You are here
Home > अर्थ/बजार > संसारकै सबभन्दा टाढा बस्ने मान्छे

संसारकै सबभन्दा टाढा बस्ने मान्छे

९ कार्तिक २०७४, बिहीबार १५:०७

संसारकै सबभन्दा टाढाको ठाउँ कुन होला? त्यहाँ को बस्दा हुन्? उनीहरूको जिन्दगी कसरी चल्दो हो?

‘संसारको किनारमा जीवनयापन गर्दा निकै एक्लोपन महसुस हुन्छ,’ चिलीको टिएर डेल फुएगोमा बस्ने २४ वर्षीय रोबर्टो बिट्सेले भने, ‘हामी कयौं साता कुनै अर्को मान्छेको नामोनिसान देख्दैनौं।’

‘यो ठाउँमा मान्छे देख्नु नै दुर्लभ हो। हामीले सधैं देख्ने भनेको घोडा, कुकुर र भेडा मात्र हुन्, यिनीहरू नै हाम्रा साथी हुन्, यिनीहरू नै आफन्त,’ उनले भने।

दक्षिणी अमेरिकाको पुछारमा पर्ने चिलीको टिएर डेल फुएगोको इस्ला ग्रयान्ड टापू संसारकै किनारका रूपमा चिनिन्छ। यो ठाउँबाट अगाडि बढेपछि अथाह पानीबाहेक केही छैन। धेरै पर अन्टार्टिका महादेश आउँछ, जहाँ आक्कलझुक्कल पुग्ने अनुसन्धानकर्ताबाहेक मान्छेको बसोबास छैन। यस अर्थमा संसारकै पुछारको यो टापूमा सात–आठ जना व्यक्ति मात्र बसोबास गर्छन्, जो एकान्तको खोजीमा त्यहाँ पुगेका हुन्। रोबर्टो बिट्से तिनैमध्ये एक हुन्।

यो टापू भेडाको लागि प्रख्यात छ। बिट्से मानवीय घन्चमन्चबाट टाढा तिनै भेडाहरूमाझ बसोबास गर्छन्। उनलाई चिलीको राजधानी सान्टीआगो जानभन्दा अन्टार्टिका नजिक पर्छ। यो क्षेत्रकै ठूलो टापू इस्ला यस्तो विकट क्षेत्र हो, जहाँ बस्नेले समय नाप्ने आधार एउटै छ, भेडाको ऊनको लम्बाई।

बिट्से यिनै भेडा, कुकुर र घोडालाई साथी मानेर केही महिनादेखि यहाँ एकान्त जीवन बिताइरहेका छन्। उनले यी जनावरलाई साथी मान्नुको विकल्प छैन। किनकि, एकाध मान्छे मात्र बसोबास गर्ने यो टापूमा अधिकांश कामका लागि यिनै जनावरको भर पर्नुपर्छ। खासगरी आवतजावत गर्न घोडा, ऊन उत्पादन गर्न भेडा र त्यही भेडा चराउन सहयोगीका रूपमा कुकुर। यहाँ बस्ने मान्छेको जीवन यिनै तीन जनावरको वरिपरि घुम्छ।

यो एक्लो ठाउँमा उनीहरू कसरी भेडाको वरपर जीवन बिताउन पुगे त?

दक्षिणी अमेरिकाबाट प्रत्येक वर्ष बिट्से र उनीजस्तै मान्छे फाट्टफुट्ट यहाँ आइपुग्छन्, भेडा गोठालो हुन। स्वैच्छाले गोठालो जीवन रोजेका उनीहरूको घर हावा लाग्ने घाँसे मैदानमा ठडिएका हुन्छन्, जसलाई आवश्यकताअनुसार ठाउँ सार्न सकिन्छ। उनीहरू आफ्नो घर छाडेर टापूका विभिन्न स्थानमा काठका बेराले घेरिएका चौरमा भेडा बथान लिएर जान्छन्। ती ठूला चौरमा गोठ हुन्छन्, जहाँ ती मान्छे भेडासँगै बस्छन्।

‘यहाँ बस्नु हाम्रो बाध्यता होइन, इच्छा हो,’ एक्लो जीवन बिताइरहेका ६७ वर्षीय प्याट्रिक म्याक्लिन भन्छन्, ‘मलाई लाग्छ जीवन जिउन संसारमै योभन्दा राम्रो ठाउँ अन्त छैन।’

‘इस्टानसिया पोर फिन’ गोठका मालिक प्याट्रिक म्याल्किन आफ्ना सहयोगी विल्कीसँग। तस्बिरः दी न्यूयोर्क टाइम्स

दाह्री सेतै फुलेका म्याक्लिन ‘इस्टानसिया पोर फिन’ भन्ने गोठका मालिक हुन्। उनको गोठमा काम गर्न बिट्से १४५ किलोमिटर टाढा पोरभेनिर भन्ने सानो सहरबाट आएका हुन्, जहाँ उनका श्रीमती र बच्चा छन्। बिट्से मात्र होइन, उनीजस्तै धेरै एकान्तप्रेमी ऊन कात्ने मौसममा यहाँ गोठाला हुन आइपुग्छन्।

यसरी संसारकै किनारमा एक्लै बस्ने जीवन रोजेका बिट्से र म्याक्लिनजस्ता मान्छेको दैनिकी यहाँ भेडासँगै बित्छ। उनीहरू गोठमा ऊन कात्ने काम गर्छन्। संयुक्त राष्ट्रसंघका अनुसार चिलीले वार्षिक १ करोड ८ लाख किलोभन्दा बढी ऊन उत्पादन गर्छ। यसको अधिकांश परिमाण टिएरा डेल फुएगोबाटै आपूर्ति हुन्छ।

बीसौं शताब्दी सुरु हुनुअघि यो क्षेत्र सेल्कनाम र यामना नाम गरेका आदिवासी समूहको वासस्थान थियो। पछि चिली र युरोपका मान्छेले यहाँको विशाल क्षेत्र आफ्नो स्वामित्वमा लिएर खेतीपाती गर्न थाले। म्याक्लिन र बिट्सेका पुर्खा उक्त क्षेत्रमा आउँदा घाँसे मैदानले हराभरा थियो। बेजोडसँग हावा चल्ने यस ठाउँमा ठूला रुख हुर्कने सम्भावना कम थियो। आज पनि यहाँको जलवायु उस्तै छ। र, जलवायुसँगै हावापानी र जीवनस्तरमा पनि कुनै परिवर्तन आएको छैन।

म्याक्लिनले यहाँ आफूजस्तै सात जना परिवारसँग मिलेर गोठ चलाएका छन्। उनीसँग पाँच हजारभन्दा बढी भेडा छन्। उनी र अन्य गोठाला परिवार प्रत्येक ऊन कात्ने मौसममा आ–आफ्ना भेडासहित भेला हुन्छन्। यो भेट आफैंमा एउटा उत्सव हुन्छ। कयौं किलोमिटर टाढाका छिमेकी भेट्दा उनीहरू रमाएर नाचगान गर्छन्, भोज खान्छन् र सुखदुःख बाँड्छन्।

भेडा गोठालाहरूको यो भेट र सहकार्य सोचेजस्तो सहज भने नहुन सक्छ।

‘ऊन कात्न धेरै समय लाग्छ। काम अथाह हुँदा दिन पनि लामा लाग्छन्। मिहिनेत झन् बढी,’ म्याक्लिन भन्छन्, ‘काम गर्ने इच्छाशक्ति कायम राख्न आफ्नो मुड सकारात्मक हुनु एकदमै जरुरी छ।’

दिनभर काम गरेपछि भेडा गोठालाहरू आराम गर्छन्। राति गोठमा भेट्छन्, अश्लील चुट्किला भन्छन्, सुन्छन्, हाँस्छन् र रमाइलो गर्छन्। ‘धेरै समयपछि आफ्ना टाढाका छिमेकीसँग समय बिताउन पाउँदा हामी निकै रमाउँछौं,’ म्याक्लिनले भने।

टिएर डेल फुएगोमा ऊन कात्दै कामदार। तस्बिरः दी न्यूयोर्क टाइम्स

यी गोठालाहरू एक्लै बस्ने इच्छाले त्यहाँ पुगेका भए पनि उनीहरूको काममा भने आपसी समन्वय नभई हुँदैन। एकलकाँटे भएर आफ्नै तालमा काम गर्ने बानी परेकालाई समूहमा काम गर्न कठिनाइ हुन सक्छ। कयौं दिन एउटै गोठमा धेरै जना बसेर हजारौं भेडाको ऊन कात्नु आफैंमा झिँझोलाग्दो काम हो।

ऊन कात्न भेला भएका हरेक मान्छे भेडाको हेरविचार कसरी गर्ने भनी जानकार हुनुपर्छ। कुनबेला भेडा चराउन लैजाने, कुन चरनमा कहिलेसम्म राख्ने र ऊन कात्नुअघि काठले घेरिएको चौरमा भेडालाई कसरी सुरक्षित राख्नेजस्ता काम योजनाबद्ध ढंगमा गरिनुपर्छ।

म्याक्लिनका अनुसार एक कामदारले विद्युतीय कैंची प्रयोग गरेर दैनिक २ सय ५० वटा भेडाको ऊन कात्न सक्छ। सात जनासम्मको कामदार समूह छ भने उनीहरूले केही सातामै करिब ३५ हजार भेडाबाट ऊन निकाल्न सक्छन्। कामदारले ऊन कातिसकेपछि एकठाउँ जम्मा गरिन्छ। त्यसको गुणस्तर वर्गीकरण गरिन्छ। र, झोलामा पोको पारेर सम्बन्धित ठाउँमा पठाइन्छ।

यसरी ऊन कात्ने काम प्रायः घुमन्ते कामदारले गर्छन्। काम नहुँदा वा सकिएपछि उनीहरू आफ्नै सहर फर्किन्छन्। हिजोआज भने जवान व्यक्तिहरू उक्त क्षेत्रमा काम गर्न इच्छुक देखिन छाडेका म्याक्लिन बताउँछन्।
यस्तै घुमन्ते कामदारमध्येका बिट्सेलाई भने उनी अपवाद मान्छन्।

बिट्सेको जीवन चाखलाग्दो छ। गोठाले जीवन सुरु गर्नुअघि उनी सहरको डिस्कोमा काम गर्थे। डिस्कोको रमझम र हल्लाखल्लामा जीवन डुलाइरहेका उनले एकदिन चट्ट जागिर छाडिदिए। कार बेचे र एकान्त खोज्दै आफ्नो सहरदेखि धेरै टाढा संसारको किनार इस्ला टापू पुगे।

इस्टानसिया पोर फिन गोठमा काम गर्न आएका २४ वर्षीय रोबर्टो बिट्से। तस्बिरः दी न्यूयोर्क टाइम्स

‘मलाई घोडा मनपर्छ। यही घोडाकै कारण म यहाँको घाँसे मैदानप्रति आकर्षित भएको थिएँ,’ बिट्से भन्छन्, ‘यो त बाहिरी आकर्षण मात्र थियो। सबभन्दा महत्वपूर्ण कुरा त मलाई एकान्त मनपर्छ। यसैको खोजीमा म भेडा गोठालो भएँ।’

म्यक्लिनको भनाइ त्यस्तै छ, ‘टिएरा डेल फुएगोमा रहँदा तपाईंले मान्छे भेट्न त के, कयौं–कयौं दिनसम्म देख्नु पनि हुन्न। उनीहरूसँग जीवनका रङ साट्न सक्नुहुन्न। तपाईंले एक्लै जिउन सिक्नुपर्छ। एक्लो जीवन मनपर्छ भने यो ठाउँ स्वर्गै हो।’

‘न्यूयोर्कजस्ता ठूला सहरमा बस्नेले बिहानै ओछ्यानबाट उठ्दा जाडो भएको, पानी वा हिउँ परिरहेको देखे भने सोच्लान्– ओहो! आजको दिन बर्बाद हुने भयो। म यहाँ बिहानै उठेर आकाश हेर्छु र भन्छु– धन्यवाद भगवान!’

७० वर्ष टेक्न आँटेका म्याक्लिनले अनुहार उज्यालो पार्दै भने, ‘त्यसपछि म आगो ताप्छु, चिया–कफी सुरुप्प पार्दै आफूलाई मन लागेको किताबको पाना पल्टाउन थाल्छु। यो नै हाम्रो जीवन हो, हामीले रोजेको जीवन हो, हामीलाई यही जीवन सुन्दर लाग्छ!