You are here
Home > बिचार/अन्तरबार्ता > विश्वका उत्कृष्ट १०० महिलाहरुको सूचीमा नेपालकी छोरी इन्दिरा राना मगर

विश्वका उत्कृष्ट १०० महिलाहरुको सूचीमा नेपालकी छोरी इन्दिरा राना मगर

१५ आश्विन २०७४, आईतवार १०:२३

विश्वकै सर्वाधिक लोकप्रिय समाचार संस्था बीबीसीले हरेक बर्ष सार्वजनीक गर्ने सन् २०१७ का लागि विश्वकै प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूचीमा नेपाली छोरी इन्दिरा राना मगर पर्न सफल हुनुभएको छ । बीबीसीले उक्त सूची आजै रातिमात्र सार्वजनिक गरेको हो । यो वर्षको सूचीमा परेका महिलाहरुले १०० विमिन च्यालेन्ज अन्तर्गत विश्वका महिलाले भोगिरहेका प्रमुख समस्याको सामना गर्दै हल खोज्ने प्रयत्न गरिरहेका छन्। चारवटा टोलीमा बाँडिएका ती महिलाहरुले सृजनशील तरिकाको यी विषयहरुसँग जुध्ने उपायबारे आफ्ना अनुभव साट्ने छन् ।

यसपालि अझै पनि ४० जना महिलाको चयन हुन बाँकी नै छ। १०० विमिन अन्तर्गतका प्रसारण जारी रहँदै गर्दा महिलाका प्रमुख चुनौतीहरुको सामना गरिरहेका थप महिलाहरुलाई यो सूचीमा समावेश गरिनेछ। १०० विमिन अन्तर्गत अहिलेसम्म छानिएका ६० जनामा नासाकी अन्तरिक्षयात्री पेगी ह्वीट्सन्, लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ र इन्गलण्डका फुटबल खेलाडी स्टेफ हग्टन रहेका छन्। अन्य ४० जनाको नाम अक्टोबर महिना लागेपछि थपिने छ। कलाकार तथा कवयित्री रुपी कौर एसिड आक्रमणबाट बच्न सफल रेशम खान र टीभी स्टार जीन सिङ पनि यो सूचीमा रहेका छन्।

नेपालबाट को ?

नेपालकी इन्दिरा राना मगर पनि १०० विमिनको प्रारम्भिक सूचीमा समावेश हुनुहुन्छ । उहाँ प्रिजनर्स असिस्टेन्स् नेपालकी संस्थापक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ हरेक बालकमा अँध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्वीतीय प्रकाश हुन्छ। जेल सुधार अभियानकर्ता समेत रहनुभएकी इन्दिरा राना मगरले विगत २७ वर्षदेखि कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले ती बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आउनुभएको छ । उहाँ एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा टीमरिड अन्तर्गत छानिनुभएको बीबीसीले जनाएको छ ।

आउने सातादेखि बीबीसी नेपाली सेवाले पनि पुरुषहरुको आधिपत्य तोड्दै उच्च पद सम्हाल्न सफल भएका प्रभावशाली महिलाहरुबारे रेडियो र अनलाइनमा विभिन्न सामाग्री राख्दैछ ।

झापाको सालबारीदेखि वल्ड चिन्ड्रेन्स् अनररी अवार्ड सम्मको यात्रा बन्दी सहायता गृह नेपाल (पिए, नेपाल) की संस्थापक इन्दिरा राना मगर वल्र्डस् चिन्ड्रेन्स् अनररी अवार्डबाट सम्मानित भइसक्नुभएको छ । विभिन्न देशका १५ बालबालिका सदस्य रहेको जुरीले ‘वल्र्डस् चिल्ड्रेन्स् प्राइज’ का लागि विश्वका तीन हस्तीको नाम चयन गरेको थियो । अति विपन्न र बाबुआमा कारागारमा रहेका नानीहरूको लालनपालन, शिक्षा र सीप सिकाईमा पु¥याएको असाधरण योगदानको लागि नेपालकी इन्दिरा छनोटमा पर्नुभएको थियो ।

इन्दिरा चयन हुँदा नोवेल पुरस्कार बिजेता मलाला युसुफजई र जोन उडको नामपनि छनौटको भएको थियो । तालिवानको साँघातिक हमलामा परेकी किशोरी मलाला पाकिस्तानमा बालीका शिक्षाको प्रतिक मानिन्छिन् भने अमेरिकाका जोनले साक्षारता र लैगिंक समानताको अभियानबाट विश्वभर नाम कमाएका छन् । उहाँहरु प्रतिस्पर्धामा परेपछि उत्तिकै सम्मान दिन इन्दिरा राना मगरलाई ‘वल्र्डस् चिल्ड्रेन्स् प्राइज’ फाउण्डेसनले ‘वल्र्डस् चिल्ड्रेन्स् अनररी अवार्डले सम्मान गरेको थियो । सानो ‘नोबेल प्राइज’ भनिने यो पुरस्कारको राशी एक लाख अमेरिकी डलर छ ।

झापाको सालबारीदेखि इन्दिराको उदय


२०२७ सालमा झपाको शनिश्चरे–६ मा जन्मिनुभएकी इन्दिराले समाज सेवा वापत सन् २००५ मै अशोक फेलो जित्नुभयो । उहाँले काठमाडौंको नयाँ बजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनावारीस्थित बालगृहमा १०, पाल्पामा १० जना बालबालिकाको लालनपालन गरि रहनुभएको छ । ती बालबालीकाका लागि उहाँले जुनकिरी नामका दुई वटा प्राथमिक स्कुल पनि चलाइरहनुभएको छ । साँखुको जुनकिरीमा १२२ र खुदनावारीमा १०२ जना भन्दा बढी बालबालीका हरेक बर्ष पढ्छन् ।

यसैगरि, पाल्पा र भक्तपुरमा युथ होम छ । सबै ठाउँमा गरेर ४१ कर्मचारी छन् । आवासगृहमा चाहि ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम छ । ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ । कर्मचारी नपुगेर नभई बालबालीकालाई जिम्मेवार बनाउन र पारिवारिक माहौल सिर्जना गर्न यसो गरेको इन्दिरा बताउनुहुन्छ ।

उहाँले ठुला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमुलक काम पनि सिकाउने गर्नुभएको छ । इन्दिराले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहनु भएको छ । सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागार भित्रको प्राथमिकता विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गर्नुभएको छ । त्यहाँ पढ्ने ६० जना महिला बन्दीलाई कापी, कलम र किताबको जीम्मा पनि उहाँकै छ । “मेरो समाज सेवा पनि २३ वर्ष अघि महिला कारागारमा साक्षरता अभियान चलाएरै सुरु भएको थियो”, इन्दिरा भन्नुहुन्छ ।

बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सिएनएन हिरो बन्न पुग्नुभएकी पुष्पा बस्नेत पनि सुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयम्सेवक हुनुहुन्थ्यो । उहाँले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना नानी लगेर प्रारम्भिक वाल विकास केन्द्र आरम्भ गर्नुभएको थियो । इन्दिरा आफैले जन्माएको एक छोरी मात्र भएपनि उहाँ अहिले साथमा रहेका शिशु देखि सयौंको ‘आमा’ बन्नुभएको छ । उहाँले जन्मिएकै दिनदेखि बेसहारा बनेका देखि शिशु अवस्थामा अलपत्र परेका आधा दर्जनलाई जीवन दिइसक्नुभएको छ। त्यसैपनि उहाँको काख न्यानू छ । यी सबैले आमा भनेर बोलाउँदा उहाँलाई संसार जितेको आनन्द लाग्छ । अभावपुर्ण बाल्यकाल बिताउनुभएकी इन्दिरा ११ वर्षमा एकै चोटी पाँच कक्षामा भर्ना हुनुभएको थियो । २०५३ मा स्नातक गरेर समाज सेवामा लाग्नुभएको उहाँ आफूले हुर्काएर ठूलो बनाएकाहरुपनि अब त ठुलै मान्छे बन्न थालेकोमा खुशी हुनुहुन्छ ।

साभार-कानुङ खाबर