You are here
Home > अर्थ/बजार > दशैँः एक पर्व र प्रकोप

दशैँः एक पर्व र प्रकोप

१५ आश्विन २०७४, आईतवार ०१:१३

दशैँको सुरुवात
कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्राउने समयका चाडपर्व विशेष महŒवका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एसियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएका छन् । त्यही सिन्धु उपत्यका र गंगा मैदानमा विकसित कृषि युगसँगै बाली भित्याएपछिको उत्सवका रूपमा दशैँ पर्व सुरुआत भएको कुरा समाजशास्त्रीहरू बताउँछन् । गंगा मैदानको मुख्य अन्न गहुँ र धान भिœयाएपछि यो पर्व चैत्र महिनामा मनाइने गरिन्थ्यो । पछि कालक्रममा यसलाई असोज÷कात्तिकमा मनाउन थालियो, तथापि चैते दशैँका रूपमा सानो स्तरमा चैत्र महिनामा अझै मनाउने चलन कायम नै छ ।

कृषि युगको सुरुवात हुँदा निजी सम्पत्ति र निजी जमिनको प्रचलन कायम भइसकेको भए पनि औजारको कम विकसित अवस्थाका कारण त्यतिबेलाका गण समाजमा बाली लगाउने र भित्राउने काममा सिंगै समाज लाग्दथ्यो । सिंगै गण समाजले सबैको क्रमशः बाली भिœयाउँदै जाँदा, यो काम हप्तौँसम्म निरन्तर चल्दथ्यो । यसरी हप्तौँसम्म बाली भिœयाउने सिलसिला खानपिनसहितको उत्सव बन्न पुग्दथ्यो । दशैँजस्ता पर्व करिब तीन हप्ताको लम्बेतान हुन पुग्नु त्यही परम्पराको अवशेष मानिन्छ । २००७ सालको वरपरसम्म पनि नेपालका माझीजस्ता कृषक जातिले हप्तौँ लगाएर उत्सवका रूपमा सिंगै बस्तीले सिंगै बस्तीको पालैपालो बाली भिœयाइदिँदा पूरै महिना खानपिनसहितको उत्सवमय हुने गरेको यथार्थलाई मात्र ध्यान दिन सकियो भने पनि बाली भिœयाउने पर्वको ऐतिहासिकता सजिलै बुझ्न सकिन्छ । यसप्रकार दशैँ, दशहरा वा दुर्गा पूजा आज जे नामले नेपाल र भारत लगायतका हिन्दू समाजमा मनाइए पनि यसको सुरुवात हुँदा यो बाली भिœयाएपछिको एउटा उत्सवमय पर्व थियो ।

संसारको इतिहासमा धर्मको विकासपछि र धर्मलाई राज्यले जनताविरुद्ध आफ्नो एउटा बौद्धिक हतियारका रूपमा प्रयोग गर्न थालेपछि धेरैजसो आम जनताको जीवकर्मबाट विकसित स्वाभाविक पर्वहरूलाई धर्मकरण गरिएको पाइन्छ । गंगा मैदानमा हिन्दू धर्मको जन्म र त्यसका आधारमा समाजमाथि शासन सुरु भएसँगै बाली भिœयाउने उत्सवका रूपमा रहेको यो दशैँ पर्वलाई पनि हिन्दू धर्मकरण गरियो । अनि रावणवध वा महिषासुर राक्षस वधसँग यसलाई जोडियो । हिन्दू धर्ममा आधारित चाडका रूपमा परिवर्तन गरिएपछि दशैँमा गरिने यावत् क्रियाकलाप धार्मिक विश्वास र अनुष्ठानका विषय बन्दै गए र आजको रूपमा यो आइपुग्यो भन्ने कुरामा आधुनिक समाजशास्त्रीबीच खासै मतभिन्नता रहेको छैन ।

अन्न भित्राउने पर्वमा विभिन्न मौसमका अन्नलाई उमारेर उत्सव मनाउने कुरालाई आजको जमराको धार्मिक रूप दिनु, द्रविडहरूले उत्सवमा टीका लगाउने परम्परालाई हिन्दूकरण गरी विजयको आशिषको रूप दिनु, उत्सवमा मासुको खानपिनलाई दुर्गा भोग, कालरात्री वा राक्षस वधको प्रतीकात्मक रूप दिनु आदि विषयलाई सजिलै धर्मकरणको प्रक्रियाका रूपमा बुझ्न खासै कठिनाइ पर्दैन । यसरी आजको भारतीय गंगा मैदानमा कृषि युगमा विकसित भई हिन्दू धर्मकरणसम्म पुगेको दशैँ आजको नेपालमा गंगा मैदानबाट हिन्दूहरू प्रवेश गर्ने क्रमसँगै आयो । नेपालको तराई खण्डमा हिन्दूहरूसँगै दशहराको रूपमा आइपुग्यो भने पश्चिम नेपालबाट ईसाको पाँचौ शताब्दीपछि सुरु भएको वैदिक आर्यहरूको प्रवेशसँगै नेपालको पहाडी क्षेत्रमा आइपुग्यो । दशहरा अपभं्रश हुँदै दशैँ बन्न पुग्यो । यही क्रममा गोरखामा स्थापित शाहवंशीय राज्यसम्म यो हिन्दूकृत दशैँ आइपुगेको स्पष्टै छ ।

दशैँको दमन
जुनसुकै धर्मीय समुदाय पनि आफ्नो बसाइसराइसँगै आफ्नो धर्म र संस्कृतिलाई सँगै लिएर जानु÷आउनु स्वाभाविक नै हो । त्यसैले दशहरा वा दशैँलाई वैदिक आर्यहरूले आफूसँगै आजको नेपालको भूखण्डमा लिएर आउनु पनि अस्वाभाविक थिएन । तर, हिन्दू पर्व दशैँ तबदेखि गैरहिन्दू नेपालीका लागि दमनको पर्व बन्न थाल्यो, जबदेखि नेपाललाई हिन्दू धर्मका आधारमा शासन गर्न सुरु गरियो । यो दमनको कथा पृथ्वीनारायण शाहले ‘असिल हिन्दूस्थाना’ बनाउन राज्य विस्तारको अभियान थालनी गरेपछि नै प्रारम्भ भएको हो । जंगबहादुर राणाकालमा पुगेपछि वि.सं. १९१० मा जुन मुलुकी ऐन जारी भयो, त्यसमा हिन्दू वर्णव्यस्थामा आधारित राज्य सञ्चालन विधि र मान्यता जसरी लिखित कानुनकै रूपमा लादियो, त्यसपछि भने हरेक हिन्दू पर्व र मूल्यमान्यता औपचारिक शासनका हतियार बन्न पुगे । त्यसपछि लगातार दशैँ पर्व गैरहिन्दूलाई हिन्दूकरण गर्ने वा हिन्दू संस्कृतिद्वारा दमन गर्ने एउटा सांस्कृतिक हतियारका रूपमा रहिआएको छ । दशैँ पर्वको यस ऐतिहासिक प्रकरणको चर्चा हुँदा कतिपयले आम हिन्दूको विरोधको अर्थमा अथ्र्याउने गर्छन् । तर, त्यो ठीक बुझाइ होइन । वास्तवमा हिन्दू धर्म र मान्यतालाई शासनको हतियारका रूपमा प्रयोग गर्न चाहने शासकले यो काम गरेका हुन्, आम श्रमजीवी हिन्दू जनताले गरेको होइन भन्ने यथार्थलाई आत्मसात गर्नैपर्दछ । कतिपय राजनीतिको दुश्चक्रको लपेट अनुभूति गर्न नभ्याएका नवयुवाहरू ‘चाडपर्वले नि दमन हुन्छ कतै ?’ जस्ता प्रश्न पनि गर्ने गर्दछन् । तर, धर्म र चाडलाई समेत कसरी सत्ताले हतियार बनाउँछ भन्ने यथार्थ आम जनताबीच लुकाउने सत्ताको राजनीतिक नीतिले नै यस्ता प्रश्नहरू जन्मिएका हुन् ।

दशैँ गोरखाबाट नै पहाडमा पूर्वतिर ल्याइएको हो भन्ने कुरा त अहिले पनि फूलपाती गोरखाबाटै काठमाडौँ ल्याइने गरेको चलनबाट प्रस्टै हुन्छ । पृथ्वीनारायण शाह हुँदै जंगबहादुर र पञ्चायतसम्म आइपुग्दाको कालमा दशैँमा लामो सरकारी बिदा दिने, दशैँको निम्ति खर्च गर्न पेश्की दिने, राज्य पूरै दशैँको प्रचारप्रसारमा लाग्ने गरियो, जब कि गैरहिन्दूका पर्वमा न बिदा, न अतिरिक्त खर्च, न त राज्यको प्रचार । गीत, साहित्य, पाठ्यपुस्तकहरूमार्फत दशैँबारे सानासाना गैरहिन्दू नानीदेखि वृद्धसम्मलाई प्रभावित गर्न लगातार प्रशिक्षित गरियो तर गैरहिन्दू पर्वबारे कतै उल्लेखसम्म गरिएन । राणाकालमा गैरहिन्दू जनजातिले दशैँ नमान्दा हत्या समेत गरिएका ऐतिहासिक तथ्यहरू आजका इतिहासकारले धमाधम बाहिर ल्याउँदै छन् । राणाकालसम्ममा बिर्ता, जागिर, बक्सिस आदिका नाममा गैरहिन्दू बस्तीमा नियुक्त गरेर पठाइएका हिन्दू सामन्त वा सरकारी हाकिमकोमा गैरहिन्दू रैतीहरूले माछा, खसीका साँप्रा आदि उपहार लिएर दशैँमा टीका थाप्न जानैपर्ने बाध्यता सिर्जना गरियो, नत्र धेरै प्रकारको सजाय भोग्नुपथ्र्यो । यो चलन पञ्चायतकालमा दैलोमा राजारानीको फोटो नटाँसी नहुने गरी कैयौँ तामाङ बस्तीमा पञ्चहरूले सिर्जना गरेको बाध्यताजस्तै थियो ।

कतिपय राजनीतिको दुश्चक्रको लपेट अनुभूति गर्न नभ्याएका नवयुवाहरू ‘चाडपर्वले नि दमन हुन्छ कतै ?’ जस्ता प्रश्न पनि गर्ने गर्दछन् । तर, धर्म र चाडलाई समेत कसरी सत्ताले हतियार बनाउँछ भन्ने यथार्थ आम जनताबीच लुकाउने सत्ताको राजनीतिक नीतिले नै यस्ता प्रश्नहरू जन्मिएका हुन् ।

जब राज्यले नै बलात् आदेश दिएर दशैँ मान्न लगाएपछि गैरहिन्दू त्यतिबेलाका नेपालीले बाध्य भएर दशैँ मनाउन थाले । लामो बिदा पाएको सरकारी जागिरे कुनै जनजाति थियो भने ऊ त्यो समय के गरेर बिताओस् ? जब कि उसको आफ्नो पर्वमा त छुट्टी नै पाउँदैनथ्यो । त्यसैले बाध्य भएर त्यो छुट्टीको अवसरमा परिवार भेट्न जाने नै भयो । आज नेपालमा मुसलमानसमेत दशैँबाट ज्यादै प्रताडित छ । किनभने, त्यो बेला मुसलमान काम गर्ने सबै ठाउँ राज्यले बन्द गरिदिन्छ । यस प्रकारको दुई शताब्दी लामो लगातारको दशैँ–दमनले गैरहिन्दूहरूलाई दशैँमा कुनै न कुनै ढंगले सहभागी बन्नैपर्ने बाध्यता बनाइदियो र गैरहिन्दू नेपालीका पर्व, संस्कृति र मनोविज्ञानमाथि ठूलो ऐतिहासिक अत्याचार हुन पुग्यो, जुन आज पनि धेरै हदसम्म जारी नै छ । यही त हो हिन्दूकरणको राज्यनियन्त्रित प्रक्रिया अनि गैरहिन्दू माथिको सांस्कृतिक दमन !

आज नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ तर राज्यले दशैँलाई विशेष राज्य–पर्वको स्थान दिन छाडेन । घटस्थापनामा समेत सार्वजनिक बिदा किन ? त्यो दिन न त आफन्त भेटघाट, न त कुनै खानपिनको दिन ! यो त हिन्दू समाजबाट आएका शासकहरूले गरेको बलजफतीबाहेक अरू केही होइन । यसको मतलब के नयाँ संविधान बनिसक्दा पनि हिन्दूकरणको सिलसिला शासकहरू जारी नै राख्न चाहन्छन् ? यो साह्रै ठूलो विडम्बना र विरोध गर्नैपर्ने विषय हो । संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिसकेपछि एक धर्ममा आधारित तीज, शिवरात्री, जनैपूर्णिमा, दशैँ, तिहार, छठ, फागू लगायतका पर्वहरूलाई मात्र वर्षमा पौने महिना सार्वजनिक बिदा दिन कसरी मिल्छ ? जब कि अरू सबै धर्मावलम्बीलाई जम्मा एक हप्ता पनि बिदा दिइँदैन, तिनका आफ्ना पर्वमा आर्थिक थप व्यवस्था त परकै विषय भयो । आफ्नो बस्तीबाट टाढा रोजगारी गर्ने मुसलमान रमाजानमा परिवार भेट्न जान पाउँदैन । किनकि, बिदा एक दिन हुन्छ, जब कि उसको पर्व महिनाभरिको हुन्छ । आफ्नो परिवारजन भेट्न मुस्लिम, जनजाति, जैन, इसाई सबैले नै दशैँको लामो बिदा पर्खनुपर्ने हुन्छ, जुन बेला उसको घरमा कोही पाहुना नै आउँदैन । दुई सय वर्षभन्दा लामो गैरहिन्दूमाथिको दशैँको यो दमनले कति पीडादायी मौन रक्तपात हृदयहरूमा भयो होला, हिन्दूहरूले कल्पना मात्र गर्न सक्छन् । साँच्चै नै यो ठूलो अत्याचार हो, धर्मनिरपेक्ष राज्य हुँदा पनि यो अन्याय जारी रहे आधुनिक लोकतन्त्रकै बेइज्जती ! यस्तो ऐतिहासिक परिस्थितिमा कसैले दशैँ बहिष्कार गर्छु वा मान्दिनँ भन्दा अरू उत्तेजित हुनु मनासिब होइन । किनभने, दुखेको मान्छेले ऐया भन्न पाउनु नै पर्दछ । त्यसैगरी राज्यको दशैँ दमनको नीतिविरुद्ध बोल्नेले यो कुराको पनि ख्याल गर्नु जरुरी छ कि हिन्दू आस्थामाथि चोट नपुगोस्, किनकि यो जनताको भावनासँग जोडिएको सांस्कृतिक विषय हो ।

त्यसैले राज्यले दशैँलाई विशेष राज्य–पर्वको स्थान दिने नीति अब त्याग्नैपर्छ । दशैँसहित हिन्दू पर्वहरूको सार्वजनिक बिदाहरूको अवधिलाई घटाउनैपर्छ । दशैँमा मात्र राज्यले आर्थिक सहुलियत दिने काम या त बन्द गर्नुपर्छ, या त गैरहिन्दूका पर्वमा पनि दिने व्यवस्था गर्नुपर्छ । राज्यका मिडिया, पाठ्यक्रम आदिबाट हिन्दू पर्वको मात्र बखानको नीति फेर्नुपर्छ र सबैलाई बराबर स्थान दिने नीति अख्तियार गर्नुपर्छ । समग्रमा भन्दा राज्य धर्मनिरपेक्षतामा प्रवेश गरेपछि सबै चाडपर्वबारे राष्ट्रिय बहससहित न्यायपूर्ण राष्ट्रिय नीति अब बन्नैपर्छ ।

पर्व र प्रकोप
दशैँ जसरी सुरु र आज प्रचलित भए पनि, यसमार्फत गैरहिन्दूलाई जति दमन भएको भए पनि र यसका सकारात्मक र नकारात्मक पक्ष जस्ता रहे पनि नेपाली हिन्दू र कतिपय गैरहिन्दू पृष्ठभूमिका समुदायको समेत यो पर्व सांस्कृतिक आलम्ब बनिसकेको छ । ती जनताको संस्कार बनिसकेको मनोदशामाथि राष्ट्रिय मात्र होइन, आज बहुराष्ट्रिय कम्पनीहरूसमेत बेलगाम व्यापारिक प्रकोप उपभोक्तावादी ढंगले बर्साइरहेका छन् । आज दशैँमार्फत तीनवटा नकारात्मक लत आम जनतामा विषका रूपमा सेवन गराइँदै छ लगातार । एक, धार्मिक अन्धता । दुई, हिन्दू सामन्तवादी उँचनीच प्रथाको निरन्तरता । तीन, उपभोक्तावादी खर्चको लत । आजको एक्काइसौँ शताब्दीको विज्ञानको चमत्कारको समयमा पनि राम–रावण, दुर्गा–राक्षस आदिको मिथकमाथि विश्वास जगाएर अनि देवतालाई खुशी पार्न सिकाएर नयाँ पुस्तालाई धार्मिक अन्धतातिर लाने उपक्रम चलाइरहनु भनेको वास्तविक प्रगतिलाई रोक्नु नै हो ।

अझ कृषि युगको स्वाभाविक पर्वलाई धर्ममा लपेटिरहन चाहनु वास्तवमा एउटा घातक षडयन्त्रको सिलसिला नै हो । दशैँको टीका परम्परा वास्तवमा सामन्तवादी उँचनीचलाई वैधता दिने अनुष्ठानबाहेक केही होइन । श्रीमतीले श्रीमान्लाई टीका लगाइदिन पाउँदिन, किनकि श्रीमान ठूलो मानिन्छ । यो सानोठूलोको क्रम लम्बिँदै जाँदा कथित तल्लो जातले कथित माथिल्लो जातको हातबाट अनि रैतीले शासकको हातबाट टीका थाप्नेमा गयो, अझ छँदै छ । उमेरले, जातले, लिंगले स्वतः सम्मानित हुने भनेको विशुद्ध सामन्तवाद हो । आज नेपाली समाज पुँजीवादमा यात्रारत छ । तब सामन्ती उँचनीचमय व्यवस्थाको निरन्तरता नयाँ पिँढीको टाउकोमा थोपर्दै जानु कति न्यायसंगत हुन सक्छ ? यो विषयमा पनि अब सोच्नैपर्दछ । दशैँ गरिबको दशा त उखानै भइसक्यो । दशैँमा अत्यधिक खर्च गर्ने प्रवृत्तिविरुद्ध अब राज्यले नै अभियान चलाउनैपर्ने समय आइसकेको छ, नत्र दशैँ एक अपराधको कारणसमेत बन्दै जानेछ ।

यसर्थ, हाम्रो समाजमा प्रचलित सबै समुदायभित्र रहेका रूढिवादी र धार्मिक अन्धतामा आधारित पर्वहरूलाई त्याग्ने र आजका गौरवमय दिनहरूलाई सांस्कृतिक पर्वका रूपमा स्थापित गर्दै जाने मूल आवश्यकता त छँदै छ । तर, कम्तीमा पनि हिन्दू र हिन्दू प्रभावित समुदायबीच प्रकोप बनिरहेको दशैँबारे कम्तीमा यति त अब गर्न थाल्नै पर्दछ । एक, दशैँमा गरिने धार्मिक अनुष्ठानहरू नगर्ने वा कम गर्दै लैजाने ताकि दशैँलाई धर्मबाट अलग गरी विशुद्ध सांस्कृतिक पर्वमा पुनः रूपान्तरण गर्न सकियोस् । दुई, टीका परम्परालाई छाडिदिने वा स्वैच्छिक बनाउने वा सबैले सबैलाई लगाइदिने बनाउने । तीन, कमभन्दा कम खर्च गर्न प्रेरित गर्ने, खानपिनबाहेकका आवश्यक लुगाफाटा दशैँभन्दा अघि वा पछि किन्ने बानी बसाल्ने । यी र यस्ता सुधारात्मक कदमहरू हुन सक्छन्, जसले बिस्तारै समाजमा दशैँ एउटा बोझविहीन, रूढिविहीन सांस्कृतिक पर्वतिर जान सक्छ । त्यस दिशामा लैजान सक्दा नयाँ पुस्ताका लागि आजको पुस्ताको ठूलो योगदान हुनेछ । यस प्रकारको सुधारको बाटो समेत पनि लाग्न आजको पुस्ता सचेत हुँदैनौँ भने हामी आगामी पुस्तालाई ‘भगवान भरोसे’ छोड्ने बैगुनी नै ठहर्नेछौँ, जुन पटक्कै ठीक कुरा होइन ।

साभार-नयाँ पेज