You are here
Home > राजनीति > महासंघको व्युरो प्रमुख गिरफ्तार, रिहाईका लागि अपील

महासंघको व्युरो प्रमुख गिरफ्तार, रिहाईका लागि अपील

२६ कार्तिक २०७४, आईतवार ०५:१६

बुटवल ।

संसदीय सत्ताले घोषणा गरेको चुनावको मिति नजिकै जाँदा देशैभर नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि गिरफ्तारी तथा धरपकड सुरु गरेको छ ।

यसै सन्दर्भमा नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, मेची ब्युरो प्रमुख तथा सजधका जनसांस्कृतिक परिवारका संयोजक कमरेड स्लाम गजमेरलाई अस्वस्थ भई घरमा बसिरहेको बेला शुक्रबार सरकारले गिरफ्तार गरेको छ । महासंघले गजमेरको गिरफ्तारीप्रति विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ ।

शनिवार महासंघका महासचिव खेम थपलियाद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा गिरफ्तारीमा पर्नुभएका कमरेड गजमेर लगायत सबै कमरेडहरूलाई यथाशीघ्र र स–सम्मान रिहाइको निम्ति अपील गरेको छ । रिहाई नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् वर्तमान सत्ता र यसका मतियार हुने चेतावनी समेत दिइएको छ ।

विज्ञप्तीको पूर्णपाठ –

झन्डै चार दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका न्यायपूर्ण हरेक परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनहरू महत्वपूर्ण भूमिका खेल्दै आएको छ । साथै, अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, सच्चा देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण र विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा कथित सङ्घीय तथा प्रादेशिक निर्वाचनको हौवा पिटाउँदै आएको वर्तमान दलाल संसदीय सत्ताका मतियारले अस्वस्थ अवस्थामा रहनुभएका हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, मेची ब्युरो प्रमुख तथा सजधका जनसांस्कृतिक परिवारका संयोजक कमरेड स्लाम गजमेरलाई कात्तिक २४ गते दिउँसो आफ्नै घरमा बसेर उपचार गरिरहेको अवस्थामा झापाबाट गिरफ्तार गरिएकोप्रति हामी गम्भीर असहमति र विरोध गर्न चाहन्छौँ । गिरफ्तारीमा पर्नुभएका कमरेड गजमेरलगायत सबै कमरेडहरूलाई यथाशीघ्र र स–सम्मान रिहाइको निम्ति हामी विशेष अपील गर्दछौँ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् वर्तमान सत्ता र यसका मतियार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।

खेम थपलिया
महासचिव