You are here
Home > बिचार/अन्तरबार्ता > जनार्दन शर्मालाई बम हान्ने काे हुन?

जनार्दन शर्मालाई बम हान्ने काे हुन?

२५ कार्तिक २०७४, शनिबार ०२:५७

बिनाराम खडका,

हुन त म अहिले जनार्दनको राजनीतिक छत्रछायामा गोलवन्द छैन ! जीवनको उत्तरार्धमा उनको विशाल व्यक्तित्वको शितल छहारीमुनी ओत लागेर मलाई कुनै अवसर र स्वार्थ दोहन गर्नु पनि छैन ! जनार्दनलाई वर्तमानको यो अध्यायमा एकल रुपमा रम्न चाहने र भावनाको गहिराइमा हराउने न्यूनतम श्रेणीको म भुसुनाको आवश्यकता पर्ने कुरा पनि भएन ! हजारौँ भोटको अन्तरले चुनाव जित्ने जनार्दनलाई हामीजस्ता आलोचकहरुको सद्भावले महत्व राख्ने कुरा पनि भएन !

तर¸ जनार्दन नजानिदो पाराले मेरो जीवनको विगत इतिहासमा अन्तरमनको कुनामा सुटुक्क बास बसेका पात्र रहेछन् ! भावनात्मक पक्ष अलग्गै हुंदोरहेछ ! जनार्दन माथिको हमला सुन्दा नचाहंदा चनाहंदै पनि आंखाबाट तररर आँशुको भेल छुट्दो रहेछ ! मुटु भक्कानो पर्दोरहेछ ! नजानेरै लुकुछिपी लाएको माया¸ अन्जानमै बसेको पिरतिजस्तो विनाकुनै स्वार्थ गांसिएको निष्कलंक सम्बन्ध¸ जनार्दन प्रतिको आन्तरिक लगाव अझै छुटेको रहेनछ ! हिजो इतिहासका कालखन्डमा जनार्दन विरामी हुंदा धुरुधुरु रुने मन¸ रातभरी आँशुको भेलमा डुब्ने मन अझै पनि उस्तैउस्तै रहेछ !

तत्काल उनको राजनीतिक संगठनमा एकाकार नभएपनि¸ जनार्दनमाथिको आक्रमण सुन्दा किनकिन आज अचम्म गरी आंशु बर्षियो ! कुनै बेलाको मेरो आदर्श¸ मेरो नेता¸ मेरो गन्तव्य¸ मेरो मनमुटुमा सजिएको भावनाको विम्व रहेछ जनार्दन ! नचाहेरै माया लाग्ने¸ नचाहेरै झल्को आउने ! विछोडमा तड्पाउने ! दु:खमा सम्झाउने ! धेरै सोंचे¸ इमान्दार समकक्षीलाई पाखा लाउने जनार्दन¸ एउटै मुटुमा सजिएका अन्य पात्रहरुलाई धुलिसाथ पार्नखोज्ने जनार्दन ! आलोचकलाई देखी नसहने जनार्दन ! निहित र सांघुरो घेरामा संकुचित जनार्दन ! नातावाद र कृपावादमा लिप्त जनार्दन ! किन लेख्ने उसको पक्षमा ? किन बोल्ने उसको बारेमा ? तर मन मानेन ! भित्रैबाट उर्लेर आयो ! भावनाको भेल ! थाम्न सकिन ! पोखिइहाल्यो ! र¸ यी हरफहरु लेखेँ !

हिजो ति १६/१७ बर्षे जवानीका क्रान्तिकारी उमंग र उल्लासमय वयहरुमा¸ पातलो जिउ र झुम्म दारी पालेका जनार्दनका पछिपछि दौडिएका¸ भिरपाखाहरुमा निलकांडाका झ्यामहरुमा संगसंगै गर्ल्यामगुर्लुम हाम फाल्दा मान्छेमाथि मान्छे थुप्रिएका ति रोमाञ्चक क्षणहरु ! अचम्म किसिमको भावनात्मक सम्मोहनले कसक्क पार्ने, क्रान्तिकारी उत्साह र जोशले भरिपुर्ण बनाउने जनार्दन ! अनि¸ विशाल व्यक्तित्वका धनी डा बाबुराम भट्टराई¸ लेखनशैलीका आदर्श खगेन्द्र संग्रौला¸ आलोचनात्मक चिन्तनका पथपर्दशक श्याम श्रेष्ठ (प्रज्ञानरत्न)¸ दार्शनिक विचारधारात्मक गुरु मोहन बैद्य¸ साहित्य कलाका अग्रज कृष्ण सेन इच्छुक र पछिल्लो चरणमा हरदम जोखिम मोलिरहने चरम महत्वाकांक्षी¸ विरोधीलाई भित्तामै पुर्याउने¸ क्रान्तिको बोटमा प्रतिक्रान्तिको फूल फुलाउदै उल्टोलाई पनि सुल्टो पार्नसक्ने जादुमय षडयन्त्रकारी सिद्धान्तका परम परमेश्वर उधुमशाली कमरेड प्रचन्ड ! यी पात्रहरु मेरो जीवनका मेट्दा नमेटिने¸ टुटाउंदा नटुट्ने पात्र भएछन ! फाल्न खोज्दा नफालिने ! हराए पनि भेटिइरहने ! विर्सुभन्दा झन् सम्झिइरहने !

रुकुममा क्रान्तिकारी विचार र विकासको जग हाल्ने¸ तिनै जनार्दन ! जसलाई कुनै दिन छिबाङ्जिउलामा बन्धक बनाउंदा मुक्त गर्न हातहातमा लठ्ठी लिएर पुगेका हजारौँ हजार जनताका लावालश्करहरुको वाल्यकालीन चित्र विस्मृतिमा धुमिल हुदै विलाइरहेको बेला पुन: बिसौँ बर्षपछि जनार्दनमाथिको आक्रमणले स्तब्ध र मर्माहत बनाएको छ !

सफलताको सिढी चढ्दै राजनीतिक गन्तव्यको उच्च शिखर सगरमाथाको नाम्चे बजार पुगिरहेका जनार्दनलाई सत्ता र स्वार्थमा लिप्त किर्नाहरुले घेरा हालिरहेको पछिल्ला दशकमा ग्रामीण कुवाको पिंधमा असफलताको भुमरीमा छट्पटाइरहेका म/हामीजस्ता एकलङ्कांटे मनुवाहरुको प्रत्यक्ष सम्पर्क नभएपनि जनार्दनमाथिको आक्रमणप्रति एउटा रुकुमबासीको तर्फबाट खेद प्रकट गर्दछु ! यो कुनै व्यक्ति जनार्दनमाथिको आक्रमण होइन ! रुकुमेली भावना र विश्वासमाथिको निन्दनीय आक्रमण हो ! तिव्र भ्रत्सना र गहिरो दु:ख व्यक्त गर्दछु ! २०७४।७।२५ @Rukumsolabang.com