You are here
Home > Front News > नेतृत्वमा हुनैपर्ने अष्ट-क्षमताहरु

नेतृत्वमा हुनैपर्ने अष्ट-क्षमताहरु

११ पुष २०७४, मंगलवार १०:०३

अनुरुप/नेपालन्यूज

नेपाल लामो समयको राजनीतिक अस्थिरताले गर्दा गरिबी र अविकासको दुष्चक्रमा फसिरहेको छ । गरिबी हटाउन गरिएका अहिलेसम्मका राजनैतिक तथा संस्थागत सबै प्रयत्न बालुवामा पानी खन्याएसरि भएको छ । जनताहरुले वर्षौँदेखिको अविकासको दुष्चक्रबाट उन्मुक्तिको साथसाथै समृद्धिको चाहना राखेका छन् । यही अपेक्षा समात्न चलाख राजनीतिक दलहरुले आफ्नो चुनावी नारा पनि सुशासन र आर्थिक समृद्धि हुने बताएका थिए । काँग्रेस, एमाले, माओवादी, नयाँ शक्ति, विवकेशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीहरु लगायत मधेशवादी दलहरुले समेत आर्थिक समृद्धिलाई नै आआफ्ना घोषणापत्रहरुमा ठाउँ दिए । चुनाव पश्चात् जित्ने र हार्ने सबै पार्टीले आफ्नो वचनलाई कसरी पूरा गर्छन् भनेर सरोकारवालाहरु सबैले चासोको रुपमा हेरिरहेका छन् ।

व्यवहार रुपी गाडीलाई गन्तव्यसम्म पुर्‍याउनको लागि थुप्रै सिद्धान्तरुपी सडकहरु निर्माण गरिएको छ । कुनै सडक कच्ची हुन सक्छन्, कुनै घुमाउरा हुन सक्छन्, कुनै अत्यधिक लामा र पट्यारिला हुनसक्छन्, कुनै गन्तव्यमा नपुग्दै बीचमै टुङ्गिने खालका पनि हुनसक्छन् । कुन सडकबाट गाडी गुडाएमा आरामदायक यात्राबाट छिट्टै गन्तव्यमा पुग्न सकिन्छ भन्ने निर्धारण गर्ने कुशल नेतृत्वको खाँचो पर्दछ । भाषण गर्दैमा वा योजना बनाउँदैमा कतै पुगिँदैन । ती भाषण प्रतिवद्धता वाचा र योजनाहरुलाई उचित तवरले कार्यान्वयनमा ढाल्न सक्ने खुबी हुनुपर्दछ ।

गत निर्वाचन पश्चात् केही दलहरुलाई नेतृत्व परिवर्तनको आवश्यकता खट्किएको छ भने एकीकरणको संघारमा रहेका दलहरुबीच पनि कस्तो प्रकारको नेतृत्व चयन गर्ने भन्ने सम्बन्धमा साह्रोगाह्रो परेको देखिन्छ । अतः यिनै समसामयिक आवश्यकताहरुलाई मध्यनजर गरी यहाँ ओम् शान्ति परिवारले आत्मसात् गर्ने  क्षमताहरु (अष्टशक्ति) लाई निम्नानुसार सोदाहरण दिइएको छः

सुन्ने क्षमताः

कुशल नेतृत्व त्यो हो जसले अरुका पनि कुरा सुन्दछ । आफ्नो गोरुको बाह्रै टक्का गर्दा समस्याको सही समाधान निस्कन सक्दैन । अरुका कुरा नसुन्ने नेतृत्वका कारण नेपालले ठूलाठूला द्वन्द्वहरु खेप्नुपरेकोले नेपाल विकासको हिसाबले धेरै पछाडि धकेलिएको छ । द्वन्द्व मच्चाउनेहरु मात्र होइन कुरा सुन्न नचाहनेहरु पनि ती द्वन्द्वका दोषीहरु हुन् । अहिले काँग्रेस उपयुक्त भए वा नभए पनि एकल संक्रमणीय निर्वाचन प्रणाली नै अन्तिम निकास हो भन्दै अध्यादेश जारी गराउन लागिपरेको छ । सो आगोमा घीउ थप्ने काम उसका भातृसंगठनहरुले गर्न थालेका छन् । एमालेले बहुमतीय प्रणालीलाई नै बलजफ्ती लागू गरेर विपक्षलाई सिध्याउने ध्याउन्नमा सिङौरी खेलिरहेको छ । मधेशवादी दलहरुले काँग्रेसको पुच्छर निमोठ्दै छन् । माओवादीले मध्यमार्ग अपनाउन खोजेको जस्तो देखिए पनि गठबन्धन र एकीकरणका शर्तहरुअनुरुप गर्न एमालेले भनेअनुसार गर्न बाध्य हुनसक्तछ । फलस्वरुप निर्वाचन सम्पन्न भएपश्चात् सुशासन र संमृद्धिको व्यग्र आशामा तड्पिएका जनताहरुको पहिलो गाँसमै ढुङ्गा लागेको छ । यो समस्याबाट छिटो निकास दिन सबै राजनीतिक दलले सानाठूला सबै दलहरुका कुराहरु र मूलतः जनताका कुराहरु नसुनी सुख्खै छैन । संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकराष्ट्र लेखेर मात्र पुग्दैन सबै जातजाति, धर्म, भाषा, धर्म, लिङ्ग, संस्कृति, वर्ग, पेशा, क्षेत्र, सम्प्रदाय, हिमाल, पहाड, तराई सबैका कुराधैर्यपूर्वक सुन्नुपर्दछ ।

समेट्ने क्षमताः

विकसित देशहरुमा सरकार नीतिहरुको कार्यान्वयन सफलताको आधारमा अर्को निर्वाचनको छिनोफानो गर्दछ । त्यहाँ सर्वसाधारण जनताहरु कुनै दलका हुँदैनन् । तर नेपालमा भने जनताहरुलाई पनि दलपिच्छे कित्ताकाट गरिएको हुन्छ । भिन्न दलको कारण समाजमा मात्र होइन परिवार समेत विभक्त गरिएको हुन्छ । राज्यबाट उपलब्ध हुने अवसरहरु आफ्नालाई मात्र छानीछानी वितरण गरिन्छ र विपक्षी दललाई सीमान्तीकृत गरिन्छ । फलतः सर्वसाधारण जनताले व्यक्तिको साटो दल छान्न बाध्य हुन्छ र सरकारमा बस्नेले राम्रो नराम्रो जसुकै गरे पनि चुनावले खासै असर पुर्‍याउँदैन । जसले गर्दा न्याय कलुषित हुन पुग्दछ । यस पटकको चुनावले पनि पुरानै सोच भएकाहरुलाई निर्वाचित गर्नु यसैको परिणाम हो । एमाले माओवादीको गठबन्धन टुट्ने बित्तिकै एमाले संकटमा पर्न सक्दछ । काँग्रेसले यस शक्तिको महत्ता बुझेन भने अर्को चुनावमा अझै हार बेहोर्नुपर्ने हुनसक्छ । माओवादीको परिणाम पनि विगत चुनावहरुभन्दा सन्तोषजनक हुँदैहोइन । अतः आफ्नो दललाई विस्तारित गर्न नसमेटिएका सर्वसाधारण लगायत उद्देश्य मिल्ने दलहरुलाई समेट्न सक्नु महत्त्वपूर्ण क्षमता हो । समावेशी पद्धति संवैधानिक रुपमै अङ्गीकार गरिएकोले विभिन्न तह र तप्कालाई राज्यप्रणालीमा समेट्नसक्ने विवेकसम्मत क्षमता प्रदर्शित गर्नुपर्छ ।

सहन गर्ने क्षमताः

सूचना प्रविधिको कारणले जनताहरुको चेताना स्तर धेरै माथि पुगेको छ । उनीहरु के ठीक र के बेठीक छुट्याउन सक्ने भइसकेका छन् । तर नेतृत्वलाई भने शक्ति स्रोत इमान दाउमा राखेर जसोतसो मन्त्री बन्नैपर्ने र पद प्राप्त गर्नेबित्तिकै सातपुस्ता सुधार्ने लक्ष्य हुन्छ । लालबाबु पण्डित जनपृय हुनुको कारण उनको सादगी जीवन पनि हो भन्ने कुरा प्रायः मन्त्रीहरुले बुझ पचाएका हुन्छन् । बामदेवले चुनाव हार्नुको कारण श्रीमतीलाई समानुपातिकमा राख्नुको साथै उनको विलासी जीवनशैली पनि जिम्मेवार छ भन्ने कुरा बाहिर आएको छ । कतिपय पारिवारिक उम्मेदवारहरुलाई जनताले हराइदिएका छन् । अतः सरकारमा सहभागी हुनुको उद्देश्य अवसरहरु एकलौटी रुपमा लुछ्नु मात्र होइन । आफूले पाउने सुविधाहरु समेत त्यागेर जनताको लागि अहोरात्र खट्न सक्नुपर्दछ । भ्रष्टाचार उन्मूलन गरेर सुशासन कायम गर्छु भन्नेले आफै भ्रष्टाचारमा लिप्त हुने होइन कि आफू पनि भ्रष्टाचारजन्य सानातिना क्रियाकलापबाटहरु समेत टाढै रहनुपर्ने छ ।  आफ्नो घरजग्गा बन्धकमा राखेर विदेशिएका नेपालीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुछ ।  बन्दहड्ताल जस्ता विरोधका उपायहरुलाई पूर्णतः बन्देज गरिनुपर्दछ ।  अतः  नेतृत्वले जनताका स्वस्थ आलोचनाहरुलाई सहन गर्दै उनीहरुको भावना अनुसार मलहमपट्टि लगाउन त्याग गर्नु आवश्यक छ ।

अनुकूल बन्न सक्ने क्षमताः

माथि नै भनियो सूचना प्रविधिले जनताको चेतनास्तर आकाशिएको छ । उनीहरुको चेतनास्तर अनुसारका आधुनिक तथा परिवर्तित विश्वपरिप्रेक्ष्यअनुसार आफूलाई नढाली सुख्खै छैन । दक्षिणतिरको राज्यप्रणाली र उत्तरतिरको राज्यप्रणालीमा आकाश पात्तालको अन्तर छ । नेपाल दुई ढुङ्गाबीचको तरुल भएकोले दुवैबाट टाढा वा निकट नभई आफ्नो विकास चाहनाअनुरुप समानान्तर रुपमा रहनु आवश्यक छ । विश्वव्यापीकरणको साथसाथै स्थानीयकरणको अनुकुल पनि हुनु आवश्यक छ । मुलुक एकात्मकबाट संघात्मक राज्य प्रणालीमा प्रवेश गरेकोले आफ्नो सोच र आफ्नो समूहलाई पनि एकात्मकबाट संघात्मक अनुकुल मुखरित तुल्याउनु पर्नेछ ।

जाँच्ने क्षमताः

नेतृत्वसँग आफ्नो मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, प्राविधिक, वैज्ञानिक, प्रशासनिक, साँस्कृतिक, वातावरणीय, व्यवस्थापकीय क्षेत्रका सबै सूचनाहरुमा पहुँच हुनुको साथै अद्यावधिक गरिरहनु आवश्यक छ । ती सूचनाहरुको विश्लेषण गरेर सशक्त र व्यावहारिक योजना कार्यान्वयनमा ल्याइएमा मात्र योजना सफल हुन सक्दछन् । आफ्नो आवश्यकता र विकास साझेदारहरुको उद्देश्य जाँच्न सक्नुपर्दछ ।कार्यान्वयनमा लैजान थालिएका कुनै पनि नीतिका बलिया र कमजोर पक्षहरु तथा अवसर र चुनौतीको केस्राकेस्रा केलाएर मात्र जनतासामु लगेर कार्यान्वयनस्तर तथा पालनास्तरको अनुगमन र मूल्याङ्कन गरिरहनुपर्दछ सक्षम नेतृत्वले ।

निर्णय गर्ने क्षमताः

नेपालको अविकासको मुख्य कारण अनिर्णयको बन्दी हुनु हो । संवैधानिक अस्पष्टताको कारण राष्ट्रपति अध्यादेशको विषयमा अनिर्णित छन् । अनिर्णित महत्त्वपूर्ण विधेयकहरु संसद भवनमा थन्किएका छन् । सचिवहरु आफ्नै अधिकारक्षेत्रका कुराहरुमा मन्त्रीको मुख ताक्दछन् । सिँहदरबारको अभ्यास गरिरहेका स्थानीय निकायहरु केन्द्रको मुख ताक्दछन् । स्पष्ट कानून र अभ्यासको अभावमा उनीहरु अलमलमा छन् ।निर्णयबाट उत्पन्न हुनसक्ने जोखिमबाट तर्सेर अधिकारीहरु निर्णय पन्छाएर झिँगा धपाएर बस्दछन् । मुलुकको हित र न्यायको आभाष दिलाउनुपर्ने अदालतले व्यक्तिगत स्वार्थअनुसार फैसला हान्दछ । निर्णयको लागि आवश्यक सूचनाहरु चुस्तदुरुस्त छैनन् । इन्स्टिच्युसनल मेमोरी जोगाउनेतिर कोही पनि संवेदनशील देखिँदैन । राज्यप्रणालीका महत्त्वपूर्ण पदहरु दलगत भागबण्डामा विभाजित भइरहेका छन् । यी यावत समस्या तथा चुनौतीहरुलाई हृदयङ्गम गर्दै एक कुशल नेतृत्वले न्यायसंगत र विवेकसम्म निर्णय क्षमता प्रदर्शित गर्न सकेमा मात्र मुलुक अघि बढ्न सक्तछ ।

सामना गर्ने क्षमताः

७२ सालको भूकम्प जाँदा राजनीति र प्रशासनिक पक्ष निष्क्रिय रहेको आलोचना खेप्नुपरेको थियो । प्राकृतिक तथा वातावरणीय समस्याहरु झन् झन् दुष्प्रभावी हुँदै गइरहेका छन् । समस्या वा संकट सिर्जना हुनुको कारण अरुलाई देखाएर नेतृत्व लिनेलाई उन्मुक्ति मिल्नेवाला छैन । सबै प्रकारका समस्या र चुनौतीहरुको सामना गरेर अघि बढ्नुपर्ने छ । चुनावी प्रतिष्पर्धा अझै चुलिएर जानेछ । संघीयता विरोधीहरु कम्मर कसेर लागेका छन् । साम्प्रदायिकवादीहरु मार्गहरुमा आगो बाल्न आतुर छन् । तिनीहरुलाई घीउ थप्न राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वहरु जुर्मुराउने छन् । आतङ्कवाद तथा अपराधीकरणले नेपाललाई सुरक्षित डेरा लिने स्थलको रुपमा रोज्दैछन् । जनताहरुको अपेक्षा र उपलब्ध स्रोतको अन्तर चाख्लिँदो छ । अघि सारिएका प्रत्येक योजना तथा कार्यक्रमलाई धुलो चटाउन प्रतिपक्ष आक्रामक रुपमा प्रस्तुत हुनेछ । मुलुकको गरिबी र अविकासको चक्र सितिमिति तोडिने खालको छैन । संघीयताको बीरुवा रोपिएको मात्र छ । यसलाई गोडमेल र मलजल गर्न साविकको स्रोत साधनले थेग्नेवाला छैन । पूर्णतः परनिर्भरको चपेटामा फसिरहेको मुलुकलाई आत्मनिर्भर तुल्याउन सानोतिनो परिश्रमले पुग्नेछैन । अतः यी लगायतका अनेकौँ चुनौतीहरुलाई सामना गर्दै धैर्यतापूर्वक अघि बढ्न सक्ने नेतृत्वको खाँचो छ ।

सहयोग गर्ने क्षमताः

गत चुनावमा विश्व प्रकाश शर्मा किन समाचारमा छाए ?बामदेव, नारायणकाजी र रामचन्द्र पौडेलहरुले किन चुनाव हारे ?  बामशक्ति कसरी दुईतिहाइको नजिक पुग्यो ? माओवादी एमालेको एकीकरणको किन आवश्यकता खड्कियो? यी सबै कुराहरु सहयोगसँग सम्बन्धित छन् । सहयोग पाउने इच्छा गर्नेले सहयोग गर्ने तत्परता पनि देखाउन सक्नुपर्दछ । समूह भावना सिर्जना गर्नसक्नु नै सहयोग प्राप्त गर्ने आधार पनि हो । नेपालीहरु सबै यही मुलुकवासी हौँ । नेपालको संमृद्धिले सबै नेपालीको भलो हुने हो । तसर्थ कसैले थालनी गरेको असल कार्यमा ईर्ष्या र प्रतिष्पर्धावश् कोही पनि अवरोधक हुनुहुँदैन । असल कार्यहरुमा सबैको सहयोग हुनु आवश्यक छ । खराब कार्य गर्नेलाई सबैले चेतावनी दिनैपर्छ । अतः कुशल नेतृत्वले सहयोग लिने र दिने वातावरणको सिर्जना गरिदिनुपर्दछ । गालीगलौज र अशोभनीय आलोचनाहरु नयाँ नेपालमा पूर्णतः निषेध गर्न सक्नुपर्दछ । अनि मात्र सबैले सबैलाई सहयोग गर्न तत्पर भइरहने छन् । नेपालीहरु प्रत्येकको आपसी सहयोगले मात्र नेपाल साँच्चिकै समृद्धि र सुशासनको दिशामा अघि बढ्न सक्दछ भन्ने कुराको चेत नेतृत्वमा खुल्नैपर्दछ ।