You are here
Home > कर्च्याप् कर्च्याप् > होस हराएकाहरु

होस हराएकाहरु

२५ मंसिर २०७४, सोमबार १६:५१

अनुरुप/नेपालन्यूज

 

प्रत्यक्षतर्फको परिणाम एकपछि अर्को धमाधम आउँदा सातो गुमाइसकेका काँग्रेसीजनहरुको समानुपातिकतर्फको परिणामले ढ्याङ्ग्रो ठटाएर सातो बोलाइरहेको छ । सातो फिर्नेबित्तिकै फेरि उफ्रीउफ्री जिब्रो फड्कार्न थालेका छन् । पुनर्जिवीत ऊर्जाको कारण घरी देउबालाई सत्तोसराप गर्छन्, घरी एमालेप्रति धारे हात लगाउँछन् भने घरी माकेलाई गालीगलौज गर्न तँछाडमछाड गर्न थाल्दछन् । समानुपातिकको परिणामबाट अब आफैले सरकार बनाउन सकिने र यो अवसर आएमा माकेलाई विश्वासमा नलिने समेत दिवास्वप्न देख्न थालिसकेका छन् ।

एमालेजनहरु विजयोन्मादले बेसरी रन्थनिएका छन् । केही दिनभित्रै एमाले एक्लैले बहुमत मात्र होइन दुईतिहाइ पुर्‍याउने सपना देखिरहेका छन् ।

माओवादीजनहरु काँग्रेस पत्तासाफ भैसक्यो भनेर आँखा चिम्लेरै ढ्याङ्ग्रो ठटाउँदै छन् । अब भारतको काँग्रेसआइ जस्तै टर्चले खोजी गर्नुपर्ने अवस्थामा नेपाली काँग्रेस पुगेको तर्क गर्दछन् ।

अलिकति राजनीतिक अङ्कगणित नबुझेकाहरुको पटमुर्ख्याइँ मात्रै हुन् यी तर्कहरु । बाम तालमेलको कारणले प्रत्यक्षतर्फ धेरै ठाउँमा काँग्रेस पराजित भए पनि समानुपातिकको परिणामले काँग्रेसको अवस्था केही सुधारात्मक हुनसक्छ भने माओवादीकेन्द्रको सो परिणामले केही खस्कन सक्छ ।

भन्नलाई त काँग्रेस तथा एमालेजनहरुले गत स्थानीय निकायको परिणाम हेरेर अब माओवादीकेन्द्र पत्तासाफ भयो भनेर औँला गनेर आत्मरतिमा नडुबेका पनि थिएनन् । उनीहरुलाई यतिसम्म पनि थाहा थिएन कि माओवादीकेन्द्रको मत २०७० मा १५% बाट २०७४ को चुनावबाट १७%  मा उक्लिएको थियो । काँग्रेसको मत ३३ प्रतिशत थियो भने एमालेको मत ३४ प्रतिशत थियो । यसपटक समानुपातिकमा पनि यही प्रतिशतको वरिपरि नै यी पार्टीहरुले पाउने मत रहनेछ । यसैको हाराहारीमा रहँदा समानुपातिकतर्फ माओवादीकेन्द्रको मत २० प्रतिशत पुग्यो भने उसले २२ जना संसद प्राप्त गर्न सक्छ । काँग्रेसले ३७ प्रतिशत नै पुर्‍यायो भने पनि उसका ४१ जना संसद थप हुन सक्छन् । एमालेले पनि ४० प्रतिशत नै पुर्‍यायो भने पनि ४४ जना मात्र थप हुनसक्छन् । तर त्यो प्रतिशत अधिकतम् हो । यस हिसाबले काँग्रेसका कूल प्रतिनिधि ६४ जनाभन्दा बढी हुनेछैनन् । एमालेका १२५ भन्दा बढी हुने छैनन् र माकेका पनि ६० जनाभन्दा बढी हुने छैनन् । अतः समानुपातिकको समेत परिणाम आइसकेपछि काँग्रेस र माओवादीकन्द्रमध्ये जुन दल दोस्रो भए पनि अत्यन्तै न्यून संख्याले मात्र एउटाले अर्कोलाई उछिन्नसक्छ । एमालेले एक्लैले बहुमत पुर्‍याउन १३८ संख्या आवश्यक पर्छ । एमालेलाई एक्ल्याएर सरकार बनाउने सपना देख्नेहरुले बाँकी सबै पार्टीहरुसँग गठजोड गर्नुपर्नेहुन्छ जुन असम्भवप्रायः छ ।

किन असम्भव भने कम्युनिष्टहरुबीच फूट पैदा गरेर राज्य गर्न पुनः गैरकम्युनिष्टहरुले आफ्नो भएभरको ताकत खर्च गर्नेछन् त्यो अवस्थाबाट चेतिसकेका कम्युनिष्टलाई फुटाउन बिरलै सकिएला ।

काँग्रेसको हारको मुख्य कारण यो हो कि उसका बिचौलियाहरु प्रचारप्रसारतिर नलागेर अरु पार्टीहरुको सत्तोसराप र गालीगलौजमा लागेर मात्र दिन खर्चिए । उनीहरुले प्रचारप्रसार र जनताको मन जित्नपट्टि नलगाएर सर्वसाधारणलाई उत्तेजित गराउन मात्र लागिरहेका बिचौलियाहरुकै कारणले काँग्रेसले यो हार बेहोर्नुपरेको हो भन्ने कुरोको चुरो बुझेनेन् भने अर्को चुनावमा समानुपातिक परिणामले समेत ढ्याङ्ग्रो ठटाएर सातो बोलाउने कष्ट गर्ने छैन भन्ने कुरा किन बुझ्न नसकेको होला ?

अलिकति सुझबुझ भएका कार्यकर्ताहरुले विश्वप्रकाश शर्मा किन पत्रपत्रिकाहरुमा छाइरहेका छन् भन्ने कुरा मनमा खेलाउन सक्नुपर्दछ । सायद उनका कार्यकर्ताहरु पनि विश्वप्रकाशजस्तै भइदिएको भए विश्वप्रकाशले किमार्थ हार्दैनथे ।

अरुले जे गरे पनि एमाले र माओवादीलाई चुनावको परिणामले आमजनताप्रति अलि बढी जिम्मेवार बनाइदिएको छ । अब यिनीहरुले सुझबुझको समन्यायिक राजनीति गर्न सकेनन् भने काँग्रेसीजनले चाहेको जस्तो हुनेछ । हारको पीडाले जसको पनि तिघ्रा टोक्न हिँडेकाहरुको विरुद्ध उनीहरुकै तिघ्रा टोक्नपट्टि नलागी विधिको शासनलाई अक्षरशः कार्यान्वयन गर्नु नै होस ठेगानमा हुनेहरुको ध्यये हुनु आवश्यक छ ।