You are here
Home > खेलकुद > साफ अण्डर १८ फुटबल च्याम्पियनसिपको ट्रफी मुलुकलाई दशैंको उपहार

साफ अण्डर १८ फुटबल च्याम्पियनसिपको ट्रफी मुलुकलाई दशैंको उपहार

१२ आश्विन २०७४, बिहीबार १२:०४
काठमाडौं |
साफ अण्डर १८ फुटबल च्याम्पियनसिप विजेता नेपाली टोलीले ट्रफी मुलुकलाई दशैंको उपहारको संज्ञा दिएको छ । ट्रफीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै नेपाली युवा टोलीका कप्तान अपर्ण कार्कीले उपाधि देशवासीलाई दशैंको उपहार भनी प्रतिक्रिया दिए ।
भुटानको थिम्पुस्थित चाङली मिथाङ रंगलशालामा साबिक विजेता नेपालले राउण्ड रोबिन लिगको अन्तिम खेलमा गएराति चिर प्रतिद्वन्द्वी इण्डियालाई २–० ले हराउँदै उपाधि कब्जा गरेको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए ।
प्रतियोगिताको पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछिका सबै खेल जितेको थियो । क्याप्टेन कार्कीले भुटानसँगको पराजयपछि टीममा अझ बढी सामूहिकताको भावना विकसित भएकाले उपाधि जित्न सकिएको बताए । प्रशिक्षक छिरिङ लोप्साङले पहिलो हारबाट पाठ सिकेकाले नै उपाधि जित्न सहज भएको प्रतिक्रिया दिए ।
इण्डियालाई दोस्रोपटक हराउन सकेकोमा पनि उनले खुशी व्यक्त गरे । काठमाडौंमा २ वर्षअघि भएको साफ अण्डर १८ च्याम्पियनसिपमा नेपाले इण्डियालाई हराउँदै उपाधि जितेको थियो । विजेता टोलीको स्वागतमा अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठसहितका पदाधिकारी विमानस्थल पुगेका थिए ।
साभार-कान्तिपुर दैनिक