You are here
Home > प्रवास > अमेरिकी लोग्ने मान्छे

अमेरिकी लोग्ने मान्छे

१५ आश्विन २०७४, आईतवार ०१:२०
स्विस युवकसँगको प्रेम छुटाउन छोरीलाई लिएर अमेरिकी महिला अमेरिका फर्किन्छिन् । अमेरिकी पुरुष मात्र सर्व श्रेष्ठ पति हुन सक्छ भन्ने उनको धारणा कति ठीक होला ? जतिन मोहन्तीद्वारा सम्पादित तथा युनिभर्सिटिज प्रेस हैदराबादबाट प्रकाशित ‘टेन सर्ट स्टोरिज’बाट नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वेको अंग्रेजी कथा ‘अ क्यानरी फर वन’को साभार अनुवाद:

 

बगैंचा र चारवटा आरुबखडाको ठूला बोट अनि तिनका छायामुनि टेबुलहरू राखिएको रातो ढुंगे घर हुँदै रेल अगाडि हुइँकियो। अर्कोतिर समुद्र थियो। त्यसपछि रातो चट्टानको छोटो बाटो । समुद्र अब यदाकदा मात्र देखिन्थ्यो। धेरै तल चट्टान थियो।

‘मैले यो चरा पालेर्मोमा किनँे’, अमेरिकी महिलाले भनी, ‘त्यो आइतबारको बिहान थियो र समुद्र किनारमा टहलिन हामीसँग एक घन्टा मात्र समय थियो। बेच्ने मान्छे डलरमै तिरियोस् भन्ने चाहन्थ्यो । अनि मैले उसलाई डेढ डलर दिएँ। यो चरो कम्ता राम्रो गाउँदैन त!’

रेलमा असाध्यै गर्मी थियो। लिट स्यालोन कम्पार्टमेन्टभित्र त गर्मीको कुरै नगरौं । खुला झ्यालबाट पनि हावा आइरहेको थिएन। अमेरिकी महिलाले झ्याल पूरै खोली । अब कतै र यदाकदा पनि समुद्र देखिन्नथ्यो । अर्कोतिर सिसा, करिडोर र खुला झ्याल थियो। झ्यालबाहिर चाहिँ धुलैधूलोले ढाकिएको रूख, तेल पोतेजस्तो चिल्लो सडक, अंगुरका फराकिलो खेत र तिनका पृष्ठभूमिमा खैरो ढुंगे पहाड थियो।

मार्सेई आइपुग्दा अग्ला चिम्नीहरूबाट धूवाँको मुस्लो उडिरहेको थियो । रेलको गति धीमा भयो र ट्र्याक बदल्दै स्टेसनभित्र छिर्‍यो। रेल मार्सेईमा २५ मिनेट रोकियो । अमेरिकी महिलाले डेली मेल अखबार र आधा बोतल इभिएन वाटर किनी। स्टेसनको प्लेटफर्म हुँदै ऊ अलि अगाडि गई र कार रोक्ने ठाउँनिर गएर रोकिई । किनभने कान्स सहरमा १२ मिनेट रोकिँदा कुनै संकेत नगरी रेल अघि बढेको थियो। एकै मिनेटले मात्र ऊ रेलभित्र छिर्न पाएकी थिई। ऊ अलिअलि बहिरी थिई र उसलाई लाग्यो, छुट्ने संकेत रेलले दिएको हुँदो हो तर उसले सुनिन।

रेल मार्सेईबाट पनि अगाडि बढ्यो । अब स्विचयार्ड र कारखानाको धूवाँ मात्र देखिन्नथे, पछाडि फर्केर हेर्दा मार्सेई सहर, ढुंगे पहाड भएको बन्दरगाह र समुद्रमा छिर्ने अन्तिम घडीमा रहेको सूर्य पनि देखिन्थ्यो । अँध्यारो बढ्दै गर्दा खेतको बीचमा जलिरहेको एउटा फार्महाउस देखियो । मोटर, कारहरू सडकको छेउमा रोकिएका थिए । फार्महाउस भित्रका ओछ्यानलगायत अन्य सामान खेतमा फिँजाइएका थिए ।

अँध्यारै भइसकेपछि रेल एभिनो पुग्यो । यात्रुहरू चढ्ने र ओर्लने गरिरहे । पेरिस फर्कंदै गरेको फ्रान्सेलीले त्यस दिनका फ्रान्सेली अखबारहरू किन्यो । स्टेसनको प्लेटफर्ममा खैरो युनिफर्म लगाएका अग्ला काला सिपाहीहरू देखिए । बत्तीमुनि तिनका अनुहार चम्किरहेका थिए । तिनीहरू असाध्यै काला थिए र यति अग्ला थिए कि तिनलाई पूरै हेर्न पनि मुस्किल पथ्र्यो । उभिरहेका हब्सी सिपाहीलाई त्यहीँ छाडेर रेल एभिनोनबाट पनि अगाडि बढ्यो । एकजना होचो–गोरो सर्जेन्ट उनीहरूसँगै उभिरहेको थियो ।

लिट स्यालोन कम्पार्टमेन्टमा भरियाले भित्ताबाट तीनवटा ओछ्यान तानेर फिँजायो र सुत्नलाई तयार पार्‍यो । अमेरिकी महिला नसुतीकन ढल्किरही किनभने रेलको गति अघिभन्दा अझ बढी थियो । रातको समयमा यस्तो चर्को गतिसँग ऊ डराउँथी । उसको ओछ्यान झ्यालको अर्कोपट्टि थियो । पालेर्मोबाट ल्याइएको जुरेलीको पिँजराबाहिर कपडा बेरिएको थियो । पिँजडा प्यासेजको बाहिरी भागमा थियो जहाँबाट सोझै कम्पार्टमेन्टको नुहाउने कोठा पुग्न सकिन्थ्यो । कम्पार्टमेन्ट बाहिर हल्का नीलो प्रकाश फैलिएको थियो । रेल रातैभरि अत्यन्त दु्रत गतिमा दौडियो । अनि अमेरिकी महिला दुर्घटना होला कि भनेर रातैभरि ढल्केर जागाराम भइरही ।

रेल बिहानपख पेरिस नजिकै पुग्यो । अमेरिकी महिला बाथरुमबाट बाहिर निस्किई । रातभरि नसुते पनि मध्यम उमेरकी ऊ तरोताजा र पक्का अमेरिकी देखिन्थी । पिँजरामा बेरिएको कपडा हटाएर उसले त्यसलाई घाममा राखिदिई र बे्रकफास्टका लागि रेस्टुराँ कारभित्र छिरी । ऊ फर्केर आउँदा ओछ्यान उठाएर भित्तामा राखी बस्ने ठाउँ बनाइएको थियो । जुरेलीले झ्यालबाट भित्र छिरेको घामको किरणमा प्वाँख हल्लायो । अब रेल पेरिसको निकै नजिक आइसकेको थियो ।

‘यसलाई घाम खुब मन पर्छ’, जुरेलीतिर संकेत गर्दै अमेरिकी महिलाले भनी, ‘हेर्नुस् है त, एकै छिनमा यसले गाउन सुरु गर्छ ।’
जुरेलीले प्वाँख हल्लायो र त्यहाँ ठुङ्न थाल्यो । ‘मलाई चरा खुब मन पर्छ’, अमेरिकी महिलाले भनी, ‘मैले यसलाई मेरी सानी छोरीका लागि लैजान लागेकी हुँ । लौ सुन्नुस्, यसले गाउन थाल्यो ।’

जुरेली चिर्बिरायो । त्यसका घाँटीका प्वाँखहरू ठाडा भए । उसले आफ्नो ठुँड तलतिर लग्यो र फेरि प्वाँखमा ठुङ्न थाल्यो । रेलले एउटा नदी पार गर्‍यो र गजबले रखवारी गरिएको वनबाट अगाडि बढ्यो । अनि पेरिस सहरको बाहिरी भागहरूमा प्रवेश गर्‍यो ।
सहरमा ट्राम कारहरू देखिन्थे । भित्तामा बेल जार्डिनेर, डुबोनेट र पर्नोडका ठूल्ठूला विज्ञापनका होर्डिङ बोर्डहरू थिए । रेलले छाड्दै गएका ठाउँ यस्ता देखिन्थे मानौं त्यो समय ब्रेकफास्टअघिको हो । निकै बेरदेखि मैले अमेरिकी महिला बोलेको सुनिरहेको थिइनँ जो मेरी पत्नीसँग कुरा गरिरहेकी थिई ।
‘तपाईंको बूढो पनि अमेरिकी नै हो त ? ‘ उसले सोधी ।

‘हो, हामी दुवै अमेरिकी हौं’, मेरी पत्नीले भनी ।
‘ए म त तपाईंहरू बेलायती पो भन्ठानेको’, उसले भनी ।
‘ए, होइन नि !’

‘सायद मैले ब्रासेज लगाएकोले होला’, मैले भनेँ । पाइन्टका दुइटा लोती काँधमा झुन्ड्याउने सस्पेन्डरलाई बेलायती चरित्र प्रदर्शन गर्न मैले ब्रासेज भन्न थालेको थिएँ । अमेरिकी महिलाले सुनिन । ऊ साँच्चिकै बहिरी थिई । ऊ ओठहरूमा ध्यानपूर्वक हेर्थी । म झ्यालबाहिर हेरिरहेको थिएँ । उसले मेरी पत्नीसँग बात मार्ने क्रम जारी राखी ।

‘मलाई क्या खुसी लाग्यो भने तपाईंहरू अमेरिकी नै हुनुहुँदो रहेछ । अमेरिकी पुरुष सर्व श्रेष्ठ श्रीमान् हुन्’, अमेरिकी महिलाले भनी । ‘बुझ्नुभो, त्यसैले त मैले यो महादेश छाडेँ ! भेभेमा मेरी छोरी एउटा केटोको मायाजालमा फसेकी थिई’, ऊ एकछिन रोकिई । ‘तिनीहरू प्रेममा पागलै भएका थिए’, ऊ फेरि एकछिन चुप लागी । ‘अनि मैले उसलाई त्यहाँबाट लिएर हिँडेँ ।’

‘अनि छोरीले उसलाई बिर्सन सकिन् त ? ‘ मेरी पत्नीले सोधी ।
‘सायद अझै सकेकी छैन’, अमेरिकी महिलाले भनी, ‘ऊ खाँदै नखाने र सुत्दै नसुत्ने भएकी थिई । मैले कति प्रयास गरेँ तर उसले कुनै पनि कुरामा रुचि देखाउन छाडी । कुनै पनि कुरालाई उसले वास्ता गर्न छाडी । तर, म उसले विदेशीसँग बिहे गरेको सहन सक्दिनँ’, ऊ फेरि एकछिन मौन भई । ‘एकजना मेरी असल साथीले भनेकी थिई, ‘अमेरिकी केटीका लागि कुनै पनि विदेशी असल लोग्ने हुनै सक्दैन ।’
‘अहँ’, मेरी पत्नीले भनी, ‘मलाई त त्यस्तो लाग्दैन ।’

अमेरिकी महिलाले मेरी पत्नीले यात्रामा लगाउने कोटको प्रशंसा गरी र आफूले बीस वर्षदेखि अहिलेसम्म रुई सेन्ट ओनरको मेसोँ डी कोटुरबाटै लुगा किन्ने गरेको बताई । तिनीहरूलाई उसको नापो थाहा थियो । उसलाई चिन्ने र उसको रुचि थाहा पाएको एउटा व्यापारी उसका लागि कपडा छुट्याउँथ्यो र अमेरिका पठाइदिन्थ्यो ।

ती लुगा न्युयोर्कको एउटा पोस्ट् अफिसमा आउँथे जहाँबाट सेखैमाथि उनीहरू बस्थे । यो काम कहिल्यै उच्चाटलाग्दो भएन किनभने लुगाको त्यो पोको उनीहरू पोस्ट् अफिसमै खोल्थे । ती लुगा अत्यन्त सामान्य देखिन्थे । पोकामा सुनको तुना वा अन्य गरगहना केही हुन्नथ्यो जसले गर्दा त्यो अत्यन्त महँगो देखियोस् । उसलाई कपडा पठाउने यसअघिको व्यापारीको नाम थियो थेरेस । अहिलेको चाहिँ एमिल । बीस वर्षदेखि जम्मा यिनै दुई, बस ! सधैं त्यही कुरियर । यो बेग्लै कुरा हो, मूल्य बढेको छ । तैपनि, विनिमय दरले त्यसलाई धानेकै छ । अब त तिनीहरूसँग उसकी छोरीको समेत नापो छ । ऊ तरुनी भइसकेकी थिई र नापोमा परिवर्तन हुने सम्भावना अब धेरै थिएन ।

रेल पेरिस आइपुग्नै लागेको थियो । घरहरू समतलमा थिए । घाँस धेरै बढ्न पाएका थिएनन् । ट्र्याकमा थुप्रै कार थिए । इटाली जाने ५ बजेको रेल छुटेको खण्डमा पेरिस–रोम लेखिएका खैरो काठले बनेको रेस्टुराँ कार र त्यही रङको स्लिपिङ कार ५ बजे छुट्नेवाला थिए । छतमा सिट भएका कार भने खचाखच भरिएर सेता पर्खाल अनि घरका झ्यालहरूलाई स्पर्श गर्दै निश्चित घन्टामा साना सहरहरूतिर ओहोरदोहोर गरिरहन्थे ।
‘अमेरिकी पुरुष नै सर्वोत्तम पति हुन सक्छन्’, अमेरिकी महिलाले मेरी पत्नीलाई भनी, ‘अमेरिकी पुरुष मात्र संसारमा बिहे गर्न लायक हुन्छन् ।’

‘तपाईंहरूले भेभेको बसाइ कहिले छाड्नुभएको ? ‘, मेरी पत्नीले सोधी ।
‘यो शरदमा दुई वर्ष हुन्छ । अनि यो चरा मैले छोरीकै लागि ल्याएकी हुँ, बुझ्नु भो नि ? ‘
‘तपाईंकी छोरीको प्रेमी स्विस थियो ? ‘

‘हो’, अमेरिकी महिलाले भनी, ‘ऊ भेभेको धेरै असल परिवारको केटो थियो । उनीहरूको भेट त्यहीँ भयो । उनीहरू हिँड्दै टाढाटाढासम्म पुग्थे ।’
‘भेभेको बारे मलाई पनि थाहा छ’, मेरी पत्नीले भनी, ‘हामीले मधुमास त्यहीँ मनाएका थियौं ।’
‘ए हो ? गजब भयो होला, होइन ? साँच्चै, मैले अनुमानै गर्न सकेकी थिइनँ कि मेरी छोरी त्यो केटोको मायाजालमा पर्ली भनेर ।’
‘त्यो धेरै प्रेमिल ठाउँ थियो’, मेरी पत्नीले भनी ।

‘हो’, अमेरिकी महिलाले भनी, ‘त्यो ठाउँ साँच्चै प्रेमिल हो, होइन त ? त्यहाँ कहाँ बस्नुभएको थियो ? ‘
‘ट्रोइस कुरोँसमा’, मेरी पत्नीले भनी ।
‘ए, गज्जबको होटल हो त्यो त’, अमेरिकी महिलाले भनी ।

‘हो’, मेरी पत्नीले भनी, ‘हाम्रो कोठा खुबै राम्रो थियो र शरदको बेला गाउँको दृश्य असाध्यै लोभलाग्दो देखिन्थ्यो ।’
‘ए, शरदमा जानुभएको ? ‘
‘हो’, मेरी पत्नीले भनी ।

हामी तीनवटा कार दुर्घटना भएको ठाउँ पार गर्दै थियौं । कारहरू टुक्राटुक्रा भएका थिए र छानाहरू भुइँमा मुख जोतेर बसेका थिए ।
‘हेर्नुस् त’, मैले भनेँ, ‘त्यहाँ दुर्घटना भएछ ।’

अमेरिकी महिलाले अन्तिम कारलाई हेरी । ‘रातभरि म यही कुराले छेरभालु भइरहेकी थिएँ’, उसले भनी, ‘कहिलेकाहीँ मलाई घटनाहरूको डरलाग्दो पूर्वाभास हुन्छ । म यो दु्रत गतिको रेल आयन्दा कहिल्यै चढ्दिनँ । त्यति छिटो नदौडने अरू आरामदायी रेल त होलान् नि !’
रेल गेर डी ल्योँको अँध्यारोमा प्रवेश गर्‍यो र रोकियो । भरियाहरू झ्यालतिर आए । मैलै झ्यालबाटै सामान दिएँ । हामी प्लेटफर्मको मधुरो प्रकाशमा हिँड्न थाल्यौं । अमेरिकी महिलाले आफूलाई कुकबाट आएका तीनजनामध्ये एउटाको शरणमा छाडिदिई जो भनिरहेको थियो, ‘महोदया, एकैछिन पर्खनुस्, म तपाईंको नाम खोज्दैछु ।’

भरियाले ट्रक ल्यायो र सामानहरू चाङ लगायो । मेरी पत्नी र मैले अमेरिकी महिलासँग बिदा माग्यौं । उसको नाम कुकबाट आएको मान्छेले टाइप गरिएको पृष्ठको एउटा कागजमा भेट्यो जुन उसले आफ्नो बगलीमा घुसार्‍यो ।

हामी रेलकै साइडको लामो सिमेन्टेड प्लेटफर्म हुँदै गइरहेको ट्रकसँगै भरियाको पछि लाग्यौं । अन्त्यमा ढोका आइपुग्यो । एउटा मान्छेले हाम्रो टिकट लियो ।
हामी बेग्लाबेग्लै बसोबास गर्न पेरिस फर्कंदै थियौं ।
अनुवाद: अभय श्रेष्ठ

साभार- अन्नपूर्ण पोष्ट