You are here
Home > अर्थ/बजार > वर्षौदेखि पासपोर्ट र पैसा लिएर विदेश नपठाउने एजेण्ट पीडितलाई धम्क्याउँछन्

वर्षौदेखि पासपोर्ट र पैसा लिएर विदेश नपठाउने एजेण्ट पीडितलाई धम्क्याउँछन्

३० आश्विन २०७४, सोमबार १७:१६

सप्तरी |

सप्तरीको लालापट्टी – ७ का अन्सारुल मंसुरी विदेश जान सात पटक काठमाडौं पुगे तर उड्न पाउनु भएन् । विदेश जान उहाँ सँगै मोहम्मद जाकिर, मोहम्मद मुक्तिम सहित पाँच जनाले जमुनी मधेपुराका तेजनारायण यादवलाई चार लाख ७५ हजार रुपैयाँ तिरेका छन् ।

एक वर्षसम्म पनि विदेश पठाउन नसकेका तेजनारायणले न उनीहरुको पैसा फिर्ता दिएका छन न त पासपोर्ट नै । पैसा लिइसकेपछि तेजनारायणले उड्न भन्दै काठमाडौं बोलाए । एक पटक, दुई पटक होइन सात पटक तर काठमाडौं पुगेपछि प्रत्येक पटक केही न केही बहाना बनाएर फर्काइदिए । उनले भने, ‘हामीलाई त्यत्रो पल्ट काठमाडौं बोलाएर पनि उडाएन्’

सप्तरीकै बिषहरिया गाविसका मायानन्द ठाकुर पनि यसरी नै ठगिए । रोजगारीका लागि कतार जाने आशमा उहाँले सिरहाका सुरज यादवलाई ८० हजार रुपैयाँ दिनुभयो । पैसा दिएको नौ महिना भन्दा धेरै भइसक्यो । उहाँलाई पनि उडाउने भन्दै दुई पटक काठमाडौं बोलाएका थिए सुरजले । तर उडाएनन् । न त उहाँ विदेश जान पाउनुभयो न त सबै पैसा र पासपोर्ट नै फिर्ता पाउनुभएको छ । ठगिएपछि मायानन्दले सप्तरीको राजविराजमा रहेको सुचना तथा परार्मश केन्द्रमा निवेदन दिनुभयो । केन्द्रकै पहलमा सुरजले मायानन्दलाई ५० हजार रुपैयाँ फिर्ता गरे तर ३० हजार रुपैयाँ अझै लिन सक्नुभएको छैन ।

विदेश गएर कमाउने सपनामा ठगिने यी त प्रतिनिधि पात्र मात्रै हुन् । विदेश जान नपाई ठगिनेहरुसँगै विदेश पुगेर फर्किनेहरु पनि सप्तरीमा उत्तिकै छन् । कुशहा प्रदीप सदा ५ प्रतिशत व्याजदरमा एक लाख रुपैयाँ ऋण लिएर कतार जानुभयो । एक लाख रुपैयाँ गाउँकै जीतन ठाकुरले महिनाको १४ सय रियाल तलब हुने भनेर पठाएका थिए ।

तर उहाँले कतार पुगेपछि कामै पाउनुभएन् । काम नपाएपछि प्रदिप एक महिनामै घर फर्किनुभयो । प्रदिप कतार पुगेर फर्किनु त भयो तर साहुसँग चर्को ब्याजमा लिएको ऋण सिङगै थियो । अहिले प्रदिपसँगै उहाँको परिवार त्यही ऋणको पीडामा पिल्सिरहेको छ ।

युवालाई विदेश पठाउने नाममा ठग्न खप्पिस दलाल र म्यानपावर कम्पनीका प्रतिनिधीले उल्टै धम्क्याउने गरेका छन् । भारदह – १ का हरिनारायण मण्डललाई यस्तै भयो । उहाँ योगिनियाका दामोदर नाम गरेका दलाल मार्फत इटहरीको सगुन ओभरसिजमा पुग्नुभएको थियो ।

विदेश जाने आशामा उहाँले म्यानपावरलाई एक लाख रुपैयाँ पनि बुझाउनुभयो । तर उड्न पाउनुभएन् । कारण के हो ? भनेर बुझ्न जाँदा उल्दै म्यानपावरका प्रतिनिधिले धम्कि दिएको गुनासो गर्नुहुन्छ हरिनारायण । ‘म्यानपावरका प्रतिनिधिले मलाई पैसा नदिने भन्दै जे गर्न सक्छन गर भन्छन् अब मैले के गर्ने ?’ हरिनारायणको गुनसो छ । हरिनारायणकै जस्तो भनाई सुनिरहेका छन अन्सारुल मंसुरी, मायानन्द ठाकुर र प्रदीप सदाले पनि ।

पक्राउ दुई जना दलाल पैसा दिने सर्तमा छुटे

विदेश पठाइदिने भन्दै पैसा लिएर ठग्ने सप्तरीको तिरहुत गाउँपालिकाका एजेण्ट मोहम्मद इलियास र मोहम्मद जिवरिललाई भने पक्रिएको छ ।

विदेश पठाइदिने भन्दै मोहम्मद अफजलसँग एक लाख ५० हजार रुपैयाँ , अजयजुल मियाँसँग एक लाख १५ हजार रुपैयाँ , मोहम्मद हजरतसँग एक लाख २५ हजार रुपैयाँ र मोहम्मद शाहिरसँग दुई लाख ८० हजार लिएका उनीहरुलाई प्रहरीले पक्रिएको हो ।

उनीहरुलाई १५ दिन थुनामा राखेर पैसा दिने सर्तमा छोडिएको प्रहरीले जनाएको छ ।