You are here
Home > कला > नाटक निर्देशनमा फर्किए दयाहाङ, मण्डलामा ‘झ्यालिन्चा’

नाटक निर्देशनमा फर्किए दयाहाङ, मण्डलामा ‘झ्यालिन्चा’

१९ कार्तिक २०७४, आईतवार १८:१०

काठमाडौं |

नायक दयाहाङ राई फेरी नाटक निर्देशनबाट रंगमञ्चसँग जोडिएका छन्। पछिल्लो समय फिल्ममा निकै व्यस्त दयाहाङ राईलाई अभिनेताका रुपमा रंगमञ्चमा झुल्किन मुश्किल परिरहेको छ ।

यसै क्रममा उनी मण्डला थिएटरमा मंगलबारदेखि उनीद्वारा निर्देशित नाटक ‘झ्यालिन्चा’ मञ्चन गर्दैछ । कुमार नगरकोटीले लेखेको कथामा आधारित नाटक निर्देशनमा दयाहाङलाई  सोमनाथ खनाल, उमेश तामाङ र विकाश जोशीले सघाएका छन्।

नाटकमा विजय बराल र रञ्जना ओलीले अभिनय गरेका छन् । कथावाचन शैलीमा मञ्चन गरिने नाटकको समयवधि ५० मिनेट रहेको छ । दयाहाङले किराँत संस्कारको मुन्धुमी कथावाचन शैलीलाई नाटकमा प्रयोग गरेका छन्।

अनुपम शर्माको लाइभ संगीत रहने नाटकमा किरण चाम्लिङले गीत संयोजन गरेका छन् । नाटकको मञ्च निर्माण, प्रकाश व्यवस्थापन लगायतका प्राविधिक पक्ष रोहित पौडेल र अनुप न्यौपानेले हेरेका छन्।