You are here
Home > Front News > हाङ्गा र जराबिनाको रुख

हाङ्गा र जराबिनाको रुख

२७ मंसिर २०७४, बुधबार ०६:४६

अनुरुप/नेपालन्यूज

 

बाबुरामजी, तपाईँ कुशल इन्जिनियर भएको कौशलताले राजीतिलाई इन्जिनियरिङ गर्न खोज्नुभयो । यतिसम्म ठीकै थियो र समयको माग पनि यस्तै थियो । तर जीवशास्त्रीय दृष्टिकोणलाई बेवास्ता गर्दै यस्तो रुखको कल्पना गर्नुभयो जो जराहरुबिना नै ठडिनेछ । काण्डहरुमा मलजल टुप्पोले मात्र पुर्‍याइदिनेछ र त्यो रुख झाङ्गिदै जीवन्त रहन सक्नेछ । रुखमा सिमेन्टेड हाङ्गाहरु जोड्नुभयो र कल्पना गर्नुभयो ती हाङ्गाबाट प्राकृतिक फूलहरु फुल्नेछन् र अन्य प्राकृतिक फूलहरुबाट यी कृतिम फूलहरुमा प्रागसेचन भई बीउ भाइरल हुनेछ । यी कल्पनाहरु आर्किटेक्चरल इन्जिनियरिङको दृष्टिकोणबाट सम्भव होलान् तर जेनेटिक इन्जिनियरिङको हिसाबले ती असम्भव कुराहरु हुन् । ढुङ्गामा प्राण भर्ने ताकत अहिलेसम्म कसैले प्रदर्शन गर्नसकेको छैन । तसर्थ तपाईँले एकाध वर्ष त के एकाध सतक नै पर्खेर हेरे पनि सिमेन्टेड हाङ्गाहरुबाट फूलहरु फुलाउन सक्नुहुनेछैन ।

तपाईँका कल्पनाका रुखका जराहरु भनेका भातृ सङ्गठनहरु हुन् । तपाईँले भातृसङ्गठनबिनाकै सङ्गठनको कल्पना गर्नुभयो । यो तपाईँको सोचाइमा अग्रगामी छलाङ होला तर व्यवहारमा बौलठ्ठीपनमा देखिएको सपना मात्र हो । हाङ्गाहरु भनेका तपाईँका राजनीतिइतरका सहयोगीहरु हुन् । वर्षौँसम्म राज्यको श्रोतसाधनमा ढलीमली गरेर सिमेन्टेड भइसकेकाहरुले तपाईँबाट केही लिन त सक्लान् तर तपाईँलाई दिने कुराहरु केही पनि बाँकी हुँदैनन् । प्रशासनिक विज्ञहरु जनताको नजरमा पाच्य हुँदैनन् जत्तिको राजनीतिक विज्ञहरु पाच्य हुन्छन् ।

सङ्गठनको निर्माणको प्रक्रियाबारे तपाईँलाई कसैले सिकाइराख्नुपर्दैन । सङ्गठन सामान्यतः फर्मिङ, स्टर्मिङ, नर्मिङ, पर्मफर्मिङपछि एड्जर्निङको स्टेजमा पुगेर एकचरण सकिन्छ र पुनः फर्मिङबाट शुरुवात हुन्छ । तर तपाईँको सङ्गठन उल्टो चक्रबाट घुम्न खोज्दै छ । त्यहाँ एडजर्निङको अवस्थामा पुगेकाहरुको ठूलो जमात छ । तिनीहरु तपाईँहरुकहाँ एक रात बास बस्न आएका पाहुना मात्र हुन् । भोलि जता फर्मिङको प्रबल सम्भावना छ उतै फुत्किहाल्नेछन् । तपाईँ भने एडजर्निङ स्टेजका पाहुनाहरुको करबलबाट भ्यागुताको धार्नी पुर्‍याउने कसरतमा सिधै पर्फर्मिङको स्टेजमा पुग्ने सपना देखिरहनुभएको छ । तपाईँमा रहेको बुद्धिविवेक खेर गइरहेको छ । तपाईँको बुद्धिविवेक राज्यको सम्पत्ति हो । यस मानेमा राज्यको सम्पत्ति खेर गइरहेको ठानी तपाईँका शुभचिन्तकहरु अलमलिएका छन् ।

तपाईँको जीत सिर्फ तपाईँको मात्रै विश्वास र परिश्रमको फल हो । तपाईँ बराबर तपाईँका सहयोगीहरुमा विश्वास र परिश्रम भइदिएको भए तपाईँको स्थिति यस्तो अवश्य हुने थिएन ।यी कुरालाई हृदयङ्गम गर्नुभयो भने एकाध वर्षपछि त होइन एकाध दशकपछि अवश्य पनि तपाईँबाट पनि आशा गर्ने धेरै ठाउँ रहनेछ ।

मुख्य कुरा त तपाईँको नकारात्मक पक्षको जसले सबैभन्दा बढी मापन गर्‍यो त्यसैले नै तपाईँका सकारात्मक पक्षहरुको सबैभन्दा बढी मापन पनि गर्न सक्नेछ । एड्जर्निङ अवस्थाका तपाईँका सहयोगीहरुलाई तपाईँभित्रको बुद्धिविवेकको प्रचुरता बुझाउन अरु एकाध दशक खर्च गर्नुपर्नेछ । अतः त्यो समय र श्रम खेर फाल्नुभन्दा तपाईँको ब्रह्मले देखेका कुरा र माउ पार्टीले तपाईँप्रति गरेको विभेदपूर्ण स्थितिलाई फ्यूजन गरिदिनुहोस् र माउपार्टीतिरै फर्किनुहोस् ।

नपत्याए सोधी हेर्नुस् तपाईँका शुभेच्छुकहरुको चाहना यही हो ।