You are here
Home > कला > फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ -नायिका ऋचा शर्मा

फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ -नायिका ऋचा शर्मा

१४ मंसिर २०७४, बिहीबार १५:३७

काठमाडौं |

नायिका ऋचा शर्माले फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा नसहने प्रतिक्रिया दिएकी छन्। “एका देशमा” नामक सर्ट फिल्म फेस्टिबलमा ‘चलचित्रमा महिलाहरुको भूमिका’ भनेर राखिएको अन्तरक्रिया कार्यक्रममा शर्माले दिएको अभिव्यक्तिलाई ‘छक्का पञ्जा २’ फिल्मका निर्माता, निर्देशक र कलाकारहरुले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएपछि शर्माले सामाजिक संजालमा यस्तो बताएकी हुन्।

 “म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ ।मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन | चाहे संसारले नै मलाई बिरामी सावित गरोस्।

सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।

म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ।

सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन्।मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ । र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो । सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।

फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ । र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु।’