You are here
Home > बिचार/अन्तरबार्ता > भारत कै दबाबमा बाबुरामले गठबन्धन छाडेका हुन् ! विभिन्न श्रोत ले गरे खुलाशा

भारत कै दबाबमा बाबुरामले गठबन्धन छाडेका हुन् ! विभिन्न श्रोत ले गरे खुलाशा

७ कार्तिक २०७४, मंगलवार १५:०६
‘प्रकाश’ यतिबेला गोरखा क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धामा छन्। २०७२ असोज ९ गते माक्र्सवाद नै परित्याग गरी नयाँ शक्ति बनाएका डा. बाबुराम भट्टराई दुई वर्षपछि असोज १७ गते बाबुराम बाम गठबन्धनमा सामेल भएका थिए।

वाम गठबन्धनमा सामेल भएको सात दिन नबित्दै बाबुराम कांग्रेससँग गठबन्धन बनाएर यतिबेला गृह जिल्ला गोरखामा व्यस्त छन्। एमाले-माओवादी गठबन्धन जति आकस्मिक थियो, त्यसभन्दा निकै रहस्यमय तरिकाले वाम गठबन्धनमा आएका थिए बाबुराम। माक्र्सवाद नै छोडेर हिँडेका बाबुराम कम्युनिष्ट पार्टी बनाउन किन आए ? यो प्रश्न त्यतिबेलै धेरैको मनमा थियो। तर, ७ दिन नबित्दै वाम गठबन्धन छोडेर कांग्रेसमा गएपछि यतिबेला बाबुराम किन आए र किन गए ? भन्ने व्यापक कौतुहलता छ।

२०७५ सालमा देशकै पहिलो शक्ति बन्ने सपना बोकेर बाहिरिएका बाबुरामलाई त्यतिबेला ठूलो झड्का लाग्यो, जतिबेला नयाँ शक्तिले स्थानीय निर्वाचनमा २ सिट मात्र जित्यो। नयाँ शक्तिको पराजय त्यतिमै रोकिएन, देवेन्द्र पौडेललगायतका अधिकांश पूर्वमाओवादी नेता-कार्यकर्ता माओवादी केन्द्रमै फर्किए। त्यही झड्काले बाबुराम जसरी पनि सुरक्षित राजनीतिक अवतरण चाहन्थे, एमाले-माओवादी समीकरणमै मिसिनु उनले मौकामा चौका ठाने। असोज १७ गतेको वाम तालमेल सभामा बाबुरामले एकता र समाजवादको वकालत गरे। तर, आफ्नो सात मिनेट लामो भाषणमा माक्र्सवादको भने उच्चारण गरेनन्।

देवेन्द्र पौडेलहरु माओवादी फर्केपछि नयाँ शक्तिमा पूर्वपञ्च र पूर्वकर्मचारी मात्रै बाँकी रहे। उनीहरुले माक्र्सवाद मान्ने हो भने हामी किन तपाईको पार्टीमा बस्ने ? हामी कुनै हालतमा वामपन्थी हुन सक्दैनौं भनेर भट्टराईको सातो लिएपछि उनी अप्ठ्यारोमा परे। दक्षिणको निरन्तरको दवावले उनी वाम गठबन्धनमा टिक्न सकेनन् र वाम गठबन्धन तोडिएको घोषणा गरे।

कतिपयले बाबुराम बाहिरिनुमा गोरखा क्षेत्र नं.-२ को विवाद भएको अनुमान पनि गरे। तर, त्यो मात्रै कारण थिएन। एमाले-माओवादी दुवै भट्टराईलाई गोरखा १ वा काठमाडौंबाट प्रत्यक्ष चुनाव लडाउन तयार थिए। तर, पार्टीभित्रकै दबाब र दक्षिणको चेतावनीले उनी अप्ठ्यारोमा परे। त्यसपछि नयाँ शक्तिको मूख्य टिममा गठबन्धनबाट बाहिरिने विषयमा छलफल चलेको नयाँ शक्तिका एक नेताले बताए।

वाम गठबन्धनबाट बाहिरिने बहानाका लागि स्थानीय चुनावमा ७१००० मत पाएको नयाँ शक्तिले संघीय संसदमा २३ सिट र प्रादेशिक संसदमा ४४ सिट माग्यो। गोरखा-२ मै माओवादीको १८००० मत हुँदा ७९०० मत रहेको नयाँ शक्तिलाई २३ सिट दिने कुरा एमाले-माओवादीको कल्पना बाहिरको कुरा थियो, उनीहरुले नयाँ शक्तिको प्रस्ताव मानेनन्। बाबुराम चाहन्थे, यही प्रस्तावका कारण गठबन्धनबाट निस्कन सकियोस्। अन्तिममा प्रत्यक्षमा १ सिट पनि जित्न कठिन भएको नयाँ शक्ति सम्मानजनक सिट नपाएको दाबीसहित गठबन्धनबाट बाहिरियो।

एमाले-माओवादी गठबन्धनमा संघमा २३ र प्रदेशमा ४४ सिट दाबी गरेको नयाँ शक्ति संघमा २ सिट र प्रदेशमा ४-५ सिट लिएर कांग्रेस गठबन्धनमा सामेल भएको छ। नयाँ शक्तिले संघमा गोरखा-२ र रसुवा लिएको छ भने बाँकी सबै ठाउँमा रुखमा भोट हाल्दैछ। एमाले-माओवादीसँग २३ सिट मागेका बाबुराम २ सिट पाएर कांग्रेससँग गठबन्धन गर्नुमा दक्षिणकै दबाब रहेको विश्लेषण छ विभिन्न अन्लाईनको सहयोगमा\

हात न्युज