You are here
Home > Front News > तानाशाही र लोकतन्त्रवादीहरु

तानाशाही र लोकतन्त्रवादीहरु

४ पुष २०७४, मंगलवार १०:१९

अनुरुप/नेपालन्यूज

 

गत निर्वाचन यता ओलीका गोली र प्रचण्डका वक्रवाणहरु अभूतपूर्व संयमित भएका छन् । विजयोत्सवहरुमा ओलीका गोली सुन्नकै लागि उपस्थित हुनेहरु निराशनिराश फर्कनुपर्ने अवस्था छ ।एकअर्काप्रतिका आक्षेप र गालीगलौजहरु शून्यप्रायः भैरहेका छन् । यसले एक पक्षलाई हाइसञ्चो भइरहेको छ भने अर्कोतिर निद्राहराम भइरहेको छ र तिनीहरुबाट निम्नानुसारका अभिव्यक्तिहरु सुन्नपाइन्छन् :-

“विजयोन्मादले गर्दा बाम गठबन्धनका कार्यकर्ताहरुको अचाक्ली चुरीफुरी बढ्यो । लौ न के गर्ने होला ?”

“यिनीहरुलाई सितिमिति सत्ता सुम्पनु हुँदैन ।“

“माओवादीलाई आफूतिर तानेर एक्ल्याउनुपर्छ ।“

“संविधान कानून र नजिरहरुमा भएका व्यवस्था वर्तमान परिस्थितिमा कार्यान्वयन गर्नै हुँदैन ।“

“राजा आऊ देश बचाऊ ।“

यी अफवाहजस्ता लाग्ने हल्लाहरु आफूलाई सबभन्दा बढी लोकतन्त्रवादी ठान्नेहरुका उच्छ्वासहरु हुन् ।

लोकतन्त्रको आधारभूत सिद्धान्तहरु स्वतन्त्रता, विधिको शासन, आवधिक निर्वाचन र सहभागिता नै हुन् । बामगठबन्धनका नेताहरुले ‘हामी लोकतान्त्रिक मूल्य मान्यताभन्दा एक इञ्च दायाँबायाँ गर्नेछैनौँ’ भनी सार्वजनिक समारोहहरुमा कसम खुवाउनेहरुबाट कसम खाएका खायै छन् । तर लोकतन्त्रवादीहरुलाई जे गरे पनि पटक्कै विश्वास छैन ।

‘हामीलाई जनताले किन जिताए? नि लौ न बर्बादै भयो !’ भन्दै बामकार्यकर्ताहरु रोएर बस्नु भएन । हर्षमा हाँस्नु व्यक्तिगत स्वतन्त्रतामै पर्छ क्यारे । केही अघिसम्म देउवाजीले पनि बामपन्थीको बहुमत आए रुन पाइँदैन भन्दै हिँडेका हुन् क्यारे । स्पष्ट बहुमत आउँदा पनि ‘तिमीहरु नै सरकार चलाऊ, हामी प्रतिपक्षमा बसेर टुलुटुलु हेर्छौँ !’ भन्न पनि भएन । बहुमतको शासन लोकतन्त्रकै सिद्धान्त हो क्यारे । ‘एमालेले मात्र सरकार चलाउन सक्छ, माओवादीलाई तिमीहरु नै प्रयोग गर !’ भन्न पनि मिलेन सहभागिताको सिद्धान्त पनि होला । विधिको शासनमा २०४८ सालमा राष्ट्रियसभा गठन हुँदा सर्वाधिक लोकतन्त्रवादीहरुले जे नजिर बसाएका थिए त्यो परेको बखत सम्झाउनै पर्‍यो । ९० प्रतिशताभन्दा बढी सभासदहरुले ताली ठोकेर निर्मित संविधानका धाराहरु पढेर लोकतन्त्रवादीहरुलाई सुनाउनैपर्‍यो, विधिको शासन भनेको यही नै होला । बामगठबन्धनबाट अहिले जे जसो गतिविधिहरु भैरहेका छन् ती सबै लोकतन्त्रका मूल्यमान्यताभन्दा दायाँबायाँका कुरा जस्ता आम सर्वसाधारणलाई लाग्दैनन् त ?

बामहरुको संयमित भूमिकाले गर्दा नै भूपू राष्ट्रपति र उपराष्ट्रपति यादवद्वयलाई लोकतन्त्रवादीहरुको अचाक्लीका कारणले कहिल्यै दोषारोपण गरिएन । तर वर्तमान राष्ट्रपतिले विगत राष्ट्रपतिले बारम्बार शिरोधार्य गरेको ‘संविधानको मर्मअनुसार नै गर्छु’ भन्दा स्वार्थप्रेरित अध्यादेश घिच्याउँदै विवादमा मुछ्नु कहाँको विधिको शासन हो ?  सत्तालिप्साका कारण पराजितहरुले सत्तानछाड्ने विभिन्न बखेडाहरु झिक्नु कहाँको लोकतन्त्रीय शासन हो ? सर्वाधिक लोकतन्त्रवादीहरुले अहिले लोकतन्त्रका कुन कुन सिद्धान्त र मूल्यमान्यताहरुको अनुसरण गरिरहेका छन् ? सिद्धान्तका ठेलीहरुमा भए पुगिहाल्छ कि त्यसको व्यवहारमा अनुसरण गरे लोकतन्त्रवादी भइन्छ ?

उल्लिखित अवस्थाले के देखाइरहेको छ आफूलाई लोकतन्त्रवादीको दुहाइ दिनेहरु नै सबैभन्दा बढी तानाशाहहरु हुन् र नेपालका बामपन्थीहरु नै यहाँका सबैभन्दा बढी लोकतन्त्रवादीहरु हुन् ।