You are here
Home > प्रवास > ३१ वर्षीय सरकार प्रमुख

३१ वर्षीय सरकार प्रमुख

६ कार्तिक २०७४, सोमबार ०९:४४
अष्ट्रियामा दक्षिणपन्थी र परम्परावादी (कन्जरभेटिभ) पिपुल्स पार्टीका ३१ वर्षीय नेता सेबास्टियन कुर्ज त्यहाँको चान्सलर बन्न लागेका छन् । चान्सलर अष्ट्रियाको सरकार र कार्यकारी प्रमुख हो । राष्ट्रपति भ्यान डर बेलेनले अक्टोबर २० मा उनलाई अष्ट्रियाको भावि चान्सलर तोकिसकेका छन् । अब उनी युरोपका सबैभन्दा कम उमेरका सरकार प्रमुख बन्नेछन् ।

उनको पार्टीले हालै सम्पन्न आम निर्वाचनमा अहिलेसम्म भएको मतगणनामा ३२ प्रतिशत भन्दा धेरै मत हासिल गरेको छ । सोसियल डेमोक्र्याट र उग्र दक्षिणपन्थी फ्रिडम पार्टी मध्ये कुनै एक दल दोस्रो बन्ने सम्भावना छ । बहुमत प्राप्त गर्न नसकेपनि कुर्जको पार्टीले आप्रवासन विरोधी फ्रिडम पार्टीसँग गठबन्धन गर्ने सम्भावना छ । निर्वाचनको परिणाम आउँदै गर्दा कुर्जले जनताले दिएको बलियो आदेश बुझेका र अष्ट्रियाको लागि आफूले काम गर्ने बताएका छन् ।

यो निर्वाचनभन्दा अगाडि पनि कुर्जले युरोप भरिमा सबैभन्दा कम उमेरमा विदेश मन्त्रीको पदभार सम्हालेका थिए । सन् २०१३ मा अष्ट्रियाको विदेशमन्त्री नियुक्त हुँदा उनी जम्मा २७ वर्षका थिए । २०१७ मे मा उनी पिपुल्स पार्टीका नेता चुनिएका थिए । उनले आफ्नो राजनीति पिपुल्स पार्टीको युवा संगठनबाट शुरु गरेका थिए । पछि उनी उक्त संगठनको अध्यक्ष भएका थिए । त्यसपछि उनले भियनाको नगर परिषदमा समेत काम गरे । अष्ट्रियामा उनलाई वन्डरउजी (राम्रा तन्नेरी) भनिन्छ ।

उनलाई फ्रान्सका राष्ट्रपति ३९ वर्षिय इमानुयल म्याक्रोन र क्यानाडाका प्रधानमन्त्री ४६ वर्षीय जस्टिन टुडोसँग तुलना गरिन्छ । विश्वमा युवा र आकर्षक भनेर प्रसंशा गरिने टुडो भन्दा पनि कुर्ज १५ वर्ष कम उमेरका छन् । म्याक्रोन र ट्रुडोले जस्तै कुर्जले पनि आफ्नो व्यक्तिगत चामत्कारिक छविका कारण पार्टीलाई नयाँ पहिचान दिन सफल भएका छन् । अष्ट्रियामा ३० वर्षभन्दा बढी शासन गरेको पिपुल्स पार्टीलाई ‘नयाँ’ पिपुल्स पार्टी बनाएका छन् उनले ।

निर्वाचनमा अरु देशहरूबाट शरणार्थीका रुपमा आउनेहरू र अन्य आप्रवासीहरूको विषय मुख्य थियो । सन् २०१५ को शरणार्थी संकटका बेला कुर्जले पिपुल्स पार्टीलाई दक्षिणपन्थतिर ढल्काउँदै लगेका थिए । उनले शरणार्थी र आप्रवासीहरू युरोप आउने बाटाहरू बन्द गर्ने, शरणार्थीलाई दिने सुविधा घटाउँदै लग्ने र अष्ट्रियामा बसेको ५ वर्ष नभएसम्म आप्रवासीहरूलाई कुनै सुविधा नदिने कानुन ल्याउने बताएका थिए ।

सन् २०१५ मा दक्षिणपन्थी फ्रिडम पार्टीको सफलताका कारण कुर्जले आफ्नो दललाई पनि दक्षिणपन्थ तिर ढाल्दै लगेका थिए । सन् २०१५ को राष्ट्रपतीय निर्वाचनमा झण्डैझण्डै फ्रिडम पार्टीका नोर्वट होफर राष्ट्रपति हुन पुगेका थिए । हुन त त्यसबेला ग्रीन पार्टीका अलेक्जयान्डर भ्यान डर बेलेन झिनो मतले जितेर उक्त मुलुकको राष्ट्रपति भए ।

कुर्जको दल एक्लैले बहुमत नल्याएकोले उनले गठबन्धन सरकार बनाउनुपर्नेछ । त्यसमा उनले सम्भवत दक्षिणपन्थी फ्रिडम पार्टीसँग गठबन्धन गर्नुपर्ने छ । पिपुल्स पार्टीको सोसियल डेमोक्र्याटसँगको गठबन्धन अगाडि नै एकचोटि असफल भैसकेकाले त्यसलाई पुर्नजीवित पार्ने प्रयास सम्भव नहोला । त्यसैले गर्दा कुर्जको पार्टीले फ्रिडम पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ । तर त्यो युरोपियन युनियनका अरु मुलुकका लागि अप्ठेरो हुनसक्छ । युरोपियन युनियनका मुलुकहरूमा खासगरी सीमा सुरक्षा, आप्रवासन जस्ता नीतिहरू एकअर्कासँग सामन्जस्यतामा निर्धारण गरिने हुनाले अष्ट्रियाको सम्भावित दक्षिणपन्थी गठबन्धन र युरोपियन युनियनका बीचमा नीतिहरूमा फरक भयो भने अप्ठेरो परिस्थिति सृजना हुन सक्छ ।
छोटकरीमा अष्ट्रियाली गणतन्त्र

राजधानी : भियना
जनसंख्या : ८७ लाख
क्षेत्रफल : ८३,८७१ वर्गकिलोमिटर
मुख्य भाषा : जर्मन
मुख्य धर्म : क्रिश्चियन
औसत आयु: ८० वर्ष (पुरुष), ८४ वर्ष (महिला)
मुद्रा : युरो
 बीबीसी