You are here
Home > कला > नेपाल मेरो सबैभन्दा ठूलो प्रेरणा: प्रबल गुरुङ

नेपाल मेरो सबैभन्दा ठूलो प्रेरणा: प्रबल गुरुङ

१३ आश्विन २०७४, शुक्रबार १७:१५

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ‘फेशन डिजाइनर’ प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ३८ वर्षको उमेरमा उनले ‘फेशन डिजाइनिङ’को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ। उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्। फेशन दुनियाँमा आफूलाई स्थापित गराएका तिनै प्रबल गुरुङलाई हालै न्यूयोर्कस्थित उनको कार्यालयमा भेटेर हाम्रा साथी फणीन्द्र दाहालले काठमाण्डूदेखि न्यूयोर्कसम्मको आफ्नो सफलताको यात्रा फर्केर हेर्दा कस्तो लाग्छ? भनेर सोधेका थिए।

साँच्चै भन्ने हो भने फर्केर हेर्ने फुर्सद नै छैन। अच्चम पनि लाग्छ तर आफूलाई मन लागेको काममा आफ्नो भविष्य बनाउँछु भन्ने लक्ष्य थियो। त्यो विस्तारै पूरा हुँदै गएको छ। उद्देश्य, आँट र मेहनत सबै सही ठाउँमा मिलेपछि भाग्य चम्किंदोरहेछ जस्तो लाग्छ। गर्न अझै धेरै बाँकी रहेको पनि मलाई महसुस हुन्छ।

तपाईँका संघर्षका दिनहरु कस्ता थिए?

मैले आफ्नो व्यवसाय शुरु गर्न खोज्दा संसारकै अर्थतन्त्र ओरालो लागिरहेको थियो। मलाई कतिजनाले त्यो बेला व्यापार शुरु नगर्न सुझाव दिएका थिए। पहिला म जहाँ डिजाइन निर्देशक थिएँ, त्यो काम छाडेर मैलै जुन आफ्नो बचत थियो त्यो राखेर म यहाँको बेरोजगार कार्यक्रममा सहभागी भएको थिएँ। अमेरिकी सरकारले काम पाएन भने बेरोजगारहरुलाई पैसा दिन्छ। ठूलो घर छाडेर एउटा सानो स्टुडियो अपार्टमेन्टमा मैले मेरो व्यवसायको शुरुवात गरेको हुँ। अहिले सम्झिंदा जुन संघर्षका दिन थिए र अहिलेपनि छन् त्यसले मलाई ठूलो पाठ सिकाएको छ।

तपाईँले फेशन डिजाइनमा लाग्ने निर्णय लिँदा कस्ता चुनौतीको सामना गर्नुभयो?

काठमाण्डूमा जब मैलै फेशन डिजाइनिङमा लाग्ने आफ्नो इच्छाबारे कुरा निकाल्दा मेरा बुवा, आमा, दिदी-भिनाजु, दाइसहित मेरो परिवारले पूर्णरुपमा साथ दियो। तर त्यहाँबाहेक सबैले यो त राम्रो शौख हो तर काम चाहिँ के गर्ने भनेर होच्याएर कुरा गरेको थुप्रै पटक सुन्नुपर्‍यो। के लुगा सिउने काम गर्ने भनेर उनीहरुले सोध्ने गर्थे किनभने काठमाण्डू जस्तो ठाउँमा हामीलाई डाक्टर, इञ्जिनियर सबैभन्दा ठूलो काम त्यसबाहेक कि फाइनान्समा काम गर्नुपर्‍यो भन्ने सोच राख्ने गरिन्छ। अझ केटा मान्छे त्यो पनि लुगाको काम गर्ने भनेर ठूलै असन्तुष्टि व्यक्त भएको थियो। तर मेरी आमाले भने संसारमा आफूलाई मन लागेको चिज जुन कामले भित्रदेखि खुशी दिन्छ, त्यही नै काम गर्नुपर्छ भनेर सिकाउनुभएको थियो। पैसा कमाएर मात्रै जिन्दगीमा केही फरक पर्दैन भन्ने गर्नुहुन्थ्यो। खुशी लाग्ने गरी काम गर्न र त्यो कामबाट आफूलाई मात्रै नभएर अरुलाई पनि फाइदा पुग्नुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो। शुरु शुरुमा मैलै सहयोग पाइनँ तर मलाई अहिले त्यसलाई लिएर न कुनै रिस छ न कुनै दुःख छ। मैलै फेशन डिजाइनिङ पढ्दा कोही पनि थिएनन् तर अहिले काठमाण्डू जाँदा थुप्रै युवाहरु यो क्षेत्रमा रहेको पाउँछु त्यो देखेर मलाई एकदमै खुशी लाग्छ।

न्यूयोर्कमा आएपछिको चुनौती कस्तो थियो?

शुरुमा एकदमै गाह्रो थियो। अहिले पनि झण्डै आठ वर्षदेखि मेरो आफ्नै ब्राण्डको व्यवसाय छ। मेरो नाम पहिला नसुन्ने मानिसहरुले भाग्यमानी थियो त्यही भएर सफल भयो भन्छन् तर साह्रै गाह्रो थियो। अमेरिकाको न्यूयोर्क जस्तो ठाउँमा म कोही मान्छे नचिनिकनै आएको थिएँ। शुरुदेखिनै ‘पार्सन्स स्कूल अफ डिजाइन’मा पढ्नेदेखि लिएर पार्सन्स र उसको प्रतिस्पर्धी कलेज एफआइटीको फेशन प्रतियोगिता थियो। पार्सन्सले जित्यो अनि मैले उत्कृष्ट डिजाइनर पाएँ। त्यहाँदेखिको शुरुवात हो मेरो अनि त्यसपछि डोना क्यारोनमा ‘इन्टर्नशीप’ थियो। त्यतिखेर एउटा पदका लागि करिब २५ जनाले निवेदन दिएका थिए। मैले पाएँ। हरेक क्षणमा मैले संघर्ष गरेको छु। मलाई जति चुनौतीपूर्ण काम हुन्छ त्यति नै इच्छा लाग्छ। सजिलो काम गर्न झ्याउ लाग्छ।

नेपालको विद्यालय जीवन र हुर्काईले तपाईँलाई आफ्नो अहिलेको काम गर्न कतिको प्रेरणा दियो?

मेरो हुर्काई र विद्यालयको जीवन एकदमै गाह्रो थियो। अरुभन्दा अलग किसिमको मान्छे भएँ म। मेरा धेरै साथी पनि थिएनन्। मलाई जहिले पनि चित्र बनाउने मात्रै इच्छा लाग्थ्यो। कुनै राम्रो विद्यार्थी जो पढेर प्रथम आउँथ्यो त्यस्तो पनि म भइनँ। र, मलाई हेप्थे। कुटाई पनि खाइन्थ्यो किनभने म सबै केटाहरु मात्रै पढ्ने विद्यालयमा पढ्थेँ। त्यसबेला मलाई कत्तिको गाह्रो थियो भनेर मेरो परिवारलाई थाहा छ। मेरा दाइ-दिदी एकदमै राम्रो पढ्ने र कक्षामा पनि पहिलो आउने गर्नुहुन्थ्यो। विद्यालयमा पढ्दा मेरो आमालाई शिक्षकहरुले प्रबल ठीक हो तर दाइजस्तो राम्रो होइन भनेर भन्थे। मेरी आमाले मेरा दुईजना छोराहरु अलग मानिसहरु हुन् त्यही भएर उनीहरु एउटै हुन्छ भन्ने मेरो इच्छा पनि छैन भन्नुहुन्थ्यो। त्यसले बच्चामा मलाई प्रोत्साहन दियो। मेरा सहपाठीहरुले तँ अलग छस् भनेर भन्दा-भन्दा मलाई त्यसबेला त्यसो भए म आफ्नो अलग किसिमको बाटो रोज्छु भन्ने भयो। उनीहरुले होच्याएर अलग किसिमको मान्छे भनेका थिए तर त्यो नै मेरो लागि सबैभन्दा ठूलो शक्ति र बलको कुरा भयो।

तपाईँको पहिरन अमेरिकाको प्रथम महिला मिशेल ओबामादेखि ब्रिटेनकी राजकुमारी केटसम्मले लगाएका छन्। तपाईँमा के जादु छ जसले विश्वका चर्चित महिलाहरुलाई तपाईँले बनाएका पोशाकले आकर्षण गर्छ?

जादु त थाहा भएन। तपाईँले उहाँहरुलाई नै सोध्नुपर्ला। तर मैले जुन डिजाइन गर्छु यो चाहिँ सबै मेरो भित्रैदेखि नै सफा मनले गरेको काम भएर पनि होला। म नारी जातिलाई एकदमै श्रद्धा गर्छु किनभने मेरो आमा मेरो एकदमै ठूलो प्रेरणाको स्रोत हो। हाम्रो देशमै होस् कि अरु देशमै होस् महिलाहरुलाई होच्याउने गरिन्छ। उनीहरुलाई पुरुषभन्दा तल्लो दर्जामा राख्ने गरिन्छ। असमानताको यो रीतिरिवाज संसारभर कायम छ। त्यही भएर मैले डिजाइन गर्दा जुन महिलाहरुले मैले तयार पारेको कपडा लगाउँछन् उनीहरुको आत्मविश्वास अझै बढोस् भन्ने चाहन्छु। त्यसरी नै म कपडाको डिजाइन गर्छु।

तपाईँले आफ्नो कामकै कारणले केही समय पहिले तत्कालीन प्रथम महिला मिशेल ओबामासँग भेट्नुभयो, त्यसबेला तपाईँलाई कस्तो लाग्यो?

 

त्यसबेला म भित्रैबाट भावुक भएँ किनभने मेरी आमा मेरो लागि सबैभन्दा ठूलो हौसला र प्रोत्साहन दिने मान्छे हो। मलाई संसारले विश्वास नगर्दा उहाँले विश्वास गर्नुभयो। म जे छु आज उहाँकै कारणले छु। जब मलाई ह्वाइट हाउसमा एउटा ‘गर्ल्स राइजिंङ’ अर्थात् बालिकाहरु अघि बढिरहेका छन् भन्ने विषयको कार्यक्रममा बोलाइयो, मैलै मेरो आमा र मेरो भान्जी पनि लिएर आउन मिल्छ भनेर सोधेँ। त्यसको हुन्छ भन्ने जवाफ आयो। लामबद्ध भएर मेरो आमाले मिशेल ओबामासँग भेट्नुभएको त्यो क्षण म जीवनभर बिर्सिनँ। मिशेल ओबामा मेरो यात्राका लागि प्रेरणादायी हुनुहुन्छ र उहाँका विचार र सिद्धान्त मलाई एकदमै चित्त बुझ्छ। अनि मेरा सबैथोक मेरी आमा हुन्। त्यो भेटमा मिशेल ओबामाले ‘टु से वि लभ प्रबल इज एन अण्डरस्टेटमेन्ट’ अर्थात् यदि हामीले प्रबललाई माया गर्छौँ मात्रै भन्यौ भने त्यो कम हुन्छ निक्कै धेरै माया गर्छौँ भन्नुभयो। त्यो क्षण मेरो लागि एकदमै अविस्मरणीय हो। त्यसबेला मैलै संसारलाई धन्यवाद दिए। म नेपालदेखि एउटा लुगा बनाउने डिजाइनर बन्न र आफ्नै सानो व्यवसाय गर्न न्यूयोर्क आएको थिएं तर त्यो क्षण मैले इच्छा र आशा राखेको भन्दा धेरै परको थियो।

तपाईँको काममा नारीवादी अभियानकर्ता लेखक, कविहरुको ठूलो समर्थन छ। के कारणले सम्भव भयो?

मैलै अघि पनि भने नारी जातिप्रति मेरो एकदमै ठूलो श्रद्धा छ त्यसबाहेक मलाई पूर्ण विश्वास पनि छ। सरकार र राजनीतिका महत्त्वपूर्ण पदहरुमा अहिलेसम्म नेपालदेखि विश्वभर पुरुषहरुको व्यापक उपस्थिति छ। त्यही भएर संसारमा जलवायु परिवर्तनदेखि कैयौँ समस्या आएका छन्। असमानता, जातीय विभेद जस्ता विश्वव्यापी समस्या धेरैजसो पुरुषकै कारणले भइरहेका छन्। मलाई के लाग्छ छ भने यदि निर्णय गर्ने टेबलमा २० जना मान्छे छन् भने १० जना महिला हुनैपर्छ, त्यसपछि निर्णय नै फरक पर्छ। पढेलेखेका महिलाले त्यस्तो परिवर्तन ल्याउँछन् भन्नेमा मलाई विश्वास लाग्छ। महिलाहरुको सोचाई अलि फरक छ। नेपालमा गाउँघरमा भन्छन् नि यदि महिलाले काम गरेर पैसा कमाएको छ भने परिवारलाई हेर्छ तर पुरुषहरुले कमाएका छन् भने रक्सी खान जान्छ। मलाई त्यो ठीक हो जस्तो लाग्छ।

यसपालि न्यूयोर्क फेशन विकमा एकजना प्रखर नारीवादी अभियन्ता ग्लोरिया स्टाइनम पनि तपाईँको प्रदर्शनी हेर्न आइन्? उनलाई कसरी ल्याउनुभयो?

तस्वीर कपीराइट PG
Image caption अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ‌‍ओबामाले प्रबल गुरुङ्गले डिजाइन गरेको पोशाक लगाएकी थिइन्।

ग्लोरिया स्टाइनम महिला अधिकार र मानवअधिकार एउटै हो भन्ने खालको विचार राख्ने अभियानकर्ता हुन्। पहिलेदेखि नै मैले उनीबाट प्रेरणा लिएको थिएँ। अनि त्यसपछि मैलै चाँहि उहाँलाई चिठी लेख्थें तर कहिलेपनि सोचिन कि उहाँ आउनुहुन्छ भनेर। हामीले सधैँ निम्तो पठाइराख्थ्यौँ तर यसपालि उहाँले जवाफ पठाएर म आउँछु भन्नुभयो। मेरो काम उहाँले देख्नुभएको रहेछ अनि मैलै स्पष्ट रुपमा महिला जातिको अधिकार र न्यायका बारेमा धारणा राखेको थाहा पाउनुभएको रहेछ। फेशनबाट ती कुराहरु मैले अघि बढाइरहेको देख्दा आफूलाई एकदमै प्रभाव परेको बताउनुभयो र उहाँ आउनु भयो।

तर नारीवादलाई प्रबर्द्धन गर्ने तपाईँका कतिपय पोशाक एकदमै महंगा रहेछन्, एउटै टीशर्टको झण्डै २ सय डलर अर्थात् करिब २० हजार रुपैयाँ। यो महंगो भएन?

महंगो नै हो किनभने गुणस्तर कायम राख्न त्यो गर्नैपर्छ। यो टीसर्ट जति सबै इटलीमा बन्छ र त्यो एकदमै उच्चगुणस्तरको हुन्छ। यसमा ‘प्रिन्ट’ गर्ने काम न्यूयोर्कमा हुन्छ। एउटा गुणस्तरको कुरा भयो र त्यो बनाउँदा नै महंगो हुने कुरा भयो। त्यसबाहेक अरु टीशर्टकै मूल्यसँग समान बनाएर त्यसको पनि दाम राखेको हो। त्यसको केही रकम हामीले मेरो फाउण्डेशन, वकिलहरुको अर्को एउटा संस्थालाई पनि परोपकारी काम गर्न उपलब्ध गराउँछौँ।

तपाईँले विगतमा आफ्नो पहिरनको डिजाइनहरुमा विशेष गरी नेवारी संस्कृतिको एकदमै प्रभाव छ भन्नुभएको थियो। कस्तो खालको प्रभाव भन्नुभएको हो?

मैले अहिलेसम्म गरेको पहिरनको डिजाइनमा कुनै सिजनमा नेपालको बारेमा ठूलो रुपमा आउँछ कुनै सिजनमा सानो रुपमा आउँछ। शुरुदेखि नै मलाई म परम्परागत किसिमको पोशाक डिजाइन गर्ने खालको डिजाइनरमा सीमित हुन मन लागेको थिएन। विश्वव्यापी रुपमा नै प्रतिस्पर्धामा उत्रिन सक्ने डिजाइनर बन्न म चाहन्थेँ। तर अहिलेसम्म गरेको डिजाइनमा मलाई नेवारी संस्कृतिदेखि लिएर मुस्ताङको अनि काठमाण्डूको प्रभाव सबै संग्रहमा भइनैरहेको हुन्छ। देश छाडेर गएपनि मेरो उत्पत्ति, मेरो पृष्ठभूमि सबै भन्नु नै नेपालदेखि नै शुरु भएको हो। म नेपालीको छोरा,नेपालमा हुर्किएर आएकोले नेपालको प्रभाव र प्रेरणा सधैँ हुन्छ। कुनै सिजनमा धेरै हुन्छ भने कुनैमा कम हुन्छ। नेपाल इतिहास र संस्कृतिमा एकदमै धनी छ। मेरा कामका लागि प्रेरणा लिन मैले अरु ठाउँमा गएर हेर्नै पर्दैन। उदाहरण लिनका लागि मैले अरु ठाउँ गएर हेर्नै पर्दैन। मलाई नेपालबाटै अझै धेरै गर्ने इच्छा छ। नेपालको कुनाकाप्चामा गएर केही गर्न सकिन्छ कि भनेर हेर्न मन लागेको छ। फेशन सोमा करौडौँ अर्बौँ मानिसको आँखा लागिरहेको बेला यदि नेपाल भन्ने एउटा शब्दमात्रै पनि प्रयोग गर्न पाउँदा यत्रो मानिसमध्ये एकजनाले त नेपालबारे चासो देखाउला जस्तो लाग्छ। म शुरुमा यहाँ आउँदा मैले नेपालबाट भन्दा धेरै जनालाई थाहा पनि थिएन। उनीहरु नेपाल कहाँ छ भनेर सोध्ने गर्थे। तर अहिले उनीहरुमध्ये कतिजना नेपाल पनि गइसकेका छन्।

पहिरनसम्बन्धी तपाईँको कुनै काम नेपालमा पनि हुन्छ?

हातले बुनेको स्वेटर जति पनि मेरो फेशन शो मा देख्नुहुन्छ त्यो सबै नेपालमै बन्छन्। थोरै मात्रामा भएपनि सबै नेपालबाट बनाउन लगाउँछु। देशमा पनि केही गरौँ भन्ने भएर नै यसो गर्न थालेको हुँ। धेरै वर्ष भइसक्यो। फ्याक्ट्रिमा काम गर्ने ५० जनाभन्दा बढी छन्। एउटा कुरा के भन्न चाहन्छु भने नेपालमा काम गराउन सजिलो छैन। एक त गुणस्तरको बारेमा एकदमै सिकाउनुपर्छ। हाम्रो नेपालीपन रमाइलो छ, चलिहाल्छ नि, भइहाल्छ नि, ठिकै छ नि भन्ने जुन हाम्रो संस्कृति छ त्यो यहाँ चल्दैन। न्यूयोर्कमा त भइहाल्छ र चलिहाल्छ भनेर सामान दियो भने व्यापार छैन भनेर उनीहरु भन्छन्। हामीले त इटालियनहरुसँग, युरोपियनहरुसँग, चिनियाँ र भारतीयहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ। त्यही भएर नेपालबाट आएको पनि त्यतिकै गुणस्तरको हुनुपर्छ। त्यसबाहेक नेपाल बन्द, नेपालको राजनीतिक वातावरणले पनि व्यवसाय गर्न गाह्रो बनाएको छ। नेपाल बन्दले कारखानाका मालिक र कामदार दुवैलाई गाह्रो बनाउने गरेको छ। कामदारले हिँडेर आउनुपर्छ, गाडीमा ढुंगा हानिदिने लगायत कारणले समयमा मसिन पुर्याउन समेत समस्या हुन्छ। लोडशेडिङ्गले अर्को समस्या दिन्छ। मैले गुनासो त गर्न खोजेको होइन तर एकदमै गाह्रो छ भन्न खोजेको हुँ।

व्यापारको वातावरण सुधार्नुपर्‍यो भन्न खोज्नुभएको हो तपाईँले?

हो। तपाईँ त्यहाँ व्यवसाय गर्ने जो कोहीलाई सोध्नुस् न कतिको गाह्रो छ भनेर थाहा पाइहाल्नुहुन्छ। त्यस्तो हुँदा-हुँदै पनि मैले छोड्दिनँ गरेको गर्छु भनिरहेको छु। मलाई के विश्वास छ भने समय लाग्ला तर अवस्था सुध्रिन्छ जस्तो लाग्छ। अर्को कुरा मैलै त्यही चीजहरु चीनमा बनाएं भने आधा पैसामा बन्छ, मलाई आर्थिक रुपमा फाइदा पनि हुन्छ। तर मैलै फाइदा मात्रैको कुरा सोच्न मिल्दैन किनभने मैले आफू जन्मेको देशका लागि पनि केही गर्नुपर्छ। मेरो कामले गर्दा नेपालको बारेमा संधै कुरा भइरहन्छ तर मैलै मेरो फाउण्डेशन चलाउन बाहेक अरु पनि केही गर्नुपर्छ भनेर कपडा बनाउने काम नेपालमा पनि गरिरहेको हुँ।

तपाईँको फाउण्डेशनको कामबारे केही भनिदिनुस् न?

शिक्षा फाउण्डेशन नेपाल मैले पाँच वर्ष अगाडि शुरु गरेको हुँ। म, मेरा दाइ र दिदीलाई सानैदेखि फाउण्डेशन खोलेर बच्चाहरुलाई पढाउने इच्छा थियो। १२ जना बालिकाहरुबाट शुरु गरेपछि विस्तारै-विस्तारै बढाउँदा-बढाउँदा हामीले त्यो संख्या अहिले ३०० भन्दा बढी पुर्याएका छौँ। कैदीका बच्चाहरु, बाग्मतीमा सडक सफा गर्ने श्रमिकले त्यसै अलपत्र छाडिदिएका बालिका, माथिल्लो डोल्पाका बालिकाहरु पनि छन्। नेपालमा कति वटा फाउण्डेशनहरु पैसा कमाउने जुक्तिका रुपमा पनि खुलेका छन्। हाम्रो चाहिँ त्यस्तो इच्छा छैन। त्यही भएर नै हामीले लाखौँलाई गर्छौँ पनि भनेका छैनौँ। विस्तारै गर्ने राम्ररी गर्ने सबैभन्दा गर्वको कुरा नै हाम्रो लागि त्यही हो। शत प्रतिशत उठाएको पैसा हाम्रो फाउण्डेशनमा नै जान्छ।

तपाईँ नेपालप्रतिको आफ्नो प्रेमको कुरा धेरै गर्नुहुन्छ तर किन नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिनुभयो?

तस्वीर कपीराइट PG
Image caption प्रबल गुरुङ्गले डिजाइन गरेका पोशाक बलिवुड हिरोइनहरुले पनि प्रयोग गरेका छन्।

म यहाँ बसेको १७\१८ वर्ष भयो। मेरो कामले नै भ्रमणमा जानुपर्छ। अब युरोप जानुपर्छ, चीन जानुपर्छ अनि एसियाका अरु देशमा पनि जानुपर्छ। जहाँ जाँदा पनि नेपाली राहदानीले जति दुःख पाउने कुनै राहदानी नै छैन। मलाई व्यापार गर्न पनि बाधा नै पर्‍यो अनि मैले यहाँको पनि हुने र नेपालको पनि हुने दोहोरो राहदानी लिने विचार गरेँ। तर त्यसका लागि नेपाल सरकारले व्यवस्था गरेको रहेनछ। मलाई के लाग्यो भने मैले काम गरेर यत्रो नेपालको नाम ल्याइरहेको छु, फाउण्डेशन खोलेर नेपालमा नै काम गरिरहेको छु, कारखाना नेपालमा नै छ, यदि एउटा राहदानीकै कारण कसैले मलाई ए यसलाई नेपालको माया छैन भनेर सोच्छ भने मलाई उहाँहरुको विचारलाई बदल्ने कुनै इच्छा पनि छैन। उहाँहरुले जे सोचे पनि हुन्छ तर विशुद्ध व्यवसायलाई ध्यान दिएर मैले अमेरिकाको राहदानी लिएको हुँ।

नेपालमा तपाईँका धेरै प्रशसंक छन्। त्यहाँका कैयौँ युवायुवतीले तपाईँलाई नेपाललाई विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्ने एकजना चर्चित व्यक्तिका रुपमा लिन्छन्। उनीहरुका आशा अपेक्षा पूरा गर्न कत्तिको गाह्रो लाग्छ?

मलाई कुनै अप्ठेरो महसुस नै हुँदैन। उनीहरुले मलाई ईमेलहरु पठाइरहेका हुन्छन्, फेसबुक र इन्स्टाग्राममा सन्देशरु पठाइरहका हुन्छन् मलाई एकदमै खुशी लाग्छ। उनीहरु आफ्नो सन्देशमा ‘म अर्को प्रबल गुरुङ बन्न चाहन्छु’ भन्छन् तर म के जवाफ दिन्छु भने अर्को प्रबल गरुङ होइन पहिलो जो हो उहाँ त्यो नै हुनुपर्‍यो। मेरो कर्तव्य भनेको आफ्नो काम राम्ररी गर्ने सफलताको साथ गर्ने अनि छलकपट नगरिकन एउटा एकदमै राम्रो हृदयले गर्ने हो। त्यसबाट उहाँहरुले प्रोत्साहन पाउनुभयो भने त्यो सुनमा सुगन्ध भनेजस्तै हुन्छ।

तपाईँ जस्तै न्यूयोर्कसम्म आएर आफ्नो सपना पूरा गर्ने लक्ष्य लिइरहेका नेपाली युवायुवतीलाई के भन्न चाहनुहुन्छ?

म उहाँहरुलाई सबैभन्दा शुरुमा यहाँ किन आउने भनेर सोध्न चाहन्छु। कतिजनाले मलाई म पनि फेशन डिजाइनर बन्छु भनेर भन्छन्। मैले चाहिँ किन त भनेर सोध्ने गर्छु। यदि प्रख्यात हुने मात्रै इच्छा छ भने नगर्नुस्। कुनै पनि पेशा वा कलामा लाग्दा त्यस्तो काम गर्नुपर्‍यो कि त्यो नगरेपछि आफ्नो जीवन पनि पूरा नभएको जस्तो लागोस्। त्यस्तो पो काम गर्नुपर्छ। यदि त्यो गर्नलाई न्यूयोर्क आउन चाहनुहुन्छ वा कतै पनि जान चाहनुहुन्छ भने जानुहोस्। तर के पनि सोच्नुस् भने न्यूयोर्क आउँदैमा सबैजनाले सफलता पाउँछ भन्ने छैन। सफलता पाउनलाई एउटा सीप हुनुपर्यो, त्यो भन्दा पनि मेहनत हुनुपर्‍यो। र, मेहनत मात्रले पनि पुग्दैन एउटा संकल्पको साथ काम गर्न सक्नुपर्छ।

साभार-बिबिसी न्यूज