You are here
Home > Front News > अस्थायी श्रीमतीको खोजी

अस्थायी श्रीमतीको खोजी

३ पुष २०७४, सोमबार १०:१८

अनुरुप/नेपालन्यूज

चुनावअघि एउटा नारा जताततै खुब घन्किरहेको थियोः गाउँ गाउँमा सिँहदरबार । हिजोआज अर्को समाचारले खुब प्राथमिकता पाएको छः मुख्य मन्त्रि र प्रदेश मन्त्रिहरुको निवासको लागि उपयुक्त संरचनाको महल फेला पर्‍यो, तसर्थ फलानो शहरलाई प्रदेश राजधानी बनाउने पक्का, भनेर । यी दुई समाचारबीच कुनै तादात्म्यता छ, छैन, थाहा छैन । लुटाहाहरु यति बाठा हुन्छन् कि हलानो ठाउँमा चोरी हुँदैछ भनेर हल्ला फिँजाइदिएर गाउँलेहरु र सुरक्षाकर्मीहरुलाई हलानो ठाउँतिर कुदाइसकेपछि शून्य हुन पुगेको फलानो ठाउँमा लुट मच्चाइदिन्छन् । एउटा झगडियाले प्रतिद्वन्द्विलाई कुनै उपायले पराजित गर्न नसकेपछि उसको घरमा अपाच्य शंकाको बिउ रोपिदिन्छ । शंकाको बीउ टुसाउने बित्तिकै कलहको रुप धारण गर्छ । त्यो कलहलाई बेलैमा निभाइएन भने अविश्वासको मुस्लो बनेर निस्कन्छ र घर नै खाक तुल्याइदिन्छ ।

रुकुम तथा जाजरकोटतिरका अभेद्य गाउँतिरका सिकर्मीहरु अझै ज्यूँदै छन् जसले तीस चालीस दिन हिँडेर काठमाण्डौ खाल्डोमा पुगेर सिँहदरबारको दिवाल बनाएका थिए । जीउले साथ दिएमा उनीहरु जहाँ पुगेर पनि अर्को सिँहदरबार बनाउन लालायित छन् । अबको सिँहदरबार कुनै राजपूतहरुको लागि नभई आफ्नै गाउँको भतिजाभतिजीको लागि हो भन्ने उनीहरुलाई थाहा छैन । हिजोसम्म गाईभैँसीको गोबर सोहोरिरहेको भतिजोलाई रातारात किन महल लगायतका सुखसयलका साधनहरु चाहिएको हो भन्ने पनि उनीहरुलाई थाहा छैन । गाउँगाउँमा सिँहदरबार आइपुग्ने सपनामा रमाइरहेका निद्रालुहरु बिउँझँदा सिँहदरबार मधेशको फाँटतिरै अड्किएको भन्ने खबरले उनीहरु झस्किएको भने अवश्य हुनुपर्छ । अब त्यही भतिजोको लागि गाउँतिरका सुरासुन्दरीहरु मधेश झार्नुपर्ने दिन नआउलान् भन्न सकिँदैन ।

अरु नाराभन्दा भ्रष्टाचार निर्मुलीकरणको नारा दिएर चुनाव जित्नु सजिलो छ । चुनाव जित्नेको पहिलो उद्गार पनि भोलि नै भ्रष्टाचार निर्मुलीकरण गर्ने नै हुनेगर्दछ । त्यो नेताको भोलि कहिले आउँछ सबैलाई थाहै छ । सिँहदरबार कुनै राणाले आफ्नै श्रमपसिना खर्चेर बनेको होइन । सिँहदरबार बन्दा कति जनताहरुको ढाड सेकिएको थियो भन्ने कुरा इतिहासको गर्तमा छ जो अब कसैलाई कोट्याउनुछैन । राणाहरुको महलमा प्रजातन्त्रवादीहरुको डेरा सरेपछि त्यहाँ भ्रष्टाचार निर्मलीकरण अर्थात प्रजातान्त्रीकरण हुनपुग्यो । अबका सिँहदरबारहरु पनि राणाहरुकै वा राणाहरुजस्तै हैकमवालाहरुको महलमा बन्नेछन् भन्ने करिबकरिब पक्कापक्की नै छ । यसपालीको सरकार कम्युनिष्टहरुको हातमा जाने भएकोले अब तिनीहरु आफ्नो दुर्गम भेगको कटेरो छोडेर नयाँ प्रादेशिक सिँहदरबारहरुमा डेरा सर्नेछन् । ती सिँहदरबारहरु कम्यनिष्टीकरण हुनेछन् । कम्युनिष्टीकरण भनेको राष्ट्रियकरण हो कि भनेर नतर्सनुभए हुन्छ । त्यो भनेको एकजना अरबपतिलाई घरभाडा तिरेर ल्याइएको समाजवाद हो । साम्यवाद हो । एउटा हरिकङ्गालको छोरा राणातन्त्रीय महलमा बास बस्न थालेपछि अरु कस्तो प्रकारको साम्यवाद चाहनुहुन्छ तपाईँ?

एकजना शिक्षकले हरिलठ्ठक छात्रलाई सोध्छः भन् तेरो घरदेखि यो स्कूलसम्मको दूरी एक किलोमिटर छ भने यो स्कूलदेखि तेरो घरसम्मको दूरी कति छ ?  हरिलठ्ठकलाई के थाहा ?  हाम्रा नेताहरु रातारात यस्तै शिक्षक बनिसक्छन् र जनताहरु हरिलठ्ठक नै कायम रहन्छन् । के दुर्गम पहाडदेखि मधेशसम्मको दूरी धेरै नजिक र मधेशदेखि पहाडसम्मको त्यही बराबर दूरी धेरै टाढा हुने हो ?  दूरी त उही हो, तर सोचाइ फरक हो, जनता र नेता हुनुमा कायम भएको दूरीजस्तै ।

यदि यी तर्कहरु गलत हुन् भने लोकतन्त्रवादी सरकारले गाउँको झुपडीलाई मुख्य मन्त्रीको आवास तोके हुँदैन ? आठदश झुपडीहरुलाई मन्त्रालय तोके हुँदैन ? के चारैतिरबाट सडक, सञ्चार र बिजुली ती झुपडीसम्म पुर्‍याए हुँदैन ? संगठन बिस्तारको क्रममा ती दुर्गम झुपडीभित्र थिएनौ तिमीहरु ? भौगोलिक हिसाबले ठीक बीचमा पर्नेगरी सातै प्रदेशका राजधानीहरु अहिल्यै तोक क्रमशः भोजपुर, सर्लाही, काभ्रे, पर्वत, अर्घाखाँची, जाजरकोट र बझाङका दुर्गम गाउँहरु । सिँहदरबारकै आकार र संरचनाअनुसार नबनाए सरकार नै चल्दैन भन्ने मानसिकताले गाँजेको छ भने तोक मात्रै पिछडिएको क्षेत्रलाई राजधानी, ती जिल्लाका गाउँलेहरुले अहोरात्र खटेर आफ्नै श्रम र पसिना खर्चेर सित्तैमा बनाइदिनेछन् सिँहदरबारहरु । तोक मात्रै तिमीले कतै खोज्नुपर्दैन श्रमिकहरु, पुरानो सिँहदरबार बनाउनेहरु अझै त्यहीँ छन् । त्यही ठाउँमा स्वतः खुल्नेछन् उद्योगधन्धा र कलकारखानाहरु । शदियौँदेखिको क्षेत्रीय तथा सामाजिक असन्तुलन स्वतः न्यूनीकरण हुनेछ शिघ्रातिशिघ्र । सक्छौ ?

अस्थायी राजधानी भनेर कलहको बीउ रोपिसकेपछि स्थायी राजधानी पछि जहाँ पनि सार्न सकिन्छ भन्नु त अस्थायी श्रीमती तोकिसकेपछि स्थायी श्रीमती त जता खोजे पनि पाइन्छ भन्नुजस्तै हो ।