You are here
Home > बिचार/अन्तरबार्ता > पुथा उत्तरगंगा गाउँ पालिकाको भविष्य भन्नु नै यहाँका प्राकृतिक सम्पदाहरुमा निहित छ- ओम प्रसाद घर्ति मगर

पुथा उत्तरगंगा गाउँ पालिकाको भविष्य भन्नु नै यहाँका प्राकृतिक सम्पदाहरुमा निहित छ- ओम प्रसाद घर्ति मगर

१७ मंसिर २०७४, आईतवार ११:११

 

(२०१० सालमा तत्कालीन हुकाम गाबिस ( अहिलेको पुथा उत्तरगंगा गापा ) १९ बर्षको कलिलो उमेरमा तत्कालीन पञ्चायतकालमा प्रधानपञ्च भएर राजनीतिमा लागेका ओम प्रसाद घर्ती मगर २०३४ साल देखि नै अन्याय अत्याचारको विरुद्धमा लागेको बताउँछन् । २०५२ सालको जनयुद्धको अग्रिम मोर्चामा लागेर आफ्नो सिङ्गो जीवन अर्पेका उनै घर्ती मगर २०७४ सालको स्थानीय चुनावमा गाउँपालिकाको गरिमामय अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय भएका थिए । यसपाली उनै अध्यक्ष घर्ती मगरसँग पोष्टपाटीका संवाददाता कर्मसही घर्ति मगरले लिनुभएको अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौं-)

 – सर्वप्रथम गाउँ पालिका जस्तो अत्यन्त गरिमामय पदमा पदभार गर्दा कस्तो अनुभव गर्नु भयो र आफ्नो गहन जिम्मेवारी के हो जस्तो लाग्छ ?

पहिलो कुरा त मेरो त्याग र लगानीको बिषयमा युवा साथीहरूले यसले केही गर्न सक्दैन भनेर मिनिमाइज गरे जस्तो दुखद अवस्था थियो । म आफ्नो उद्देश्य प्रति  अनवरतरुपमा लागि रहेछु । हिँडि रहेछु । भिडि रहेछु । त्यत्रो जनयुद्ध लडियो, आफ्नो तर्फबाट आफुले गर्नु पर्ने हरेक काम कार्य इमानदारीपूर्वक निर्वाह गर्दै आईयो । बीचमा केही मूल्यांकन भएन । अझ मलाई मिनिमाइज गरेर जाँदा, यो के हो त ? के म साँच्चै कुनै कार्य गर्न योग्य छैन ? भनेर आफैले आफैलाई प्रश्न गरेँ । जनयुद्धको पछि शान्तिकालीन अवस्थामा पार्टी र संगठन पूरा छिन्नभिन्न भएको विदितै थियो । यस्तो अवस्थामा पनि मैले सबै साथीहरुको समर्थन जुटाउन सफल भएँ । जनताको अधिक माया पाएर आज म पालिकाको अध्यक्ष भएँ । संगठन भित्रैबाट बेवास्ता गर्न लागिएको म चुनावमा जनताको उल्लासमय निर्णयले आज पदभार गर्न पाउँदा निकै नै खुशी छु । म पुन: गहन जिम्मेवारी पाएको महसुस गरेको छु ।

कर्मचारीतन्त्रले बाधा पारिरहेको यो विकराल परिस्थितिमा पनि जनताको न्यायोचित कार्य गर्न म कदापि पछि हट्ने छैन । सबैको भावनाको म सदा कदर गर्दछु । यदि मेरो तर्फबाट पूरापूर केही गर्ने प्रकृयामा अलिकति कमजोरी देखियो भने मलाई सहि सलामत रुपमा भन्दा पनि हुन्छ । आखिर जसरी हुन्छ जनता र गाउँ टोलको सेवा गर्नु न हो ! त्यसैले पुथा उत्तरगंगा गाउँ पालिकामा मेरो अत्यन्त गहन जिम्मेवारी थपिएको छ । मैले आफ्नो क्षमताले भ्याएसम्मको कार्य यथोचित गर्ने नै छु ।

– तपाईंका अल्पकालीन (एक बर्ष भित्र गर्नु पर्ने काम) योजना के के छन् ?

यो अवधिमा चाहिँ बर्षभरिमा गर्नु पर्ने कामहरु नै पर्छन् । जस्तै शिक्षा , स्वास्थ्य , बिजुली, कृषि लगायतका कुरालाई प्राथमिकता दिएका छौं । जो पालिका भित्रकै वडाहरुको रोहवरमा गरिनेछ । जनताको आवश्यकता र चाहनाको कदर गरेर अगाडि बढिनेछ ।

– दीर्घकालीन योजनाको बारे केही प्रकाश पार्दिनु हुन्छ कि !

पुथा उत्तरगंगा गाउँ पालिकाको भविष्य भन्नु नै यहाँका प्राकृतिक सम्पदाहरुमा निहित छ । मेरो पहिलो प्राथमिकताको बिषय नै यी नदीहरुको उपभोग गर्नु हुनेछ । यहाँका प्रत्येक गाउँ टोलहरु उज्यालो पार्नु , प्रत्येक बिद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागि पहल हुनेछ । यहाँका हाम्रा संस्कार र संस्कृतिलाई लिपिबद्ध गर्नुछ । खेलकुदलाई प्राथमिकता दिनुछ । पर्यटनलाई बढावा दिनुछ । पुरानो कृषि प्रणालीको ठाउँमा आधुनिक कृषि प्रणालीको बढावा दिनुछ । दलितका बाहुल्यता रहेका बस्तीमा दलित नमुना बस्तीलाई स्थापित गरिनेछ । प्रत्येक वडाहरुलाई विकासका ढोका खोलि दिनुमा नै मेरो तन मनलाई समर्पित गर्नेछु । सञ्चारलाई स्थायित्व दिनु छ । बाँकि कुरा समय र आवश्यकताले सुझ्याउनेछ ।

-हाम्रा कला संस्कृतिको संरक्षणको लागि अत्याबश्यक छ । संरक्षणको अभावले सबै लोप हुने संभाबना देखिएको छ । यसले कला संस्कृतिप्रेमिहरुमा एक किसिमको नैराश्यता छाएको छ। के छ समाधानको उपाय ?

म आफै कला संस्कृतिको बीचमा हुर्कि बढेको मान्छे हुँ । यी गीत तथा नाचहरुबाट निकै प्रभावित छु । यो हाम्रो पालामा एकदम प्राथमिकताको कुरा पनि थियो । अहिले आएर नयाँ पिँधिले यसबारे ध्यान नदिनु दु:खद कुरा त हुँदै हो यद्यपि हामीले नै यसको संरक्षण र जगेर्ना गर्न नसकेकोले नै नयाँ पिँधिलाई वास्ता नभएको हो जस्तो मलाई लाग्छ । नेपाल भरि छरिएर रहेका मगरहरुको प्रतिनिधित्व गर्ने यस खालका कला संस्कृतिको बृहद दङ्गबाट न्यायोचित संरक्षण तथा समबर्धन हुनु अत्याबश्यक छ । हाम्रो यो पालिकाका प्रत्येक वडामा जीवित रहेका कला संस्कृति जस्तै गीतमा नानीला , सालम्बो , सिँगारु , झ्होला , पैँसेरु आदि , नाचमा डिग्रे , गरुवा , पुरानो लठ्ठी नाच , सिँगारु आदि सबैको अत्यन्त बिज्ञ तहबाट कुनै पहल कदमि भयो भने हाम्रो तर्फबाट हृदय देखि साथ समर्थन हुने कुरामा कुनै कसर बाँकी रहने छैन । यी गीत तथा नृत्यहरुको संरक्षण तथा संवर्धनमा कुनै गुन्जायस हुने छैन । दिल खोलेर यतातिर पालिकाको ध्यानाकर्षण हुनेछ ।

साथै हाम्रा पूर्वजहरुले जन्माएका कतिपय जन्म मृत्यु देखिका यावत असल कार्यहरुको रक्षा तथा अहिलेको परिपेक्षमा खराब लाग्ने कुरीतिको निर्मूलका लागि पनि उतिकै पहल गर्नेछ । यसको लागि यथाशक्य विज्ञजनहरुको क्रियाशिलतालाई हामी विशेष प्राथमिकता दिने छौं ।

हाम्रो खाम भाषाको अझै लिपिबद्ध नभएको अवस्था छ। बिशेषत: पुरानो सात गाउँ खोला भनेर चिनिने मैकोट , पेल्मा , हुकाम , रन्मा र अर्जल लगायतका खास मगर भाषाको केन्द्रबिन्दु रहेका गाउँको भाषा लिपिबद्ध नभएको चिन्ता ब्याप्त छ । अब तपाईं आफै यस समुदायको पर्नु भयो , केही योजना बनाउनु भएको छ ?

यसबारे हामी गम्भीर छौं । तपाईंले जुन कुरा उठान गर्नु भयो , यसले हामीलाई सोच्न बाध्य बनाएको छ। साविक हुकाम तथा मैकोट गाविसमा ( अहिलेका वडाहरुमा ) व्यापक रुपमा बोलिने ओर्जिनल मगर खाम भाषाको लिपिबद्ध हुनु अत्याबश्यक छ । यसमा बौद्धिक समुदायको चिन्ता हुनु नितान्त जरुरी थियो । हुनु पर्छ । निश्चय पनि तपाईं जस्ता बिज्ञ साथीहरु जो खोज अनुसन्धानमा लाग्नु भयो भने पालिकाको तर्फबाट सम्भव भएसम्मको साथ समर्थन मिल्नेछ । के कसरी यो सम्भव छ , के के प्रक्रिया पद्धति अपनाउनु जरुरी छ ; त्यो सबै प्रक्रियामा साथ दिन पालिका हमेशा तयार छ ।

– स्वच्छ पानीको आवश्यकता जनतालाई तड्कारो समस्या परेकै छ । अझ पनि प्रत्येक वडामा पानी कै समस्या देखिएको छ । समाधानको उपाय के छ ?

प्रायजसो गाउँ टोलमा पानी पालिका हुनु भन्दा पनि पहिले नै विभिन्न माध्यमबाट पूर्ति भएको छ । कुनै ठाउँमा यसको प्रकृया अझै जारी छ । छिटोभन्दा छिटो कसरी हुन्छ हामी पानीको समस्या हुन नदिने कार्य गर्ने नै छौं  । यदि कहि कतै अझ पनि पानीको समस्या छ भने त्यसको बारे छिटो सम्बन्धित वडाको रिपोर्ट आयो भने प्रकृया चाँडै बढाउन पहलकदमि गरिनेछ ।

– सरकारी स्कुल टाढा पर्ने, जहाँ कलिला बालबच्चा जान नसक्नु र निजी स्कुलमा आफ्नो क्षमताले पढाउन नभ्याउने देखिएको छ । सबैलाई आफ्ना बालबालिकाको उचित वातावरणमा पढाउन सक्ने कुनै योजना छ कि ?

सर्वप्रथम कुन ठाउँको कुन बिद्यालयमा यो समस्या देखिएको छ ? त्यो अभिभावकको गुनासो सम्बन्धित बिद्यालय वा बिद्यालय ब्यवस्थापन समिति कहाँ पुग्नु पर्छ । अनि उक्त बिद्यालय ब्यवस्थापन समितिको र विकट टोलहरुको मागनुसार नै यो समस्याको निराकरण गर्न सकिन्छ । जहाँ समस्या त्यहाँ उपाय ! परिस्थितिले जन्माउँछ । त्यसमा हामी एकदम सकारात्मक छौं  । यसको लागि छुट्टै बालशिक्षाको आबश्यकता पर्छ । यसमा पालिकाले हरसंभव प्रयास गर्नेछ ।

– प्रत्येक वडाका एकाध स्कुल बाहेक अरु स्कुलमा पढाइ राम्रो नहुने , शिक्षक बेलैमा नआउनु , त्यहाँको भौतिक संरक्षण नहुनु तथा अभिभावक र बिद्यार्थी दुबैमा बिद्यालय प्रति उसासिन हुनु कसको कमजोरी हुन सक्छ यो ?

यो पनि सम्बन्धित निकायबाट रिपोर्ट तुरुन्त आउनु पर्छ । कुन बिद्यालयमा के अभाव छ ? कुन शिक्षकले लापरबाही गरिरहेछ ? अथवा आफ्नो उत्तरदायित्व प्रति कुन शिक्षक उदासीन छ ? त्यो पनि खोजि गर्ने काम सम्बन्धित बिब्यसको हो । अनि बिद्यालयको भाैतिक संरचना के छ वा छैन त्यो पनि उक्त समितिले निक्याैल गर्ने कुरा हो । जहाँसम्म पालिकाले गर्नु पर्ने कार्य छ, त्यसमा हामीले कमि हुन दिने छैनौं ।

दोश्रो कुरा, चुनाव लगत्तै हामीले प्रत्येक बिद्यालयका प्र.अ.हरुको भेला बोलाएर उनीहरुसँगै बृहद दंगले छलफल गरिनेछ । अनुगमनलाई यस्तो दह्रो तरीकाले अगाडि बढाईनेछ । अनुगमनको जिम्मा सम्बन्धित वडाध्यक्ष , सदस्य र बिब्यसले गर्नेछ । सम्बन्धित बिब्यसले के माग गर्छ वा सिफारिस गर्छ त्यसैलाई मध्येनजर गरेर आफ्नो कामकार्य अगाडि बढाउनेछ । गडबड गर्ने , आफ्नो समयमा स्कुल नजाने शिक्षकलाई बिब्यसले सिफारिस नगरुञ्जेल शिक्षकको तलब रोक्का गरिनेछ।

– प्राकृतिक सम्पदा र साँस्कृतिक सम्पदाले भरिपूर्ण हाम्रा गाउँहरुमा पर्यटन प्रबर्द्धन गर्न के गर्नु पर्ला ?

हाम्रो पालिका भित्रका सम्पूर्ण वडामा अवस्थित सम्पदाहरु आफैमा सबैभन्दा बेग्लै तर आफ्नै मौलिकता लिएर, आफ्नै पहिचानमा अझसम्म बाँचेका र जीवन्त रहेका छन् । हामीले तत्कालै यसको पनि उचित संरक्षणमा ध्यान दिनु जरुरी छ । सबै बिज्ञ जनले अबका दिनमा यतापट्टि सोँच्नै पर्ने बेला पनि हो यो । हाम्रा हिमालहरु, नदीहरु, ताल तलैयाहरु, तातोपानी, हाम्रा कला संस्कृतिहरु, हाम्रा जन्म मृत्यु संस्कारहरु सबैलाई ब्यवस्थित गर्नु अपरिहार्य छ । किन कि अबको दिनमा हाम्रो भविष्य पर्यटनमा मात्र उज्जल छ । त्यसैले निकट भविष्यमा गुर्जाघाट देखि यताका प्रत्येक संभावनायुक्त ठाउँहरुमा तत्काल पैदल मार्ग तयार गर्ने हाम्रो योजना छ । सबै ठाउँमा होम्स्टेको लागि उचित तालिमको ब्यवस्था गरिनेछ । साँस्कृतिक कला कौशलका साथै यिनीहरुको लिपिबद्ध गर्ने कुरामा विशेष जोड दिईनेछ । कसरी पर्यटनलाई बढावा दिन सकिन्छ त्यसमा सबै विज्ञजनहरुसँगको गहन छलफल गरेर यसको प्रबर्द्धनमा जोड दिईनेछ । हामी हामीलाई बिश्वास छ, यो गाउँपालीका देशकै नमुना गाउँपालीका बन्छ । यसको लागि हामीसँग यथेष्ट साधनहरुको कमी छैन, केवल त्यसलाई परिचालन गर्न सक्नु पर्दछ ।

-पुथा उत्तरगंगा भौगोलिक रुपमा निकै ठूलो पालिका हो । स्वाभाविक रुपमा यहाँका बस्तीहरु छरिएर रहेकाछन् । यी बस्तीहरु कतिपय निकै टाढा रहेकाछन् । जहाँ बिरामीहरुले बेलैमा आैषधोपचार नपाएर अकाल मृत्यु मर्दैछन् । सुत्केरीहरु बाटैमा मरेको पनि प्रमाणहरु छन् । अबका दिनमा यी र यस्ता घटना नहुन वा सबै वडाका बस्तीहरुलाई पाई पर्ने ठाउँमा औषधी उपचारको लागि के गर्नु पर्ला ?

स्वाभाविक रुपमा यो पालिका निकै ठूलो भूगोल ओगोटेर बसेको पालिका हो । यहाँ कमै वडामा अथवा अहिलेसम्म साविकका केन्द्र रहेका ठाउँहरुमा मात्र यो सेवा उपलब्ध छ । यसको क्षेत्र बिस्तारको लागि छिट्टै नै छलफल हुनेछ । आगामी दिनहरुमा यसको पनि पहल कदमि हुने नै छ । हामी पालिकाको तर्फबाट यसको मागको लागि माथिल्लो निकायसँग एकदम छिटो पहल गर्नेछौं  ।

– भएका स्वास्थ चौकीमा स्वास्थ्यकर्मी जहिले उपलब्ध नहुनु औषधी भने जस्तो नपाउनु, पाए पनि डेथ गएका बितरण भएको जनगुनासो छ । यसमा के कस्तो प्रकृया अबलम्बन गर्नु भएको छ ?

औषधीकोलागि बेग्लै बजेट छुट्याइएको छ । यसरी बजेट छुट्याएर पनि उचित औषधी पाईदैन भने तुरुन्त हाम्रा वडा कार्यालयमा रिपोर्ट दिनु पर्‍यो, त्यसपछि वडाले पालिका हुँदै जिल्लामा पुग्छ । अनि त्यो भ्रष्ट गर्ने र कमिसन खान खोज्ने स्वास्थ्यकर्मीलाई तुरुन्त आबश्यक कार्वाही गरिनेछ। अबका दिनमा सचेत नागरिकहरु अझ जिम्मेवार भएर लाग्नु पर्नेछ । हामीले छुट्याएको बजेटबाट कमसल खालको औषधी वा म्याद गएका औषधी वितरण भएमा त्यस्ता स्वास्थ्यकर्मीलाई बर्खास्तीसम्मको प्रकृया हामीले गर्नेछौं  ।

– यो पालिकाका प्रत्येक वडाहरुमा बिजुली बल्नको लागि कहिलेसम्म ढुक्क हुन सकिन्छ ?

कतिपय वडाहरुमा अहिले बिजुली बल्ने प्रकृयामा छन् । तमागर खोलाको लथालिङ्ग भएको बिजुली जहाँ जनताको पनि लाखौँ रुपैया तथा रगत पसिना खर्चिएको छ। त्यसमा पनि तत्काल काम थाल्ने प्रकृयाहरु छन् । सायद फागुन-चैत्रबाट त्यो प्रकृया शुरु हुन्छ । तिनीहरु बाहेकका १४ वटै वडामा बत्ती बाल्नको लागि हामीले करीब तीन करोडको बजेटिङ्ग गरिरहेका छौं  । यसले प्रत्येक वडाका घर उज्यालो हुनबाट बञ्चित नहोस् भन्ने हाम्रो धारणा रहि आएको छ । अब म यो साह्रै कडाईका साथ यसबारे काम थाल्ने वातावरण मिलाउने प्रक्रियामा छु । किन कि म पहिलेको लथालिङ्गबाट धेरै नै सचेत भएको छु । अबका दिनमा कमजोरी कदापि नहोस् भन्ने लागेर नै हामी निकै सचेतताका साथ यो पहलकदमिलाई अगाडी बढाउने जमर्को गर्दैछौं  । अबको केही बर्षभित्र नै हामी प्रत्येक वडाहरुलाई उज्यालो बनाउने अठोटका साथ लागेका छौं  ।

 

-युवा खेलकुद विकासको लागि के गर्नु पर्ला ?

खेलकुदको लागि तत्काल भन्दा दीर्घकालीन योजनामा छौं  हामी । जस्तै सम्भावना भएका प्रत्येक वडामा कम्तिमा एउटा खेल मैदानको पहल गरिनेछ । खेलकुद विकासको लागि खेलाडीहरुलाई विज्ञ कोच मार्फत योग्य र अनुशासित युवा खेलाडी जन्माउने , त्यसले आफ्नो व्यक्तित्व विकास साथै गाउँको इज्जतको सवालसँग पनि यो जोडियोस् । त्यसैले आगामी दिनमा पालिकास्तरीय खेलको आयोजना गरिनेछ । जो एउटा निश्चित ठाउँमा मात्र नभई पालै पालो सम्पूर्ण वडाहरुमा प्रत्येक बर्ष आयोजना गर्ने पहल गर्न सकिन्छ । यस बारे पनि युवा माग वमोजिम अगाडि बढिनेछ । त्यसको लागि सबभन्दा पहिलो कुरा खेल मैदानको आवश्यकतालाई पूर्णता दिने कामलाई प्राथमिकता दिईनेछ ।

– सूचना सञ्चारको युगमा छौं  हामी , तर अझै पनि हाम्रो सञ्चार सेवा भने जस्तो नभएको स्थिति छ ; के होला समस्याको समाधानको उपाय ?

पहिलो समस्या त कमसलवाला टावरको हुन सक्छ । यसको अध्ययन गर्नु जरुरी छ । दोश्रो, सामान खरिद गर्दा कमिसनले गर्दा गडबडी हुने । जस्तै सिप्या, मैकोट र बिर्गुमको लागि भनेर ल्याईएको सोलार र ब्याट्री रातारात कतै साटियो रे भन्ने अपुष्ट खवर छ । यदि त्यस्तो हो भने त्यो कर्मचारी वा सम्बन्धित जो कोहिलाई पनि पहिचान गरि तुरुन्त कार्वाही गरियोस् भन्ने हामी चाहन्छौँ । तेस्रो सिप्याको पालेको लापरबाही हो भन्ने सुन्नमा आएकोछ । यदि त्यो भने त्यसलाई स्पष्टीकरण ल्याईनेछ । अबका दिनमा सञ्चार क्षेत्रलाई विशेष प्राथमिकाको सूचिमा राखेर यसको स्थायित्वको लागि ध्यान केन्द्रीकृत हुनेछ ।

– कुनै कुनै वडा तथा गाउँमा अझै टावर नपुगेको (जस्तै पुथा उत्तरगंगा वडा नं. २) अवस्था छ , अब प्रत्येक जनताको पहुचमा सञ्चार उपलब्ध गराउने कतिको पहल कदमि छ ?

आगामी दिनमा भएको सञ्चारलाई स्थायित्व दिने काम गरिनेछ। बाँकी सञ्चारले नभेटेका गाउँ ठाउँमा टावरको उपलब्धता बारे केन्द्रीय बजेट र पहलको बारे गम्भीरतापूर्वक सम्बन्धित निकायलाई ध्यानकेन्द्रीत गरिनेछ। यसको लागि पालिकाको अगुवाईमा पहल गरिने छ । यो केही बर्षभित्रमा पूरा गरेरै छाडिने छ ।

कर्मसही घर्ति मगर