You are here
Home > Front News > नेपाली संगीतलाई विश्वसामु चिनाउँदै सुमन

नेपाली संगीतलाई विश्वसामु चिनाउँदै सुमन

२७ मंसिर २०७४, बुधबार ११:५५

युएई ।

दश वर्षअघि पाल्पा तानसेनबाट युएई पुगेका सुमन उदयले नेपाली संगीतलाई विश्वसामु चिनाउँदै छ  । आफ्नो स्वाभाविक रुचि र समकालीन मित्रहरुसँग लहैलहैमा गीत गाउँदा गाउँदै उनले नेपालमा रहँदा संगीतको क्षेत्रमा केही गोरेटो भने कोरिसकेकै थिए ।

कर्मको रेखाले युएई पुर्याए पनि उनले जागिरबाट बचेको समय, आफ्नो रुचि, साथीभाइको संगत अनि संगीतप्रतिको लगावले नेपाली गीत संगीतलाई विश्वव्यापी बनाउन त्यो बेलादेखि सुमन लागिरेहकै छन् ।

सप्ताहन्तको छुट्टी होस, या अन्य नेपाली पर्व । बर्थ डे पार्टी होस् या सानोटिनो आउटिङ । सांगीतिक वातावरण एकाएक सिर्जना हुन्छ । बजिहाल्छ गीतार अनि जमिहाल्छ सांगीतिक माहोल । सानो केही बहाना पायो कि यो ब्यान्डका मेम्बरहरु जुटिहाल्छन् संगीतकर्ममा ।

सुमनको दक्षता भनेको भोकल हो । विशेष गरी रक संगीतमा विशेष दक्षता राख्ने उदय र उनको समूहले युएईका धेरै ठूलठूला स्टेजहरुमा प्रस्तुति दिएको छ । बलिउडका हस्तीहरुले प्रस्तुति दिने स्टेजहरुमा उनीहरु प्रस्तुतिका लागि पुगेका हुन्छन् । जहाँ नेपाली दर्शकहरुको उपस्थिति र पहुँच लगभग असम्भव हुन्छ ।

बलिउडका चर्चित कलाकार शंकर महादेवन, निखिल डसुजा, आरडीबी जस्ता कलाकारहरुले प्रस्तुति दिने युएईको वल्र्ड ट्रेड सेन्टर, अबुधाबीको एडनोक हल, ग्लोबल भिलेज जस्ता अडिटोरियमहरुमा सुमनको समूहले प्रस्तुति दिने गरेको छ । नेपाली आयोजकहरुको क्षमता र पहुँचभन्दा बाहिरका ती स्टेजहरुमा सुमनको समूहले ओपनिङ प्रस्तुति दिइरहेको हुन्छ ।

युएईका नेपाली कलाकारहरुले सित्तैमा प्रस्तुति दिन पनि उपयुक्त मञ्च नपाएको वर्तमान अवस्थामा सुमनको ब्यान्ड भने एउटा गीत प्रस्तुत गरेर करिब २ हजार पाँच सय देखि ५ हजार दिराम्स सम्म (६० हजारदेखि एक लाख २० हजार नेपाली रुपैयाँ) पारिश्रमिक दिने गरेको छ ।