You are here
Home > समाचार > अनन्त खतरामुक्त , बाम गठबन्धन

अनन्त खतरामुक्त , बाम गठबन्धन

२५ कार्तिक २०७४, शनिबार ०९:०४

रोल्पा, २५ कात्तिक
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित संयुक्त वाम गठबन्धनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माईन विस्फोट गराएर आफ्ना उम्मेदवारहरुको हत्या गर्न खोजेको दावि गरेको छ । गठबन्धनले हत्याको योजनासहित वम विस्फोट गराउन नेकपाका कार्यकतालाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न प्रशासनसँग माग समेत गरेको छ ।
‘आज हाम्रा उम्मेदवार र हामीहरुको हत्या गर्ने योजनाका साथ नेकपाका कार्यकतालाई भिटाबाङमा शक्तिशाली माईन विस्फोट गराए । यो सरासर हाम्रा उम्मेदवारहरुको हत्या गर्ने योजना हो’, वाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाका संयोजक नेकपा (एमाले)का पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरले भने, ‘यो अराधिक घटनाको जति भ्रत्र्सना गरे पनि कम हुन्छ ।’
उनले अपराधिहरुलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरे । ‘यो निर्वाचन लोकतन्त्रको मेरुद्दण्ड हो । आज देश निर्वाचनको महाउत्सवमा प्रवेश गरेर सारा नेपाली जनता सार्वभौम मताधिकार प्रयोग गर्न आतुर भईरहेको बेला बम विस्फोट गराउनु लोकतन्त्रमाथिकै हमला हो,’ घर्तीमगरले घने, ‘हामी अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न सरकारसँग जोड्दार माग गर्दछौँ ।’
संयोजक घर्तीले उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग मागसमेत गरे । ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ’, उनले भने, ‘उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन म सरकारसँग माग गर्दछु ।’
शनिबार विहान नेकपाका कार्यकर्ताहरुले माडी गाउँपालिका–१, भिटाबाङमा प्रतिनिधि सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’लगायतलाई लक्षित गरी शक्तिशाली माईन विस्फोट गराएका थिए । विस्फोटबाट अनन्त सवार गाडि र उनको सुरक्षामा खटिएको प्रहरीको गाडिमा सामान्य क्षति पुगेको छ ।
माईन विस्फोटमा परेका अनन्त, प्रदेश सभा सदस्य उम्मेदवार दीपेपन्द्र पुन सिजल, माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्तीमगर, निर्वाचन परिचालन समितिका संयोजक एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरलगायत नेता कार्यकर्ता भने सकुशल छन् ।