You are here
Home > बिचार/अन्तरबार्ता > ‘राजेश हमाललाई महानायक भनेदेखि नेपाली सिनेमा फ्लपै भयो’

‘राजेश हमाललाई महानायक भनेदेखि नेपाली सिनेमा फ्लपै भयो’

१७ कार्तिक २०७४, शुक्रबार १७:३३
राजन मुकारुङ पाठकलाई भावुक बनाएर रुवाउने वा कुत्कुत्याएर हसाउँने उद्देश्यले साहित्यमा प्रवेश गरेका होइनन् । आफ्नो समुदायलाई सत्ताले पैतालामुनि कुल्चीमिल्ची पारेर हिँडिरहेको सहन नसकेपछि लेखनको हतियार रोजेका हुन् । सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा पड्किने हुँदा उनको लेखन ‘लाउड’ मान्ने पनि छन् । तर सीमान्तकृत समुदायले उनको लेखनलाई आफ्नो जीवनदर्शनको अंग बनाउन थालेका छन् । उनको लेखन–लडाइँको लोकप्रियता साहित्यजगत्ले मूल्यांकन गरिरहेको छ र उनले एकपछि अर्को ठूला पुरस्कार प्राप्त गरिरहेका छन् । पहिलो उपन्यास ‘हेच्छाकुप्पा’ले उनकै समुदायबाट  दुई लाख पाँच हजार राशिको सम्मान प्राप्त गर्यो । दोस्रो उपन्यास ‘दमिनी भीर’ले नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहने मदन पुरस्कार पायो । त्यसपछि चर्चा हुन थाल्यो, ‘राजन मुकारुङले दुई लाख घटीको पुरस्कार थाप्दैन ।’
भइरहेको पनि त्यस्तै देखिन्छ । शनिबारमात्रै उनलाई दुई लाख दुई हजार दुई सय राशिको ‘पहिचान पुरस्कार’ दिइने घोषणा भएको छ । बेलायतमा बस्ने नेपालीले स्थापना गरेको उक्त पुरस्कार पाउने उनी पहिलो व्यक्तित्व हुन् । पुरस्कार प्राप्त गरेपछि उनीसँग कला अनुरागीले गरेको कुराकानी :
⟳  ‘पहिचान पुरस्कार’को उद्घाटन नै तपाईंबाट भयो । तपाईं साहित्य लेखनमा आएदेखि नै पहिचान, पहिचान भनिरहनुभएको छ । त्यही नाममा स्थापित पुरस्कार पाउने पहिलो व्यक्ति बन्दा कस्तो अनुभूति हुँदोरहेछ ? 
⟲  नेपाली समाजमा हिजोदेखि सीमान्तमा पारिएका जाति, समुदाय र वर्गको आवाजलाई मूलधारमा लेखन गर्नुपर्छ भन्ने अभियानका साथ सुरुवाती दिनदेखि नै साहित्यमा लागियो । त्यस्तो लेखन मूलधारबाट धेरै समयसम्म बहिष्कृत हुँदै, सीमान्तमा पारिँदै आइरहेकोले त्यतिबेलै पनि लागेको थियो, कम्तिमा त्यसरी लेख्ने स्रष्टालाई, अभियन्तालाई उत्प्रेरणा र हौसला मिल्ने यस्तै पुरस्कार स्थापना होस् । त्यसैले पुरस्कार प्राप्त गर्नु ठूलो कुरा होइन, पुरस्कार स्थापना हुनु ठूलो कुरा हो । हामी जुन अभियानमा लागिरहेका छौं, हाम्रो लागि यो सुखद कुरा हो । यसले हामीलाई अरू उर्जाशील बनाउँछ । नयाँ पिँढीलाई पनि उर्जाशील बनाउँछ, अग्रज पुस्तालाई पनि राम्रो काम भयो भन्ने अनुभूति गराउँछ ।
मेरो सन्दर्भमा म जुन अभियानका साथ यसमा लागेँ । पहिचान पुरस्कार पहिलोपटक प्राप्त गर्ने संयोग मिल्यो । यसले मेरो लेखनको अभियान एउटा फरक विन्दुमा आइपुगेको छ भन्ने लागेको छ ।
⟳  तपाईंले उपेन्द्र सुब्बा र हाङयुग अज्ञातका साथ पहिचानको मुद्दालाई नै केन्द्रमा राखेर नेपाली साहित्यमा ‘सिर्जनशील अराजकता’ आन्दोलन नै हाँक्नुभयो । अहिले पहिचानकै बिषयमा पुरस्कार स्थापना हुने र प्राप्त गर्ने अवस्थासम्म आइपुगेको छ । यसबीचमा तपाईं केले उत्प्रेरित भइरहनुभयो ? 
⟲  ०४६ सालको आन्दोलनपछिको परिवर्तन र संविधानले जे अभिव्यक्त गर्यो, त्यसलाई जसरी कार्यान्वायन गर्नुपथ्र्यो त्यो भएन । त्यसप्रति असन्तुष्टि जनाउँदै जनयुद्ध भयो । त्यसले पनि उत्पीडित र सीमान्तीकृत जाति समुदायले आफ्नो पहिचान स्थापित गर्न ठूलो उर्जा मिल्यो । त्यो सामाजिक चेतना पनि थियो । त्यसैले हामीलाई पनि उत्प्रेरित नगर्ने कुरै भएन । १० बर्षे जनयुद्धको कालखण्डमा ठूलो चेतना विकास भयो । त्यो चेतना विकासले ठूलो अर्थ र महत्व राख्छ मेरो साहित्यिक यात्रामा पनि ।
त्यस्तै, पुरानो सत्ताको पुरानो मानसिकताले सधैँ शासकीय हस्तक्षेप गरिरहने वातावरण थियो । सीमान्तकृतलाई जहिल्यै आवाजविहीन बनाउने वातावरण थियो । ०६२÷६३ को जनआन्दोलनपछाडि त्यो वातावरण पनि खुकुलो भएर गयो । त्यसैले जनआन्दोलनको वातावरणले पनि ठूलो महत्व राख्छ ।
त्यसपछि, संविधानसभाको निर्वाचन भयो । निर्वाचन परिणामसँगै सशस्त्र युद्धमा गएको शक्ति ठूलो पार्टी भएर स्थापित भयो । तथापि त्यो पार्टी सत्तामा पुगिसकेपछि उसलाई समर्थन गर्नेहरू धेरैको सपना शिथिल हुँदै गयो । त्यसैको जगमा मैले ‘हेच्छाकुप्पा’ उपन्यास लेखेँ । त्यसलाई हाम्रो समुदायको ठूलो सम्मान प्राप्त भएको थियो । त्यसले पनि एउटा उर्जा दिएको थियो ।
अर्कातिर ‘हेच्छाकुप्पा’ले निरन्तर प्राज्ञिक विमर्श पैदा गर्दै गयो । त्यसबाट एउटा विचारधाराका साथ आफ्नो पहिचान स्थापित गर्ने सन्दर्भमा उत्पीडनमा परेका वर्ग जाति समुदायको पक्षमा सानो स्वर नै भएपनि निरन्तर उठाइरहँदा कालान्तरमा गएर शक्तिशाली बन्छ भन्ने बोध भयो ।
माओवादीको सत्तारोहणपछिको समयक्रममा पहिचानको मुद्दालाई भ्रष्टिकरण गर्ने काम भयो । त्यसलाई मध्यनजर गरेर पहिचानकै पक्षमा आवाज उठाइरहेका समूहले मिलेरै पहिचान पुरस्कार कोष स्थापना गरेका हुन् भन्ने मैले बुझेको छु । मैले पनि आफ्नो हिजोदेखिको साहित्यिक यात्रालाई निरन्तरता दिँदै पछिल्लो समयमा ‘फेरिँदो सौन्दर्य’ निबन्ध कृति निकालेँ । पहिलो पटक त्यही कृतिलाई पहिचान पुरस्कार दिँदा मलाई हिजोको मेरो संघर्षलाई साथ पाएको महसुस भएको छ एकातिर भने अर्कातिर अझ सशक्त ढंगले लडाइँ गर्नुपर्छ भन्ने उत्प्रेरणा दिएर अगाडि धकेलेको छ । यसरी नै उत्प्रेरित भइरहेका छौं ।
⟳  तपाईंलाई पहिलो पटक पुरस्कार दिनुमा प्रदायकको एउटा तर्क होला, तर तपाईंलाई चाहिं आफूले पहिचानको मुद्दालाई स्थापित गर्न खेलेको भूमिका के हो भन्ने लाग्छ ? तपाईंभन्दा पहिले नै पनि लेखन र राजनीतिमा पहिचानको आवाज त थिए नै । तपाईंले गरेको नयाँचाहिँ के हो ? 
⟲  हामीले ‘सिर्जनात्मक अराजकता’ भन्यौं र त्यसमा केही निषेधका कुरा पनि गरेका छौं । जस्तो कि उत्तरआधुनिकतावादकै कुरा आयो । हामीले सिर्जनशील अराजकता भनिरहँदाखेरि उत्तरआधुनिकतावादको भयंकर ठूलो व्याख्या, चर्चा र परिचर्चा पनि भयो नेपाली साहित्य र राजनीतिमा । तर उत्तरआधुनिकतावादप्रति हाम्रो केही विमति रह्यो । यसका सहअस्तित्व, बहुलता र बहुविचारका कुरा स्वीकार गरेपनि मसिना शक्तिलाई टुक्रा–टुक्रा बनाउने गूढाशयलाई निषेध गर्यौं । हाम्रो निष्कर्ष थियो– अहिलेको लडाइँ एक्लै लड्न सकिन्न । सबैको आफ्नो अस्तित्व छ, ती अस्तित्वबीचको एकता र मोर्चाबन्दीले मात्रै लडाइँ जित्न सकिन्छ । त्यसको लागि ०६२÷६३ को जनआन्दोलन हाम्रो अगाडि उदाहरण भएर आयो । त्यहाँ पुरानो संस्था फाल्न कांग्रेस, माओवादी, एमालेलगायतका राजनीतिक शक्ति एक ठाउँ उभिनुपर्यो ।
अहिले राजनीतिक समस्या आएको छ । धेरै अन्तरविरोध र भंगाला फाटेर गएका छन् । त्यसमा उत्तरआधुनिकतावादको गुढाशयले काम गरिरहेको छ । मोर्चाबन्दी हुन दिएको छैन, टुक्रा–टुक्रा पारिरहेको छ । सत्ता पक्षले उत्तरआधुनिकतावादलाई उपयोग गरिरहेको छ । त्यसैले हामीले त्यो कुरालाई निषेध गर्यौं र सधैँ मोर्चाबन्दीको कुरा गर्यौं । वर्गीय रूपमा होस्, जातीय रूपमा होस् वा अन्य हिसाबले विभेदमा पारिएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो सबैभन्दा पहिलो सर्त बन्यो ।
नेपालमा विभिन्न जाति, संस्कृति, सभ्यता र इतिहास छ । सबैको आ¬–आफ्नो पहिचान छ । आफ्नो मौलिक दर्शन छ, बाँच्ने जीवन पद्दति छ । तिनलाई लेखन गर्दा नेपाली साहित्यलाई घाटा हुँदैन, नेपाली साहित्य अझ फराकिलो समृद्ध बन्छ भन्ने हाम्रो ठहर रह्यो । त्यसैले हामीले नेपाली भाषा साहित्यकै समृद्धिका लागि पहल गर्यौं । लडाइँ गर्यौं । होइन भने त म राईको छोरो, हाङयुगजी लिम्बुको छोरो, उपेन्द्रजी पनि लिम्बुको छोरो । मैले राईको मात्रै, उहाँहरूले लिम्बूको मात्रै कुरा गर्नुपथ्र्यो । हामी त्यसबाट मुक्त भयौं र सीमान्तमा पारिएका जातिहरू, जसले मूलधारमा आफ्नो आवाज दिन सकिरहेको छैन, उनीहरू सबैलाई लेखन गरौं भनेर अभियान चलायौं । त्यसपछि अरू धेरैले त्यसरी कलम चलाउनुभयो । होला, मिडियाको नजरमा हामीले अलि अगाडि आयौं होला । कोही अझै ओझेलमा परिरहनुभएको होला ।
पहिचानको कुरा हामीभन्दा अगाडि पनि नउठेको होइन । वैरागी काइँलाले उहिल्यै ‘सावात्को बैला उत्सव’ लेखेर, ‘मातेको मान्छेको भाषण’ लेखेर पहिचानको कुरा गरेका हुन् । मातेको मान्छेको भाषणमा जो उत्पीडनमा परेका छन्, उनीहरू नै मात्ने हुन् । रक्सीले नशाले मातेको भन्ने होइन, त्यहाँ मात्नुको अर्कै विम्ब छ । यसरी बिषय उठान भएकै हो । ४० को दशकमा पनि बिषय उठेकै हो । तर त्यसलाई सामूहिकीकरण गर्ने काम सुरुमा भएन । त्यसो हुँदा मुद्दा सधैं ओझेलमा परिरह्यो । हामीले त्यसलाई सामूहिकीकरण गर्दै जाऊँ भन्ने अभियान चलाएका हौं । हामीले नितान्त नयाँ गर्यौं र थाल्यौं भनेर कहिल्यै भनेकै छैन । हामीले त्यसलाई सामूहिकीकरण गरौं भन्ने अभियान चलाएका हौं । त्यसैकारण मुद्दा स्थापित हुँदै गयो भन्ने हाम्रो ठहर हो ।
⟳  अहिलेचाहिँ पहिचानको मुद्दालाई स्थापित गर्ने सपना कुन चरणमा पुगेको छ ? 
⟲  त्यो सपना एउटा विन्दुमा आइपुगेको छ । चेतनाको हिसाबले हेर्ने हो भने यो स्थापित भइसकेको छ । तर सत्ताको आफ्नै स्वार्थ हुन्छ । त्यसले चेतनालाई अल्मल्याउने अभ्यास गरिरहन्छ । सीमान्तमा परिएकाहरू अहिले सत्ताको लडाइँ लडिरहेका छन् । सदियौंदेखि सत्ताको स्वाद चाखिरहेकाहरू चाहिँ अल्मल्याउन खोजिरहेकै छन् । कसैलाई चारो दिएर, कसैलाई उपप्रधानमन्त्री बनाएर, कसैलाई सभासद् बनाएर, कसैलाई राज्यमन्त्री बनाएर, कसैलाई सभासद् बनाएर अल्मल्याउन खोजेको देखिइ नै रहेको छ । तर यो मुद्दा संस्थागत हुने एउटा विन्दुमा आइपुगेको छ । संस्थागत गर्ने काम सत्ताकै हुन्छ, त्यसको लागि सत्तालाई बाध्य पार्नुपर्छ । सत्तालाई बाध्य बनाउने एउटा लडाइँ अब सुरु हुन्छ ।
⟳  तपाईंको पुरस्कृत निबन्ध कृति ‘फेरिँदो सौन्दर्य’मा चाहिँ के लेख्नुभएको छ खासमा ? 
⟲  पछिल्लो समय राजनीतिक रूपमा पहिचानको मुद्दालाई भ्रष्टिकरण गरियो । त्यसैले दोस्रो संविधानसभाको निर्वाचनमा प्राविधिक रूपले पहिचान पक्षधरहरू पराजित पनि भए । त्यो प्राविधिक पराजयलाई २१ औं शताब्दीमा पहिचानको यो लडाइँ आवश्यक छैन भन्ने किसिमले प्रचारबाजी गरियो । त्यो प्रचारबाजी गलत छ । नेपालको चुनावी प्रक्रिया केवल प्राविधिक पक्ष हो । तर पहिचानको पक्षमा आवाज उठाउनेहरू कहिल्यै कमजोर हुँदैनन्, छैनन् । पहिचानको मुद्दा जादूको छडीजस्तो तत्काल स्थापना हुने पनि होइन । यो निरन्तर लडाइँको प्रक्रिया हो । यो उत्पीडित वर्गले सत्तासँग लडिरहनुपर्ने निरन्तर लडाइँको प्रक्रिया हो । कसैले हरेश खानुपर्दैन । यो प्राविधिक रूपमा हारेजस्तो देखिए पनि चेतना, विचार र दृष्टिकोणको हिसाबले सबल र सक्षम छौं । हामीले जितेका छौं, हारेका छैनौं । पहिचानको लगाइँ लड्नेहरू कहिल्यै पनि हार्दैनन् । यो दुस्प्रचार गरिएजस्तो साम्प्रदायिक विखण्डनकारी आन्दोलन पनि होइन । यो त नेपाललाई जोड्ने र नयाँ राष्ट्रियताको परिभाषा दिने आन्दोलन हो भन्ने दृष्टिकोणबाट लेखिएको किताब हो यो ।
⟳  यो किताब कसलाई पढाउन खोज्नुभएको थियो ? 
⟲  मेरो ‘टार्गेट’ त सत्तालाई नै हुन्छ । किनभने सत्तासँगै हो लडाइँ भनेको । सत्ताले पढोस् भन्ने नै हुन्छ । तर सत्ता घुसघुसे छ, पढ्दैन पनि । पढे पनि पढें, तेरो कुुरा सुनेँ भन्दैन । अर्कोचाहिँ, जसरी मुद्दा भ्रष्टिकरण जसरी गरिएको छ र त्यसबाट भ्रम पैदा भएको छ, त्यो भ्रममा परेकाले पढून् र बुझून् भन्ने हो । त्यस्तै, प्राविधिक रूपमा पराजित भएर साह्रै हतोत्साही भएकालाई हतोत्साही बन्नु आवश्यक छैन भन्न खोजेको हुँ ।
⟳  यसमा बुझाउनचाहिँ के खोज्नुभएको छ र ? 
⟲  पहिलो त पहिचानबारे बुझाउन खोजेको छु सिर्जनात्मक हिसाबले । एउटा व्यक्ति जन्मन्छ, त्यो एउटा जातीय समुदायबाट जन्मेको हुन्छ । त्यो समुदायको दर्शन र जीवन पद्धतिसँग जोडिँदै हुर्किएको हुन्छ । त्यसबाट उसको सोच्ने र समाजलाई बुझ्ने तरिका र दृष्टिकोण बनेको हुन्छ । तर सत्ताले अर्कै दृष्टिकोण निर्माण गरिदिएको हुन्छ । अनि सत्ताको दृष्टिकोणले हेर्दा मानिसहरू आफूलाई गलत हुँ कि भन्ने सोच्न थाल्छन् । यो सौन्दर्य चिन्तनसँग पनि जोडिएको बिषय हो । यस्तो सोचले सत्ताबाहिरका वर्ग, समुदाय र जातिले आफूलाई सर्धै ‘डोमिनेटेड’ अनुभूत गर्ने मनोविज्ञान तयार हुँदै आउँछ । त्यो मनोविज्ञानलाई तोड्नु सबैभन्दा ठूलो कुरा हो ।
यस सन्दर्भमा मैले सामान्य उदाहरण दिएर भन्ने गरेको छु । जस्तो कि, जुन दिन नेपाली सिनेमामा राजेश हमाललाई महानायक भन्यौं, त्यही दिनदेखि नेपाली सिनेमा ओरालो लाग्यो । फ्लपै भयो । अनि दयाहाङ राइहरूको आगमन भयो । राजेश हमाललाई महानायक भन्ने दिनसम्म हाम्रो सौन्दर्यचिन्तन के थियो त भने चकलेटी अनुहार, खस् आर्यको कद र रूपलाई सुन्दर मानिन्थ्यो । चिम्सो आँखा थेप्चो नाक हुनेहरूलाई असुन्दर मानिन्थ्यो । साहित्यमा पनि त्यो लागू थियो । तर अहिले त्यो भत्किदै आयो । दयाहाङ राई चिम्सो आँखा, थेप्चो नाक भएपनि आम दर्शकको रोजाइमा पर्न थाल्यो । हिजो चिम्सो आँखा थेप्चो नाक हुने मगरको छोरो सुनिल थापालाई जहिल्यै खलनायक बनाइन्थ्यो । अब दयाहाङ राईहरू नायक भएर आएपछि ‘होइन रहेछ, हामी पनि हुँदारहेछौं’  भन्ने अनुभूति त्यो समुदायले गर्यो । त्यही ‘डोमिनेसन’को मनोविज्ञानबाट मुक्ति प्राप्त गर्नुपर्छ । त्यसको लागि लडाइँ लड्नुपर्छ भन्ने कुरा नै हो मैले ‘फेरिँदो सौन्दर्य’मा उठाउन खोजेको ।
⟳  तपाईंले भनेजस्तो अबको लडाइँचाहिँ के हो ? 
⟲ सत्ताले सानो स्वरमा बोल्दा सुन्दैन, ठूलो स्वरमा बोल्दा उग्रवादी भनिदिन्छ । हिजो हाम्रा अग्रजले पनि नलेखेका होइनन्, लेखेकै हुन् । तर कतिले पहिचानको लेखनलाई ‘साइड’ मानेर कथित मूलधारतिर प्रवेश गरे । त्यसले अलिकति क्षति गर्यो । जो बाहिरै रहे, मूलधारमा छिर्नै सकेनन् । बहस नै गर्न सकेनन् । त्यो पक्ष एकदमै उग्रतातिर गयो । त्यसले बीचमा ठूलो अवरोध भयो । र, ‘डोमिनेसन’ भइ नै रह्यो । पछिल्लो समय आएर विस्तारै जोडिने प्रक्रिया सुरु हुँदैछ । अब कम्तीमा मधेसबाट पनि आफ्नो आवाज उठ्न थाल्यो । त्यो साहित्यमा प्रवेश भएर आएको छ । दलित र जनजातिबाट पनि आउन थाल्यो । अब नेपाली साहित्य एउटा जातिको मात्रै रहेन । नेपाली भाषा, साहित्य एउटा जातिको मात्रै संस्कार संस्कृति र दर्शनमा रहँदैन । विविध जातिले नेपाली भाषा, साहित्य मेरो पनि हो भन्ने दावी गर्दै आउन थाले । दावीको लडाइँ हो अबको लडाइँ भनेको । अब त्यही दावीको लडाइँलाई स्थापित गर्नुछ । त्यसपछि पनि लडाइँ त बाँकी छ । अझै हाम्रा पाठ्यक्रम हामीलाई ‘डोमिनेसन’ गर्ने नै छ । सत्ताले त हिजोदेखिकै राष्ट्रियताको राग अलापिरहेको छ अहिले पनि । त्यसलाई अब तोड्दै जाने हो ।
अहिले उठिरहेको समावेशी र समानुपातिकको मुद्दा हेर्दा राजनीतिक मुद्दाजस्ता देखिन्छन् । तर यो राजनीतिकमात्रै छैन, यसभित्र दार्शनिक कुरा पनि छन् । त्यसलाई समेटेर अघि जानुपर्छ । आन्दोलनको क्रममा कति उग्रता पनि होलान्, त्यसलाई पनि सरल बनाउँदै नेपाली भाषासाहित्यलाई समृद्ध पार्ने अभियानमा लाग्नुपर्छ ।
अर्को एउटा कुरा छ, जसले सबैभन्दा बढी बिगारेको थियो । त्यसविरुद्धको लडाइँ पनि महत्वपूर्ण छ । जसले पहिचानको मुद्दा निरन्तर रूपमा उठाएर आयो, उसले समाजमा वर्गीय द्वन्द्व छ भन्ने कुरालाई चटक्कै बिर्सेको अवस्था थियो । जसले उत्पीडित वर्गको कुरा गरेर आयो, सामाजिक आन्दोलन गरेर आयो । उसले जातीय रूपमा नेपालमा विभेद छ भन्ने कुरा चटक्कै बिर्सिदियो । विशेष गरी माक्र्सवादी विचारधाराका साथीहरू, जो आफूलाई प्रगतिशील पनि भन्छन्, उनीहरूले जातीय कुरा उठाउनै हुँदैन भनिदिए । तर नेपालमा जातीय समस्या पनि छ । सदियाँैदेखि जातीय रूपमा पनि विभेद गरिएको छ भन्ने कुरा त साँचो हो नि । यही बुझाइमा कमजोरी हुँदा अवरोध पैदा भयो । पछिल्लो सयमचाहिँ पहिचानको लडाइँ गर्नेहरूले पनि वर्गीय लडाइँ सँगै लिएर जानुपर्छ भन्ने बुझ्न थालेका छन् । यता वर्गीय पक्षबाट मात्रै लडाइँ गर्नेहरूले पनि नेपालमा जातीय, सामुदायिक, क्षेत्रीय विभेद पनि छ । त्यसलाई बुझ्नै पर्छ । त्यो पनि प्रधान समस्याभित्रै पर्छ र हल गर्नेतिर लाग्नुपर्छ भन्ने बुझ्न थालेको देखिन्छ । त्यसैले आन्दोलन जोडिँदै गएको छ । हिजोजस्तो निषेधजस्तो अवस्था थियो । अहिले एउटा विन्दुमा आएर मिलिरहेको छ । त्यसैले हामीले पहिचानको मुद्दालाई सामुहिकीकरण गरौं है भनेको कुरा साझा बन्दै गएको छ । यो सकारात्मक कुरा हो । यसमा पनि हाम्रो केही लडाइँ बाँकी नै छ ।
⟳  ‘पहिचान पुरस्कार’ले नेपाली साहित्यमा जुन पुरस्कारको ‘पुरानो सत्ता’ छ, त्यसलाई भत्काएर ‘नयाँ सत्ता’ स्थापना गर्न खोजेको देखिन्छ । यसको पहिलो विजेताको हिसाबले यसको गरिमा कत्तिको महसुस गर्नुभएको छ ? 
⟲  मैले अघि पनि भनें, मैले पुरस्कार पाउनु ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा चाहिँ पुरस्कार कोष स्थापना हुनु नै हो । किनकि योचाहिँ निवेदन लिएर सत्ताले बाँड्ने पुरस्कार होइन । त्यसैले सत्ताका त्यस्ता पुरस्कारलाई चुनौती हो यस्ता पुरस्कार स्थापना हुनु भनेको । यो पुरस्कारको जुन नाम छ, ‘पहिचान पुरस्कार’ भन्ने, यसमा एउटा शक्ति छ । यो शक्तिले कम्तीमा सत्तालाई चुनौतीचाहिँ दिन्छ । यसले परम्परागत मानसिकता, मनोविज्ञान र सत्तालाई चुनौती दिन्छ । त्यसैले कसले पायो भन्ने भन्दा पनि कस्तो कृतिले पायो, किन पायो भनेर खोजिनु राम्रो कुरा हुन्छ । यसले अरूलाई पनि उत्साहित र उत्प्रेरित गर्छ भन्ने मेरो बुझाइ छ ।
܀܀܀
साभार : रातोपाटी