You are here
Home > Front News > पापीनजर र बारुले कम्मर

पापीनजर र बारुले कम्मर

२ पुष २०७४, आईतवार ११:३१

अनुरुप/नेपालन्यूज

विगत चुनावले माओवादीकेन्द्रलाई १४ वर्षिया ठिटीको स्वरुपमा पुर्‍याइदिएको छ । ती षोडषी देख्नेबित्तिकैजवान भनाउँदाहरुले “आऊ प्यारी, मेरै अङ्गालोमा आऊ, म तिमीलाई मिस गर्न चाहन्न ! किस गर्न चाहन्छु !” भन्दै फकाउने फुल्याउनेको लर्को लाग्न थालिसकेको छ । सबैतिरको नजर आफैतिर गाडिएपछि षोडषीले पनि आफ्नो थुतुनाभरि अरु गाजल पाउडर थुपारेर, बारुले कम्मर मरक्कमरक्क मर्काउँदै, नक्कल पार्दै, छुनुमुनुछुनुमुनु गर्दै फुरुङ्गिन थालेकी छिन् । फुरुङ्गिने मात्र होइन अब मनपापी र आँखापापीहरुको काखमा घुस्रिएर पालैपालो एकएक किस पनि खुवाउने अवसर उपलब्ध गराउन तम्सिएकी छिन् ।

जनतारुपी अभिभावकहरुले ‘यो उमेर अति नै संवेदनशिल र जोखिमपूर्ण उमेर हो, आफूलाई होशमा राख !’ भनेर जतिसुकै चेतवनी दिए पनि यी किशोरीले मान्नेवाली छैनिन् । खेतमा गएर परिश्रम गर भनेर हँसियाहथौडा सुम्पिएका अभिभावकहरुको नजर छल्दै, हँसियाहथौडा मिल्काएर घुँडामाथिसम्म घुँघुरा सार्दै, ती नवजवानहरुलाई उन्मत्त तुल्याउन आफू पनि कस्सिने छिन् । अरु नखरमाउली सङ्गिनीहरुलाई खेरेर उधुम मच्चाउने छिन् र पुनः अर्को चुनावमा अझै उमेर घटाइदिन बाध्य पार्नेछिन् अभिभावकहरुलाई ।

अलिकति पनि होशमा आएर बिचार गर्ने हो भने अहिले कसैले फकाउँदैमा फकिइहाल्ने समय होइन । विगतमा धेरै पटक धेरैको काखमा घुस्रिएर मोजमज्जा लुटिसकेकी छिन् यी किशोरीले । त्यो क्षणिक मोजमज्जाले आफ्नो जीवनमा सिन्को भाँच्ने काम समेत गरेन भन्ने घामजत्तिकै छर्लङ्ग भइसकेको छ । वर्ष बित्दै जाँदा परिपक्व हुँदै जानुपर्नेमा झन्झन् बच्चाको उमेर पाउनु सन्तोषदायक अवस्था होइन, यो त लाजमर्दो अवस्था हो । यतिसम्म सुझबुझ राख्ने हो भने अब फकाउन आउनेहरुलाई ढोका बाहिरपट्टि थुनेर अलिकति सोचबिचार गर्नपट्टि पनि लाग्नुपर्दछ ।

आफ्नो उमेररुपी सङ्गठन के कारणले खुम्चिरहेको छ ? सङ्गठन बिस्तारमा ककसको के कस्तो भूमिका रह्यो ? सङ्गठनको गुणात्मक र परिमाणात्मक अवस्था के कस्तो छ ? जनतारुपी अभिभावकहरुले के चाहेका हुन् ? र त्यो चाहना पूरा गर्न कति हदसम्म सफल भइयो ? शहिद तथा घाइतेहरुको अभिलाषा पूरा गर्न सकियो कि सकिएन ? शहिदको अभिलाषा पुर्‍याउने भन्दै ककसले आफ्नोमात्र र आआफ्ना आसेपासेहरुको मात्र अभिलाषा पुर्‍याए ? कुन उद्देश्य लिएर जनयुद्ध छेडिएको थियो ? त्यो उद्देश्य कति हदसम्म सफल भयो ? उल्लिखित कुराहरुको जवाफदेहिता ग्रहण गर्नुपर्ने हो कि होइन ? लिनुपर्ने हो भने जवाफदेहिता ककसले लिने हो ? बचेखुचेको सङ्गठनलाई भड्खालोमा जाक्न तम्सिने हो कि जोगाउन पट्टिपनि लाग्ने हो ?

कसैले आँखा झिम्क्यायो भन्दैमा उसको काखमा लुटुपुटु गर्न गएको लाजमर्दो अवस्था त अभिभावकहरुले मिचमारेर हेर्नुपर्‍यो पर्‍यो, अब त यी किशोरीले आफ्नो घरको ओछ्यान समेत एकातिर मिल्काएर अर्काकै ओछ्यानमा सुत्न जाने तरखर गरेको सुइँको पाउँदा अभिभावकहरुलाई हुनसम्म भाउन्ने भएको छ ।

ख्याल राख किशोरी ! तिमी अर्काको ओछ्यानमा सुत्न जाँदैमा तिम्रा नितान्त समस्याहरु स्वतः समाधान हुने छैनन् । भोलि उठेर तिमीले अरुलाई मुख पनि देखाउनुपर्नेछ । तिमीले एक रात सुतेको बदलामा पराइका जुठा भाँडाहरु धस्काउनुपर्नेछ । उसको निर्देशनमा मेलापात गर्नुपर्नेछ । मेलापातबाट चुकेबिग्रिएका अपजसहरु सबै तिम्रो थाप्लोमा नै थुपारिनेछन् र कसैले नदेख्ने गरी बन्द कोठरीभित्र अनाहकमा चुल्ठो रिँगाइमाग्नुपर्नेछ । तिम्रो शरीरमा शक्ति र सामर्थ्यको तातो रगत बग्दाबग्दै पराश्रित भएर बाँचेको देख्दा कस्तो होला तिम्रा अभिभावकहरुलाई ? के यी कुराहरु शान्तचित्तले कहिले सोचेकी छ्यौ ? पराश्रयको पीडामा इत्रिँदाइत्रिँदा चेत खुलेपछि पराइको त्यो ओछ्यान नै छोडेर आयौ भने त्यसबेला तिम्रा अभिभावकले ओत दिनुको सट्टा लोप्प्वा ख्वाएर पठाइदिनेछन् ।

आखिर कहिलेसम्म हेर्ने हो यो नखरमाउलो उमेरमा मात्र ? तिमीलाई अभिभावकहरु हुर्के बढेको पनि हेर्न चाहन्छन् ।

अर्कोसँग कुम जोडेर हिँड्दा पनि कहिलेकाँही श्रेयष्कर हुनसक्छ । अर्कोसँगको साझेदारीले सिनर्जीको लाभ पनि प्राप्त हुनसक्छ । अतः प्राप्त हुने लाभको तुलना गर, विश्लेषण गर । त्यो झिनो छ भने त्यतातिर नलाग । त्यो उपयुक्त र फलदायी छ भने, पहिले आफूलाई संगठन, शक्ति र सामर्थ्यमा अरुको बराबरीमा पुर्‍याऊ, अनि बच्चाजस्तै काखमा लुटपुटिन होइन, हिस्सेदार भाइसरह भएर जाऊ अनि मात्र तिम्रो महत्ता दर्शिनेछ ।

यदि यी कुरा सोचेकी छ्यौ भने पापीनजरका तालमा तिम्रो बारुले कम्मर मर्काउन आजैदेखि छोडीहाल ।