You are here
Home > Front News > ‘किम्फ’मा नेपाल लगायत ३७ देशका फिल्महरु छनोट (तस्बिर सहित)

‘किम्फ’मा नेपाल लगायत ३७ देशका फिल्महरु छनोट (तस्बिर सहित)

२५ मंसिर २०७४, सोमबार १८:४३

काठमाडौं |

काठमाडौं अन्तरास्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ)मा नेपाल लगायत ७६ देशबाट फिल्महरू आएको मध्य ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका छन्। (किम्फ)को पन्ध्रौं संस्करण कुमारी सिनेमा हल कमलपोखरीमा २८  मंसिरदेखि  पुस ३ गतेसम्म हुनगइरहेको कुरा किम्फ आयोजकले पर्यटन बोर्डमा पत्रकार सम्मेलन मार्फत जानकारी गराका हुन् ।

दर्शकहरूको अपेक्षा अनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइनेछन्।

फेस्टिबल निर्देशक रम्यता लिम्बूको भनाइमा यसपटकको किम्फ भविष्यमुखी छ। उनी भन्छिन्,“यसअघि हामीले ‘डकल्याब’ सुरु गरेर युवा नेपाली फिल्मकर्मीहरूलाई पुनर्सम्पादन कार्यमा सघाइरहेका थियौं। यसपटक हामी ‘किम्फ लाइभ डक पिच’ नयाँ कार्यक्रम सुरु गर्दैछौं र त्यसमा उत्कृष्ट ठहरिनेलाई नगद रकम पुरस्कार पनि दिनेछौं।”

लाइभ डक पिच कार्यक्रमअन्तर्गत फिल्म निर्माताहरूले आफूले बनाउँदै गरेका निर्माणाधीन डकुमेन्ट्रीबारे अन्तर्राष्ट्रिय विज्ञहरूलाई दर्शकहरूसामु प्रस्तुतीकरण गर्नेछन्। विज्ञहरूले उत्कृष्ट ठहर्या्एका प्रस्तुतिलाई नगद पुरस्कार राशि प्रदान गरिनेछ। यस कार्यक्रमबाट फिल्मकर्मीहरूले तयार पारेको अवधारणा र उनीहरूको फिल्म निर्माण प्रविधि र शैलीबारे दर्शकहरूले प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।

यसपटकको निर्णायक मण्डलमा बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोस्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेन सदस्य रहेका छन्। रीना मोहनले डकुमेन्ट्री सम्पादनबारे प्रवचन दिने कार्यक्रम रहेको छ। त्यसैगरी‘द आइल्यान्ड्स एन्ड द हवेल्’ नामक डकुमेन्ट्रीको प्रदर्शनका साथै त्यसका ब्रिटिस निर्देशक माइक डेद्वारा विशेष प्रवचन हुने जनाइएको  छ ।

यस वर्षको किम्फ बेन नाइट्लीद्वारा निर्देशित ‘द लास्ट हनिहन्टर’ नामक ३५ मिनेटको डकुमेन्ट्रीको एसिया प्रिमियरबाट सुरु हुनेछ । न्यासनल ज्योग्राफीसितको सहकार्यमा निर्मित यस डकुमेन्ट्रीमा भोजपुरको हिङ्गु उपत्यकामा भीरमौरीको चाका काढ्ने जोखिमपूर्ण कार्यलाई देखाइएकोछ।

महोत्सवको समापन समारोहमा भने भुटानका जोङसार जामयाङ खेन्चे रिम्पोचेद्वारा निर्देशित “हेमा हेमास् सिङ मी अ सङ ह्वाइल आइ वेट”को विशेष प्रदर्शन गरिनेछ। यो फिल्म ९५ मिनेट लामो छ र यसको निर्माण सन् २०१६मा गरिएको हो।

नेपाल र बेलायतको संयुक्त प्रयासमा बनेको ९३ मिनेट लामो डकुमेन्ट्री “चिल्ड्रेन अफ स्नो” को वर्ल्ड प्रिमियर तथा विश्वविख्यात ब्रिटिस पर्वतारोही सर क्रिस बोनिङ्टनको जीवनमा आधारित डकुमेन्ट्री “बोनिङ्गटन स् द माउन्टेनर”को एसिया प्रिमियर पनि यस पटकको किम्फमागरिनेछ। त्यसैगरी इटली र क्यानडाको संयुक्त फिल्म “मिडनाइट सन स् द जर्नी होम” को विशेष प्रदर्शन हुनेछ। यस वर्ष विख्यात स्वीस भूगर्भविद् टोनी हागनको शतवार्षिकी हुनाले उनले खिचेका पुराना तस्बिरहरूको प्रदर्शनका साथै उनको फिल्म “उहिलेको नेपाल” पनि देखाइनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशस् अमेरिकी डलर १५००।– १,०००।– र ५००।– को नगद पुरस्कार दिइनेछ र नेपाल पानोरामाअन्तर्गत आख्यान र गैर(आख्यान विधामा क्रमश ७५,०००।– र ५०,०००।–रुपियाँको नगद पुरस्कार राखिएको छ। इसिमोडले १,०००।– अमेरिकी डलरको नगद पुरस्कार आफ्ना सदस्य राष्ट्रहरूबारे बनेका उत्कृष्टमाउन्टेन फिल्मलाई प्रदान गर्नेछ। किम्फको “अडियन्स अवार्ड” दर्शकहरूको सबैभन्दा बढी मत पाउने फिल्मले पाउनेछ। त्यसैगरी नेपालको फिल्म समीक्षक समाजले उत्कृष्ट ठहर्याभएको अन्तर्राष्ट्रिय फिल्मले समाजको तर्फबाट ट्रफी पाउनेछ।

हिमाल एसोसिएसनको आयोजनामा हुने यस महोत्सवको प्रमुख प्रवर्द्धनकर्ता नेपाल पर्यटन बोर्ड रहेको छ। किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यसपटक १५ वटा फिल्म छन् र प्रतिस्पर्धाबाहिर ४८ वटा फिल्महरू परेका छन्। नेपाल पानोरामा अन्तर्गत चाहिं १५ वटा फिल्महरू देखाइने भएको छ ।