You are here
Home > राजनीति > ओली र प्रचण्डले बोलाएपछि देवी ज्ञवाली बालकोटमा, प्रकाशले समेत सँगै तस्विर खिचाए

ओली र प्रचण्डले बोलाएपछि देवी ज्ञवाली बालकोटमा, प्रकाशले समेत सँगै तस्विर खिचाए

८ कार्तिक २०७४, बुधबार १७:३१

भक्तपुर |

ओली निवास भक्तपुर बालकोटमा बुधबार बिहान भेटवार्ता भएको हो । ओली र प्रचण्ड दुवै नेताले भेट्न खोजेपछि आफू चितवनबाट काठमाडौं आएको ज्ञवालीले जानकारी दिनुभयो ।

‘आउँदो चुनावको तयारीबारे दुवै शीर्ष नेताहरुले भेट्न खोजेपछि म आएको हुँ’ नेताहरुसँग सामान्य कुराकानी र सामुहिक तस्बिर लिने काम भएको ज्ञवालीले जानकारी दिनुभयो ।

भेटमा ओली र प्रचण्डले स्थानीय चुनावपछि ज्ञवालीले उच्च राजनीतिक चरित्र देखाएको भन्दै प्रशंसा गरेका थिए । ‘मलाई उहाँहरुले प्रशंसा गर्दै आउँदो चुनावमा चितवनबाट वामपन्थी गठबन्धनलाई जिताउन तपाईंको भूमिका महत्वपूर्ण छ भन्दै जिम्मेवारी पनि दिनुभएको छ’ ज्ञवालीले भन्नुभयो ।

स्थानीय चुनावमा भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमाले र माओवादीबिचको सम्बन्ध चिसो भएको थियो । आउँदो प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएपछि एमालेको समर्थनमा आशंका उत्पन्न भैरहेको बेला दुवै नेताले ज्ञवालीसँग भेट गरेका हुन् ।

‘राजनीतिमा पहिलेको कुरामा चित्त दुखाएर कहिल्यै अघि बढ्न सकिँदैन’ ज्ञवालीले भन्नुभयो, ‘चितवनमा वामपन्थी गठबन्धनबाट उठ्ने जोकोहीलाई जिताउनु मेरो जिम्मेवारी हो ।’ पहिलेको सबै कुरा बिर्सेर वामपन्थी गठबन्धनलाई बलियो बनाउन आफू लाग्ने बताउनुभयो ।

ओली र प्रचण्डलाई भेट्न गएका ज्ञवालीसँग प्रकाश दाहालले समेत फोटो खिचाउनुभएको छ । प्रचण्डपुत्र प्रकाशले आफ्नो फेसबुक पेजमा फोटो राख्नुभएको छ ।

उज्यालो बाट