You are here
Home > कला > सारा संसारलाई थाहा छ, म नेपाली हुँ -उदित नारायण झा

सारा संसारलाई थाहा छ, म नेपाली हुँ -उदित नारायण झा

१९ आश्विन २०७४, बिहीबार १६:११

मुम्बई । बलिउडका चर्चित ‘प्लेब्याक सिङ्गर’ उदित नारायण झा मुम्बईको लोखन्डवालास्थित स्काइभेन विल्डिङको ११०१ र ११०२ नम्बरको अपार्टमेन्टमा बस्छन्। पुरानो स्टारडमका कारण उनलाई भेट्न सोचे जति सजिलो छैन, तर जब उनी कसैसँग भेट्छन्, लाग्छ– उनी जत्तिको सहज व्यक्ति अरु कोही हुन सक्दैन। उनीसँगको पहिलो भेटमै आफूलाई बदनाम गराउन केही व्यक्ति नियोजितरुपमा लागेको भन्दै मन खिन्न बनाए। बेलाबेलामा उनको नागरिकताको विषयमा कुरा उठ्ने गरेको छ। उनले सुरुमै यसको खण्डन गर्न खोजे । भने, ‘मैले कहिल्यै म नेपाली होइन भनेको छैन । आज म जे छु, त्यो सबै नेपाल र नेपालीको मायाले हो।’

गीतको माध्यमले भारतीय संगीतमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई भारत सरकारले सबैभन्दा ठूलो पुरस्कार पद्म भुषणबाट गत वर्ष र सन् २००९ मा पद्मश्रीबाट सम्मानित गर्‍यो । उनको विषयमा विवाद चुलिनुको अर्को कारण पनि यही हो। यतिबेला उनीमाथि नेपाली नागरिकता परित्याग गर्दै पुरस्कार ग्रहण गरेको आरोप लाग्दै अाएको छ।

उनले यसको प्रष्टीकरण दिँदै भने, ‘म नेपाली भएको सारा संसारलाई थाहा छ। मैले लुकाउनुपर्ने केही छैन।’

सप्तरीको भारदहमा जन्मिएका उदितले बाल्यकालमा त्यहीको भजन मन्डलीमा भजन गाएर संगीतकर्म सुरु गरेका थिए। भारतमा गीत गाएर नेपालीको नाम उच्च राखेको भन्दै उनी २०५८ सालमा प्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए। ‘राजा बीरेन्द्रबाट मैले गोर्खा दक्षिणबाहु प्राप्त गर्दा प्रवासमा बसेर काम गर्ने सबै नेपालीको मुटु गर्वले फुलेको थियो’, उनले अथ्र्याए। उदितले हाइस्कुल शिक्षा राजविराजमा पुरा गरे । थप अध्ययनका लागि काठमाडौं प्रवेश गरे । आरआर क्याम्पसमा अध्ययनरत रहँदा उनको करिअर रेडियो नेपालतर्फ मोडिएको थियो । भारतीय दूतावासले दिने छात्रवृत्तिमा उनी सन् १९७८ मा पढ्न मुम्बई आए।

मुम्बईस्थित भारतीय विद्या भवनमा संगीत सिक्ने क्रममा उनले थुप्रै दुःख पाए । एक पल्ट त नेपाल फर्किने मन बनाइसकेका थिए। ‘ओहो, मुम्बईका मान्छे कति व्यस्त । मलाई त एक्लो महसुस भइसकेको थियो’, कुराकानीकै क्रममा पुरानो कुरा सम्झिएका उदित भन्दै थिए, ‘मैले रेडियो नेपालका दाइहरुलाई चिठी नै पठाएर यहाँ बस्न सक्दिनँ, नेपाल फर्किन्छु भनेको थिएँ।’ त्यतिबेला आफ्ना अग्रजले आफूलाई गाली गरेको उनी अहिले पनि सम्झन्छन्। ‘दाइहरुले मेरो चिठीको जवाफ ६ महिनापछि फर्काउनुभयो । त्यो पनि गाली गरेर’, उनले भने– ‘छात्रवृत्तिमा पढ्न गएको छौं । पढाइ नसकी नआऊँ । बरु दुःख सहेर बस।’

काठमाडौंबाट अग्रजहरुको यस्तो चिट्ठी आएपछि उनी असमञ्जसमा परेका थिए । ‘मलाई गाह्रो पर्‍यो । मुम्बईमै बसौं भने टिक्न गाह्रो । नेपाल फर्किऊ भने साथीभाई रिसाउने डर’, उनले भने, ‘त्यतिबेला मुम्बईमा मेरो अविभावक थिए, गायक मुरलीधर । उहाँले नै मलाई मुम्बईमा टिक्न सहयोग गर्नुभयो।’

 

उदितले कामको खोजीमा चप्पल लगाएर मुम्बईको अधिकांश स्टुडियो चहारेको कहानी पनि सुनाए ।

‘म सधैं कामको खोजीमा स्टुडियो बाहिर ढुकेर बस्थेँ । कसैले काम दिँदैनथे । थाकेर घर फर्किँदा खल्तीमा पैसा हुँदैन्थ्यो । कति दिन भोकै बसेको छु,’ उनी दुःखको दिन सम्झिँदा केही भावुक बने।

लामो समय काम नपाउँदा उदित हतोत्साही भइसकेका थिए । उनलाई रत्तिभर विश्वास थिएन, मुम्बईमा कुनै ब्रेक पाइन्छ भनेर । तर, एकदिन मुरलीधरमार्फत चिनजान भएका नेपाली संगीतकार रञ्जित गजमेरले उनलाई स्टुडियो बोलाएछन् । वास्तवमा त्यो दिन गजमेरले नेपाली गीत गाउन उदितलाई बोलाएका थिए । त्यही दिन उनको भेट दिपासँग भएको थियो । पछि यी दुवै वैवाहिक बन्धनमा बाँधिए।

‘अहिले म जहाँ छु, सबै भगवान पशुपतिनाथको कृपा हो। नेपाली दर्शकले पनि मलाई ठूलो सम्मान र माया दिनुभएको छ,’ उनले भने।

उदितले सन् १९८० मा पहिलो हिन्दी गीत राजेश रोशनको म्युजिक रहेकाे फिल्म ‘सन्नाटा’ मा ‘सुन जाने जा’ गाएका थिए । यसपछि केही छिटपुट गीत गाएका उनी सफल हुन सकेनन्। त्यतिबेला पनि उनी मानसिक तनावमा थिए।

यति नै बेला एकदिन चर्चित कम्पोजर आनन्द–मिलनले एउटा सानो बजेटको फिल्म ‘कयामत से कयामत तक’ मा उनलाई गीत गाउने अफर दिए । सन् १९८८ मा प्रदर्शन भएको यो फिल्मको गीत यति ठूलो हिट सावित भयो, यसपछि उनले फर्किएर दुःखको दिन हेर्नु परेन् । आमिर खानको पहिलो फिल्म रहेको त्यही एउटा फिल्मले उनलाई उचाईमा पुर्यायो।

उदित नारायण

भारतका चर्चित गायक किशोर कुमारको निधनपछि उदितले लामो समय बलिउडमा राज गरे । उनले ‘दिलवाले दुलहनिया ले जाएगे’, ‘कुछ कुछ होता हे’, ‘अनाडी’, ‘दिलजले’ लगायत थुप्रै हिट फिल्ममा आफ्नो आवाजको जादु छरिसकेका छन् । सन् २००१ मा रिलिज भएको लगान, २००२ मा रिलिज भएको छोटे छोटे सपने हो, २००४ मा रिलिज भएको स्वदेशजस्ता फिल्मबाट उनले लगातार ३ पटक राष्ट्रिय पुरस्कार प्राप्त गरे।

उदितले नेपाली फिल्म ‘कुसुमे रुमाल’ मा पनि अभिनय गरे । उनी त्यो फिल्ममा हिरो बन्नुको कारण खोल्दै भन्छन्, ‘मलाई रञ्जित गजमेर दाजुले फिल्म खेल्न लगाउनुभयो । मैले नाइँ भन्न सकिनँ।’

पछिल्लो समय उदित भारतीय फिल्ममा त्यति सक्रिय देखिदैनन् । तर, उनी संगीतकर्ममा युवाहरु आएकोमा खुसी छन् । ३६ वटा विभिन्न भाषामा २५ हजारको हाराहारीमा गीत गाइसकेका ६१ वर्षीय यी गायक छुट्टिने बेला भन्दै थिए, ‘मैले भारतमा जे जति सफलता प्राप्त गरे । त्यो सबै नेपालीहरुको आशीर्वाद हो।’