You are here
Home > कला > ‘गुडबाइ काठमाडौँ’लाई कोलकतामा अवार्ड

‘गुडबाइ काठमाडौँ’लाई कोलकतामा अवार्ड

१८ मंसिर २०७४, सोमबार ००:३४
कोलकाता |

निर्देशक नवीन सुब्बाको चलचित्र ‘गुडबाई काठमाडौँ’ ले कोलकातामा अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।उत्कृष्ट चलचित्रले पाउने ‘नेटप्याक अवार्ड‘ फिल्मका निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ।

कोलकातामा पाएको अवार्डअघि अक्टोवर १२ देखि २२ सम्म दक्षिण कोरियाको ‘बुसान अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल’ मा पनि गुडबाइ काठमाडौँ उत्कृष्ट १० मा पर्न सफल भएको थियो। त्यो प्रतिस्पर्धामा विश्वका ५८ वटा चलचित्रले सहभागी थिए।

‘विविधता कसरी सँगसँगै अस्तित्वमा रहन्छन् भन्ने दार्शनिक पक्ष यस चलचित्रमा उतार्ने प्रयत्न गरेको छु, त्यसैले यसको निर्माण अवधि पनि लम्बिन गयो।’ भर्खर दुई वटा फिल्म फेष्टिवलबाट फर्किएका नवीन भन्छन्, ‘अन्र्तराष्ट्रिय दर्शक र समीक्षकले मेरो प्रयत्नलाई मन पराइदिएका छन्। नेपाली दर्शकले पनि पक्कै मन पराउने आशा गरेको छु।’

कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा र माला लिम्बु अभिनित गुडबाइ काठमाडौँ हेर्न चाहिँ नेपाली दर्शकले अझै केही समय कुर्नु पर्नेछ। नवीन यो चलचित्रलाई विश्वका अन्य फिल्म फेष्टिवलमा प्रदर्शन गरेपछि वैशाखमा मात्र नेपालमा प्रदर्शन गर्ने सोचमा छन्।