२० वर्षपछि नेपालमा गणतन्त्र संस्थागत भएसँगै ‘कमरेड उषा’ ओझेल परेको छ । ओनसरी घर्तीमगर अगाडि आएको छ । र, कमरेडको साटो सम्माननीय सभामुख थपिएको छ । ३८ वर्षीया ओनसरी धेरैको कल्पनाविपरीत व्यवस्थापिका संसद्को सभामुख बनेकी छिन् । कुनै वेला छापामार सदस्य उनी देशको पाँचाँै बरियतामा पुगेकी छिन् । पहिलो महिला सभामुख बनेकी छिन् ।

छापामार सदस्यदेखि सभामुखसम्म उनको यात्रा भने संघर्षपूर्ण छ । उनी जतिवेलासम्म उषा बनेकी थिइनन्, त्यो वेलाका उनको संघर्ष पनि कम छैनन् । जतिवेला सामन्ती संस्कारले जकडिएको समाजमा महिलाले हलो जोत्नुहुँदैन भनिन्थ्यो, त्यसवेला ओनसरी हलो जोत्थिन् । घरको धुरीमा चढ्नुहुँदैन भन्दा धुरी चढेर छानो हाल्थिन् ।

जिल्लाको माडिचौरलाई बुढापाकाहरू अहिले पनि कान्छो दाङ भन्छन् । समथर भूभाग भएकाले कान्छो दाङको उपमा दिएका हुन् । त्यहीँ माडिचौरमा २८ कात्तिक ०३४ मा निम्नमध्य किसान परिवारमा ओनसरी जन्मिएकी हुन् । दुई आमामध्ये उनी कान्छीपट्टिकी हुन् । तीन दाजु र चार दिदी–बहिनीमध्ये उनी माहिली हुन् । उनका बुबा प्रसाद घर्तीमगरको गतवर्ष निधन भयो भने आमा नौमती दाङमा बस्छिन् ।

पुरस्कारले डोर्‍याएको शैक्षिक यात्रा

ओनसरीकै अनुसार उनका बाबु साक्षर थिए । उनले छोरीहरूलाई पढाउने अठोट लिए । ओनसरीलाई गाउँमै रहेको बाल उद्धव प्राथमिक विद्यालयमा भर्ना गरिदिए । उनी घाँस दाउरा गर्दै पढ्न थालिन् । बारीमा तरकारी रोपेर सदरमुकाम लिवाङ बेच्न पुग्थिन् ।

तीन कक्षाको वार्षिक परीक्षा दिएपछि प्रसाद ओनसरीलाई स्कुल छोडाउने निष्कर्षमा पुगे । ‘गाउँको चलन पनि त्यस्तै थियो’, ओनसरी ती दिन सम्झन्छिन्, ‘मेरा धेरै केटी साथीले ३–४ कक्षा पढ्दै स्कुल छाड्थे ।’

तर, उनी अपवाद बनिन् । र, संयोग पनि जुर्‍यो । स्कुलको वार्षिकोत्सवमा उनले छात्रातर्फ राखिएको ६ वटा खेलमा भाग लिइन् । सबैमा प्रथम भइन् । कक्षा तीनमा दोस्रो भइन् । ‘मेरो हातमा एकैचोटि सातवटा पुरस्कार पर्‍यो’ उनी भन्छिन् ।
सातवटा पुरस्कारले उनको स्कुलयात्रालाई निरन्तरता दियो ।

छिमेकी गाविस कोटगाउँमा निमावि तहको अध्ययन पूरा गरेर माध्यमिक तह पढ्द सदरमुकाम लिवाङमा रहेका बालकल्याण माविमा भर्ना भइन् । उनलाई मनपर्ने दुवै शिक्षकले शिक्षण पेसा त्यागे । ‘महरा सर (कृष्णबहादुर महरा) ०४८ को निर्वाचनमा उम्मेदवार हुनुभयो, झक्कु सुवेदी जिविस सभापतिमा लड्दा पढाउन छाड्नुभयो,’ उनले सम्झिइन् ।

मातृभाषाी उनी त्यसताका राम्रोसँग नेपाली बोल्न जान्दैनथिन् । लिवाङमा ‘गाउँबाट आएकी पाखे, टिमपुर गनाउने, गवाँर’ जस्ता शब्दले गाली गर्थे रैथाने । कक्षाकोठामा पहिलो बेन्चमा बस्ने अवसर उनलाई थिएन । चार महिनापछि उनले जसरी पनि पहिलो बेन्चमा बस्नुपर्ने योजना बुनिन् ।

‘एकदिन अघिल्लो बेन्चमा किताब राखेँ । पछिल्लो बेन्चमा गएर बसेँ । पहिलेदेखि बस्दै आएकाले भनिहाले, ‘यो टिमुर गनाउनेले आज त पहिलो बेन्चमै आएर किताब राखिछे,’ उनले त्यो दिन सम्झिइन्, ‘मेरो किताब भुइँमा फालिदिए । मैले किताब फाल्नेलाई कुटिदिएँ । त्यस दिनदेखि पहिलो बेन्चमा बस्न थालेँ ।’

ओनसरी लिवाङमा पढ्दा राजनीतिमा सक्रिय भइसकेकी थिइन् । ‘त्यसैबापत तीनपटक त प्रहरी हिरासतमा बसेँ,’ उनी भन्छिन्, ‘०५२ मा रोल्पामा पहिलोपटक उच्चमावि तहको पढाइ सुरु भएको थियो । ओनसरी उच्चमाविमा भर्ना पनि भइन् । तर, निर्देशन आयो, ‘पढाइ छाड्ने जनयुद्धमा होमिने ।’ उनको पढाइको औपचारिक यात्रा टुंगियो ।

नौ वर्षमा हलो जोत्दा
एक दिन प्रसादले गुनासो पोखे, ‘तँ छोरा भएको भए घर छाउँथिस् होला, हलो जोत्थिस् होला ।’ ओनसरीलाई लाग्यो, ‘अब म घर पनि छाउँछु, हलो पनि जोत्छु ।’ उनी घरको धुरी चढिन्, बारीमा हलो जोत्न थालिन् । ‘पहिलोपटक हलो जोत्दा नौ वर्षकी थिएँ । गाउँमा हलो जोत्ने अरू महिला थिएनन्,’ उनले भनिन् ।

हलो जोत्नु उनको ठूलो क्रान्तिकारी कदम थियो । उनले हलो जोत्दै गर्दा बटुवाहरू उनको छेडखानी गर्थे । ‘यसरी सुन्चर्नीले हलो जोतेको के देख्नु पर्‍या होला † अब हिन्दूधर्मको नास हुन्छ भन्थे,’ हलो जोत्दाको दिन सम्झँदै उनले भनिन्, ‘रिस उठ्यो । बारीमा भएको माटोको डल्लाले लखेटँे ।’

युद्धमा जाने हुँदा चाँडै विवाह
स्कुल छाडेपछि नाचगानमा विशेष सोख भएकी उनी सांस्कृतिक फाँटमा रहेर काम गरिरहेकी थिइन् । पार्टीले बुर्जुवा शिक्षा भनेपछि उनले औपचारिक अध्ययन पनि छाडिसकेकी थिइन् । राजनीतिक गुरु अनन्त उनका प्रेमी बनेर आए ।
उसो त विवाहबारे उनको आफ्नै बुझाइ थियो । ‘२५ वर्ष नपुगी बिहे गर्दिनँ भन्नेमा थिएँ ।

युद्धमा गए म नेता भइसकेको हुनुपर्छ, युद्धमा नगए जागिरे भइसकेको हुनुपर्छ भन्ने मेरो धारणा थियो ।’ तर, युद्ध सुरु हुनुअघि नै विवाह गर्न पार्टी नेताहरूले आग्रह गरे । त्यसैले उनी विवाहका लागि राजी भइन् । ११ भदौ ०५२ मा रोल्पाको जंकोटमा जनयुद्धको अन्तिम तयारी भेला थियो । त्यही भेलामा उनको विवाह भयो वर्षमान पुन: ‘अनन्त’सँग ।

छापामार यात्रा
०५२ मा ओनसरी इलाका सदस्य भइसकेकी थिइन् । १ फागुनमा होलेरीमा आक्रमण गरेर जनयुद्धको घोषणा गर्ने तयारी माओवादीको थियो । त्यसका लागि वर्षमान पुन ‘अनन्त’ कमान्डर र नन्दकिशोर पुन ‘पासाङ’ सहकमान्डर रहेको ३६ जना छानिए । टोलीमा महिला ओनसरीसहित दुईजना मात्रै थिए । ‘तारा घर्तीमगर र म थियौँ’, उनी भन्छिन् ।
त्यहाँ ओनसरीले एउटा बम फालिन् । त्यसवेलाको होलटाइमर राइफल छुने उनलाई अधिकार थिएन, किनकि उनी जुनियर थिइन् ।

उनले ‘चम्किलो रातो तारा’ पढेकी थिइन् । त्यसमा रहेको छापामार पात्रलाई उनलाई प्रभावित बनायो । ‘म जसरी पनि छापामार बन्छु भन्नेमा पुगेँ,’ ओनसरीले सम्झिइन्, ‘छापामार बन्ने भन्दा अरू मेरो दिमागमा आउँदैन थियो । अनि लडाकु दलमा राखियो ।’

सात महिनाकी शिला
उनी लडाकुको प्लाटुन फर्मेसनमा सभागी भइन् । दुई वर्षसम्म फौजी जिम्मामा काम गरिन् । माओवादीले संगठनमा उनको आवश्यकता महसुस गर्‍यो । उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेर पार्टी काममा लागिन् । पार्टीको इलाका इन्चार्ज पनि भइन् ।

०५४ मा उनी इलाका इन्चार्ज थिइन् । उनको पेटमा सात महिनाको बच्चा थियो । पाखापानी गाविसका उनको इलाकामा पथ्र्यो । त्यहाँ प्रहरी चौकी थियो । प्रहरी चौकीमा आक्रमण गर्नुपर्ने उनको प्रस्ताव पार्टीले स्वीकार गर्‍यो । र, सर्भेको जिम्मा पनि दियो ।

उनी सहयोगीहरूसहित सर्भेमा लागिन् । सर्भे सकिनै लाग्दा अन्तिम दिन उनी प्रहरी घेरामा परिन् । भाग्नुपर्ने भयो । ‘छहराबाट हाम फाल्दै भाग्यौँ । म दुई जिउकी थिएँ । तैपनि हाम फाल्दै भागेँ,’ उनले सम्झिइन् । प्रहरीबाट बचिन्, तर केही दिनमै सातमहिनाकी छोरी जन्मिइन् शिला ।

पहिलो महिला कमिसार
उनले छोरी शिलालाई घरमै छाडिन् र फेरि पार्टीमा प्रस्ताव राखिन्, ‘म सेनामै जान्छु ।’ ०५९ सम्म पूर्वी नेपालमा माओवादीको सैन्य प्रभाव कमै थियो । पार्टीले उनीसँग सर्त राख्यो, ‘सेनामा जिम्मा लिने हो भने पूर्व जानुस् ।’ पति अनन्तले पूर्वी नेपालको सैन्य जिम्मेवारी लिएर जाँदै गरेकाले उनलाई सहज पनि भयो । उनी बटालियन कमिसारको जिम्मा लिएर पूर्वी नेपालको डाँडाकाँडातिर पुगिन् ।

उनी माओवादीमा युद्धमा बटालियनको पहिलो महिला कमिसार हुन् । उनको नेतृत्वमा महिला फर्मेसन पनि बनाइयो । ०५९ मै उनी तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य पनि बनिन्, २५ वर्षको उमेरमा । एक वर्ष कमिसारको जिम्मा लिएर युद्धको मोर्चाहरूमा सहभागी भइन् । त्यससँगै युद्धविराम भयो ।

माओवादीले सोलुखुम्बुको पूरै जिल्ला र भोजपुर, रामेछाप, ओखलढुंगा, दोलखाको माथिल्लो भागलाई समेटेर सिलुचुङ आधार क्षेत्र बनायो । सिलुचुङ पूर्वी नेपालको माओवादी आधार क्षेत्र थियो, त्यसको इन्चार्ज बनिन् ओनसरी । ०६२/६३ को जनआन्दोलन हुँदा उनी काभ्रे र रामेछाप जिल्लाको इन्चार्ज थिइन् ।

खेलकुदमन्त्रीको जिम्मेवारी
पहिलो संविधानसभा निर्वाचनपछि उनी समानुपातिक प्रणालीबाट सभासद् बनिन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको सरकार ढल्नुअघि १३ दिनका लागि उनी युवा तथा खेलकुदमन्त्री बनिन् । उनले ३/४ वर्षदेखि रोकिँदै आएको छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिमाञ्चलमा गर्ने निर्णय गरिन् । ‘मैले साहसपूर्वक छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम लाने निर्णय लिएकी थिएँ,’ उनले भनिन् ।

दोस्रो संविधानसभामा उनी रोल्पा–२ बाट निर्वाचित भइन् । एमाओवादीबाट प्रत्यक्ष निर्वाचित हुने २६ मध्ये उनी एक्ली महिला हुन् । पार्टीको कोटामा उपसभामुख आएपछि उनी छनोटमा परिन् । सामन्तवादी राज्यसत्ताविरुद्ध ०५२ मा होलेरीमा बम पड्काएकी ओनसरी १४ फागुन ०७० मा उपसभामुख बनिन् ।

पहिलो महिला सभामुख
उनको यात्रा त्यत्तिमै रोकिएन । महिला, त्यसमा पनि जनजाति र दुर्गम क्षेत्रकी ओनसरी २९ असोजमा व्यवस्थापिका संसद्को सभामुखमा निर्विरोध निर्वाचित भइन् । उपसभामुखको कार्यकाल सकिँदै गर्दा उनी कुनै पनि सुविधाको पद दाबी नगर्नेमा थिइन् । ‘म सांसद छँदै छु, मन्त्रीको पनि दाबी गर्नेवाला छैन,’ उनले भन्ने गरेकी थिइन् । जब सत्ता समीकरणमा एमाओवादीको भागमा सभामुख पर्‍यो ।

एमाओवादीका प्रमुख नेताले निष्क्रिय पद भन्दै सभामुखमा जान अस्वीकार गरे । विकल्पको रूपमा ओनसरीलाई उभ्याइयो । उनले स्वीकार गर्दै उम्मेदवारी दिइन् । र, सभामुख बनिन् ।

यसरी ओनसरी घर्तीमगर, कमरेड उषा हुँदै सम्माननीय सभामुख ओनसरी घर्तीमगर बनिन् । नेपालको पहिलो महिला सभामुख मात्रै होइन, उनी कृष्णप्रसाद भट्टराईपछि सभामुख बन्ने कम उमेरकी हुन् । भट्टराई ३४ वर्षको उमेरमा ०१५ मा तल्लो प्रतिनिधिसभाको सभामुख भएका थिए ।

ओनसरीका श्रीमान् वर्षमान पुन एमाओवादीका सचिव हुन् । उनीहरूका एक छोरी र एक छोरा छन् । दुवै युद्धकालमै जन्मिएका हुन् ।

ओनसरी सभामुख हुनुलाई धेरैले अप्रत्यासित मानेका छन् । केहीले ‘कार्यसम्पादन क्षमता के हुन्छ ?’ भन्ने प्रश्न पनि तेस्र्याएका छन् । ती प्रश्नको उत्तर दिन उनले कडा मिहिनेत गर्नुपर्ने निश्चित छ ।

तथापि, युद्धकाल र शान्तिकालमा पार्टीको जिम्मेवारीका अतिरिक्त सभासद्, मन्त्री र उपसभामुखको जिम्मेवारी निर्वाह गरिसकेकी ओनसरी सभामुखको जिम्मेवारीमा पनि सफल हुने अनुमान गर्न सकिन्छ ।

मनोज घर्तीमगर/ नया पत्रिका