You are here
Home > कला > किराँत समुदायको उधौली र नेवारको योमरी

किराँत समुदायको उधौली र नेवारको योमरी

१७ मंसिर २०७४, आईतवार ०९:१६
काठमाडौं |
किराँत समुदायले आज आफ्नो महान पर्व उधौली मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।

साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोल स्याँदर भन्दछन् ।

किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् । किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।

योमरी पुन्ही मनाइँदै
नेवारसमुदायले आजै योमरी पुन्ही पर्व हर्सोल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी पुन्ही मनाइँछ ।

इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रुपमा पनि लिने गरिएको छ । योमरी एक विशेष प्रकारको रोटी हो । योमरी पुन्हीका दिन गृहिणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढिकुटी पूजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ ।

यसैबिचः नेवारी समुदाय अन्र्तगतका ज्यापु समुदायले आज ज्यापु दिवस मनाउँदै छन् । सो समुदायले काठमाडौको बसन्तपुरमा आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले २६ औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका लागि क्रमिकरुपमा विभिन्न काम भइरहेको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउँदै लैजानु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी, नेपालका किरात जातिको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तैः प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले उधौली र नेवार समुदायको पर्व योमरी पुन्हीको अबसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्रीले पर्वहरुले एक अर्काप्रतिको माया सद्भाव कायम राख्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।