You are here
Home > राजनीति > उपराष्ट्रपतिले दिए सबैलाई धन्यवाद

उपराष्ट्रपतिले दिए सबैलाई धन्यवाद

१० मंसिर २०७४, आईतवार ०९:४९

काठमाडौं |

काठमाडौं, १० मंसिर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले मतदानमा सहभागी आम मतदातालाई बधाई तथा धन्यवाद दिएका छन् ।

निर्वाचन सम्पन्न भएलगतै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर निर्वाचन सम्पन्न हुँदा उपराष्ट्रपति खुशी भएको र आममतदातालाई धन्यवाद दिएको जानकारी दिएका हुन् । उपराष्ट्रपतिले निर्वाचन सम्पन्न भएकोमा सरका, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारी, सुरक्षा निकायलगायतलाई धन्यवाद दिएका छन् ।

‘उपराष्ट्रपतिले पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ’, प्रेस नोटमा भनिएको छ, ‘साथै, निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरका, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयम्सेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।’ उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको दिन ऐतिहासिक र गौरवपूर्ण भएको बताएका छन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्नसँगै संविधानले सुखद पूर्णता पाउने र देश समृद्धिको मार्गमा दु्रुतमार्गमा अगाडि बढ्ने विश्वास गरेका छन् । ‘उपराष्ट्रपतिज्यूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै संविधान कार्यान्वयनले सुखद पूर्णता पाएपछि संघीयता संस्थागत भई देश समृद्धिको मार्गमा दु्रतगतिमा अगाडि बढ्नुका साथै लोकतन्त्र पनि सुदृढ् हुने विश्वास व्यक्त गर्नुभएको छ,’ प्रेस नोटमा भनिएको छ । उपराष्ट्रपतिले पहिलो चरणको जस्तो दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि महाउत्सवको रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।