You are here
Home > मनोरञ्जन > ‘दशैं नेपालीको होलिडे उत्सवमा परिणत हुँदैछ’

‘दशैं नेपालीको होलिडे उत्सवमा परिणत हुँदैछ’

१५ आश्विन २०७४, आईतवार ०५:०६

लाहुरेसँग पनि दशैं जोडिएर आउँछ। पल्टनमा कोत राख्ने अँग्रेज हो। पुरेत राख्ने पनि अँग्रेज नै हो। लाहुरे माध्यम भए, डिजाइनर त अँग्रेज नै हुन्। हेर्दाखेरी उता अँग्रेज यता दशैं जोडिएको देखिन्छ। यसरी उपनिवेशले कसरी दशैं श्रृष्टि गर्यो भनेर हेर्न सकिन्छ।

व्यक्ति, परिवार, समाज र राज्य सबै मग्न हुने नेपालको प्रमुख चाड दशैं कतिपय सन्दर्भमा विवादास्पद पनि बन्ने गरेको छ। त्यसैले २०४६ यता यो चाड सम्बन्धमा ऐतिहासिक आधिकारिता भन्दा मिथकका भरमा मानसिकता बनाउने भत्काउने प्रक्रिया चलिरहेको छ। लामो समयदेखि राज्यको संरक्षणमा मौलाउँदै आएको यो पर्व प्रायः नेपालीको घरदैलोभित्र छिरेर गहिरोसँग बसेको छ। जात, क्षेत्र, राष्ट्रियता छिचोलेर विश्वव्यापीकरण भैरहेको दशैंको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक पक्ष चाहीँ के हो? दशैंको सन्दर्भ पारेर नेपालखबरका जेवी पुन मगरले समाजशास्त्री प्रा. चैतन्य मिश्रसँग गरेको वार्ताको सम्पादित अंशः

नेपालमा दशैं चाड कहिलेदेखि शुरु भयो, यसको ऐतिहासिकता के हो?
दशैं नेपालमा कहिले आयो म ठ्याक्क भन्न सक्दिन। म यति चाहीँ भन्न सक्छु, हाम्रा केही चाडबाड र संस्कृति शिकारी युगदेखि आएका छन् भने धेरै कृषि युगबाट शुरु भएका हुन्। दशैं पनि कृषि उत्पादनसँग सम्बन्धित भएको पाइन्छ। विश्वभरी नै फसल भित्र्याएपछि त्यसको खुसीयालीमा उत्सव मनाउने परम्परा बस्यो र पछि त्यसले चाडको रुप लिएको देखिन्छ। दशैंपनि यसरी नै सुरु भएको हुनुपर्छ। अरुबेला खान नपुगेपनि, असार साउनमा अनिकाल परेपनि दशैंको बेला बाली भित्र्याएपछि घरमा भरपुर खान पुग्छ। त्यसैले यतिबेला आफ्ना इष्टदेवहरुलाई धन्यवाद दिइन्छ र उत्सव मनाइन्छ। त्यस्ता देवहरू अन्य देशमा विभिन्न रुपमा प्रकट भए झैं हाम्रोमा दुर्गाको रुपमा प्रकट भइन। त्यसैले दशैं मुख्यरुपमा हार्भेस्टिङसँग सम्बन्धित चाड हो जस्तो लाग्छ।

फसल भित्र्याउने सँगै उत्पादनसँग पनि यसको सम्बन्ध छ। खासगरी पहाडमा उत्पादन गर्न लेकबेसी गरिरहनु पर्छ। लेकमा उत्पादन सकिएपछि बेसीमा झर्ने चलन छ। उत्पादनसँग बसाईसराई पनि जोडिन्छ। पहाडबाट झरेर बेसीमा उत्पादन गर्न थालिन्छ। त्यही बेलाको उत्सव पनि हो जस्तो लाग्छ दशैं। उधौली र उभौली पनि त्यहि लेकबेसी जोड्ने उत्पादनसँग सम्बन्धित उत्सव हुनुपर्छ। उत्पादनको कर्मले लेक र बेसीको मान्छेलाई जोडिरहन्छ। यसलाई दशैं त भनिँदैन तर यस कर्मलाई दशैंको अलग रुप भनेपनि भो वा दशैंलाई यसको एउटा रुप भने पनि भो।

हाम्रोमा दशैंलाई हिन्दु धर्मसँग पनि जोडेर हेरिन्छ, दशैं र हिन्दुको साइनो के हो?
हाम्रोमा दशैं हिन्दु धर्मसँग जोडिएर आउँछ। दशैंलाई राज्यले हिन्दुसँग जोडेर राख्यो। हिन्दुहरुको महान चाड भनियो। नेपालीको महान चाड पनि भनियो। अरु चाडलाई थोरै र दशैंमा धेरै दिन बिदा दिइयो। अर्थात् दशैंको महत्व ठूलो बनाइयो। त्यसैले यसका विरुद्ध मान्छेहरू लागे र लोकतान्त्रिक व्यवस्थामा यसलाई स्वाभाविक पनि मानियो। तर हिन्दुइज्म एउटै होइन। म पहाडे भेगको हिन्दुइज्मको कुरा गर्दैछु। हिन्दुइज्मको मुख्य क्षेत्र भारतको गंगा क्षेत्र हो। हिन्दुइज्मको मुख्य केन्द्र बनारस हो। पहाड उक्लेपछि चाहे त्यो भारतको हिमाञ्चल, आसाम होस् वा नेपालका पहाड, त्यसले अर्कै स्वरुप ग्रहण गर्दछ। मासु खाने स्वरुप ग्रहण गर्दछ। भारतमा राँगोको मासु खाँदैनन, नेपालमा खान्छन्। खसी–बोका पहाडे भेगका उत्पादन हुन्। त्यसैले अरु बेला नखाएपनि पहाडे हिन्दुहरुले दशैंमा खसी–बोकाको मासु खाने चलन त्यताबाट आएको हुनुपर्छ।

तर दशैंको सम्बन्ध हिन्दुसँग मात्र छैन। फेरि पनि यो चाड कृषियोग्य हावापानी हुने भेग र ब्यापक वैश्विक परिदृश्यसँग जोडिन आइपुग्छ। तपाईं पहाडे भेगमा जतासुकै जानोस्, त्यहाँ खसी–बोका नै खाने चलन छ। पेरु, इरान, इराकको पहाडे भेग पुग्नोस् वा हिन्दुइज्मको उत्पत्ति भएको मध्य एशिया, जहाँबाट हामीमध्ये केही पूर्वतिर बसाईं सर्यौँ होला– यी भेग र समुदायमा खसी–बोका नै खाने संस्कार छ। गाई भैंसी खाने संस्कृति छैन। दशैंमा खसी–बोका यसरी जोडिएर आयो होला।

भिन्न धार्मिक, जातीय र राजनीतिक चेत भएका नेपालीले पनि आ–आफ्नै तरिकाले दशैं मान्दै आएका छन्, यसलाई साँस्कृतिक चाडका रुपमा बुझ्ने कि धार्मिक?
दशैंले धेरैपछि राजनीतिक स्वरुप ग्रहण गर्यो। शासकहरुले मान्ने चाड भएपछि त्यसले राजनीतिक स्वरुप ग्रहण गर्ने नै भो। सन् १९६२ पछि त राज्यको धर्म नै हिन्दु भयो। त्यसपछि यो लादिएर आयो। दशैंको राजनीतिक पक्ष त्यो हो जस्तो लाग्छ। राज्यले यो चाडलाई राजनीतिक र धार्मिक पक्षसँग जोडिदिएको छ। अझै सेनासँग पनि यसलाई लगेर जोडेको छ। सेनासँग जोडिनुको कारण सुरक्षा होला। अझ राज्यको आफ्नै सुरक्षाका लागि होला। वडागुरुज्यूको संस्थासँग जोड्न पनि होला। मेरी श्रीमती वडागुरुज्यू पट्टिकी हुन्। उनकोमा मेरोमा भन्दा बढी धार्मिक मान्यता पालना गरिन्छ। धार्मिक चालचलन मेरो घरमा भन्दा तीन चार गुणा बढी कडा छ। किनकी उनीहरू बनारसमा दिक्षित भए र त्यहीँबाट त्यो परम्परा ठ्याक्क लिएर आए। त्यसैले बाहुनहरुमा पनि जातको कडापन सबैमा एउटै छैन।

म यहाँ दशैंको दुईओटा स्वरुपको कुरा गर्छु। धार्मिक र सामाजिक स्वरुप। दशैंका ९ दिनसम्म पूजा हुन्छ। आफ्ना घर परिवार र सबै नातागोताबीच टीका लगाउने चलन छ। बाहिरबाट मान्छे आउने र उत्सव मनाउने चलन छ। दुई पुस्ता अगाडिसम्म मैले देख्दा यो चाड बढी धार्मिक थियो भने आजकाल यसले अलि सामाजिक स्वरुप ग्रहण गर्दैछ। कतिपयलाई धर्मकर्ममा त्यति विश्वास छैन। तर चलनचल्तीका धर्मकर्म गर्दै पनि छन्, पुरै छाड्न सकेका छैनन्।

यसबाहेक दशैं भौतिक हो कि आध्यात्मिक चाड भन्ने पनि होला। कतिपयका लागि दशैंको महत्व धार्मिक र आध्यात्मिक भन्दापनि भौतिक रुपमा बढी छ। खासगरि बच्चाहरुलाई। बच्चालाई बढी भौतिक पक्षले तान्छ। म सम्झन्छु, हामीलाई दशैंको महत्व एकजोर नयाँ लुगा फेर्न पाउने चाडको रुपमा थियो।

दशैंमा शक्ति आर्जन गर्ने कुरा पनि छ। शास्त्रमा धन सम्पत्ति आर्जन गर्ने कुरा छ। कुन देउताले शरीरको कुन भाग बचाउँछन् भन्ने कुरा छ। मान्छेले त्यो पाठ गरेर आध्यात्मिक बल खोज्दछ। शास्त्र पाठ गर्ने मान्छेहरू देउतासँग ‘मलाई शक्ति देऊ’ भन्छन्। बुझेर पढ्ने हो भने मान्छे जुरुकजुरुक हुनसक्छ। वास्तविक शक्ति आर्जन हुनसक्छ। आखिर देउता मानेपनि नमानेपनि देउताले भक्तजनका लागि ठूलो भर गर्छ नै। भक्तहरुका लागि देउता नै औषधि हुन्। भक्त नभएपछि पो त समस्या।

त्यसैले दशैंलाई राजनीतिक, भौतिक, आध्यात्मिक र सामाजिक चाडको रुपमा हेर्न सकिन्छ। यसमा वर्गीय र क्षेत्रीय पक्ष पनि जोडिन्छ।

दशैंको फैलावट नेपाल र भारतमा मात्र हो कि अन्य ठाउँमा पनि छ?
दशैं विश्वभरका हिन्दुहरुले मान्छन् तर फरक फरक तरिकाले। भारत, मौरिसस, दक्षिण अमेरिका, दक्षिण अफ्रिकातिर पनि दशैं मनाइन्छ। तर चाडहरू ठाउँअनुसार स्थानीयकरण हुँदै जाने भएकाले मान्ने तरिका फरक फरक हुन्छ। हाम्रो पहाडमा देवीलाई रक्सी चढाइन्छ। गणेशले रक्सी खान्छ। भारतमा यी देउताले रक्सी र मासु खाने हामी कल्पना पनि गर्न सक्दैनौं। म भारतको नागपुरमा पढ्दा होस्टेलको मेसमा एकजना भारतीय मिश्र थिए। तर उनलाई मैले मासु खाएको अचम्म लाग्थ्यो। मिश्रले कसरी मासु खान्छ भन्थ्यो। भाँडा माझ्ने मान्छेपनि हामी नेपालीले मासु खाएको भाँडा घिन मानीमानी माझ्थे। त्यो छुट्टै हिन्दुइज्म हो। हाम्रो हिन्दुइज्म छुट्टै हो।

समाजशास्त्रीहरूबीच ‘देउताले समाज बनाए कि समाजले देउता बनायो’ भन्ने बहस लामो समयदेखि चल्दै आएको छ। माजशास्त्रीहरुको हेराई चाहीँ समाजले देउता बनाउने हो देउताले समाज हैन भन्ने छ।

तपाईंले माथि चर्चा गर्नुभएजस्तो राज्यको बलमा यो चाड यति फैलिएको हो कि यसले आफै सामाजिक स्वरुप विस्तार गर्दै लगेको हो?
शासकले थोपरेपनि नथोपरेपनि दशैं समाजको गहिराइसम्म जानुको पछाडि विभिन्न कारण छन्। राज्यले थोपर्दापनि मान्य किन भयो भने यो यसैपनि चाडको बेला हो। बाली भित्र्याएपछिको खुशीयालीको समय हो। वर्षभरीको ‘ह्याप्पी पिरियड’ हो। १२ महिनाभरी आउँदैन यस्तो मौका। सायद कुनै शासकले यो बुझ्यो होला। यहि हो मौका भनेर आफ्नो कुरापनि गर्यो होला। सँगसँगै सैनिकीकरण पनि गर्यो होला। दशैंमा एकदमै शक्तिशाली दुर्गाको कल्पना गरिएको छ– शत्रु बिनास गर्ने देवी। शक्ति आर्जन गर्ने राजाले यसलाई अर्चना गर्ने र लाद्ने दुवै काम गरे। तर लादेरपनि पाच्य किन भयो भन्ने कुरा यसको समयकाल र भौतिक प्राप्ति नै हो, जुन १२ महिनामा एकचोटी मात्र आउँछ।

दशैंमा नातागोता भेटघाट हुन्छ। हाम्रो लाहुरे समाजमा विदेशिएका फर्किएर आउने र उत्सव मनाउने हुनाले दशैंंको महत्व अलि बढी भएको हुनसक्छ। आफै आउन नसकेपनि पैसा पठाइदिने, बालबच्चालाई किनेर पठाइदिने र अधिकांश त आफै घर फर्किएर आउने। सबै जना भेला हुने र अपनत्व बढाउन उत्प्रेरणा दिने। त्यसले गर्दा पनि दशैंले विशेष स्थान लिएको हुनुपर्छ।

नेपाली भाषा र हिन्दु धर्म नेपालभर फैलाउन तत्कालिन बेलायती फौजमा भर्ती भएका लाहुरेहरुले ठूलो भूमिका खेलेको मानिन्छ। हरेक पल्टनमा बनाइएका कोटघरमा बली सहित दशैंलाई प्रमुख चाडको रुपमा मनाइने चलन अद्यापि छ। यो चलन स्वदेश फर्किएका लाहुरेहरुले गाउँघरमा पनि बोकेर आए। यसरी हेर्दा दशैं जनस्तरसम्म फैलनुमा लाहुरेको भूमिका पनि छ?
यो मज्जाको कुरा उठाउनु भो। साउथ एशियन एक्सपर्ट निकोलस बि. डर्क्सले आफ्नो किताब ‘कास्ट अफ माइन्डः कोलोनियलिज्म एण्ड मेकिङ अफ मोडर्न इण्डिया’ मा उठाएको कुरा म यहाँ जोड्न चाहन्छु। हामीले जातपात हिन्दुहरुले लिएर आए। पुरानो पुराण उपनिषद् जस्ता शास्त्रबाट दुई हजार वर्ष अगाडिदेखि जातपातको कुरा आयो भन्दै आएका छौं। तर त्यो किताबमा अहिले जातले जे असर गरिरहेको छ, त्यसको धेरै अंश अर्थात् आधाउधि अँग्रेजले नै बनाएका हुन भन्ने निकोलसको निष्कर्ष छ। जातप्रथा अँग्रेजले नै निर्माण गरेका हुने भन्ने उनको भनाई छ।

लाहुरेको कुरा पनि यहीँ जोडिएर आउँछ। पल्टनमा कोत राख्ने त अँग्रेज नै हो। पुरेत राख्ने पनि अँग्रेज नै हो। सतहमा हेर्दा लाहुरे देखिएपनि त्यो लाहुरेको कुरा होइन। लाहुरे माध्यम भए, डिजाइनर त अँग्रेज नै हुन्। हेर्दाखेरी उता अँग्रेज यता दशैं जोडिएको देखिन्छ। यसरी हेर्दा उपनिवेशले कसरी दशैं श्रृष्टि गर्यो भनेर अध्ययन गर्न सकिन्छ। समस्त विश्व व्यवस्था र उपनिवेश व्यवस्थासँग नेपालको दशैंलाई जोड्न सकिन्छ। एकदमै बलियो रुपमा भन्न गम्भिर अध्ययन गर्नुपर्छ, तर सामान्य रुपमा भन्दा कुरा त्यही नै हो।

अँग्रेजले दशैं वा नेपाली चाडलाई त्यसरी किन प्रवद्र्धन गरे होलान?
अँग्रेजहरुले पहिला भारतमा स्थानीय तहमा सबैकुरा हुन दिए। तिनलाई खल्बल्याएनन्। त्यसरी नखल्बल्याउँदा बिभाजन गरेर शासन चलाउन सजिलो भयो। विद्रोह होला भनेर स्थानीय मान्यतालाई उलटपुलट गरेनन्। तिनले नेपालबाट गएका गोर्खा फौजका नेपाली मान्यतालाई पनि केहि गरेनन्। विशेषगरी नेपाली राज्यको सहमति र सल्लाहमा यस्तो गरियो। फेरि समग्र गोर्खा फौजलाई जोड्न पनि केहि सिम्बोल चाहिन्थ्यो। दशैं लगायत नेपाली भाषा र चाडबाड उनीहरुका लागि राम्रो अवसर भयो। पल्टनमा नेपाली भाषा र हिन्दु धर्म फैलाउन नेपाली पत्रिका चलाइन्थ्यो। अलइण्डिया रेडियोबाट नेपालीमा कार्यक्रम दिइन्थ्यो।

त्यहि कुरा पछि लाहुरेहरुले नेपाल बोकेर ल्याए। यसरी दशैंको पनि फैलावट भएको हुनसक्छ। सरदार भीमहादुर पाण्डेले आफ्नो किताब ‘उ बेलाको नेपाल’ मा लेखेका छन्– लाहुरेहरु पहिलो विश्वयुद्धबाट फर्किएपछि तिनले ल्याएको अनुभव र संस्कारले सहि मानेमा नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा परिवर्तन ल्यायो।

दशैं जस्ता चाडले बजारमा के कस्तो प्रभाव पार्ने गरेको छ, अर्थात दशैंलाई बजारले कसरी आफ्नो अनुकूलतामा उपयोग गरिरहेको छ?
शहरतिर बाह्रैमास खान पाइन्छ। गाउँका मान्छे शहर आएपछि किन फर्किन चाहँदैनन् भने तिनले यहाँ बाह्रै महिना मज्जाले खान पाउँछन्। शहरमा वर्षभरी नै काम गर्ने, कमाउने र खाने क्रम चलिरहन्छ। तर गाउँमा कृषिकर्म कहिले हुन्छ कहिले हुँदैन। त्यसैले गाँउघरतिर दशैंको महत्व बढी हुने गर्दछ। शहरमा किनमेल हुँदैन भन्ने होइन तर, गाउँकाले दशैंमा जुन उत्साहले किनमेल गर्छन् त्यो निकै रोचक हुन्छ।

राज्य र लाहुरेले दशैंलाई फैलाउन कसरी भूमिका खेले भनेर माथि छलफल गरे झैं बजारले यो चाडलाई कसरी फैलायो? पूँजीपतिले कसरी दशैंलाई बढावा दिए भन्ने पक्ष पनि छ। पूँजीपति र बजारले दशैंलाई क्यास गरिरहेका छन्। बजारका लागि यो ठूलो मौका हो। दशैंको बारेमा धेरै लेखिएको छैन तर क्रिसमस र थ्यांक्स गिभिङ डे जस्ता चाडलाई बजारले कसरी उपयोग गर्छ भन्ने कुरा प्रशस्त लेखिएको छ। पूँजीपतिहरु मौका हेरेर बसिरहेका हुन्छन्। चाडलाई कसरी भजाउने, कसरी बढी भन्दा बढी फाइदा उठाउने भनेर। दशैंको नाममा उपभोग्य बस्तुहरुमा दिइने अफर त्यही स्वार्थबाट आएका हुन्।

१५ वर्षयता नेपालीको आम्दानी बढेको छ र आर्थिक असमानता पनि घटेको छ। त्यसले मान्छेको क्रयशक्ति बढाइदिएको छ। श्रमले भाउ पाएपछि यस्तो परिवर्तन भएको हो। पुस्तौं पुस्ता काम नगर्ने मान्छेहरू अहिले काम गरिरहेका छन्। विदेशमा भएपनि रोजगारी बढेको छ। त्यसैले दश पन्ध्र वर्षमा एक तिहाइले गरिबी घटेको छ। रोजगारी खुलेपछि नेपालीले काम गर्दा रहेछन् र असमानता घटाउन मद्दत गर्दा रहेछन् भन्ने यसले देखाँउछ। विदेशमा मात्र होइन, स्वदेशमै पनि शहरीकरण बढिरहेकोले अहिले श्रमको राम्रो मूल्य पाइरहेका छन्। त्यसैले दशैं जस्ता चाडलाई बजारले मज्जाले डोर्याइरहेको छ। पहिला पहिला पूजा गरेर उत्सव मनाइन्थ्यो पछि केक काटेर मनाउन थालियो। अहिले होटलमै गएर मनाउने गरिन्छ। त्यसैले स्वाभाविक रुपमा चाडबाडमा बजारको भूमिका बढ्दै गैरहेको छ।

नेपालमा वामपन्थी राजनीति गर्ने र माक्र्सवाद मान्छौँ भन्नेहरूको जमात ठूलो छ। उनीहरू पनि दशैं जस्ता चाड मनाइरहेकै छन्, यो विरोधाभाष हो कि सँस्कृतिको स्थानीयकरण भएको हो?
यो विरोधाभासपूर्ण छ। अति स्थानीयकरणका कारण यो भएको छ। मैले माथि नै भनेँ नि नेपालमा गणेशले पनि रक्सी खान्छ। कसैले उद्दरण गरेजस्तै नेपालमा ‘ब्राम्हाणवादी माक्र्सवादी’ छन्। माक्र्सवाद र ब्राम्हाणवादको फ्यूजन भएको छ। रक्सी खान हुन्न भन्दै आफ्नो पार्टीमा सिकाउँछन् तर बेलुका बेलुका आफै खान्छन्। अरुलाई म खान्छु भन्न हुँदैन। अझै अरुले खाँदा गिल्ला पनि गर्छन्। आफुले पनि गर्ने तर अरुले त्यही गर्दा चाहीँ गिल्ला गर्ने पाखण्डपन टन्न छ।

दशैंको कुरा पनि यहीँ आएर जोडिन्छ। ब्राम्हाणवादी माक्र्सवादीले यहि बेला गरिबीका कुरा उठउँछन्। हल्ला गर्छन्। यसबारेमा अरुबेला आफ्नो पार्टीले केहि नगर्ने तर दशैंमा धनीले राम्रा लुगा लगाए, मिठो खाए भनेर बखेडा गरिरहने। यो निकृष्ट कुरा हो। असमानता हटाउनुपर्छ। गरिबी घटाउनुपर्छ। यो अत्यन्त महत्वपूर्ण मुद्दा हो। असमानता हटाउन गरिबी घटाउन आफ्नो तवरबाट के के गर्न सकिन्छ गरौं। बरु चन्दा दिऔं, गरिबलाई खाना खुवाऔँ। विदेशतिर गरिबलाई सरकारले नै खुवाउँछ। हामीपनि नसक्नेलाई कम्तिमा दिनको एक छाक खुवाऔं। तर हामीकहाँ यस्तो संस्कृति नै निर्माण भएन।

काठमाडौँ यति धनी छ, यहाँ पैसै पैसा छ। तर कहिलेकाहीँ शिवरात्रीमा मारवाडी समुदायले गरिबलाई खाना खुवाउँछन्, त्यत्ति हो। हामीले दशैंमा ५ जनालाई खुवाउन किन सक्दैनौं? एउटा गरिब परिवारलाई किन सहयोग गर्न सक्दैनौँ? त्यति गर्ने तत्परता नलिने अनि बकेर हिंडिरहने?

अहिले नेपाली पनि ग्लोवल भैसके, गैरआवासीय नेपाली संघ नै ७४ देशमा फैलिएको छ। यसले नेपाली चाडलाई पनि विश्वव्यापी बनाइरहेको छ?
अहिले मोबाइल फोन र इन्टरनेटले धेरै परिवर्तन ल्याएको छ। हरेक मान्छे कनेक्ट भएका छन्। पहिला बिहे गरेर गएकी छोरी र आमाको थोरै मात्र कुराकानी हुन्थ्यो। अहिले मोबाइल फोनले फुर्सद हुनासाथ घण्टौं कुराकानी गर्न मिल्ने भो। मेरी छोरी अमेरिकामा छे। हामी हप्ताको ३–४ चोटी त फोनमै कुराकानी गरिरहेका हुन्छौं। आजभोलि स्काइपबाट टीकाटालो हुन थाल्यो। यहाँ पाठ गरेर अमेरिकामा बिहे हुन थालिसक्यो। मेरो छिमेकमा एकजना वास्तुशास्त्री छन्, जो हरेक वर्ष २ महिना क्यानडा, अमेरिका घुमेर फर्कन्छन्। फर्कंदा हातमा कम्तिमा ५ लाख लिएर आउँछन्।

हामी ग्लोवल संजालमा यसरी जोडिएका छौं कि विश्व नै एउटा गाउँमा सिमित भैसक्यो। यो चक्र घुमिरहेको छ। सञ्चारको फड्कोले हिन्दुत्वको पनि एउटा गाउँ बन्दै गैरहेको छ। विदेशमा दशैं यहाँ जस्तो जमरा लगाएर मनाउने कुरा त हुँदैन होला। तर घरलाई सम्झिने र उत्सव मनाउने गरिन्छ। त्यहीँ बसेका नेपालीहरुलाई नजिक ल्याउन र स्वदेशमा भएको परिवारलाई जोड्न पनि दशैं र बदलिएको प्रविधिले अझ प्रभावकारी रोल खेलिरहेको छ। विस्तारै दशैं मनाउने शैली नै बद्लिंदै गइरहेको छ। पृष्ठभूमीमा जमारा राख्ने, पूजा गर्ने भैरहला। यसको धार्मिक पक्ष रहिरहला। घरमा नभएपनि सामूहिक होला। मेरै नातेदारहरु घरमा जमरा राख्दैनन्, पशुपति नजिक सामूहिक रुपमा राख्छन्। यसको मतलब मैले चाहें भनेपनि केहि पैसा दिएर त्यहाँ जमरा राख्न सक्छु।

तीजमा दर खाने चलनले फेशनको रुप लिएजस्तै दशैंको सामाजिकता पनि परिवर्तन हुँदै गइरहेको हो?
तीजमा दर खाने चलन बढ्नु फेशन होइन, नयाँ सामाजिकता श्रृजना भएको हो। समाजशास्त्रमा हामी के भन्छौं भने मानव दुई तीनओटा समूहको हुन्छ। एउटा घर–परिवार र छिमेक–समूह, जोसँग गहन सम्बन्ध हुन्छ। उनीहरुबारे एकअर्कालाई पुस्तैनी थाहा हुन्छ। कसको बाजेले के गर्थेसम्म थाहा हुन्छ। यस्तो सम्बन्ध हाम्रो गाउँघरतिर हुन्छ। शहरमा आयो भने छिमेकको कुरा छाडिदिनोस् अर्काे कोठामा बसेका मान्छेसँग पनि खासै सम्बन्ध हुँदैन। शहरमा धेरै मान्छे चिनिन्छ तर उनीहरुसँग गहन सम्बन्ध हुँदैन। शहरी सम्बन्ध छिपछिपे हुन्छ। यो सम्बन्धलाई प्रगाढ पार्न तीज र दशैं जस्ता जमघटले सहयोग गर्छन्। सम्पन्नता बढ्दै गएको र नयाँ मित्रता श्रृजना गर्नुपर्ने भएकोले पनि सम्बन्ध बढाउन यस्ता चाडलाई माध्यम बनाइएको छ।

मेरो बाजेका लागि त्यस्तो हुँदैनथ्यो। उहाँको निधारमा झ्याप्प टीका हुन्थ्यो। पलेटी मारेर घण्टौं पाठ गर्नुहुन्थ्यो। अहिले हामी त्यो कल्पना गर्न सक्दैनौँ। त्यो छ तर धेरैका लागि त्यो छैन जस्तो हुन जान्छ। मैले जति दशैंको धार्मिक पक्ष छोरीलाई बताउन सक्छु, मेरा बाउले त्यो भन्दा धेरै गुणा बढी मलाई बताउनु हुन्थ्यो। मेरी छोरीले आफ्नो बच्चालाई म जति पनि बताउन सक्ने छैनन्।

दशैंको धार्मिक पक्ष पृष्ठभूमीमा बसिरहन्छ। तर धेरैलाई त्यो थाहा हुन्न। शहरका मान्छेलाई भगवतिलाई ९ दिन पूजा गर्ने भन्ने कुरा विस्तारै कम थाहा हुन्छ। यो जानकारी अँध्यारो पर्दाभित्र छिर्दै जान्छ, उत्सव मनाउने कुरा चाहीँ सतहमा आउँदै जान्छ। किनमेल गर्ने, खाने लाउने, रमाइलो गर्ने, साथीभाई नातागोता भेट्ने कुराले महत्व पाउँदै जान्छ।

सामाजिकता परिवर्तन हुँदै जान्छ तर दशैं नामेट नै चाहीँ हुँदैन। दशैं जसरी शुरु भएपनि, इतिहासमा यसले जसरी राजीतिक र धार्मिक स्वरुप लिँदै यहाँसम्म आइपुगे पनि विस्तारै यो पर्वले ‘पब्लिक होलिडे’ को स्वरुप ग्रहण गर्दै गइरहेको छ।

चैतन्य मिश्र
नागरिक