You are here
Home > राजनीति > युवालाई स्वदेशमा फर्काउछौं-प्रचण्ड

युवालाई स्वदेशमा फर्काउछौं-प्रचण्ड

१६ मंसिर २०७४, शनिबार २२:०१

ललितपुर ।

विदेशमा रहेका युवालाई स्वदेशमा रोजगारी दिएर फर्काउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्नुभएको छ। ‘प्रचण्ड’ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो ।

विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण,  ललितपुर वामपन्थीको किल्लाका रुपमा विगतदेखि नै परिचित हुँदै आएको तथ्य पेश गर्दै उहाँले कहिलेकाहीँ भएको भूलचूकबाट पाठ सिकेर यसपटकको निर्वाचनमा सबै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको कार्यसूचीसहित तालमेल भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो “यो सामान्य प्रकारको तालमेलका लागि मात्रै तालमेल भएको विषय होइन, एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित एकता प्रक्रिया अगाडि बढेको छ ।

कार्यक्रममा एमालेका नेत्री सुशीला नेपालले नेपालको राजनीतिक स्थिरतासहितको विकासका लागि वाम गठबन्धन भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवारद्वय राजकाजी महर्जन र जीवन खड्काले ललितपुरको समुन्नतिका लागि वाम एकताको आवश्यकतामा जोड दिनुभयो ।