You are here
Home > बिचार/अन्तरबार्ता > २६ बर्षअघिका प्रतिष्पर्धी तेस्रोपटक चुनावी मैदानमा

२६ बर्षअघिका प्रतिष्पर्धी तेस्रोपटक चुनावी मैदानमा

७ कार्तिक २०७४, मंगलवार ०९:४४
नरेन्द्र केसी

उम्मेदवारी दर्ताको समय सकिन एक घण्टा मात्र बाँकी रहँदा दुबै उम्मेदवार दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे । सामान्य शिष्टाचारपछि दुबै जनाले अंकमाल गरेर भने– यो हाम्रो तेस्रो प्रतिष्पर्धा हो ।

२०४८ सालको आम निर्वाचनमा पहिलोपटक तत्कालीन संयुक्त जनमोर्चा (माओवादी बन्नुअघिको पार्टी)को तर्फबाट जनार्दन शर्मा र नेपाली कांग्रेसको तर्फबाट गोपालजीजङ शाह चुनाव लडेका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार शाह१ हजार ३ सय मतान्तरमा बिजयी हुनुभयो । लगत्तै संयुक्त जनमोर्चा माओवादी बन्यो र जनयुद्धमा होमियो । शाहबाट पराजित शर्मा पनि जनयुद्धका कमाण्डर बन्नुभयो । जनयुद्धपछि रुकुममा माओवादी शक्तिशाली पार्टी मात्र बनेनन्, शर्मा प्रभावशाली नेता बनेर उदाउनुभयो ।

२०६४ सालको निर्वाचनमा रुकुमको क्षेत्रबाट नम्बर २ बाट शर्मा भारी मतसहित विजयी भए तर प्रतिष्पर्धी शाह थिएनन् । २०६४ सालपछि रुकुम २ बाट बिजयी भएका शर्मा शान्तिमन्त्री बन्नुभयो । शान्ति मन्त्रालयले द्वन्द्वप्रभावित क्षेत्रमा विकास निर्माणमा समेत लगानी गर्ने गरेकाले त्यसबाट रुकुमले ठूलो लाभ लिन पायो । शर्माको निर्वाचन क्षेत्रमा त विकास हुने नै भयो, क्षेत्र नम्बर १ मा समेत हेलिकोप्टरबाट डोजर लगेर त्यतिबेला धमाधम सडक निर्माण गरियो ।

फेरि २०७० सालको चुनावमा रुकुम २ मा माओवादीबाट शर्मा नै अघि सर्नुभयो भने कांग्रेसबाट २०४८ सालकै प्रतिष्पर्धी शाह प्रतिष्पर्धामा आउनुभयो । यो निर्वाचन शर्माका लागि शाहसँग बदला लिने अवसर बन्यो । २२ बर्षअघि एक हजार तीन सय मतले पराजित शर्माले साढे १२ हजार मतान्तरमा शाहलाई पराजित गर्नुभयो । यही कार्यकालमा शर्मा उर्जामन्त्री भएर लोडसेडिङ अन्त्य गरेर चर्चामा आउनुभयो भने गृहमन्त्री पनि बन्नुभयो । शाह पनि एकपटक उद्योग राज्यमन्त्री बनिसक्नुभएको छ ।

अब मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यमा उनै शर्मा र शाहबीच तेस्रो प्रतिष्पर्धा हुँदैछ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस उम्मेदवार शाहले भन्नुभयो– ‘एकपटक भाइ (शर्मा)ले जित्नुभयो, एकपटक मैले जितें, यो हामी दुबैका लागि फाइनल गेम हो ।’ ठट्यौली पारामा जवाफ दिंदै शर्माले भन्नुभयो– ‘दाइसित पनि मेरो के को प्रतिष्पर्धा, दाइले आशिर्वाद दिने हो, भाइले चुनाव जित्ने हो ।’

२०४८ सालमा रुकुमको क्षेत्र नम्बर १ मा संयुक्त जनमोर्चाका खड्कबहादुर बुढाले चुनाव जिते पनि रुकुम २ मा भने कांग्रेसका शाहले जित्नुभएको थियो । माओवादी जनयुद्ध शुरु हुँदाभन्दा पहिले यो क्षेत्र कांग्रेस बाहुल्य क्षेत्रको रुपमा चिनिन्थ्यो तर माओवादी जनयुद्धपछि रुकुमका दुबै क्षेत्र माओवादी प्रभावित क्षेत्रको रुपमा उदाएका थिए । साविक क्षेत्र नम्बर १ मा पर्ने अधिकांश भूभाग अहिले पूर्वी रुकुमको रुपमा छुट्टै जिल्लाको रुपमा स्थापित छ भने पश्चिम रुकुममा एउटै निर्वाचन क्षेत्रको रुपमा रहेको छ ।

तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुममा प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत ‘क’मा मुसीकोट नपा, बाँफीकोट थापा र आठबीसकोट नपा रहेका छन् भने ‘ख’ प्रदेशमा चौरजहारी नपा, सानीभेरी गापा र त्रिवेणी गापा रहेका छन् ।

साइन अनलाइन