बर्षलाई थपिएको छ । बेलिब्रिज भएकोले २ बर्षमा बन्ला भन्ने आश गरौं । ठेकेदार बलराम थापा प्रतिबद्ध देखिन्छन ।
खोटाङका तिनैजना वर्तमान सांसदहरुले संसदको कामसंगै खोटाङको सडक र पुल निर्माणमा दिलोज्यानले खटि राख्नु भएकोछ । हामीसंग पनि बेलाबेलामा सहयोग लिनु भएकोछ । नेकपा एमालेको सरकार हुँदा सगरमाथा लोकमार्गको गाइघाट दिक्तेल खण्डको कामलाई करीब पौने ३ अर्ब बजेट छुट्याएर राम्रो काम गरेकोछ । यसमा बर्तमान सांसद बिशाल भट्टराई र पिके राईको ठूलो योगदान रहेकोछ । आफ्नो दललाई मनाउन सक्नु भयो । हामी जनताले पनि उहाँहरुलाई सक्दो होस्टेमा हैंसे गरेकै हौं । यो र मध्येपहाडी सडक निर्माणको काम पनि राम्रैसंग अघि बढि रहेकोले ढिलो भएको तिनबर्ष भित्रमा दिक्तेलबाट गाइघाट ३ घन्टा र काठमाडौं ८ घन्टामै पुग्न सक्नेछौं ।
खोटाङका हामी सबैले मिलेर जिल्ला जोड्ने र नगर तथा गाउँ जोड्ने सडक संजाल बाह्रैमहिना संचालनगर्न सकियो, हलेसीलाई धर्मको त्रिवेणी र जिल्लाको कृषिलाई अर्गानिक बनाउन सकियोभने खोटाङ नेपालको धनी जिल्ला बन्न सक्नेछ । म त धेरै आशावादी छु ।

(११) विकासको थलो खरिद
कृषिको अनुसन्धान र विकास, उत्पादनमुखी शिक्षा, उद्योग, व्यापार, र सेवाक्षेत्रको नमुना देखाउन जमिन अपरीहार्य भएकोले २०५१ सालदेखि नैे म र मेरो टीम जमिनको खोजीमा लाग्यौं । आज करिब २३ वर्षमा हाल रूपाकोट मझुवागढी, तुवाचुङ हलेसी नगरपालिकाभित्र कृषि अनुसन्धान र व्यावसायिक कृषि, अर्थशिक्षा, उद्योग, व्यापार र सेवा क्षेत्रको विकासको लागि मेरो टिमका २५ जनाले करिब १३०० रोपनी जमिन खरिद गरी उद्देश्यअनुरूपका कामहरू थालेका छौं । यी खरिद गरिएका जमिनमा अन्न, तरकारी, फलफूल, मसला, पुष्प, घाँस, पशु, पंछी, मौरी, च्याउदेखि विभिन्न खाले माछा पालनको अनुसन्धान तथा व्यावसायिक खेती थालिएको छ । उत्पादनमुखी अर्थशिक्षा प्रदान गर्ने विद्यालय पनि स्थापना गरिएको छ । यिनै थलोमा आगामी दिनमा २ स्कुल, ४ कलेजहरू, एक विश्वविद्यालय, ४ उद्योग, एक तारे होटल र केही व्यापारिक केन्द निर्माण गर्ने योजना रहेको छ । यसै अवधिमा यिनै जग्गाभित्रबाट सामुदायिक प्रहरी, अपाङ्ग संघ लगायत १४ वटा संघ संस्थाहरूलाइ निःशुल्क जग्गा दान पनि गरिएको छ ।

(१२) शुभद्रा–मदन फाउन्डेसन
९ वर्षसम्म क नपढी रतन्छामा हुर्केको ठिटो १८ वर्षको उमेरमा रतन्छाबाट ढाकर बोकेर काठमाडौँ छिरेको मानिस म आज यो अवस्थामा आइ पुगेको छु । शिक्षा, सम्पत्ति, परिवार, स्वास्थ्य स्थिति सबै अनुकूल हुँदै गए । आफु र परिवारको अवस्था सम्पन्न र सुखी भयो । तर आफ्नो जन्म गाउँ रतन्छा, जन्म जिल्ला खोटाङ र मेरो जन्म देश नेपालका सबै नागरिक र परिवारजन सम्पन्न हुन सकेका देखिँदैन ।
कहीं किन हुन्छ कहीं किन हुँदैन ? कोही किन हुन्छन् कोही किन हुँदैनन् ? भन्ने प्रश्न धेरै अघिदेखि तेर्सिएको छ म सामु । उत्तर जटिल छ तापनि नेपालको समग्र पछौटेपनको मूल कारण राज्य व्यवस्था र त्यसले अवलम्बन गरेको किताब घोकाउने शिक्षा प्रणाली नै हो भन्ने लाग्छ मलाई । लेख्न र बोल्न सक्ने ठुलो मान्छे उत्पादनको लागि श्रम गर्ने जति सानो मान्छे भन्ने सामन्ती संस्कार भने झन मौलाएर गयो । राज्य प्रणाली सामन्ती शासनबाट गणतान्त्रिक लोकतन्त्र आइसकेको छ तापनि शैक्षिक संस्कारमा खास परिवर्तन हुन नसकेकोले किताब घोक्ने जनशक्ति धेरै, श्रम गर्ने जनशक्ति थोरै हुँदै गएको छ । उत्पादन गर्ने जनशक्तिको अभावमा नेपालको अर्थतन्त्र दिनानुदिन खाडलमा खस्दै गएको छ । यसैलाई मध्येनजर गरेर मैँले २०५६ सालमै राजनीतिलाई केही समय थाती राखेर भए पनि युवालाई सिप सिकाउन खोटाङ विकास मञ्च भन्ने संस्था साथीहरूकासाथ स्थापना ग¥याँै । यो संस्था मार्फत धेरैलाई सिप सिकाउदै जाँदा के अनुभव भयो भने सिप भन्ने कुरा त श्रमसँग जोडिने रहेछ ।
सानैदेखि श्रम गर्ने बानी सिकाइएन भने उमेर छिप्पिएपछि कुनैपनि सिप सिक्न र सिकाउन सजिलो नहुने रहेछ । स्कुलमा किताबमात्र घोकेर पढ्नेले श्रम पनि सिकेको नहुने र श्रमसँग घिन मान्ने र लजाउने रहेछ । नेपालको स्कुलहरूमा त केवल पाठ्यपुस्तक घोकाउने बाहेक कुनै श्रम गर्ने शिक्षा त दिने चलनै हुँदैन रहेछ । त्यसैले त्यस्ता शिक्षालयहरूबाट शिक्षा लिएका युवाहरूलाई ठिकसँग सिप सिकाउन त सम्भावनै देखिएन । हामी करिब फेल नै भयौं हजारौंलाई सीप सिकाएर पनि । खर्च एक रुपियाँ फाइदा पचास पैसा मात्र । यसैकारण सूर्यबहादुर राईको नेतृत्वको हाम्रो टिमले सानो उमेरको (७ देखि १० वर्ष) का बच्चाहरूलाई श्रम समेत सिकाउने गरी शिक्षा दिएर शैक्षिक संस्कारको परीक्षण गर्ने निधो गर्यौं । २०६४ सालमा पहिलो टोलीलाई लिएर दिक्तेलको बोर्डिङ र सरकारी स्कुलहरूमा भर्ना गर्यौं । दिनमा स्कुलजाने बिहान बेलुकी घरमा परिआएको घाँस, दाउरा, खेतीपाती, सरसफाइ आदि काम गर्दै सिक्ने र राती के के गर्यो डायरी लेख्ने कामको रुटिन बनाएर काम थाल्यौं । थुप्रै विरोधहरू आए स्कुल र अभिभावकहरूबाट । हामी विचलित नभई अघि बढि रह्यौं । दुई वर्षमै नतिजा एकदम सोचेजस्तै हुँदै गयो । अनुशासन, आत्माविश्वास देखि बोलाइ, लेखाइ, पढाइ र गराइमा हाम्रा विद्यार्थीहरूले अरुभन्दा धेरै राम्रो गर्दै गए । हामीले विद्यार्थी थप्दै गयौं । ५ ब्याचले एस.एल.सी. दिए सबै पास भए । कलेजमा नाम मात्र लेखाए, कलेज नगै जाँच मात्र दिनगए सबै पास भए । अहिले यी विद्यार्थीहरू ३ भाषा बोल्न, सबै खाले आधुनिक अर्गानिक खेती र पशुपंछी, माछा पालन गर्न, उद्योग चलाउन, व्यापार गर्न, खाना बनाउन, लुगा सिलाउन, कम्प्युटर चलाउन, साइकलदेखि गाडी बनाउन र चलाउन, घरदेखि विभिन्न निर्माणको कामगर्न, भाषणगर्न, नाच्न, गाउन र बजाउन जान्दछन । अरु सरह एस.एल.सी.देखि एम.ए.सम्मको प्रमाणपत्र पनि अरुले जुनउमेरमा प्राप्तगर्छन सोही उमेरमै पाउन सकेका छन् । तर हाम्राले सोही उमेरभित्र बहु सीप पनि लिइसकेका हुन्छन् । यी विद्यार्थीहरू अधिकांश खोटाङ जिल्लाकै हुन् ।
शरीरबाट निस्केको पसिना, पिसाब र दिशालाई बिरुवाको खानाको रूपमा प्रयोग गरेर पानी, हावा, माटो प्रदूषण हुन दिँदैनन् । शारीरीक रूपमा तन्दुरुस्त छन् तर अरुलाइ हेप्दैनन् श्रद्धा गर्छन् । यिनै असल पक्षलाई भोगेपछि म र मेरी श्रीमती शुभद्रा लामा राई, छोरा सुरज र मन्जील अनि बुहारी काजल र अलना तथा सूर्य राई र अरु टिमका सदस्यहरूबिच व्यापक सल्लाह भयो । सबैको सल्लाह अनुसार अबको नेपालको आर्थिक विकास सिपालु जनशक्ति नभै सम्भव हँुदैन, सिपालु जनशक्तिको निर्माण गर्न हामीले अभ्यास गरेको काममुखी तथा उत्पादनमुखी शिक्षाको विकास नगरी सम्भव हुँदैन भन्ने विश्वासले म र मेरी श्रीमती शुभद्राजीले आर्जन गरेको अधिकांश सम्पत्तिलाई उत्पादनमुखी शिक्षा र आर्थिक विकासको विभिन्न क्षेत्रमा एउटा फाउन्डेसन मार्फत खर्च गर्न “शुभद्रा—मदन फाउन्डेशन” नाफा नबाड्ने कम्पनी स्थापना गर्यौ । यो फाउन्डेसनले दुई वटा स्कुल, ४ वटा कलेज, ४ वटा उद्योग र एक विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने लक्ष्य लिएको छ । हाल यस फाउन्डेशनको आर्थिक सहयोगमा विभिन्न ३३ जिल्लाका ३३ नै जातका १५० जना विद्यार्थी नर्सरीदेखि एम.ए.सम्म अध्ययन गरिरहेका छन् । आगामी ३ वर्षमा ७५ जिल्लाका १२३ (नेपालका सबै जातजाति) जातका विद्यार्थी भर्ना गरेर मिनी नेपाल स्कुल बनाउने लक्ष्य लिइएको छ । यिनै विद्यार्थीहरूले नेपालभरी हामीले विकसित गरेको शिक्षालाई देशव्यापी बनाएर नेपालको अर्थतन्त्रलाई संसारको विकसित अर्थतन्त्र समान बनाउने छन् । भविष्यमा यिनै विद्यार्थीले यो शिक्षालाइ संसारव्यापी गर्नेछन् भन्ने लाग्छ हामीलाई । मेरो आगामी दिनको सपना यतिमात्र बाँकी हो । बुढेस काल लागेको छ । बाँकी कति गर्न सकिने हो आजै भन्न सकिन्न । आजसम्म काम राम्रो भएको छ । म र मेरी श्रीमतीले नभियाए पनि हाम्रो सन्तान र हाम्रो टिम (हाम्रै कर्मको सन्तान) ले हामीले देखेको र अभ्यास गरेको सपनालाई अघि बढाउने छन् भन्ने हामीलाई पुरा विश्वास छ । सबै खोटाङे र नेपाली जनताको साथ र सहयोग चाहिन्छ । हामी थप केही न केही त गरेरै देखाउने छौं ।
लेखनमा चासो
बाच्दैजाँदा थरीथरी कुरा गर्न मनलाग्ने । हलोकोदालो गर्नेले कविता र लेख लेख्ने त ? गर्ने संगत र फुर्सद दुवै नहुने । तर अरुले कविता लेखेको देखेर डाहा लाग्ने । अरुको लेखहरु पढ्दा आफुलाई हिनताबोध हुने । होइन कोरी त हेर्नु पर्छ भनेर स्कुलमा पढेको कविता र अरुले लेखेको कविताको लयमा शब्दहरु कोर्न थालें । कोर्दा कोर्दै धेरैवटा कोरी हालिएछ । भाई शान्तिराम राईले ४ वटाको त गीतै बनाई दिए । कोरेको शब्दहरुको छपाई बाँकी नै छ । लेख पनि जसोतसो लेख्न थालियो पत्रपत्रिकामा । प्रकाशित भएपछि आँट आउँदो रहेछ । अरु लेख्न थालियो । राम्रै पो हुँदै गयो । कृषि विषयमा किताब पनि लेखेकै हो । अब त सजिलै लाग्न थाल्यो । केही समयमै मँैले ३ वटा पुस्तक लेख्ने सोचेको छु । शरीरले कति सक्ने हो त्यो त समयले नै बताउनेछ । आँखामा समस्या हुन सक्छ । अरु त ठिकै होला भन्ने लाग्छ ।

म बढोको जन्मदेखिको अहिलेसम्मको संक्षिप्त कामहरु यिनै हुन। खोटाङ रतन्छा देखि नेपालभर पैदल हिडेर हेरेँ । संसारका ७२ देशहरु पुगेँ। थुप्रै अनुभवहरु बटुलेँ। काम गरे, कमाएँ, बचाएँ, लगानी गरेँ । दिएर खान सक्ने भएँ। अर्गानिक कृषि र पर्यटनले नेपालको आर्थिक समृद्धि हुन्छ। समृद्ध नेपाल बनाउन शिक्षालाई काममुखी, उत्पादनमुखी र जीवनमुखी बनाउनु पर्छ । यहि काममा मैँले कमाएको ज्ञान, सिप, धन, मन दिइरहेको छु । मेरो बारेमा थप जान्न र बुझ्न चाहानु हुनेको लागि :