You are here
Home > अर्थ/बजार > जग्गा मिचेको आरोपमा फसे रंगेलीका मेयर बगडिया

जग्गा मिचेको आरोपमा फसे रंगेलीका मेयर बगडिया

१५ कार्तिक २०७४, बुधबार १४:०२

 

विराटनगर |
मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगाडियाले आफ्नो नाममा रहेको जग्गा मिचेको आरोप लगाउँदै जग्गाधनी चन्द्रसेन शर्माले न्यायका लागि याचना गरेका छन् ।

काठमाडौंमा बसोबास गर्दै आएका चन्द्रशेन शर्माले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सोराभाग गाविसस्थित बगडियाको इटाभट्टानजिकै रहेको जग्गामा जबर्जस्ती पक्की पिलर गाडिएको आरोप लगाउँदै न्यायका लागि याचना गरेका हुन् ।

शर्माले सोराभाग ९ (क) को कित्ता नम्बर ८ को २० विघा १४ कठ्ठा १० धुर जगामध्ये अंशबन्डामा ९ बिघा ९ कट्ठा १० धुर आफूले पाएको र अन्य जग्गा भाइ शशी र महावीरले पाएकोमा उनीहरूले पाएको जग्गा बगडियालाई बिक्री गरेको र अहिले सो जगामा इँटाभट्टा रहेको बताए ।

शर्माले आफ्ना भाइहरूले जग्गगा बिक्री गरेको भए पनि आफ्नो र परिवारको नामको जग्गा यथावत रहेकाले आफूहरूबीच कुनै पनि मतभेद नरहे पनि एक्कासि आफूले खेती गर्दै आएको आफ्नै जग्गामा पिलर गाडेर मेयर बगडियाले धम्क्याउने गरेको आरोप लगाए ।

उनले मेयर बगडियाले आफू मेयर पदमा रहेकाले उक्त पिलर हटाउने जोकोहीलाई पनि ज्यान मार्ने धम्की दिएको आरोपसमेत लगाएका छन् । शर्माले आफ्नो जग्गामा जबर्जस्ती गाडिएको पिलर हटाएर आफ्नो हक कायम गरिदिन मागसमेत गरेका छन् ।