You are here
Home > बिचार/अन्तरबार्ता > वाल कृष्ण ढुंगेललाई पृथीछक बुढा मगरको खुल्ला पत्र

वाल कृष्ण ढुंगेललाई पृथीछक बुढा मगरको खुल्ला पत्र

१७ कार्तिक २०७४, शुक्रबार १६:४४
 प्रिय कमरेड बाल कृष्ण ढुंगेल । तपाईंलाई मैले शुरुमै कमरेड शब्दले सम्बोधन गरें । म तपाईंको कमरेड हुँ वा होइन ? म आफैलाई थाहा छैन । नेपालमा कम्युनिष्टहरुलाई मात्रै कमरेड भनिने चलन छ ।  खासमा फ्रेँच भाषामा भनिने कमरेडको अर्थ हुन्छ साथी । म तपाईंको साथी हुँ वा होइन ? त्यो पनि मलाई थाहा छैन । र म क
म्युनिस्ट हुँ वा होइन ?त्यो पनि मलाई थाहा छैन । मलाई यति थाहा छ, म केवल मान्छे हुँ । म मान्छे भएरै बिषय उपर गम्भीर चिन्तन गर्न मन पराउँछु । मलाई थाहा छ, तपाईं अशल कम्युनिस्ट हुनुहुन्छ । त्यसैले मैले तपाईलाई नेपालीहरुको बुझाई अनुरुप साथी होइन, कमरेड शब्दले सम्बोधन गरिरहेको छु ।
तपाईं दश बर्ष आफ्नै दाजुभाईहरुसङ्ग लडाई लड्नु भयो । मैले भन्दैन त्यो लडाई गलत थियो । मैले त्यो पनि भन्दैन, त्यो लडाई सहि थियो । त्यस लडाईंलाई बुझ्ने नेपाली समाजमा दुई धार विचारको जन्म भएको छ । म यी दुई धारको विचार भन्दा माथि उठेर तपाईंलाई यो पत्र लेखिरहेको छु ।
मानव इतिहासलाई हेरियो भने केही हजार बर्ष पहिले कुरुक्षेत्रको लडाईमा पनि आफ्नै सहोदर दाजुभाइहरुको विचमा रगतको होली खेलिएको थियो । जसलाई पाप र धर्म, न्याय र अन्याय विचको लडाइँ भनियो । सायद तपाईं पनि आफुले लडेको त्यस युद्धलाई न्यायपुर्ण युद्धको रुपमा लिनु भएकै होला । त्यो युद्ध अन्याय थियो वा न्याय थियो, म त्यो पनि भन्न सक्दैन । तर मलाई यति चाहिँ थाहा छ, भोको पेटहरुमा भोजन पुग्नुपर्छ । नाङ्गो खुट्टाहरुमा एक जोडा जुत्ता पुग्नुपर्छ । रोगीहरुको निशुल्क उपचार हुनुपर्छ । हरेक बालबालिकाहरुले निशुल्क शिक्षा पाउनुपर्छ । यो पृथ्वी हामी सवैको साझा घर हो, यसमा सवैको हक वरावर हुनुपर्छ । के तपाईंले लडेको युद्धको आधारभुत मान्यता यो थिएन ? यदि यहि थियो भने यसलाई मैले कसरी अन्याय भन्न सक्छु ? म कसरी तपाईंलाई अपराधी भन्न सक्छु ? म कसरी अदालतको त्यो फैसलालाई न्यायिक मान्न सक्छु ? कदापि सक्दैन । जुन देशमा कानुनले आँखा चिम्लिन्छ, त्यस देशमा बिद्रोह नभएर के हुन्छ ? त्यसैले तपाईंले लडेको लडाईं न्यायपूर्ण छ कमरेड ।
हिजो तपाईंलाई यो देशको सरकारले पक्राउ गर्‍यो भन्ने सुनेको थिएँ । न आज तिमी पक्राउ हुँदा म खुसी भएको छु । न हिजो उज्ज्वन श्रेष्ठको हत्या हुँदा खुसी थिएँ । तपाईं हामी त सर्कसको बाँदर जस्तै हौं । चटकीले नाच्न भन्यो, नाचियो । त्यसमा हाम्रो के दोष ? तर यहाँ गल्ति कसैले गरे, जसको पेनाल्टी हामीले भर्नु परिरहेको छ ।
मैले सुनेको, उज्जन कुमार दुराचारी थियो । स्त्री लम्पट र उसका बहु पत्नीहरु थिए । जतिखेर तपाईंहरुले गाउँ गाउँमा जुवातास प्रतिबन्ध गर्दै हुनुहुन्थ्यो, त्यतिखेर उज्जनहरु गाउँमा जुवाको खाल खोल्दै थिए भन्ने सुनेको थिएँ रुकुममा । सांस्कृतिक रुपान्तरण चलाईरहेको तपाईंहरु र उज्जनहरुको विचमा अन्तरविरोध चुलिंदै थियो । उसको बिरुद्धमा तपाईंहरुले संचालन गरेको जन अदालतमा मुद्धा परिरहेको पनि थाहा थियो मलाई । पछी त सरकारले पालेका मान्छेहरुसँग मिलेर तपाईंहरुको बिरुद्धमा सुराकी गरेको कुरा पनि बाहिर आएको थियो । त्यसको केहि महिनापछि एउटा समाचार आयो, भुवन नामको उज्जन कुमार श्रेष्ठ बेपत्ता भयो । जसको लाश अझैसम्म पनि फेला परिसकेको छैन ।
आज त्यहि उज्जन कुमारको हत्या अभियोगमा तपाईं जेल जानु भएको छ । उज्जन कुमारको हत्या हुनु गलत थियो यो मैले पनि मानेको छु तर त्यस वेलाको परिस्थितिको चस्माले हेरियो भने सुराकीको सफाय गर्नु त्यसवेलाको परिस्थितिको माग थियो । त्यो माथिकै आदेश थियो । यदि जेल हाल्ने हो भने यो देशको अदालतले प्रचण्ड, बाबुराम, शेरवहादुरहरुलाई पनि जेल हाल्नुपर्छ की पर्दैन ? लहरा तान्दा पहरा गर्जिन्छ कमरेड । तपाईं एकजना उज्जनको हत्यारा आरोपित मान्छेलाई जेल हाल्न सक्ने यो देशको राज्य ब्यबस्थाले बाँकी १६ हजार ९ सय ९९ जनाको हत्याराहरुलाई कहिले जेल हाल्छ ? त्यतिकै संख्यामा बेपत्ता नागरिकहरुको बारेमा यो अदालत कहिले वोल्छ ? उज्जनको मात्रै होइन, ११ बर्षीय दिलबहादुर रम्तेलको वारेमा यो अदालत किन मौन छ ? तत्कालिन गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा राज्यले शुरु गरेको किलोशेरा टु अप्रेशनमा मेरो वाल सखा रुकुम मैकोटका १३ बर्षीय लालबहादुर गुरुङलाई प्लास्टिकमा बेरेर आगो लगाएर हत्या गरियो । यो देशको कानुनले यसको बिषयमा बोल्नुपर्छ की पर्दैन ? पत्रकार कृष्ण सेन, दोरम्वा हत्याकाण्डको वारेमा बोल्नुपर्छ की पर्दैन ? नैना सुनुवारको वारेमा यो देशका कानुनविद्हरुले रिट हाल्नुपर्छ की पर्दैन ? यो मात्रै होइन, माडीको बिस्फोटमा मारिएकाका नागरिकहरुको बिषयमा यो देशको कानुनले बोल्नु पर्छ की पर्दैन ? द्वन्द्वकालीन गम्भीर प्रकृतीका घट्नाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने वृहत शान्ति सम्झौतामा उल्लेखित कुराहरुको पालना गर्नु पर्छ पर्दैन ?
अदालतले फैसलामा भनेको छ, ‘पोष्टमार्टम रिपोर्टवाट मृतक भुवन भन्ने उज्वल कुमारको मृत्यु कर्तव्यवाट भएको भन्ने बिबाद भएन ‘ जव की मृतकको दिदि सावित्री श्रेष्ठले आफ्नो भाईको लाश गायव पारिएको बताउंदै आएकी छिन् । अहिलेसम्म फेला नपरेको शवको अदालतले कसरी पोस्टमार्टम भयो भन्ने दावी गरयो ? लाशै फेला नपरेको अबस्थामा कसले, कहिले र कहाँ पोस्टमार्टम गरेको हो ? यो फैसलाले न्यायालयको मर्यादा, स्वातन्त्रता र जनआस्थाप्रति गम्भीर प्रश्न उठाएको छ ।
जव उज्जन कुमार बेपत्ता भयो तव तत्कालिन बिद्रोही माओवादीले हत्या गरेको भनेर उज्जन कुमारका आफन्तले राज्यद्वारा क्षतिपूर्ति बुझे । पहिले माओवादीले मारेको भनिएको उज्जनलाई पछी व्यक्तिगत रिसिवीको कारणले बाल कृष्णले हत्या गरयो भनेर कुरा गर्न पाइन्छ ? यदि व्यक्तिगत रिसिविले हत्या गरेको हो भने उनीहरुले राज्यवाट क्षतिपूर्ति किन लिए ? यदि व्यक्तिगत रिसिविले हत्या गरिएको हो भने उसलाई शहिद घोषणा किन गरियो ? यो देशको अदालतले बताओस, सहिदको मापदण्ड के हो ?
तपाईंले कुनै वेला भन्नू भएको थियो, `म बाल कृष्ण ढुंगेल, तिमिहरु कानुनको सिरानी राखेर मलाई बलात्कार गर तर म अन्यायको विरुद्धमा मशाल वालिरहने छु । प्रतिरोध युद्धमा यदि म हतियार बिहिन भएछु भने पनि मेरो हतियारको रुपमा मेरो खकार मैसंग मौजुद रहनेछ र तिमिहरुलाई थुकिरहने छु ।´
तपाईंको यो हुँकारले आज मेरो नशा नशामा वारुद भरिएको छ मानौं । जो कुनै पनि हालतमा बिस्फोट हुन खोजिरहेको छ र तपाईंलाई भन्न मन लागिरहेको छ, आज तपाईंसंग खकार छ बन्दुक छैन । तर हजारौं बालकृष्णहरु आज अन्याय र अत्याचारको अँध्यारो कालो रातलाई चिरेर सुनौलो बिहानी ल्याउन उनिहरुको हातहरु अझै स्वातन्त्र छन् । इतिहासले अब हिसाब खोज्ने वेला आएको छ । यसको हिसाब माग्न न्यायको पक्षमा लाखौं लाख बालकृष्णहरु अझै खुल्ला आकाशमा स्वातन्त्र रहेको कुरा यो पत्र मार्फत तपाईंलाई अबगत गराउन चाहन्छु ।
कानुन त बलियाहरुवाट लेखिन्छ । कमरेड, यो कानुन तपाईं हाम्रो हितमा लेखिएकै होइन । कानुन भनेको निर्धाहरुलाई कस्ने साङ्लो हो । आज त्यो साङ्लोले तपाईं कसिनु भयो । भोली म कसिनु पर्छ । यो सिलसिला चलिरहने नै छ यदि हामीलाई कस्ने फलामको सिक्री चुडाल्ने अभियानमा सरिक भएनौ भने । मञ्जुर बर्गले आफ्ना सम्पूर्ण वन्धनहरुलाई नचुडाल्ने हो भने फेरी हामी कदापि स्वातन्त्र हुनसक्ने छैनौं ।
यदि यो देशमा कानुन छ भने आयल निगमका गोपाल खड्काहरु खुल्ला आकाशमा घुमिरहेका छन् किन ? जेल हाल्ने हो भने ती अपराधीहरुलाई जेल पठाउनुपर्छ जसले दक्षिण एसियाकै गरिव राष्ट्रको रुपमा सुचिकृत गरे नेपाललाई । जेल तिनिहरुलाई पठाउनुपर्छ जसको प्रजातन्त्रको नाममा देशमा लूटतन्त्र चलाएर देशलाई खोक्रो बनाए । जेल तिनिहरुलाई पठाउनुपर्छ जसले कमिशनको लागि देशका ठुल्ठुला कलकारखानाहरुलाई लिलाम गरे । यो देशको अदालतसंग त्यो तागत छ ?
प्रिय कमरेड, म यो देशका शासकहरुलाई सोध्न चाहन्छु, कति जनालाई जेल हाल्न सक्छ ? ७७ जिल्लाहरुमा उसको हिरासतको क्षमता कति छ ? उसको क्षेत्रीय र केन्द्रिय बन्दी गृहमा कति कैदीहरुलाई थुन्न सक्छ ?
हे सरकार ! तिमीहरुको जेलको क्षमता बढाउनु पर्छ । तिमिहरुले अझै यातना गृह, वधशाला र कैद खानाहरु निर्माण गर्नुपर्छ नत्र लाखौं लाख बाल कृष्णहरुलाई कसरी थुन्न सक्छौ ? तिमी एक वाल कृष्णलाई कैद गर्न सक्छौ । तिमी एक बाल कृष्णको हत्या गर्न सक्छौ । तिमी एक बाल कृष्णको आवाजलाई दमन गर्न सक्छौ तर बाल कृष्णको अबतार धारण गरिरहेका हजारौं, लाखौं लाख रक्तविजका सन्तानहरुलाई कसरी छेक्न सक्छौ ? तिम्रो हड्डिको मासीमा तागत छ ? तागत छ भने छेकेर हेर्न चुनौती दिन चाहन्छु । हे शासक हो, म माओवादी होइन तर म बाल कृष्ण हुँ । मलाई पनि थुन । सक्छौ भने आजिवन थुन । कति जनालाई थुन्न सक्छौ ?
प्रिय कामरेड, जुन ब्यबस्थालाई ढाल्नको लागि तपाईंले यातना शिविरमा यातनाहरु भोग्नु भयो । आज तपाईंको रगत र पसिनाको जगमा टेकेको यो नयाँ राज्य ब्यबस्था भित्रका नयाँ बादशाहहरुले तपाईलाई अपमानपुर्ण तरिकाले जन्जिर भित्र कैद गरे । खवरदार ! इतिहासका निर्माता जनताले यी सवै कुराहरुको हिसावकितावको खाता खोलेर राखेको छ । शासकको दमनवाट बिषयको शुरूवात भयो तर यसको अन्त्य लाखौँ लाख वाल कृष्णहरुको प्रतिरोध युद्धवाट हुनेछ । चाहे त्यसको लागि महान वलिदानको कोटा चुक्ता गर्न किन नपरोस ।
सुर्य ग्रहणले सधैं सुर्यको प्रकाशलाई छेकिरहन सक्दैन कमरेड । अँध्यारो कालो रात्रीले सधैं चन्द्रमाको सितल प्रकाशलाई निलिरहन सक्दैन कमरेड । एकदिन न एकदिन हाम्रै वलबुत्ताले त्यो अन्धकार कालो साम्राज्यलाई चिरेर सुनौली बिहानी झुल्काउने छौँ । मैले संझिरहेको छु, कुरुक्षेत्रको शुरूवात हुनुभन्दा पहिले पन्च पाण्डव १२ बर्ष वनवास र एक बर्षको अज्ञात बासको कठोर सजाय भोगेका थिए । तपाईंलाई पनि यो देशको अदालतले लगभग त्यस्तै समय सिमा टोकिदिएको छ । म तपाईंलाई भन्छु, पृथ्वीको कुनै एउटा भागमा करोडौं वालकृष्णहरुले अरवौं बाल कृष्णहरुको मुक्तिको निम्ति नयाँ कुरुक्षेत्रको लागि अभ्यास गरिरेहका छन् । लाखौँ लाख अभिमन्युहरुले चक्रब्यु टोड्न कम्मर कसेर लागेका छन् । आशा छ, अन्ततः न्यायकै विजय निश्चित छ ।
मान्छेको जंगल भित्र मानवता खोजिरहेको एउटा मान्छे
पृथीछक बुढा मगर
पूर्वी रुकुम