You are here
Home > Front News > ‘जालगेडी’ बाट सुरू भएको ‘पिम्फ’ फिल्म फेस्टिबल ‘लोम्बा’ बाट समापन हुने

‘जालगेडी’ बाट सुरू भएको ‘पिम्फ’ फिल्म फेस्टिबल ‘लोम्बा’ बाट समापन हुने

७ पुष २०७४, शुक्रबार ०५:१७

पोखरा |

‘जालगेडी’ फिल्म बाट पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (पिम्फ) सुरू भएकाे छ। पिम्फकाे तेस्रो संस्करण बिहिबारबाट पोखराकाे सभागृहमा सुरू भएकाे हाे।

पोखरा फिल्म सोसाइटीको आयोजनामा तीन दिनसम्म याे महाेत्सव चल्दैछ। महाेत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन हुनेछ। २५ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन हुने छन्।

समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्वसमा समावेश गरिएको सोसाइटीका महासचिव विष्णु सापकोटाले बताए। उनले भने, ‘नेपालको विषयवस्तुलाई उठाइएका विदेशी चलचित्रहरुलाई महोत्वसमा छनोट गरिएको छ।’

महोत्सवको पहिलो दिन १०, दोस्रो दिन २० र तेस्रो दिन १३ वटा छोटा फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिनेछ । फिल्म प्रदर्शनबाहेक पोखराका विभिन्न स्थानमा खुला प्रदर्शन गर्ने योजना आयोजक संस्थाको छ । महोत्सवमा नेपाली फिल्ममा जनजातिको चित्रण विषयक अन्तरक्रिया पनि चलाइँदै छ । सो अन्तरक्रियामा राजेश गोंगजू, माओत्से गुरुङ, नवीन सुब्बा र अनुप सुवेदी सहभागी हुने महोत्सव आयोजक संस्थाका उपाध्यक्ष जितेश प्रधानले बताए ।

विभिन्न देशबाट सयभन्दा बढी फिल्मकर्मी सहभागी हुने महोत्सवका लागि सयभन्दा बढी देशका नौ सयभन्दा बढी फिल्मले सहभागिताका लागि आवेदन दिएकोमा ४३ फिल्म मात्रै अन्तिम छनोटमा परेको दाबी आयोजक संस्थाको छ ।

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा रुकुम जिल्लाको हिमाली भेगमा बसोबास गर्ने मगर समुदायको पुर्खौली पेशा भेडी पालन माथि निर्माण भएको ‘लोम्बा’ चलचित्र बाट समापन गरिने आयोजकले जनाएका छन् ।